स्याङ्जाको सेतीदोभान खोलामा पुल बन्न सुरु भएको ठ्याक्कै सात वर्ष भयो । दुई वर्षमै सकिने गरी आँधिखोला गाउँपालिकास्थित खोलामा निर्माण थालिएको उक्त पुल अलपत्र छ । यो पुलले आँधिखोला गाउँपालिकाको ५ र ६ नम्बर वडा जोड्छ । पुल अलपत्र छाड्नेहरू दुई ठूला पार्टी एमाले र कांग्रेसका नेता हुन् ।

पूर्णबहादुर लामा (कान्छाराम) ।
पुल बनाउने जिम्मा कान्छाराम–आशेष जेभीले पाएको थियो । यो जोइन्ट भेन्चर कम्पनीका दुई साहुजी हुन् पूर्णबहादुर लामा (कान्छाराम) र ऋषिराम गौतम । कान्छाराम कांग्रेस र ऋषिराम एमालेनिकट हुन् । कान्छाराम गत प्रतिनिधिसभा निर्वाचिनमा रामेछाप क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । हालैको १४औँ महाधिवेशनबाट उनै ठेकेदार लामा रामेछापको जिल्ला सभापति बनेका छन् । ऋषिराम एमालेको कास्की जिल्ला कमिटी सदस्य हुन् ।
२०७३ साल २५ असोजमा काम सक्ने गरी २०७१ साल २६ असोजमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । भ्याटबाहेक २ करोड ८९ लाख ९५ हजार रुपैयाँ लागतमा ४० मिटर लम्बाइ र सात मिटर चौडाइ बनाउने भनिएको पुलको ठेक्का कान्छाराम–आशेष जेभीले पाएको थियो । सेतीदोभान तरेर दक्षिण एसियाकै पहिलो होमस्टे सिरुबारी पुगिन्छ ।
पुल अलपत्र पार्ने ठेकेदारको फोटो सामाजिक सञ्जालमा पोस्ट्याएर अहिले स्थानीय विरोधमा उत्रिएका छन् । पटकपटक ध्यानाकर्षण गराउँदा पनि नटेरेपछि सामाजिक सञ्जालको प्रयोग गर्नुपरेको स्थानीय हरि ढकाल बताउँछन् । ‘पर्यटकीय सम्भावना सबै ओझेलमा पर्यो । हामीले भन्दै आएको हो । उनीहरूले काम गर्छौं भनेर वडामा कागज पनि गरेका छन्,’ उनले शिलापत्रसँग भने ।
ऋषिराम गौतमस्थानीयले २०७६ सालमा सडक डिभिजन कार्यालय पोखरामा धर्ना पनि दिएका थिए । तर, सडक डिभिजनले पनि म्याद थपिदिनेबाहेक केही गर्न सकेन । पछिल्लोपटक गत १४ असारसम्म पुल निर्माणको म्याद थपिएको थियो । अहिले फेरि चैतसम्म म्याद थप्न ठेकेदार प्रयासरत छन् ।
सेतीदोभान कटेर दरौँ, सिरुवारी, थाप्ले, फापरथुम, चिलाउनेबाससँगै पर्वत पनि पुग्न सकिन्छ । तर, पुल नबन्दा खोलाबाटै सवारी आवतजावत गर्नुपर्ने बाध्यता छ । बर्खामा त्यो खोला तर्न सकस पर्छ । अहिले पुलबाट लाभान्वित हुने क्षेत्रका स्थानीय सामाजिक सञ्जालमा दुवैको फोटो पोस्ट्याएर सार्वजनिक ध्यानाकर्षण गराइरहेका छन् । उनीहरूले एउटा पोस्टर बनाएका छन् । जसमा लेखिएको छ, ‘ए ठेकेदार सा'प, पुल बनाउनुपर्दैन ?’
त्यो पोस्टरमा व्यंग्यात्मक शैलीमा विरोध गरिएको छ । ‘तपाईंहरू दुई जना राम मिलेर आफूले दुई वर्षमा बनाउँछु भनेर ठेक्का लिएको पुल सात वर्षसम्म पनि नबनाएर राम–राम पार्नुभएको छ । दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे जोड्ने पुल भद्रगोल छोडेर हिँड्न लाज लागेको छैन ?,’ त्यो पोस्टरमा लेखिएको छ, ‘पेसागत मर्यादा त तपाईंहरूले ध्वस्त बनाउनुभयो, अझै मान्छे हुनुको गुण बाँकी छ भने आएर पुल बनाउनुहोला ।’

पुल बनेमा गाउँ आउजाउ गर्न अरुलाई त फाइदा हुन्छ नै, पर्यटकीय गाउँ सिरुवारीलाई अझ फाइदा पुग्छ । बर्खामा खोला उर्लेर त्यहाँबाट वारपार गर्न निकै कठिन हुन्छ । अरु बाटोहुँदै जाँदा सिरुवारी पुग्नै ४ घन्टा लाग्छ । सिरुवारीका एक स्थानीय शिलापत्रसँग भन्छन्, ‘त्यो बाटो जम्मा डेढ घण्टाको हो । अरु बाटो चार घण्टाको छ । त्यो पुल बन्ने हो भने त हामीलाई धेरै राम्रो हुन्थ्यो ।’
ठेकेदार भन्छन्– ४५ दिनमा बनाउँछौँ
पटकपटक निर्माणको मिति धकेल्दै आएका ठेकेदारले फेरि काम सक्न नयाँ मिति तोकेका छन् । सामाजिक सञ्जालमा आफूहरूको फोटो नै आएर विरोध हुन थालेपछि ठेकेदार हच्किएका छन् । ठेकेदार ऋषिराम गौतमले बिहीबार शिलापत्रसँग कुरा गर्दै अबको ४५ दिनमा सेतीदोभानमा निर्माणाधीन पुलको काम सक्ने बताए । उनले भने, ‘आज केटाहरू जाने भनेका थिए । भएन । अब शनिबार मेसिन लिएर जान्छन् । माथिपट्टि स्ल्याप हाल्न मात्रै बाँकी छ । ४५ दिनभित्र काम सकिन्छ ।’
पुलको काम १० प्रतिशत मात्रै बाँकी रहेको ठेकेदार गौतमले दाबी गरे । तर, त्यसको ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको सडक डिभिजनले जनाएको छ । गौतमले कामको भुक्तानी नभएकाले निर्माणले निरन्तरता पाउन नसकेको सुनाए । ‘काम गर, दिन्छौँ भन्छन् । तर, बिल पेमेन्ट गर्दैनन्,’ उनले थपे, ‘सुरुमा १ करोड ४५ लाख लिएका छौँ । तीन वर्षदेखि काम गरेको भुक्तानी पाएको छैन ।’
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८ १७:४५