भाइरसलगायत सबै जीवले प्राकृतिक रूपमा नै आफ्नो बनावट र प्रकृतिलाई बदल्ने गर्छन् । कैयौँ पुस्तापछि जीवको परिवर्तित स्वरूपलाई उत्परिवर्तन वा भेरियन्ट भनिन्छ । उत्परिवर्तनले भाइरसलाई नयाँ वातावरणमा बाँच्न, संघर्ष गर्न र धेरै ठाउँमा फैलिन मद्दत गर्छ ।
सकेसम्म धेरै ठाउँमा फैलिन सक्नु नै भाइरसका लागि सफलता हो । चीनमा ‘सार्स–कोभ टु’ को पहिलो पटक पहिचान गरिएपछि यसका हजारौँ उत्परिवर्तन देखापरेका छन् । जसमध्ये मुख्य रूपमा चारवटा भेरियन्ट अल्फा, बिटा, गामा र डेल्टामा वैज्ञानिक र अनुसन्धानकर्ताको ध्यानाकर्षण भएको थियो । यो सूचीमा ओमिक्रोन भेरियन्ट पनि थपिएको छ ।
दक्षिण अफ्रिकाको ‘द नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज’ (एनआईसीडी) ले गत हप्ता सूचना जारी गर्दै नयाँ भेरियन्ट पत्ता लागेको जानकारी गराएको हो । एनआईसीडीका कार्यकारी निर्देशक प्रा.एडियन पुरेन भन्छन्, ‘तथ्यांक सीमित छ तर हाम्रा विज्ञ नयाँ भेरियन्टको असरबारे बुझ्न सबै प्रणालीसँग मिलेर काम गरिरहेका छन् । प्रारम्भिक रूपमा हेर्दा यसको विकास तीव्र देखिन्छ ।’
यसको वैज्ञानिक नाम बी.१.१.५२९ दिइएको छ । गत शुक्रबार विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ गर्दै सावधान रहन आग्रह गरेको थियो ।
कुनकुन देशमा यसको पहिचान भयो ?
यो भेरियन्ट गत हप्ता सर्वप्रथम दक्षिण अफ्रिकामा पहिचान भएको थियो । पछिल्लो समय बेलायत, बेल्जियम, जर्मनी, इजरायल, अस्ट्रेलिया, हङकङजस्ता देशमा यसको पहिचान भइसकेको छ । कैयौँ देशहरूले दक्षिण अफ्रिकासँगको यात्रा प्रतिबन्ध लगाइसकेका छन् । नेपालमा पनि आइतबार मात्रै दक्षिण अफ्रिकाबाट आउने नागरिकलाई प्रतिबन्ध लगाइएको छ । बेलायती स्वास्थ्य तथा सुरक्षा संस्थाका सल्लाहकार प्रमुखले यो भेरियन्टलाई हामीले देखेका मध्ये सबैभन्दा चिन्ताजनक भनी व्याख्या गरेका छन् ।
नयाँ भेरियन्टप्रति वैज्ञानिकहरू किन चिन्तित छन् ?
नयाँ भेरियन्टको स्पाइक प्रोटिन (जसको मद्दतले भाइरस हाम्रो जीवित कोषभित्र प्रवेश गर्छ) को ३० भन्दा बढी पटक उत्परिवर्तन भएको छ । यसको स्पाइक प्रोटिन डेल्टा भाइरसको भन्दा दुई गुणा बढी छ ।
प्रारम्भिक अध्ययनले ओमिक्रोन भेरियन्ट बढी संक्रामक हुन सक्ने देखाएको छ । यद्यपि वैज्ञानिकहरूले निकै द्रुत गतिमा यसको स्वभाव, संक्रमण दर, खोपको प्रभावकारितामाथि अध्ययन गरिरहेका छन् । केही हप्तापछि यसबारेका थप जानकारी हामी प्राप्त गर्न सक्नेछौँ ।
भाइरसको यस्तो नाटकीय परिवर्तनले खोप लगाइसकेका व्यक्ति वा पहिल्यै संक्रमित भएर निको भएका व्यक्तिको एन्टिबडीसँग मेल नखान सक्छ । अर्थात् खोप लगाइसकेपछि निर्माण भएको एन्टिबडीले यो भेरियन्टविरुद्ध काम गर्न सक्ने कुरामा वैज्ञानिकहरूलाई आशंका छ ।
यसभन्दा अघि देखिएको बेटा र डेल्टा भेरियन्टको क्रमश: ३ पटक र २ पटक मात्र उत्परिवर्तन भएको थियो । डेल्टा भेरियन्टकै कारण भारतमा दोस्रो लहरका बेला ठूलो क्षति पुगेको थियो । यसको असर नेपालले पनि भोग्नुपरेको थियो ।
प्रारम्भिक अध्ययनले ओमिक्रोन भेरियन्ट बढी संक्रामक हुन सक्ने देखाएको छ । यद्यपि वैज्ञानिकहरूले निकै द्रुत गतिमा यसको स्वभाव, संक्रमण दर, खोपको प्रभावकारितामाथि अध्ययन गरिरहेका छन् । केही हप्तापछि यसबारेका थप जानकारी हामी प्राप्त गर्न सक्नेछौँ ।
कोभिडविरुद्धका खोपहरू पुरानो प्रकृतिको कोराना भाइरसको स्पाइक प्रोटिनमा आधारित रहेर बनाइएका छन् । ओमिक्रोन भेरियन्टको स्पाइक प्रोटिन विल्कुलै फरक देखिएकाले हालसम्मका खोपहरू यसविरुद्धको प्रभावकारिता कम हुने हो कि भन्ने कुरामा वैज्ञानिकहरू चिन्तित छन् । यद्यपि यसको पुष्टि भइसकेको छैन ।
विभिन्न देशहरूले सुरु गरे प्रतिबन्ध
संसारका विभिन्न देशहरूले उच्च सतर्क बन्दै दक्षिण अफ्रिकी देशहरूसँगको यात्रामाथि प्रतिबन्ध घोषणा गरेका छन् । इजरायलले सबै विदेशीहरूलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । बेलायत, सिंगापुर, नेदरल्याण्ड, इटाली, अस्ट्रेलिया, साउदी अरब, बहराइनलगायत दर्जनौँ देशले अफ्रिकी देशहरूसँगको यात्रामा प्रतिबन्ध लगाएका छन् । अमेरिकाको न्युयोर्कमा संकटकाल लगाइएको छ । नेपालले पनि अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
विश्वको जुनसुकै देशमा खतरनाक भेरियन्ट देखिएपछि हरेक देशको हरेक व्यक्ति जोखिममा रहने नै भयो । हाम्रो देश नेपाल पनि त्यसबाट अछुतो छैन । त्यसैले बेलैमा उच्च सतर्कता अपनाउन विज्ञहरूले सल्लाह दिएका छन् । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च सतर्कता अपनाउन भनिसकेको छ ।
यस भेरियन्टको खतरा र संक्रमण क्षमताबारे अनुसन्धानकै क्रममा रहेकाले भयभीत नभईकन सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने अवस्था फेरि पनि सिर्जना भएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८ ०६:५७