नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेसनको उद्घाटन सत्रमा एकमात्र महिलाले भाषण गरिन् । उनी हुन् एमाले चितवन जिल्ला कमिटीकी अध्यक्ष पार्वती रावल । बन्दसत्रमा अध्यक्ष केपी ओलीले पेस गरेकाे केन्द्रीय सदस्य सूचीमा उनकाे नाम पनि अटाएकाे छ । अनि उनी देशभरका एमाले जिल्ला कमिटीमध्ये एकमात्रै महिला अध्यक्ष हुन् ।
आफूले जिल्ला पार्टीको नेतृत्व गरेको बेला चितवनमा महाधिवेशन हुँदाको उनको खुसी अनुहारमा प्रष्टै देखिन्थ्यो । र, व्यवस्थापनमा निकै चनाखो भएर उनी खटीरहेकी छन् । ‘महाधिवेशनको लागि एकदमै व्यवस्थित योजना बनाएका थियौँ,' उनी भन्छिन्, 'उद्घाटन सत्र समापन गर्दासम्म हामीले उक्त योजना राम्रैसँग कार्यान्वयन गर्यौँ ।’
महाधिवेशनले महिलाहरूले अवसर पाए जिम्मेवारी पूरा गर्न सक्षम छन् भन्ने सन्देश दिएको उनको ठम्याइ छ । ‘अवसर पायो भने गर्न सकिन्छ । जिम्मेवारी पायो भने नतिजाउन्मुख काम गर्नुपर्छ,’ रावल भन्छिन् ।
अझै सक्रियतापूर्वक पार्टीमा लाग्ने उनको भनाइ छ । ‘वडा कमिटीदेखि अहिले जिल्ला अध्यक्षको भूमिका निर्वाह गरेकी छु । मैले जुन हिसाबले काम गरेको छु यो भन्दा अझै धेरै गर्न चाहन्छु,’ उनी भन्छिन् ।
१०औँ महाधिवेशनले केन्द्रीय कमीटीमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गर्ने कुरामा आफू ढुक्क भएको उनको भनाइ छ । तर, पदाधिकारीमा महिलाले अवसर पाउनेमा भने उनलाई सन्देह रहेछ ।
रावलको राजनीतिक यात्रा
२०३३ सालमा चितवनको खैरहनी नगरापलिका चैनपुरमा जन्मेकी रावल विद्यार्थीकालदेखि नै राजनीतिसँग नजिकिइन् । माध्यमिक तहमा पढ्दै गर्दा रावलहरूलाई २०४६ सालमा पञ्चायतविरोधी आन्दोलन तथा आमसभामा लगिन्थ्यो । अनेरास्ववियुको बारेमा उनले त्यतिबेला नै सामान्य जानकारी पाइन् ।
कलेजको पढाइ सुरु गरेपछि उनी अनेरास्ववियुको क्याम्पस अध्यक्ष भइन् । २०५४ को स्थानीय निकायको निर्वाचनमा उनी धेरै ठाउँमा गएर उम्मेद्वारको लागि भोट माग्दै भाषण गरिन् । त्यसले उनको परिचय स्थानीय स्तरसम्मै विस्तार भयो ।
२०५६ मा रावलले पार्टी सदस्यता पाइन् । त्यसपछि सुरु भयो उनको कमिटीयात्रा । सुरुमा वडा कमिटीको जिम्मेवारी सम्हालेकी उनी गाउँ, क्षेत्र हुँदै जिल्ला कमीटीमा प्रवेश गरिन् ।
२०६२ देखि ०६४ सम्म उनी तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला अध्यक्ष बनिन् । सो संघमा रावल त्यसबेलाकी देशकै पहिलो महिला जिल्ला अध्यक्ष बनिन् । त्यसबेला उनले देशभरमा उत्कृष्ट संगठन व्यवस्थापनमा पुरस्कार जितिन् ।
२०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा उनलाई पार्टीले उम्मेदवार बनायो । रावल २०७० को संविधानसभा निर्वाचनमा पनि उम्मेदवार बनिन् । त्यसबेला कांग्रेसका सभापति सुशील कोइरालाले चितवनबाट चुनाव लडेका थिए । २०७१ मा उपनिर्वाचन भयो । पार्टीले पुनः रावललाई टिकट दियो । तर, यी तीन वटै निर्वाचनमा रावल पराजित भइन् । उनको जनमत भने बढ्दै गयो । सुरुमा साढे ६ हजार मत पाएकी उनले दोस्रो निर्वाचनमा १० हजार र तेस्रोमा १८ हजार मत पाइन् ।
रावलका अनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा पार्टीले उनलाई मेयर/उपमेयरमा चुनाव लड्न प्रस्ताव गरेको थियो । त्यसलाई अस्वीकार गरेको रावलले बताइन् । ‘संविधानसभाको निर्वाचनमा तीन पटक उठिसकेकोले फेरि तल फर्कने अवस्था हुँदैन । म आवश्यक पर्दा केन्द्रीय राजनीतिमै भूमिका निर्वाह गर्न चाहान्छु । स्थानीय र प्रदेशमा उम्मेदवार बन्दिनँ भनेँ,' रावलले कारण खुलाइन्, 'मेरो मान्यता भनेको जहाँ पायो त्यहा जान हुन्न । जहाँ गइन्छ पूरा उत्साहपूर्वक काम गर्नुपर्छ । पद भनेको कामका लागि हो ।’
उम्मेद्वार बन्न अस्वीकार गरेकी रावललाई विभिन्न आयोगका लागि प्रस्ताव पनि आयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भने आफूलाई भूगोलको राजनीमा अग्रसर हुन सुझाएको उनी बताउँछिन् । ‘समानुपातिकबाट सांसद हुने तर भूगोलमा नजोडिएकाले महिलाको राजनीति कमजोर भएको छ । मलाई भूगोलको राजनीतिमा लाग्न सुझाव आयो,' रावल भन्छिन्, 'तपाईं आगोमा हाम फालिसक्नुभएको छ भूगोलमा राजनीति गनुपर्छ भन्ने सकारात्मक सुझाव आयो ।’
'विवाहीत महिला भएकाले घरपरिवार समाहाल्नु पनि पर्छ,' उनी भन्छिन्, 'सक्रिय रूपमा राजनीतिमा लाग्न त चुनौती नै छ, तर म पछि हटेकी छैन ।'
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८ १७:०६