अहिले हुम्लामा खाद्यान्न अभाव भइरहेको छ । यता सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा भने खचाखच खाद्यान्न छ । हुम्लालगायतका हिमाली जिल्लामा समयमै ढुवानी नहुँदा सुर्खेतको गोदाममा खाद्यान्न थन्किएको हो ।
खाद्य कम्पनीको प्रादेशिक गोदाममा पाँच–पाँच हजार क्विन्टल क्षमताका दुई र दश हजार क्विन्टल क्षमताको एक गरी २० हजार क्विन्टल खाद्यान्न भण्डारण गर्न सक्ने क्षमता छ । गोदाममा अहिले ११ हजार क्विन्टल मौजुदा छ । थप पाँच सय क्विन्टल खाद्यान्न एक दुई दिनमा ल्याइपुर्याउने तयारी छ ।
बाहिरबाट खाद्यान्न आइराख्ने तर हिमाली जिल्लामा पठाउन नसक्दा भण्डारण क्षमताले धान्न नसक्ने अवस्थामा खाद्यान्न रहेको कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका सूचना अधिकारी वासुदेव रिजालले बताए ।
‘बाहिर शाखाहरूबाट सुर्खेतमा आइरहने र यहाँबाट बाहिर जिल्लामा पठाउन नसक्दा सुर्खेतमा धान्न नसकिने चाप छ,’ रिजालले भने, ‘हवाई माध्यमबाट मात्र होइन, सडकबाट पठाउने खाद्यान्न पनि ढुवानीकर्ता ठेकेदारले समयमै नउठाउने समस्या छ ।’
हिमाली जिल्लामा खाद्यान्न आपूर्तिका लागि खाद्य कम्पनीले सरकारबाट अनुदान पाउने गरेको छ । तर, समयमै ढुवानी नहुँदा गोदाममा खाद्यान्न थन्किने अनि सम्बन्धित ठाउँका नागरिक भोकै बस्नुपर्ने अवस्था छ ।
खाद्य कम्पनीले चालु आर्थिक वर्षको सुरुदेखि नै हुम्लामा खाद्यान्न पठाएको छैन । जसका कारण सडक मार्गबाट नजोडिएको हुम्लामा खाद्यान्न अभाव छ । खाद्य कम्पनीले निजी कम्पनीहरूबाट खाद्यान्न ढुवानी गर्दै आएको छ ।
ढुवानीकर्ताको छनोटमा आर्थिक चलखेल हुने गरेकाले हरेक वर्ष ढुवानीमा ढिलाइ हुँदै आएको सरोकारवालाहरूको आरोप छ । यस वर्ष पनि कम दर प्रस्ताव गरेको कम्पनीलाई छाडेर झण्डै दोब्बर दरमा सिम्रिक एयरले हुम्लामा ढुवानी गर्ने ठेक्का पाएको आरोप छ ।
ठेक्का सम्झौतापछि २९ कात्तिकदेखि १ मंसिरसम्म ३७ क्विन्टल खाद्यान्न ढुवानी गरेको थियो । तर, समिट एयरले बढी दररेट हालेको कम्पनी छानेको भन्दै अदालतमा मुद्दा हालेकाले १ गतेदेखि हुम्लामा ढुवानी रोकिएको खाद्य कम्पनीका सूचना अधिकारी रिजालले बताए ।
१० गतेदेखि खाद्यान्न पठाउँछौँ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेश सरकारले शुक्रबार (१० गते) हुम्लामा खाद्यान्न पठाउने भएको छ । सेनाको हेलिकोप्टरमार्फत हुम्लाको सिमकोट र लिमीमा चामल पठाउन लागिएको हो ।
चीनले राहतस्वरुप दिएर हिल्सा नाकामा थन्किएको खाद्यान्न लिमीमा ढुवानी गर्न गृह मन्त्रालयले सेनाको हेलिकोप्टर पठाउन लागेको छ । सोही हेलिकोप्टरमा प्रदेश सरकारले सुर्खेतबाट चामल पठाउने तयारी गरिरहेको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए ।
‘चीन सरकारले दिएको खाद्यान्न ल्याउन नेपाल सरकारले १० गते हिल्सामा हेलिकोप्टर पठाउँदै छ । त्यो हेलिकोप्टर जाँदा हामीले एक टिप चामल पठाउने तयारी गरेका छौँ,’ उनले भने, ‘पाँच/छ टिप थप चामल पठाउनका लागि समन्वय भइरहेको छ ।’
ढुवानीको विषयमा मुद्दाको छिनोफानो नलागेसम्म सेनाको स्काई ट्रकबाट खाद्यान्न ढुवानीको व्यवस्था मिलाइने प्रदेश सरकारले जनाएको छ । ‘ढुवानीको मुद्दामा अदालते छिनोफानो नगरेम्म सेनाको स्काई ट्रकबाट ढुवानीको व्यवस्था मिलाउनका लागि पनि पहल भइरहेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘सिमकोटसम्म सेनाको स्काई ट्रकबाट र त्यसबाट लिमीसम्म हेलिकोप्टरमार्फत पठाउँछौँ ।’
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८ १४:५५