दसैँदेखि सुरु भएको हिमपातका कारण हुम्लाका केही विकट गाउँमा खाद्यान्नको अभाव सुरु भयो । कतिपय गाउँमा चामलको दानासमेत नभएपछि नाम्खा गाउँपालिका – ६ का वडाअध्यक्ष पाल्जोर तामाङ र सासंद छक्कबहादुर लामा चामल माग्न काठमाडौं नै आइपुगे ।
खाद्यान्न नभएर गाउँ नै भोकमरीमा पर्ने अवस्था भएपछि चामल माग्न काठमाडौं नै आउनुपर्ने बाध्यता भएको वडाध्यक्ष तामाङले शिलापत्रलाई जानकारी दिए । जनता भोकै नमरून् भनेर हुम्लाबाट सुर्खेतसम्म हिँडेरै र त्यहाँबाट जहाजमा काठमाडौंसम्म चामल माग्न आएको उनले बताए ।
उनका अनुसार हिमपातका कारण हुम्लामा दसैँदेखि नै चामलको अभाव सुरु भएको हाे । ‘हुम्लामा खाद्यान्न नपाउने समस्या त्यहाँका जनताले वर्षौंदेखि भोग्दै आएका छन् । कतिपय विकट गाउँका जनता एक छाक मात्र खाएर बाँचेका छन्,’ उनले भने, ‘लोकतन्त्रमा जनप्रतिनिधि चामल माग्न हिँड्नु भनेको लाजमर्दो विषय हो । तर के गर्नु, जनता बचाउनुपर्ने बाध्यता छ । त्यही भएर चामल माग्न काठमाडौं आएँ ।’
काठमाडौंमा मन्त्री, नेता र ठूलाबडासँग हात मिलाएर फोटो खिच्न आएको होइन । विशुद्ध जनताका लागि खाद्यान्न चामल माग्न आएको उनको भनाइ छ ।

नाम्खा गाउँपालिका– ६ का जनतालाई गाउँपालिकाको कार्यालयमा हिँडेर आइपुग्न तीन दिन लाग्छ भने हुम्ला सदरमुकाम पुग्न पाँच दिन लाग्ने उनले बताए । चामल मात्र होइन, हुम्लाको लिलीगाउँमा अनिवार्य चाहिने ढिके नुन किन्न पनि चार दिन हिँड्नुपर्ने उनको भनाइ छ ।
उनी भन्छन्, 'तत्काल नाम्खा गाउँपालिका– ६ का ११ सय जनता चामल नभएर भोकमरीमा छन् । उनीहरूलाई बचाउनुपर्ने मेरो दायित्व हो । त्यही भएर केन्द्रीय सरकारको शरणमा चामल माग्न काठमाडौं आएको हुँ ।'
अर्थमन्त्री, गृहमन्त्री, आपूर्तिमन्त्री, खाद्यान्न संस्थाको प्रमुख र केही नेतालाई भेटेर जनता बचाउन गुहार माग्ने वडाध्यक्ष तामाङको भनाइ छ ।
उनले थपे, 'हिमपातको बाटोहुँदै ज्यानको बाजी राखेर पहाड छिचोल्दै ३० जना हुम्लाको सदरमुकाम सिमीकोटसम्म आएका थियौँ । अन्य साथी त्यहीँ बसे । मचाहिँ सांसद छक्कबहादुर लामालाई लिएर काठमाडौं आएको हुँ ।'
यसरी भयो खाद्यान्नकाे अभाव
लिलीगाउँका लागि चीन सरकारले ४ सय ६० क्वीन्टल चामल अनुदान दिएको थियो । चीनको हिल्सा नाका १४ वर्षयता बन्द छ । यो नाका सञ्चालन गर्न सरकारले चासोसमेत दिएको छैन ।
चीन सरकारले दिएको अनुदानको चामल हिमपातका कारण नेपालसम्म बोकेर ल्याउन सक्ने अवस्था छैन । त्यही भएर चीनले दिएको चामल सीमापारि नै रोकिएको वडाध्यक्ष तामाङले बताए ।

चामलमा मात्र होइन, अन्य खाद्यान्नका सामग्री पनि हिमपातका कारण चीनमै रोकिएका छन् । तत्काल स्थलमार्गहुँदै ल्याउन सक्ने अवस्था नभएका कारण हेलिकोप्टरबाट आयात गर्नुपर्ने अवस्था रहेकाे उनले बताए । लिली गाउँसँग जोडिएका दुई बाटो हिमपातका कारण बन्द छन् । त्यही भएर स्थलमार्गहुँदै चामल फागुन महिनासम्म ढुवानी गर्ने सम्भावना छैन ।
नारा भञ्ज्याङ र न्यानो भर्याङमा हिमपातका कारण बाटो अवरुद्ध छ । जसका कारण नाम्खा– ६ मा ओहोरोदोहोर गर्ने अवस्था नभएको सासंद छक्कबहादुर लामाले बताए ।
कैयौँ पटक संसदमा समेत हुम्लाका जनताले बर्सेनि भोगिरहेको खाद्यान्न, औषधि, शिक्षा, हिमपातको समस्या र अन्य समस्याका बारेमा जानकारी गराए पनि सरकारले सुनुवाइ नगरेको उनको गुनासो छ ।

उनी भन्छन्, 'अहिले हिमपातका कारण भोकमरीको अवस्था आयो । मैले सरकारका सम्बन्धित व्यक्तिलाई तत्काल चामल व्यवस्था गर्न आग्रह गरेको छु । चामलको अभाव टार्न सरकारले केही गर्छ भन्ने आशामा छु ।'
हुम्लाका विकट गाउँ तिल, जाँङ, जिनी र हल्जीमा चामलको अभाव छ । जसका कारण सरकारले तत्काल हेलिकोप्टरबाट चामल पुर्याएर जनता बचाउनुपर्ने उनको माग छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८ १३:४१