बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनबारे छलफल गर्न आफूनिकट नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए ।
अधिकांश नेता काठमाडौंबाहिर रहेकाले देउवाले बोलाएको बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशरण महत उपस्थित थिए ।
स्वीस प्रतिनिधिसँग आफ्नो निवासमा छलफलको समय निर्धारित रहेकाले निधिले बैठकमा आफ्नो धारणा राख्न समय मागे । १४औँ महाधिवेशनमा आफूलाई समर्थन गर्न देउवालाई आग्रह गरे ।
बैठकमा निधिले देउवाको पुरानो वाचा स्मरण गराउँदै भने, 'तपाईंले मलाई १४औँ महाधिवेशनमा सहयोग गर्ने भन्नुभएको थियो । म सभापतिमा लड्छु तपाईंले सहयोग गर्नुपर्यो ।'
निधिको प्रस्तावपछि देउवा गरम भए । बैठकमा सहभागी एक नेताका अनुसार निधिको प्रस्तावपछि देउवा झोक्किएका थिए । 'सभापतिमा लड्ने भए तपाईंलाई शुभकामना,' झोक्किँदै देउवाले भने ।
देउवाको झोक भेटेका निधिले सभापतिबाट शुभकामना पाउनु आफ्नो लागि सुखद समाचार भएको बताए । 'सभापतिबाट शुभकाना पाउनु त मेरो लागि शुभ समाचार हो,' निधिको भनाइ थियो ।
त्यसपछि देउवाले आफ्नो शुभकामना अर्को महाधिवेशनका लागि रहेको बताए । 'तपाईं अहिले नउठ्नुस भन्दा मान्नुहुन्न,' देउवाले निधिलाई दिएको जबाफ उद्धृत गर्दै एक नेताले भने, 'मेरो शुभकाना त अहिलेको लागि होइन ।'
देउवाको जवाफ सुनेपछि निधिले कटाक्ष गरे- 'तपाईंलाई ज्योतिषीले पटकपटक प्रधानमन्त्री हुन्छ पो भनेको त पटकपटक सभापति हुने भनेको त होइन नि ।'
यसअघि निधिसँग झोक्किएका देउवा निधिको जवाफपछि खुलेरै हाँसेको बैठकमा सहभागी ती नेताले भने । 'पहिले त झोक्किनुभएको थियो । निधिले ज्योतिषको प्रसँग निकालेपछि दुबै नेता खुलेरै हाँस्नुभयो,' ती नेता भन्छन् ।
उच्च स्तरीय समन्वय समितिप्रति निधिको आपत्ति
त्यसक्रममा निधिले उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन भएकोमा देउवासँग असन्तुष्टि जनाएका थिए ।
निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार देउवालाई निधिले उक्त समिति कम्युनिष्ट पार्टीको पोलिटब्युरो जस्तै भएको प्रतिक्रिया दिएका थिए ।
दाहालका अनुसार निधिले उक्त संयन्त्र आवश्यक नभएको बताएका थिए । समितिलाई आगामी निर्वाचनसम्म लानु झन् हानीकारक हुने निधिको भनाइ थियो ।
‘सरकार सञ्चालनका लागि यस्तो संयन्त्र बनाइराख्नु हुँदैन । यो त कम्युनिष्ट पार्टीको पोलिटब्युरो जस्तो हुन्छ,' निधिले देउवालाई दिएको जवाफ उद्धृत गर्दै दाहालले भने ।
त्यसपछि देउवाले समन्वय समिति राष्ट्रियसभाको निर्वाचनसम्मका लागि मात्रै भएको बताएका थिए ।
गठबन्धनमा आवद्ध कांग्रेसइतरका दलहरूले गठबन्धन आगामी निर्वाचनसम्मै जाने बताउँदै आएका छन् । समितिमा गठबन्धनमा आवद्ध पाँच राजनीतिक दलबाट २-२ जना सदस्य छन् । त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सदस्य छन् ।
संस्थापन पक्षबाटै सभापतिका दुई उम्मेदवार
निधिले पनि सभापतिमा लड्ने दाबी नछोडेपछि नेपाली कांग्रेसको आगामी महाधिवेशनमा दुई उम्मेदवार हुने निश्चितजस्तै भएको छ । देउवा पनि सभापतिमा लड्ने तयारीमा छन् । निधिले पनि उम्मेदवारी दिने भएपछि संस्थापन पक्षबाटै सभापतिका दुई उम्मेदवार हुने भएका हुन् ।
देउवाले आजको भेटमा आफू अन्तिम पटक सभापतिमा लड्न लागेकाले सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा निधिले यसअघि आफूले सहयोग गरेकाले १४औँ महाधिवेशनमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८ २२:३९