प्रहरीले गत २७ मंसिरमा कपिलवस्तुको शिवराज नगरपालिका-५ की ५९ वर्षीया सुशीला खड्काको हत्या अनुसन्धानमा सघाउ पुर्याउने जम्बो नाम गरेको कुकुरलाई वर्ष उत्कृष्ट घोषणा गरेको छ ।
यमपञ्चकको पहिलो दिन कुकुर तिहारकै दिन प्रहरीले बुधबार जम्बोलाई उत्कृष्ट कुकुर घोषणा गरेको हो । सुशीलाको आफ्नै घरमा हत्या भएको थियो । सोही हत्या अनुसन्धानमा प्रयोग भएको जम्बोले हत्या गर्न प्रयोग गरेको इँटाका टुक्रा र लाठी फेला पारेपछि त्यहीँ सुँघाएर जम्बोलाई छाडिएको थियो ।
घटनास्थलमा मृतकका आफन्तहरू जम्मा भएका थिए । प्रहरीलाई अपराधी पक्राउ गर्नुपर्ने बाध्यता थियो । तर, सुँघ्दै गएको जम्बोले मृतककै भतिज २३ वर्षीय तोरणबहादुर खड्कालाई संकेत गर्यो । सोही संकेतका आधारमा प्रहरीले अनुसन्धान गर्दा तोरणबहादुरले नै हत्या गरेको पुष्टि भएको थियो ।

अपराध अनुसन्धानमा प्रहरीका लागि कुकुर संसारभर नै महत्त्वपूर्ण टुल्सका रूपमा प्रयोग हुने गरेको छ । गत वर्ष असोजमा आतंककारी घोषित गरिएको इस्लामिक स्टेट (आएस) प्रमुख अबु बकर अल-बग्दादी बम जडान गरिएको टिसर्ट विष्फोटमा मरे ।

उनलाई अमेरिकी सेनाको कुकुरले सुरुङभित्र फेला पारेपछि भाग्ने ठाउँ नभएर यसरी मरेका थिए । त्योबेला तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बग्दादी लुकेको ठाउँ पत्ता लगाउन र उनलाई गुफाभित्र खेद्न महत्त्वपूर्ण भूमिका खेलेको सैन्य कुकुरको तस्वीर सार्वजनिक नै गरेका थिए ।

राष्ट्रपति ट्रम्पले कुकुरको तस्वीर आफ्नो आधिकारिक ट्वीटरबाट सार्वजनिक गरेका थिए । उक्त कुकुरको नाम थियो- कोनान ।सन् २०११ मा अलकायदा प्रमुख ओसामाविन लादेनविरुद्धको कारबाहीमा पनि अमेरिकाले विभिन्न जातका कुकुर प्रयोग गरेको थियो ।
नेपालमा पूजा पनि, अनुसन्धानमा पनि
नेपालीको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । यम पञ्चकको दोस्रो दिन कुकुर तिहार मानिन्छ । तर, तिथि अनुसार काग तिहार र कुकुर तिहार एकैदिन परेको हो ।
आज कुकुरलाई पूजा गरी मिठो खानेकुरा दिने प्रचलन छ । कुकुरलाई भोजन गराउँदा यमराज तथा पितृहरू खुसी हुने धार्मिक मान्यता छ । कुकुरलाई मानिसको साथीका रूपमा समेत हेरिने गरिएको छ । त्यसैले कुकुर मानिसको रक्षक पनि हो ।

आजभोलि घरको सुरक्षा गर्न कुकुर पाल्नेदेखि अपराधी पत्ता लगाउन प्रहरीले समेत कुकुरको प्रयोग गर्ने गरेको छ । विश्वभरका प्रहरीले अपराध अनुसन्धानमा कुकुरको सहयोग लिँदै आएका छन् । कतिपय अपराधका घटनामा प्रहरीले पत्ता लगाउन नसकेका अपराध घटना कुकुरको सहयोगमा पत्ता लागेका छन् ।
हाल प्रहरीले अपराध अनुसन्धान र विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि भन्दै कुकुरको प्रयोग गर्दै आएको छ । कतिपय ठूला अपराधका अनुसन्धानमा कुकुरको प्रयोगले प्रहरीले सफलता समेत हात पारेको छ ।

अपराध अनुसन्धानका लागि नेपाल प्रहरीसँग पोलिग्राफ मेसिन, डिजिटल फरेन्सिक ल्याब, डिएनए प्रोफाइलिङ युनिट, अटोमेटिक फिङ्गर प्रिन्ट, आइडेन्टिफिकेसन सिस्टमजस्ता आधुनिक प्रविधि छन् । यसबाहेक अपराध अनुसन्धानको अर्को भरपर्दो माध्यम तालिम प्राप्त कुकुर हो । नेपाल प्रहरीसँग विभिन्न प्रकारका अपराधमा प्रयोग हुने आठ प्रजातिका कुकुर रहेको केन्द्रीय कुकुर तालिम महाशाखाका प्रमुख एसएसपी देउती गुरुङको भनाइ छ ।

उनीहरूमध्ये लिजा, रेस्क्यु, सिया, जोली, जुलेट, भुन्टी, सोल र डेनी, जम्बोलगायत कुकुरले अपराध अनुसन्धानमा ठूलो सफलता हात पारेको एसएसपी गुरुङको भनाइ छ ।
२०३२ सालबाट व्यवसायिक प्रयोग
नेपाल प्रहरीले २०२७ सालमा कुकुरबारे तालिम लिन दुई जना प्रहरी अधिकारीलाई मलेसियामा पठाएको थियो । त्यसपछि नेपाल प्रहरीले अपराध अनुसन्धान र सुरक्षामा कुकुरको प्रयोग गर्न थालेको हो । कुकुरलाई २०३२ सालबाट प्रहरीले व्यवसायिक तरिकाले प्रयोग गर्दै आएको छ ।

हाल प्रहरीसँग आठ प्रजातिका ८५ वटा कुकुर छन् । हाल प्रहरीले पाँच नम्बर प्रदेश प्रहरी कार्यालयबाहेक अन्य सबै प्रदेश प्रहरी कार्यालयमा तालिम प्राप्त कुकुर रहेको जनाएको छ ।
कसरी दिइन्छ कुकुरलाई तालिम ?
प्रहरीले भारत, बेलायत, अमेरिकालगायतका देशबाट कुकुरका छाउरा ल्याउने गरेको छ । ती छाउरालाई छ महिना पुगेपछि विभिन्न अपराध पत्ता लगाउन तालिम दिन सुरु गरिने प्रहरीको भनाइ छ । उनीहरूलाई तीन महिनाको आधारभूत तालिमपछि क्षमता अनुसार वर्गीकरण गरेर अपराध अनुसन्धानमा प्रयोग गरिन्छन् ।
आधारभूत तालिममा कुकुरलाई अनुशासित बनाउने, मान्छेसँग घुलमिल हुन सिकाउने र बाँकी एक वर्षसम्म सम्बन्धित अपराध अनुसन्धानसम्बन्धी तालिम गराइने गरिएको छ ।
कसरी पुग्छ अपराधीसम्म कुकुर ?
कुकुरमा सुँघ्ने क्षमता बढी हुने गर्छ । सुँघ्ने क्षमताकै आधारमा कुकुरले अपराधी पत्ता लगाउने गरेको प्रहरीको भनाइ छ । प्रत्येक मान्छेमा हुने गन्ध फरक-फरक हुने हुँदा कुकुरलाई पत्ता लगाउन सजिलो हुने प्रहरीको भनाइ छ ।

त्यसैका आधारमा कुकुर अपराधीसम्म पुग्न सफल हुने गर्दछ । घटनास्थलमा भेटिएका प्रमाणमा भएको मानिसको गन्ध सुँघ्ने र कुकुरले अपराधमा संलग्न व्यक्ति पत्ता लगाउँछ । घटनास्थलमा कुनै सबुत प्रमाण नछाडे पनि मान्छेको पाइलाको गन्ध सुँघेर कुकुरले अपराधी पत्ता लगाउने गरेको प्रहरीको भनाइ छ ।
नेपालमा कुकुरले पत्ता लगाएका केही ठूला अपराध
घटना–१
८ असोज २०७४ मा कास्कीको पोखरा–२२ पुम्दी भुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भयो । ८ गते साँझ श्रेयाका छिमेकी कुसुम पौडेलले उनलाई बलात्कारपछि ढुङ्गाले टाउकोमा हानी हत्या गरेका थिए ।
श्रेयाको शव पोखरा प्रहरीले ९ गते बिहान झाडीमा फेला पार्यो । तर, कसले हत्या गर्यो भन्ने खुलेको थिएन । प्रहरीसँग कुकुरको भर पर्नुको विकल्प थिएन । पोखरा प्रहरीले प्रहरी निरीक्षक विक्रमबहादुर पाण्डेको नेतृत्वमा कुशल नाम गरेको ‘ट्रयाकर डग’ घटनास्थल पठायो ।
पाण्डेले घटनास्थलमा श्रेयालाई प्रहार गरिएको ढुङ्गा भेटे र कुशललाई त्यही ढुङ्गा सुँघाए । घटनास्थलमा भेटिएको ढुङ्गाबाट कुशलले असोज १० मा कुसुम पौडेललाई संकेत गरे । त्यही आधारमा प्रहरीले पौडललाई पक्राउ गयो ।
घटना–२
१८ कत्तिक २०६४ मा बाराका पत्रकार वीरेन्द्र साहलाई अज्ञात समूहले अपहरण गर्यो । पत्रकार साह अपहरणमा परेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी गरे । तर, एक महिनासम्म पनि साहको अवस्थामा पत्ता लागेन ।
प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्रबाट ‘ब्ल्याकी’ नामको कुकुरलाई अनुसन्धानमा पठाइयो । ब्ल्याकीले साहको शव बाराको भैवानाकाको जंगलमा गाडिएको अवस्थमा पत्ता लगायो ।
घटना–३
१० माघ २०७० रसुवाको ब्राप्चेको पहिरोमा पुरिएर सिभिल इन्जिनियर चेरब घिमिरे बेपत्ता भए । उनलाई सुरक्षाकर्मीले खोजी गरे । तर, घिमिरेको अवस्था पत्ता लगाउन सकेनन् । पछि रेस्क्यु र खुश्बु कुकुरको सहयोगमा घिमिरेको शव फेला परेको थियो ।
तस्वीरहरू: सुशील श्रेष्ठ/शिलापत्र
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८ १३:११