चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २७ वाणिज्य बैंकले १८ अर्ब ११ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । कोभिड १९ को कारण कर्जा प्रवाहमा कमी आएपछि अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा ६ प्रतिशतले नाफा घटेकोमा चालु वर्षमा भने बैंकहरूको नाफा उल्लेख्य (२४ प्रतिशत) वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७७/७८ को असोजसम्म वाणिज्य बैंकहरूले १४ अर्ब ६० करोड रुपैयाँ नाफा गरेका थिए । चालु वर्षमा भने करिब ४ अर्ब रुपैयाँ नाफा वृद्धि भएको छ ।
२३ वटा बैंकको नाफा गत वर्षको तुलनामा वृद्धि भएको छ भने ४ वटा बैंकको नाफा घटेको छ ।
अर्ब क्लबमा ५ बैंक
बैंकहरूले जारी गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार ५ वटा बैंकले एक अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । गत वर्ष यही समयमा ४ वटा बैंकले अर्बभन्दा बढी नाफा कमाएका थिए ।
अहिले बढी नाफा कमाउनेमा सबैभन्दा धेरै एनआईसी एसियाले १ अर्ब १८ करोड, ग्लोबल आईएमई र नबिल बैंकले समान १ अर्ब ११ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ५ करोड र एनएमबी बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएका छन् ।
यी बैंकले कमश: १५, ५, ७, २६ र ४२ प्रतिशत नाफा बढाएका हुन् । गत वर्षको पहिलो त्रैमासिकमा अर्ब क्लबमा उक्लिएको प्राइम बैंकको नाफा भने अहिले ३ प्रतिशतले घटेर ९७ करोडमा सीमित भएको छ ।
२७ बैंकले १८ अर्बभन्दा बढी नाफा कमाउँदा ५ बैंकको योगदान मात्रै ३० प्रतिशत पुगेको छ । ५ बैंकको मात्रै नाफा ५ अर्ब ५० करोड बढी रहेको छ ।
२७ मध्ये धेरै नाफा कमाउने १० बैंकले १० अर्बभन्दा बढी नाफा कमाउँदा कम नाफा कमाउने १७ बैैंकले ८ अर्ब १० करोड नाफा गरेका छन् ।
सिभिलको नाफा २०० प्रतिशत बढ्यो, अन्य ७ को ५० प्रतिशतभन्दा माथि
गत वर्षको तुलमाना यस वर्ष उल्लेख्य नाफा कमाउनेमा सिभिल बैंक अग्रस्थानमा छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा जम्मा ९ करोड रुपैया नाफा आर्जन गरेको सिभिल बैंकले अहिले २०० प्रतिशतले बढाएर २९ करोड पुर्याएको छ ।
यस वर्ष सिद्धार्थ बैंकले ८९ प्रतिशले बढाएर ९४ करोड, नेपाल एसबीआईले ८५ प्रतिशतले बढाएर ३७ करोड, एभरेष्ट बैंकले ७२ प्रतिशले बढाएर ५७ करोड, एनसीसी बैंकले ५४ प्रतिशतले बढाएर ५१ करोड, माछापुच्छ्रेले ५५ प्रतिशले बढाएर ५६ करोड, सानीमा बैंकले ५२ प्रतिशले बढाएर ५६ करोड र एनसीसीले ५४ प्रतिशले बढाएर ५१ करोड नाफा आर्जन गरेका छन् ।
कुन बैंकको कति नाफा ? (हेर्नुस् तस्वीर)

नाफा वृद्धिको कारण- खुद ब्याज आम्दानी र शेयर
अधिकांश बैंकहरूले नाफा वृद्धिको पहिलो कारण ब्याज आम्दानी देखिएको छ । ब्याज आम्दानी बैंकको मुख्य नाफा कमाउने कारण हो ।
धेरै नाफा कमाउने केही बैंकको भने शेयरबाट राम्रो आम्दानी भएको देखिएको छ । 'शेयरमा लगानी गरेका बैंकहरूले राम्रो मुनाफा गरेको वित्तीय विवरणमा देखिएको छ,' एक बैंकका सीईओले भने, 'समग्रमा बैंकको नाफा सकरात्मक देखिएको छ, दोस्रो त्रैमासिकमा पनि यही नाफादर राख्न भने चुनौतिपूर्ण छ ।'
चालु वर्षको तीन महिनामा वाणिज्य बैंकहरूले ३ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा जम्मा ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसको असर दोस्रो त्रैमासिकमा देखिन सक्ने आँकलन गरिएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८ २१:२२