एक साँझ, अजङ्गको नदीवारि, मरुभूमिजस्तो बगरमा दुई जना मानिस जीवनको गम्भीरतम् प्रश्नबारे गम्दै उभिएका थिए । एउटा थियो बाबु- यौवन, सौन्दर्य, उल्लास र सिर्जनात्मकता आदि जीवनका यावत् सजीव लक्षणहरूबाट च्यूत भएको, विदीर्ण हृदय र जीर्ण शरीर भएको एउटा निस्सार बूढो ।
अर्को थियो बूढाको छोरो- सूर्यमुखी फूलझैँ संवेदनशील, फक्रदाे कमलझैँ सौन्दर्य र सुवासले भरिपूर्ण, वसन्त ऋतुको आकाशको अनन्त उचाइतिर चढ्दै गएको सूर्यझैँ यौवन, तेज र साहसको सजीव प्रतिमूर्ति । उल्लास र सिर्जनात्मक भावनाले छताछुल्ल भएको तन्नेरी छोरो । उनीहरूको पछिल्तिर एउटा मन्दिर थियो, समयका निर्मम पाइलाले जुगौँजुग कुल्चेर गजुरको रङ्गरोगन खुइलिएको, भित्ताहरूमा कालक्रमको काई लागेको र देवताको आसन ओसिएको । भक्तजनहरूद्वारा पूर्ण परित्यक्त । र, उनीहरूको अघिल्तिर थियो बडेमाको नदी, पानीका हेमानका पहाडहरूलाई ठेल्दै खोकिलाभित्र भयङ्कर गोही, विषालु अजिङ्गर र अनेकन हिंस्रक जलजन्तु बोकेर आदिकालदेखिको यात्रामा अटुट, अथक र निर्वाधरूपले बगिरहेको । डाँडापारी डुब्न लागेको घामको दोछायाँमा नदीपारि अनकन्टार जङ्गल देखिन्थ्यो- कालो, धकलाग्दो र एकलास ।
कम्मरसम्म चिहानमा डुबिसकेको बूढो बाबुले तन्नेरी बाघजस्ता छोराका हात समात्दै भन्यो, ‘प्रिय छोरा ! जीवनको यस अन्तिम घडीमा यो एक्लो, बैरागलाग्दो, उजाड मरुभूमिमा, देवतासरी पूज्य तेरो जन्मदाता, निर्धो बाबुलाई अलपत्र पारेर तँ पारि नजा । तँ आफ्नो कर्तव्य नबिर्सी । जीवनदाता बाबुप्रतिको पवित्र कर्तव्य तँ नबिर्सी । हेर त, डाँडामुनि घाम डुबिसक्यो, अँध्याराका मुस्लाहरूले वसन्तकालको बेगवान् बादललेझैँ चराचर जगतलाई छोप्दै लगे । त्यो अन्धकार के हो तँलाई थाहा छ, बाबु ? त्यो प्रलयको अन्तिम सूचना हो । विनाशको भयङ्कर घोषणा हो त्यो । मेरो मृत्यु हो, म निर्धो र निर्वल परेवामाथि झम्टिन आइरहेको आक्रमणकारी बाज हो त्यो ।’
आँखाबाट आँसुका बलीन्द्र धारा बगाउँदै, थर्थरी काम्दै, मरुभूमिजस्तो उजाड बाबुले मध्याह्नको सूर्यझैँ तेजले धप्धपी बलेको छोरोलाई भन्यो, ‘प्रिय छोरा, जीवनको अत्यन्त दुःखपूर्ण यस घडीमा, नर्ककुण्डको यातनामय बैतर्णी नदीमा डुब्न लागेको तेरो यो अनाथ बाबुलाई यस्तो हालतमा छाडेर तँ उता नजा ।’
‘मेरा परमप्रिय बा !’ बाबुका चुच्चाड्डीहरू उठेको पिठ्यूँमा स्नेहसिक्त औँलाले मुसार्दै र नदीका बेगवान् छालहरूझैँ छातीमुनि आवेग उर्लेका छोराले बिन्ती बिसायो, ‘म जान्छु, बा ! हेर्नोस्, घाम अस्ताइसक्यो । मानवजगतको यस भेगमा अन्धकार व्याप्त भइसक्यो । जीवनशन्य र उजाड यस मरुभूमिमा मलाई ठाउँ छैन । यौवन, सिर्जना र सुखको शिखरतिर उक्लन मैले साहस र धैर्य जम्मा गरिसकेको छु । बा, म जान्छु ।’
मेरा नसा-नसामा उसप्रतिको प्रेमले भिजेको पवित्र रगत बगिरहेछ । मेरो आत्माका कणकणमा सिर्जनाको सुरिलो धून गुन्जिरहेछ ।
उजाड मरुभूमिको उराठलाग्दो वातावरण आफ्ना दूरदृष्टि र सूक्ष्मदृष्टिले नियाल्दै, गम्भीर मुद्रामा छोराले भन्यो, ‘बा, मेरा परमप्रिय बा ! तपाईंले मलाई जीवन दिनुभो । सिर्जनाको चक्र निरन्तर चलाउन तपाईंले मलाई गति दिनुभो । जगत्को सुखभोग गर्न तपाईंले मलाई अनुभूति दिनुभो । तर सारा सुखको स्रोत संघर्षमा, सिर्जनामा रहेको छ बा ! युगौँको प्रतीक्षामा तपस गर्दै मेरो बाटो हेरिरहेकी मेरी मायालु प्रेमको चमत्कारपूर्ण विश्व रचना गर्न, प्रेमको मलिलो बारीमा सिर्जनाको सुन्दर बीउ छर्न व्यग्रतासाथ नदीपारि बसेकी छे । मेरा नसा-नसामा उसप्रतिको प्रेमले भिजेको पवित्र रगत बगिरहेछ । मेरो आत्माका कणकणमा सिर्जनाको सुरिलो धून गुन्जिरहेछ ।
बा ! मेरो यौवनले बाटो खोजेको छ, गति खोजेको छ, उल्लास र सौन्दर्य खोजेको छ । मेरा परमप्रिय बा ! कालको कालो घुम्टोभित्र छोपिँदै गएको विनाशकारी यस मरुभूमिमा मलाई छटपटी लागिसक्यो, जीवनको मोह र मृत्युको त्रासले मेरो आत्मामा अन्तर्द्वन्द्वको राँको सल्किसक्यो । मेरा बा ! श्रद्धाले शिर निहुराएर म अन्तिमपल्ट बिन्ती गर्छु, मेरा बा ! बेर भइसक्यो । म जान्छु । आज्ञा पाऊँ । ‘जा बाबु‘ भन्ने ममतापूर्ण वचनको मधुर सङ्गीत सुन्न मेरो आत्माका कान आतुर भइसकेका छन् बा ।’


‘छोरा ! मृत्युको यस कुरूप घडीमा तेरो मुखबाट यस्ता बैगुनी वचन निस्केको सुन्दा क्रोध र ग्लानीले मेरो आत्मा जलिरहेछ’, निधारमा चिट्चिट् पसिना काड्दै र बेचैनी एवं क्रोधले सर्वाङ्ग काम्दै क्षोभ भरिएको कष्टपूर्ण स्वरमा बूढाले भन्यो, ‘प्रिय छोरा ! तेरो जीवनको उल्लासमय र सुखद् स्वर मैले राम्ररी सुनेको छु । तेरा सपना र तिर्सनाको मर्म मैले राम्ररी बुझेको छु । सिर्जना र सौन्दर्यप्रतिको तेरो आस्था र प्रेम देखेर मृत्युको चरम कष्टदायी यस घडीमा पनि म हर्षले गदगद् भएको छु । तर बाबु ! तेरो अज्ञानता, तेरो मूर्खता, तेरो जिद्दी र तेरो भ्रान्ति देखेर मेरो वृद्ध आत्मामा तीव्र पीडाको अवर्णनीय अनुभूति भइरहेछ ।’
बूढो बाबुको रोषपूर्ण स्वर सुनेर तन्नेरी छोरो छट्पटायो । ऊ पसिनाले सर्वाङ्ग भिज्यो र बाबुको अङ्कमालबाट छुट्टिन उसले बल गर्यो । अनि बूढो बाबुको अन्तर्वेदनाबाट उठेको व्यथित चीत्कारले मरुभूमितुल्य त्यस बगरमा मसानघाटको वातावरण व्याप्त गरिदियो ।
‘सिर्जनाका दिव्यज्योति मेरा परमप्रिय छोरा !’ हड्बडाउँदै बूढो बाबुले भन्यो । ‘सारा ब्रह्माण्डमा तँ भन्दा प्यारो वस्तु मेरो लागि केही छैन । तँ मेरो लागि चराचर जगतका विधाता करुणानिदान परमेश्वरभन्दा पनि महान्, पवित्र र पूज्य छस्, छोरा ! किनभने मलाई ईश्वरको न्यानो काखमा पुर्याउने जिम्मा अब तेरा हातमा छ, तेरा वचनमा छ, तेरा कर्ममा छ । सम्यक दृष्टिले जीवनको अर्थ बुझ्नु पर्छ, छोरा । तँ भन्छस्- नदीपारि मेरी प्रेमिका प्रतीक्षामा छे, सिर्जना र सुखको आशाले मलाई उता डाकिरहिछे । भ्रान्ति ! यो सब भ्रान्ति हो । वास्तवमा पारिपट्टि केही छैन । यो तेरो अज्ञान हो । यो तेरो बहुलठ्ठीपन हो । पूज्य पिताको पवित्र शिरमाथि यो तेरो लात्तीको प्रहार हो । तँ यौवनले भरिपूर्ण भइस्, यो कुरा म बुझ्छु । तेरो यौवनले सिर्जना र सुखको बाटो खोज्यो, यो पनि म राम्रै बुझ्छु । सुन् मेरो राजा ! यतै, यो नदीवारि पितापुर्खाको संस्कारले सिँचेको यस भूमिमा, आफ्नै कुलधर्म, जात र संस्कारमा हुर्केकी एउटी परम सुन्दरी नारी म खोज्ने छु ।
पितापुर्खाको धर्म, इमान, बैभव र ख्यातिले गर्दा त्यस्ता असङ्ख्य रुपवतीहरू फेला पर्नेछन्, रोज्जीछाडी । अनन्त युगदेखि पितापुर्खाले जानेर, मानेर, छानेर ल्याएको आफ्नो सनातन धर्म, आफ्नो पावन संस्कार र परमेश्वरको अविनाशी विधानको दिव्य पताकामुनि यसै मन्दिरका देवतालाई साक्षी राखेर तैँले एउटी कन्यालाई वरण गरेको दृश्य म हेर्न चाहन्छु । मेरो जीवनभरिको आशा यही हो, बाबु । मेरो धोको यही हो । मेरो कामना यही हो । तँ भन्लास्- परमप्रिय पिता ! यो मन्दिर त थोत्रियो । यसको स्वत्व नासियो । पूजा र उपासनाको युग अब इतिहास भइसक्यो । तर त्यो त भ्रम हो छोरा, केवल भ्रम ! वस्तु थोत्रिनाले त्यसप्रतिको आस्था बूढो हुँदैन, नासिँदैन । त्योे त अजर-अमर छ, त्यो अन्तहीन छ ।’
बूढो बाबुको लिँडेढिपी देखेर तन्नेरी छोरो व्याकुल भयो । नदीपारि प्रेमिकाको चीत्कार सुनेर उसको धैर्य टुट्यो र उसले बाबुको अङ्कमालबाट आफूलाई मुक्त गर्यो र अलि पर गएर बाबुलाई पुलुक्क हेर्यो । ‘पिता ! मेरा परम्प्रिय वृद्ध पिता ! जन्म दिँदैमा कोही पनि बाबु हुन सक्तैन ।’ तन्नेरी छोराले भन्यो, ‘सच्चा बाबु हुनलाई त आफ्ना सन्तानलाई बाटो दिनुपर्छ । प्रेमको बाटो, सिर्जनाको बाटो, सुखको बाटो । निरन्तर उच्चता, उपलब्धि र विजय प्राप्त गर्न सक्ने गतिशील बाटो । प्रिय पिताजी !
पाखण्डहरूको आसुरी प्रवृत्तिको मनपरी चलेको समयमा सतीप्रथाको नाउँमा गरिएका निर्मम हत्याहरूबाहेक मुर्दाहरूसँगै जिउँदाहरूलाई जलाइएको इतिहास मलाई थाहा छैन, बा !’
तपाईंका एक-एक बचनमा सङ्किर्ण स्वार्थ भरिएको म आभास पाउँछु । सिङ्गो जीवन भोग गरिसकेर महाविश्रामतिर जान लागेको क्षणमा जीवनको विजय यात्रातिर जान लागेका छोरालाई आफूतिरै घिसार्न तपाईंले गरेको यो दुस्साहस देख्दा तपाईंप्रति मेरो हृदयमा कसोकसो असहज भावना उत्पन्न भएको छ । सृष्टिको सुरुदेखि नै जन्मदाताको मृत्युमा उसका सन्तानहरू रोएको मैले सुनेको छु । तर जन्मदाताको चिहानमै सारा सन्तानहरू नासिएको मलाई थाहा छैन । त्यो त सृष्टिको सुन्दर र निरन्तर प्रवाहविरोधी कुरा हो । पाखण्डहरूको आसुरी प्रवृत्तिको मनपरी चलेको समयमा सतीप्रथाको नाउँमा गरिएका निर्मम हत्याहरूबाहेक मुर्दाहरूसँगै जिउँदाहरूलाई जलाइएको इतिहास मलाई थाहा छैन, बा !’
‘तेरो जीवनदाता बाबुप्रतिको तेरो कर्तव्य यही हो त छोरा ?’ लगलग कामिरहेका गोडा थाम्न नसकेर हुरीले मक्काएको बूढो रूख गर्ल्याम्म ढलेझैँ ढल्दै हारेको स्वरमा बूढाले सोध्यो । ‘यो त सृष्टिको निरन्तर नियम हो, परम पूज्य पिताजी !’ करुणामयी स्वरमा छोराले जवाफ दियो । ‘एउटा दृष्टान्तले म आफ्नो आग्रहलाई पुष्टि गर्न चाहन्छु बा । धैर्यपूर्वक सुन्ने साहस तपाईंमा छ ? सिर्जनाको केन्द्र आमा हो- ममतामयी, त्यागी र करुणामयी आमा । यौवन, सौन्दर्य र उल्लासले भरिपूर्ण भएको शरीरभत्र आमाले गर्भधारण गर्छे । औधी जतन र ममतासाथ एउटा नयाँ जीवनको रुपरेखा उसले आफ्नो गर्भमा रचना गर्छे । ऊ आफ्ना नसाको रगतले त्यो नयाँ रुपरेखामा रगत सञ्चार गर्छे । आफ्नो मासुले उसमा मासु भर्छे । आफ्नो प्राणले उसमा प्राण भर्छे । शरीर र आत्माका एकएक परमाणुबाट एकएक अंश छुट्याउँदै उसले एउटा नयाँ सन्तान, एउटा चेतनायुक्त प्राणीको रचना गर्छे ।
जीवनको पहिलो सुखद चीत्कार नरलोकलाई सुनाउँदै बालकले पहिलोपटक मानवधर्तीलाई स्पर्श गर्दा त्यो आमा गर्भधारण अघिकी सुन्दर, आकर्षक र यौवनले परिपूर्ण रहन्न । आफ्नो रूप, यौवन र जीवन शिशुमा बाँडेपछि ऊ त पहिले हेरी बूढी हुन्छे । किञ्चित् शुष्क छाती, पोतो बसेको अनुहार, लोसे चाल ! आफ्नो जीवन काटेर र बाँडेर शिशु पैदा गर्ने त्यो आमालाई आफ्ना गुमेका ती प्रिय र अप्राप्य वस्तुहरूप्रति पश्चात्ताप हुँदो हो र बा ? अहँ हुँदैन, कदापि हुँदैन । बरू आफ्नो सिर्जनाशक्ति सम्झँदा गर्वले उसको छाती फुल्छ । आफ्नो शिशुको प्रथम चीत्कार सुन्दा हर्षले उसको आत्मा गद्गद् हुन्छ ।
सन्तानका गालामा विस्तारै यौवनको लाली भरिँदै जाँदा आमाका गालामा चाउरीका मुजा बस्दै जान्छन् । सन्तानका आँखामा जीवनको ज्योति भरिँदै जाँदा आमाका आँखामा तुवाँलाको जालो भरिँदै जान्छ । सन्तान जीवनको चुलीतिर उक्लँदै जान्छ, आमा मृत्युको मुखतिर भास्सिँदै जान्छे । तर मेरा परमप्रिय पिता ! आमाको मनमा आफ्ना सन्तानका गालाको लाली र आँखाको ज्योति हरेर पछुतोको भावमा गुमेको यौवनलाई फर्काउने लालसा कहिल्यै उत्पन्न होला र ? असम्भव, बिल्कुल असम्भव !
ममतामयी आमाले ब्याज खानको लागि गरेको लगानी होइन त्यो सन्तान !। त्यो त जीवन हो । जीवनको पनि जीवन हो त्यो ।’ ‘छोरा !’ आत्माको अतल गहिराइबाट बूढाको स्वर वायुमण्डलमा पोखियो । ‘मेरो छाती शुष्क हुँदैछ । मेरा आँखाका नानीमा धमिलोपन भरिँदैछ । मेरो मुटुको ढुकढुकी दुखेको प्रत्यक्ष अनुभव हुँदैछ मलाई । अझ त्यसमाथि यी तेरा निर्मम र कृतघ्न वचनले मेरो हृदयमा पैदा गरेको औडाहा, हे भगवान् ! मेरो किन यो दुर्दशा ? छोरा ! मेरो अन्तिमा पुकार सुन् । तेरो जन्मदाता बाबुको पुकार हो यो, तेरो अभागी बाबुको दुःखको पुकार । तँ पारि गइस् भने म मरेपछि पिण्डपानी दिने कोही हुनेछैन । मेरो मृत्युमा श्रद्धाका दुई थोपा आँसु बगाइदिने कोही हुनेछैन । भयङ्कर वैतरणी नदी तर्न गौदान गरिदिने कोही हुनेछैन ।
हे परमेश्वर ! म जीर्ण बूढाले गाईको पुच्छरै नसमाती त्यहाँ कसरी जँघार तर्ने ? छोरा ! म नर्कमै डुबेँ भने त तँ मेरा आँखाबाट ओझेल पर्छस्–पर्छस् । तर म भाग्यले स्वर्ग गएँ र पूर्वजन्मको सम्झना हुँदा मलाई तँलाई हेर्न रहर लाग्यो भने यस ठाउँमा, पितापुर्खाको यो पवित्र थलोमा तँ देखिने छैनस् । छोरा ! तँ किन यस्तो गोवरगणेश हुन खोज्दैछस् ? बाबुको अधीनमा छोरो, लोग्नेको अधीनमा स्वास्नी, राजाको अधीनमा प्रजा- यो त परमेश्वरको विधान हो बाबु ! हाम्रो कुलधर्मको इतिहास यस्तै छ, सृष्टिको इतिहास यस्तै छ । तँ यसलाई नाघेर, यत्रो भयङ्कर नदी तरेर उता नजा । हेर्, तँलाई पछि बाबुका बचन गला लाग्लान्, लाटा ! सारा जिजुबाजेको जीवन निर्वाह चलेको यस भूमिमा तँलाई नपुग्दो के छ ? सुख–दुःख भनेको त लेखान्तर न हो । त्योे बल गरेर बन्दैन, मेटेर मेटिँदैन ।’
‘मेरा बा !’ पाँच-दश कदम अगाडि बढेर फेरि पछिल्तिर हेर्दै छोराले आवेग मुछिएको स्वरमा भन्यो, ‘आफ्ना बाको थोत्रो भोटो लाएर सधैँ तपाईंको निर्वाह चलेन, चल्यो र बा ? हो, त्यसैगरी तपाईंका पसिना र संस्कार गन्हाउने थोत्रो भोटो लाएर मेरो निर्वाह चल्दैन । म तपाईंभित्रै जन्मेँ, हुर्केँ र तन्नेरी भएँ । तर बा, म अब तपाईंभित्र नअटाउने भइसकेँ । बासी अतीतका कुरा गरेर तपाईं नदीको उर्लंदो भेललाई रोक्न सक्नुहुन्न । तपाईंको परमेश्वर, तपाईंको सत्य, तपाईंको सनातन धर्म तपाईंसँगै ढल्ने छ ।
छोराले विनीत भावमा भन्यो । ‘पुर्खाहरूले नदी तर्ने साहस नगरेका भए, मेरा परम प्रिय पिता ! तपाईं तपाईं हुनुहुने थिएन र म म हुने थिइँन । नदी तर्न कठिन छ, यो मलाई थाहा छ । तर कठिनाइको घोडा नचढी सिर्जनाको सुख प्राप्त हुँदैन । कठिनाइसँग जुघ्दा जुन झिल्का निस्कन्छन् नि बा, सौन्दर्यको दिव्य ज्योति त्यही हो ।’
र, मैले आफ्नै साहस, आफ्नै पौरख र आफ्नै अक्किलले आफ्नो सत्यको रचना गर्नुपर्नेछ । यो उदास र उजाड मरुभूमिमा के छ ? यहाँ हरियाली छैन, हाँसो छैन, सङ्गीत छैन । जताततै रूखो छ, जताततै सुख्खा छ, जताततै विरक्ति छ । एउटै थलोमा, एउटै घेराभित्र, एउटै धूनमा पुस्तौँपुस्ताको जिन्दगानी अटाउँदैन मेरा बा । जीवन भनेको त गति हो, त्योे अटुट प्रवाहमा बगेर जान्छ । त्यो सिर्जनाको दिशातिर उड्न चाहन्छ, त्यो वेगिन चाहन्छ, त्यो फैलिन चाहन्छ । मेरा बा ! तपाईं भन्नुहोला- यो नदी सधैँ एउटै पानी लिएर एकैनासले, एकै चालमा बगिरहेछ । तर त्यो भ्रान्ति हो, विल्कुल भ्रान्ति । प्रत्येक पलमा यस नदीमा नयाँ-नयाँ गतिमा नौलो पानी बगिरहेछ । नदीको यो निरन्तर नौलोपना नै जीवनको नौलो परिभाषा हो, बा ।’
‘छोरा ! तँ जान लागिस् ?’ छोराले पाइला चाल्न थालेको देखेर आत्तिँदै बूढाले सोध्यो ।
‘हो बा, जान्छु ।’ नदीपारी प्रेमिकाको चर्को स्वर सुनेर हतार–हतार छोराले भन्यो ।
‘तँ कहाँ जान्छन्, बाबु ?’
‘उः त्यो डाडाँमाथि, त्यो नीलो आकाशको गहिराइमा, त्यो चम्किला तारा भएको सिर्जनाको देशमा ।’ बूढाले आँखा तन्काउँदै डाँडातिर हेर्न खोज्यो । जालो लागिसकेका उसका आँखामा अब दूरदृष्टि थिएन । उसले त जताततै अन्धकारको साम्राज्य व्याप्त भएको देख्यो ।
पानीका पहाडहरू उराल्दै निर्वाध गतिमा बगिरहेको नदी नजिकै पुगेर छोराले बाबुलाई हेर्यो ।
‘नजा छोरा ! तँलाई जलजन्तुले एक्कै गाँस पार्छन् ।’ रूँदै बूढाले बिलौना गर्यो ।
‘हँ बा ?’ छोराले विनीत भावमा भन्यो । ‘पुर्खाहरूले नदी तर्ने साहस नगरेका भए, मेरा परम प्रिय पिता ! तपाईं तपाईं हुनुहुने थिएन र म म हुने थिइँन । नदी तर्न कठिन छ, यो मलाई थाहा छ । तर कठिनाइको घोडा नचढी सिर्जनाको सुख प्राप्त हुँदैन । कठिनाइसँग जुघ्दा जुन झिल्का निस्कन्छन् नि बा, सौन्दर्यको दिव्य ज्योति त्यही हो ।’
‘हैन तँ जान लागिस् त ?’ छोराले नदीमा हाम्फाल्नै लागेको देखेर बूढो अताल्लियो ।
‘मानवताको रक्षा गर्ने अर्को उपाय नै छैन बा, म जान्छु । यहाँ पीप र रगत, हत्या र अत्याचार, भेदभाव र विनाश, अधोगति र कुकर्मबाहेक म केही देख्दिनँ । त्यसैले म पारि जान्छु । पीडित मानवजातिलाई पीडकहरूको यो खोरबाट म घमाइलो, प्रेमपूर्ण र सुखद संसारीतर लैजान चाहन्छु । हेरू त्यो डाँडामाथि मेरो घाम छ, त्यसलाई समात्न म जान्छु ।’
‘कृतघ्न !’ मरुभूमिको छाती चिरिने गरी बूढाले सराप्यो ।
‘स्वार्थी !’ किञ्चित कठोर स्वरमा छोरो बोल्यो । असह्य वेदनाले मर्माहत भएको बूढो भाउन्न हुँदै घोप्टो पर्यो र निर्जीव ढुङ्गालाई अङ्कमाल गर्दै ऊ घुँक्कघुँक्क रोयो । उसलाई छोरो त्यसरी जाला भन्ने लागेको थिएन । गइहाले पनि एकपटक आफ्नो नजिक आउला, श्रद्धापूर्वक निहुरेर पिताका पवित्र पाउमा ढोग गर्ला र आशीर्वाद माग्ला भन्ने उसको आशा थियो ।
पानीका अजङ्गका पहाडहरूसँग कुस्ती खेल्दै, भयङ्कर जलजन्तुहरूबाट जोगिँदै र विजयको अटल विश्वासले साहस बटुल्दै डाँडापारिको न्यानो घामको सम्झनाले आत्माको बत्ती बालेर छोरो निर्मम सङ्घर्षपछि पारि पुग्यो । खिन्न नजरले बूढाले पारि हेर्यो । पारिबाट आएको सङ्गीतको हृदयस्पर्शी धूनले बूढाका कानलाई स्पर्श गर्यो । ऊ झस्क्यो । सङ्गीतको त्योे सुन्दर धून मृत्युको बिलौनामय बाजाजस्तै लाग्यो बूढालाई । स्फूर्ति, उल्लास र एकाग्रतासाथ गाउँदै, नाच्दै र अङ्कमाल गर्दै पारिबाट मास्तिर उक्लँदै गएका एक जोडा युवक-युवतीलाई बूढाले धमिला आँखाले हेर्यो । त्यो युवक आफ्नै छोरो हो भनेर उसले चिन्न सकेन, पत्याउन सकेन ।
बूढो दुई हातले घुँडा थाम्दै उठ्यो र मन्दिरसम्म घिर्सिँदै गयो । देवताको काई लागेको मूर्ति अगाडि ऊ गर्ल्याम्म ढल्यो र मर्न ऊ लम्पसार पर्यो । अब त्यस ठाउँमा एउटा जीर्ण मन्दिर, बूढाको चिसो लास र उजाड मरुभूमिसिवाय केही थिएन । नदीको उर्लंदो प्रवाहले जीर्ण मन्दिरतिर फर्केर वायुमण्डल घन्काउँदै बूढाको लासलाई भन्यो, ‘पिताश्री ! जीवन भनेको यही त हो !’
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८ ०८:४३