विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्यमा खतरा उत्पन्न गरेको भन्दै हालसालै चीनले स्कुलका विद्यार्थीका लागि गृहकार्य घटाउने एउटा कानुन पारित गरेको छ । गत अगष्टमै उसले ६-७ वर्ष उमेरका बालबालिकालाई लिखित परीक्षा लिन प्रतिबन्ध लगाएको थियो ।
उसो त संसारमा शिक्षाको विषयमा नयाँ दृष्टिकोण अगाडि आएका छन् र पुराना मान्यताहरू भत्किँदै छन् । हामी स्कुलमै पढ्ने समय विद्यार्थीलाई दिइने भौतिक दण्ड एउटा प्रचलनकै रूपमा अभ्यासमा थियो र यसलाई शिक्षकको अधिकारका रूपमा लिइन्थ्यो । तर, आज यसविरुद्ध चेतको विकास भएको छ ।
यस्तै प्रकृतिको अर्को चलन विद्यार्थीलाई दिइने अत्यधिक गृहकार्य हो । गृहकार्यलाई अन्त्य वा कम गर्नुपर्ने अभ्यास संसारभर विकास भएको छ । फिनल्याण्ड, कोरिया, जापानजस्ता देशहरूले शिक्षामा नयाँ अभ्यासहरू प्रयोग गरिरहेका छन् । कैयौं हदसम्म गृहकार्य बन्द गरेका छन् र दिनैपर्ने भए ज्यादै कम मात्रै दिइनुपर्ने नियम बनाएका छन् ।
हाम्रो देशमा विद्यालयमा दिइने गृहकार्यको दबाब अत्यधिक हुने गर्छ । यसका दौडमा निजी स्कुल धेरै माइल अगाडि छन् । विद्यार्थीलाई पढाइको भारले थिचेपछि राम्रो अंक ल्याएको देखाएर व्यापार गर्न सजिलो हुने उनीहरूको बुझाइ छ । माध्यामिक तहमा पढ्दै गरेका विद्यार्थी बिहान झिसमिसेदेखि साँझसम्म कक्षाको चौघेरोभित्र कैद हुन्छन् । एउटै विषय दिनको २-३ पिरियड पढ्नुपर्ने बोझ छँदैछ, त्यसले नपुगेर राति ११-१२ बजेसम्मलाई पुग्ने गरी गृहकार्यको भारी बोकाइन्छ । शिक्षाको अर्थ र दर्शनलाई बुझेको जो कोही व्यक्ति यस्तो ‘शैक्षिक शासन’ विरुद्धमा रहन्छ । कुनै अध्ययन अनुसन्धान बिना पढाइप्रति नै घृणा उत्पन्न हुने गरी दिइने लामो गृहकार्यले विद्यार्थीको सर्वाङ्गीण विकास र उसको स्वतन्त्रतामाथि मजाक उडाइरहेको छ ।
हामी कहाँ अत्यधिक गृहकार्य दिनुको उद्देश्य हो, ‘विद्यार्थीले घरको समयमा पनि कोर्षको किताबबाहेक दायाँबायाँ लाग्न नपाओस् । किताब नै उसको सपना होस् । किताब नै उसको लक्ष्य होस् । महान जीवन बनाउने यदि कुनै माध्यम छ भने त्यो कोर्षको किताब हो । किताब रटानले भविष्य धन्य बन्छ, सुरक्षित बन्छ ।’
अनुसन्धानले लामो गृहकार्यले विद्यार्थीको पढाइ राम्रो गराउन मद्दत गर्छ भन्दैन । बरु अत्यधिक गृहकार्यले विद्यार्थीमा तनाव, डर, अनिद्रा र क्रोध सिर्जना गर्छ । जसले व्यक्तिका अन्य खतरनाक स्वास्थ्य समस्या सिर्जना गर्ने भइहाल्यो । बेलायतको युसिएल इन्स्टिच्युट अफ एजुकेशनको अध्ययनले निचोड दियो, अत्यधिक गृहकार्यले पारिवारिक झगडा निम्त्याउने र विद्यार्थीको संवेगात्मक विकासमा समेत क्षति गर्छ ।
ओइसीडीको सूक्ष्म अध्ययन प्रतिवेदनको निष्कर्ष छ- स्कुलमा दिइने गृहकार्य हप्ताको बढीमा ४ घण्टाको दिएको राम्रो । यसभन्दा बढी भयो भने गृहकार्यले विद्यार्थीको पढाइमा सहयोग गर्दैन बरु उसको अतिरिक्त क्रियाकलाप, स्वास्थ्य र व्यक्तित्व विकासका अरु पक्षहरूमा अवरोध सिर्जना गर्छ ।
थोरै गृहकार्य दिँदैमा विद्यार्थीको पढाइ नराम्रो हुने भए फिनल्याण्डका विद्यार्थी सबैभन्दा कमजोर हँदा हुन् र नेपाली विद्यार्थी विश्वमै ‘नम्बर एक’ मा पर्दा हुन् । तर, विज्ञान र गणितजस्ता विषयमा फिनल्याण्डकै विद्यार्थीको स्तर संसारमै राम्रो छ । यसर्थ गृहकार्यको सवालमा ‘क्वान्टिटी’ हैन ‘क्वालिटी’ महत्त्वपूर्ण छ ।
हामीले गृहकार्य दिँदा कुनै अध्ययनबिना मनलाग्दी ढंगले दिने गर्छौं । सबै विषयको शिक्षकले आधा घण्टाको गृहकार्य दिँदा पनि हरेक दिन चार घण्टाका लागि गृहकार्य पुग्छ । जबकि थुप्रै देशले हप्ताको ४ घण्टाभन्दा कम गृहकार्यलाई मापदण्ड बनाएका छन् । विद्यार्थीको मनोरञ्जन, अतिरिक्त क्रियाकलाप, बाबुआमासँगको बसाइ र सिकाइ सबैलाई हामीले बेवास्ता गर्दैछौँ । नेपालका स्कुलमा कुन शिक्षकले कति गृहकार्य दिने भन्ने बारेमा कुनै छलफल हुन्न । कुनै कुनै दिन एउटै शिक्षकको २ घण्टाको गृहकार्य समेत पर्छ । हामीले स्कुल पढ्ने बेला पनि एकैदिन धेरै विषयको गृहकार्य पर्ने सजायबाट पीडित हुन्थ्यौं ।
गृहकार्यले विद्यार्थीलाई शिक्षकदेखि तर्साइरहेको छ । कक्षाका एक-दुई जना विद्यार्थीले अभ्यासका प्रश्नको उत्तर लेख्छन्, बाँकी विद्यार्थीले त्यसलाई सार्छन् र बुझाउँछन् । शिक्षकसँग पनि सबैको गृहकार्य गर्ने जाँच्ने समय हुन्न । रातो कलमले सरसर्ती चिह्न लगाइदिनु नै गृहकार्य जाँच हो । अर्थात्, हामी औपचारिकता निर्वाह गर्न, विद्यार्थीलाई पढाइप्रति कस्न गृहकार्यको बोझ बोकाउँदैछौँ ।
हाम्रो देशमा विद्यार्थीको विद्यालय छोड्ने दर अत्यधिक बढी छ । यसका प्रमुख कारण मध्येको एक गृहकार्यको दबाब पनि हो । विद्यार्थीलाई डर छ शिक्षकदेखि, विद्यालयदेखि आफूले गर्न सक्ने नसक्ने सबै अभ्यासहरू गर्नै पर्ने भएपछि, दिनभर कक्षाका पट्यारलाग्दा भाषणबाट मुक्त हुन नपाउँदै घरमा त्यही विषयका घण्टौं लाग्ने कामहरू गर्नुपर्ने भएपछि पढाइप्रति विकर्षण पैदा हुने नै भयो । देशभरका स्कुलको ध्यान शिक्षालाई सरल, रुचिकर र आकर्षित बनाउने उपाय निकाल्नमा हैन विद्यार्थीलाई शिक्षाको पिँजडामा कैद गर्न भएपछि स्कुल छोड्ने दर बढ्ने नै भयो ।
जागिर गर्ने एक परिपक्व मान्छेले पनि दिनको ६-७ घण्टा काम गरेपछि आराम गर्न पाउँछ । तर, हुर्कँदै गरेका बालबालिकालाई दिनभरको स्कुल सकेपछि पनि त्यति नै समयको घरमा गर्नुपर्ने काम दिइनु निर्ममताको पराकाष्ठा हो । यसमाथि बालबालिकाले विरोध गर्न सक्दैनन् तर उनीहरूको अप्ठ्यारोपनको अभिव्यक्ति दिइरहेका हुन्छन् ।
केही अभिभावक ठान्छन्, घरको समयभरिका लागि स्कुलले गृहकार्य दिए घरमा आरामसँग बस्न पाइन्छ । तर, अभिभावकले आफ्नो स्वार्थका लागि बालबच्चाको स्वतन्त्र समय शिक्षाको नाममा खोसिदिन खोज्नु आफ्नै सन्तानप्रतिको अपराध हो । सन्तानको चौतर्फी विकासमा समय दिन नखोज्नु गैरजिम्मेवारीपना हो । सचेत अभिभावक त स्कुलमा जान्छ र अत्यधिक होमवर्कको विरोध गर्छ । घरमा आफ्ना बालबच्चालाई सु-संस्कार सिकाउने समय छुट्याउँछ । सिर्जनात्मकताका लागि प्रेरणा दिन्छ ।
संसारका विभिन्न देशका विद्यालयमा गृहकार्य दिन १० मिनेटको नियम अभ्यासमा छ । यसअनुसार, कक्षा एकमा पढ्ने विद्यार्थीले बढीमा हरेक दिन १० मिनेटको गृहकार्य पाउँछ । हरेक कक्षाअनुसार, १० मिनेट जोडिँदै जान्छ । कक्षा १२ मा पढ्ने विद्यार्थीले बढीमा १२० मिनेटको गृहकार्य पाउँछ । यो नियमलाई हाम्रो देशका विद्यालयले मनन गर्नु आवश्यक छ ।
यसर्थ गृहकार्य दिनपूर्व शिक्षकले आफूमाथि प्रश्न गर्नुपर्छ, गृहकार्यको उद्देश्य के हो ? के यसले विद्यार्थीको पढाइको स्तर बढाउन सहयोग गर्छ ? यसले घरको कति समय लिन्छ ? के यसको हल गर्न विद्यार्थीसँग सूचना र ज्ञानको पहुँच छ ? के दिइएको काम सिर्जनात्मक छ ? आदि ।
गृहकार्य दिने-नदिने भन्ने विषयमा शिक्षकहरूको बीचमा निरन्तर छलफल आवश्यक छ । विद्यार्थीको पढाइका लागि हामीले दिनभर स्कुलमा राख्छौं । यति समय नै सिक्न सिकाउनका लागि प्रयाप्त हुन्छ । बढी सिकाउने बहानामा विद्यार्थीको उमेर र तहलाई ख्याल गरिएन भने त्यो शिक्षा प्रत्युत्पादक बन्छ । कुनै एक शिक्षकले ‘प्रोजेक्ट वर्क’ दिएका बेला अरु विषयका पनि गृहकार्य थपिए भने विद्यार्थीलाई कामको प्रेसरले थिच्छ । हाम्रो स्कुलहरूमा यस्तै भइरहेको छ ।
विद्यार्थीमैत्री शिक्षा प्रणालीलाई प्रयोगमा ल्याइएको छैन । अभिभावक र विद्यालयको चाहनामा विद्यार्थीमाथि शिक्षा लाद्ने अभ्यास भइरहेको छ । तर, शिक्षा त्यस्तो विषय हैन जो बाहिरबाट लाद्दिन्छ । बरु यो व्यक्तिको रुचि अनुसार उसका सम्भावना बाहिर निकाल्न मद्दत गर्ने विषय हो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८ १०:५९