शेयर बजार परिसूचक नेप्से ३२०० अंकमा पुग्दा उत्साहित बनेका लगानीकर्ता नेप्से घटेर २५०० मा आइपुगेपछि निराश छन् । नेप्से उकालो लाग्न थालेसँगै बजारमा नयाँ लगानीकर्ता आए भने पूरा लगानीकर्ताले पनि लगानी बढाए । तर, छोटो समयमा २२ प्रतिशतले बजार घटेपछि कतिपय लगानीकर्ता शेयर बजारबाट विस्थापित हुनसक्ने आकलन गरिएको छ ।
शेयर बजार विश्लेषकहरूले अझै बजार बढ्छ र बढ्ने समयावधि सकिएको छैन भनिरहेका छन् । यता नेप्सेको ओरालो यात्रा पनि राेकिएकाे छैन । लगानीकर्तामा त्रास बढेकाे बढ्यै छ । सँगै बजार अब कता जाला भन्ने कौतुहलता पनि छ । बजारकाे सम्भावित अवस्थाका विषयमा शेयर विश्लेषक विष्णु बस्यालसँग शिलापत्रले गरेको कुराकानीको सम्पादित अंश :
अहिले शेयर बजारको अवस्था कस्तो हो ?
पहिलो चरणको लकडाउनका समयमा २९ जुन २०२० मा बजार खुल्यो । त्याे बेला ११ सय ५० को 'लो' (तल्लो विन्दुसम्म) झरेको नेप्से २०७८ भदौ महिनासम्म आइपुग्दा अधिकतम ३२ सय २७ सम्म पुग्याे । यो अवधिमा नेप्से १ सय ८० प्रतिशतसम्मले वृद्धि हुन पुग्यो । पछिल्लो समय घटेको बजारलाई पनि हेर्ने हो भने समग्रमा अझै पनि १ सय २० प्रतिशतको वृद्धि कायमै छ ।
विश्व बजारको अवस्था नियाल्ने हो भने पनि यो वृद्धि अलि बढी नै थियो । बजारले एउटा निश्चित समयमा करेक्सन गर्नु नै थियो । ३ हजार २०० मा नभए ३ हजार ५०० मा हुन्थ्यो । त्याे पनि नभए अन्य कुनै विन्दुबाट करेक्सन हुन्थ्यो नै । पछिल्लो समयमा पनि १० प्रतिशतसम्मकाे करेक्सन भएकै हाे । तीन-चार हप्तासम्म करेक्सन भएको थियो । तर, यो पटक भने २२ प्रतिशतसम्मले करेक्सन भइसकेको छ ।
प्राविधिक रूपमा हेर्दा यो छोटो समयमा आएको धेरै मात्राको करेक्सन हो । विगतलाई फर्केर हेर्ने हो भने पनि फिवोनासी रिट्रेसमेन्ट(शेयर किनबेचका लागि अपनाइने प्राविधिक विश्लेषणको एउटा पद्धति ) ३८.२ प्रतिशत ( फिवोनासी रिट्रेसमेन्टको गोल्डेन रेसियोमध्ये ३८.२ पनि एक हो) सम्म हुन्थ्याे । अहिले पनि ३८.२ (११५० देखि ३२२७) प्रतिशतको फिवोनासी रिट्रेसमेन्ट लिने हो भने २४३० को लेबल हुन आउँछ । यस खालको रिट्रेसमेन्टहरू इतिहासमा देखिँदै आएको कुरा हो ।
सन् २०१२ को इतिहाससँग नै दाँज्दा त्यसबेला ३४ हप्तासम्म बजार बढेको थियो । बुल मार्केटको करेक्सन भने १८ हप्तासम्म रहन पुग्यो । अहिलेको अवस्था हेर्ने हो भने नेप्से सूचक ३२२७ देखि २५ सयसम्म आइपुग्दा करिब ९ हप्ताको करेक्सन देखिएको छ । त्यतिबेला ३८.२ को रिट्रेसमेन्ट थियो र यति बेला पनि त्यही रिट्रेसमेन्ट आउने देखिन्छ । यद्यपि ३८.२ प्रतिशतको छेउछाउ केही दिनअघिको बजार पुगिसकेको छ । हुन सक्छ, यहीँबाट बजार फर्किन्छ । नभए ९/१० दिन लिएर फेरि नेप्से २३ सयदेखि २४ सयको हाराहारीमा पुगेर फर्किन्छ । तसर्थ बुल मार्केटभित्रको यो एउटा सामान्य करेक्सन मात्रै हो । लगानी गर्ने हो भने लगानीकर्ताको उपयुक्त समय हो । २४३० को हाराहारीमा बलियो टेवा छ ।
करेक्सन मात्रै भए बजार कहिले फर्केला ? सपाेर्ट विन्दु कतिमा छ ?
अहिले नेप्से २५ सय विन्दुमा छ । २४०० लाई छोएरमाथि आएको अवस्था छ । २४०० को टेवा भत्किएर फेरि तल गएमा २३८० को विन्दुमा सपाेर्ट देखिएको छ । यो गत मार्चमा देखिएको तल्लो विन्दु हो ।
योभन्दा पनि तल गएको खण्डमा त्यसलाई हामी ५० प्रतिशतको फिवोनास रिट्रेसमेन्ट भन्छौँ । त्यो लेबल भनेको २२०० को लेबल हो । तर, म केमा विश्वस्त छु भने २४३० को लेबल नै बलियो सपोर्ट हो । हुन सक्छ अस्ति भर्खर बनेको २४७० को लेबल सपाेर्ट लेबल थियो, त्यही नै सपाेर्टका रूपमा काम गरेर अब बजार अगाडि बढ्न सक्छ । बजार अब धेरै घट्दैन भन्नका लागि प्राविधिक प्रमाणहरू धेरै देखिएका छन् ।
छोटो समयमा धेरै अंकले करेक्सन हुनुलाई कति सामान्य मान्ने ?
बजार सधैँ बढ्ने वा सधैँ घट्ने मात्रै हुँदैन । बजारले घट्दा वा बढ्दा दुवै अवस्थामा ब्रेक लिने गर्छ । जब नेप्से ३२०० को विन्दुमा पुग्यो त्योभन्दा अगाडि नै करेक्सन लिनुपर्थ्यो । अर्थात् त्योभन्दा अगाडि नै समय-समयमा बजार करेक्सन हुँदै अगाडि बढ्नु पर्थ्यो । तर, बजार लगातार गइरह्यो । कुनै पनि बजार बढ्नका लागि बीचको समयमा करेक्सन देखिँदै जानु अनिवार्य हुन्छ । ३२०० सम्म नेप्से पुग्नु अगाबै डिप करेक्सन देखिनु पर्थ्यो तर देखिएन जुन अहिले देखिएको छ ।
कुनै बजार भर्टिकल रूपमा लगातार माथि गइरहने भन्ने विश्वका कुनै पनि इन्डेक्समा हुँदैन । कुनैले समयको करेक्सन लिन्छ भने कुनैले मूल्यको करेक्सन लिन्छ । अहिले हाम्रोमा भने मूल्यको करेक्सन बढी लिएको देखिन्छ । समय त १२-१५ हप्ता पनि हुनसक्छ । अहिले ९ हप्ता मात्रै छ । तर, मूल्यको करेक्सन चाहिँ छिटो गरेको देखिन्छ । तसर्थ अब समय बिताउनका लागि केही समय बटम लागिसकेको पनि हुन सक्ने र केही समय यही लेबलमा स्थिर हुनसक्छ ।
तर, समग्रमा हेर्दा यतिसम्मको मूल्यको करेक्सन सामान्य नै हो । किनकि ३८.२ प्रतिशतसम्मको करेक्सन हुनु भनेको फिवोनास रिट्रेसमेन्टमा सामान्य नै हो । विगतमा पनि यस्तो करेक्सन आएको देखिन्छ ।
बजार घट्नुमा अरु पनि कुनै कारण छन् ?
बजार बढ्नु र घट्नुमा विभिन्न कारणहरू छन् । पहिलो भनेको तरलताको अवस्था हो । बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था कस्तो छ ? भन्ने कुराले पनि पुँजीबजारमा असर गर्दछ । क्यापिटल मार्केटमा भन्दा बैंकमा निक्षेप राखेर नाफा कमाउन सकिन्छ भने किन जोखिम मोल्ने भन्ने हुन्छ । त्यसैले निक्षेपमा आकर्षित हुँदा पनि शेयर बजारमा नकारात्मक प्रभाव पर्न जान्छ ।
प्राविधिक रूपमा करेक्सन त जसरी पनि आउँथ्यो नै तर फण्डामेन्टल कारण नै खोज्ने हो भने विद्यमान तरलता अभावले गर्दा ब्याजदरमा अपवार्ड प्रेसर देखिएको छ । शेयरकर्जा बैंकहरूबाट पाउन मुस्किल देखिएको छ । यसरी तरलता अभाव हुँदा लगानी गर्न थप रकम लगानीकर्तामा अभाव हुन्छ। जसले गर्दा बजार बढ्न थप गाह्रो पर्छ ।
योबाहेक नियामक निकायहरूले समय-समयमा क्यापिटल मार्केटप्रति हेर्ने दृष्टिकोण पनि अर्को कारक हो । यसमा राष्ट्र बैंकले भन्दा पनि बैंकले आफ्नो क्षमता मूल्यांकन गरेर कर्जा प्रवाह गर्नुपर्छ । ठूलै समस्या आउन लागेको जस्तो देखिएको खण्डमा मात्रै राष्ट्र बैंकको हस्तक्षेप हुनु पर्दथ्यो । तर, यहाँ सिधै क्यापिटल मार्केटलाई नै लक्षित गरी नीति ल्यायो ।
यो नीतिले कम्पनीगत रूपमा लगानी गर्न चाहने कम्पनीहरूले उचित कर्जा लिएर शेयरमा लगानी गर्न पाएनन् । यसरी हुचुवाको भरमा ल्याइएको नीतिले पनि शेयर बजार घट्नमा टेवा पाइरहेको छ ।
तरलता अभाव तत्काल सहज नभएमा शेयर बजार अझ तल जान्छ ?
अब आउने दुई महिनामा तरलता सहज हुने देखिन्छ । सरकारी कामहरू पनि हुने,चाडपर्वले गर्दा बैंकबाट गएका पैसाहरू फेरि फर्कने अवस्था छ । पर्वले नै गर्दा यो महिना आयात धेरै हुँदा पैसा धेरै बाहिर गएको छ । आयात सजह, खर्च कम हुने र पैसा पुन: बैंकमा फर्कने सम्भावना छ । त्यसैले तरलता अहिलेको अवस्था भन्दा केही सहज हुने देखिन्छ । त्यसैले पनि बजार फेरि घट्ला भन्ने छैन ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८ १२:१२