जनकपुरधाम उपमहानगरपालिकाले फोहर र ढल व्यवस्थापन गर्न नसकेको गुनासो नगरबासीको छ । तर, सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीबार त्यसको आक्रोश खानेपानी तथा सरसफाई व्यवस्थापन कार्यालय प्रमुखमाथि पोखे ।
कार्यालय प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै उनीहरूले कालोमोसो दलेर जनकपुर परिक्रमा गराए । राउत कार्यकर्ताको आरोप छ- ढल व्यवस्थापन नहुनुमा भ्रष्टाचार मुख्य कारण हो । फोहर र अव्यवस्थित ढलबाट दिक्क नगरबासीको समर्थन लिन उनीहरू उपमहानगरपालिका र कुशवाहामाथि खनिएका हुन् ।
सो विषयमा आफूहरूले उपमहानगरपालिकालाई पटक–पटक ज्ञापनपत्र बुझाएको राउतका कार्यकर्ता बताउँछन् । सुनवाइ नभएपछि भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा समेत उनीहरूले उजुरी दिएका थिए ।

उपमहानगरपालिकाले नगरको ढल व्यवस्थापनको जिम्मेवारी आफ्नो अधिकार क्षेत्रभित्र नभइ खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको हुने बताएपछि उनीहरू कुशवाहामाथि खनिएका हुन् । नगर प्रमुखलाई खोज्दै गएका राउत कार्यकर्ता ढल व्यवस्थापन कार्यालय गए र कुशवाहामाथि दुर्व्यवहार गरे ।
एकले अर्कालाई देखाएर ढल व्यवस्थापनमा भ्रष्टाचार गरेको भन्दै राउतका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन कार्यलयबाटै प्रमुख कुशवाहालाई कुटपिट गर्दै नगर परिक्रमा गराएर जनकपुरधाम उपमहानगरपालिकालाई बुझाएका हुन् ।

‘फोहर र ढल व्यवस्थापन गर्न हामीले बारम्बार आग्रह गरेका थियौँ तर उनीहरू भ्रष्टाचारमा मग्न थिए । त्यसैले यस्तो कदम उठाएका हौँ,’ जनमत पार्टीका नेता पंकजकुमार सिंहले भने, ‘उपमहानगरपालिकाले हाम्रो अधिकारक्षेत्र होइन भन्छ । उता, ढल व्यवस्थापनले हाम्रो होइन भन्छ । त्यसो भए कसको हो छलफल गर, भनेर प्रमुखलाई पालिकामा हस्तान्तरण गरेका हौँ ।’
लट्ठीसहित दर्जनौँको संख्यामा आएका राउतका कार्यकर्ता केही मोटरसाइकलमा समेत थिए । कार्यलय पुगेका उनीहरूले बाहिर राखिएको गाडी र कम्प्युटरमा समेत क्षति पुर्याएको सेवा लिन पुगेका प्रत्यक्षदर्शीले बताए ।

यसअघि नगरप्रमुख लालकिसोर साहले ४ साउन २०७५ मा नगर क्षेत्रलाई सफा र स्वच्छ राख्न भन्दै ‘सुन्दर, स्वच्छ र समृद्ध जनकपुरधाम’ अभियानसमेत चलाएका थिए । अभियानमा नगर प्रमुख साह कुचो लिएर सडक र मठ–मन्दिर सफा गर्न निस्केका थिए । तर उनको कामले खासै प्रशंसा नपाएपछि अभियान रोकिएको थियो ।
स्थानीय सलामत राईन भन्छन्, ‘प्रमुखले ती काम नाम कमाउन गरेका थिए । नाम कमाए सकियो ।’
उपमहानगरपालिकाले यसअघि पनि सहजै ढंगले फोहर र ढल व्यवस्थापन भने गर्न सकेको थिएन । फोहर फ्याँक्ने स्थान नहुँदा फोहर संकलन नगरिएको जनकपुरधामका सरसफाइ प्रमुख उपेन्द्र साहले बताए । ‘यत्रतत्र फोहर फाल्दा ढल जाम हुने गर्छ । नगरपालिकालाई मात्र दोष दिएर हुन्न,’ साह भन्छन् ।

उपमहानगरले फोहर थुपार्ने स्थानको समस्या हुँदै आएको जनाएको छ । उपमहानगरले सरसफाइका लागि स्वीपर १ सय जना, ड्राइभर ८ जना, ६ वटा ट्याक्टर, ४ वटा टिपर, २ कन्टेनर र २ लोडर राखेको प्रमुख साहले बताए । तैपनि फोहोर तथा ढल व्यवस्थापन गर्न नसक्दा नगर क्षेत्र दुर्गन्धित बनेको छ ।
‘हामी प्रयत्न गरिरहेका छौँ । चाहेजस्तो काम हुन नसकेको साँचो हो,’ उनी भन्छन्, ‘फोहर संकलनका कतिपय गाडी मर्मतमा पनि छन् ।’

एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा ढल व्यवस्थापन भएता पनि पानीको निकास हुन नसकेपछि नगर क्षेत्र जलमग्न हुने गरेको हो ।
‘एडीबीले बनाएको न सडक ठिक छ, न ढल नै । रोड साइडमा न गमलाको आवश्यकता थियो, न त केसरी रंगको । नगरपालिकाले भ्रष्टाचार गर्न यो गरेको हो,’ स्थानीय रोहित ठाकुर भन्छन्, ‘फोहर र ढल व्यवस्थापनमा चुकेको होइन, भ्रष्टाचारमा मिलेको हो ।’
(सबै तस्वीरहरू सामाजिक सञ्जालबाट)
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८ २०:५४