आज १५ असाेज । इतिहासका पानामा याे दिन नेपाल एकीकरणकाे महत्त्वपूर्ण हिस्सेदारका रूपमा छ । संसारभर आफ्नाे साम्राज्य विस्तार गर्ने क्रममा ब्रिटिसहरू नेपाल छिर्न खोजिरहेका थिए । नेपाल एकीकरण अभियान उनीहरू असफल पार्न चाहन्थे । सानाे देश अनि सानै लडाकु फाैजमाथि जितकाे पूर्ण विश्वाससहित अङ्ग्रेजहरू नेपाल छिरेका थिए । काठमाडाैं कब्जा गरेर नेपाल एकीकरण अभियान असफल पारिदिने उनीहरूकाे दाउ थियाे । तर, १५ असाेज १८२४ मा कप्तान किनलाेक नेतृत्वकाे ब्रिटिस फाैजलाई सिन्धुलीगढीमा गोरखाली फौजले धुलाे चटायाे । वीरभद्र उपाध्याय, वंशराज पाण्डे, वंशु गुरुङ, श्रीहर्स पन्तकाे नेतृत्वमा रहेकाे गाेरखाली फौजकाे प्रत्याक्रमणमा १६ सयजति अङ्ग्रेज सेना हताहत भएका थिए । २ सय ५४ वर्षअघिकाे त्याे युद्धसहित सिन्धुलीगढीकाे इतिहास उघार्नेगरी केही महिनाअघि सागरकुमार ढकालले शिलापत्रमा लेखेकाे लेख हामीले पुनःप्रकाशन गरेका छाैँ ।
०००
सिन्धुलीको प्राकृति स्वरुपको निर्धारणमा सिवालिकक्षेत्र र महाभारतक्षेत्रको महत्त्वपूर्ण योगदान छ । यस जिल्लाको पूर्वदेखि पश्चिमसम्म करिबकरिब ९७ किलोमिटर लम्बाइमा यी दुई पर्वतहरू तेर्सिएका छन् । प्राचीन मानवजातिको सबैभन्दा बढी समयको बसोबास यही सिवालिक क्षेत्रमा भएको कुरा मानव विकासको अध्ययन र उत्खननहरूले प्रमाणित गरिसकेका छन् ।
महोत्तरी जिल्लाको पाटुमा १ करोड १० लाख वर्ष पुरानो रामापिथेकसको अवशेष पाइएको छ भने रुपन्देहीको बुटवलमा पनि यही जातको मानव अवशेष पाइएको छ । प्राचीन मानव जातिको अवशेष नेपालमा सिवालिक क्षेत्रभन्दा अन्यत्र अत्यन्त न्यून मात्र पाइएको छ र विभिन्न अनुसन्धानहरूले सिवालिक क्षेत्रभन्दा अन्यत्र १ करोड १० लाख वर्षभन्दा पुरानो मानव जातिको बसोबास नभएको कुरा पुष्टिसमेत गरिसकेका छन् । सिन्धुली जिल्लामा सिवालिकक्षेत्र पनि परेकाले यहाँको पुरातात्त्विक तथा ऐतिहासिक वैभव पनि अपार छ । तर, यसका लागि सम्बद्ध निकायको चासो, लगानी तथा अन्य पक्षहरूको अध्ययन गर्ने बानीको अभावले यहाँको वैभवतालाई प्रमाणित गर्न अप्ठयारो परिरहेको छ ।
जहाँ मानव बस्तीको पुरानो इतिहास छ, त्यहाँँ राजनीतिक, सांस्कृतिक अस्तित्वको वैभवता पनि हुन्छ । वास्तवमा सिन्धुलीको ऐतिहासिक अस्तित्व विदेह राज्यसँग जोडिएको कुरा यज्ञवल्क्य स्मृति ग्रन्थमा छ । यज्ञवल्क्य स्मृति ग्रन्थमा सिन्धुलीलाई याज्ञवल्क्यले तपस्या गरेको स्थान भनेर मानिएको छ । इतिहासका विभिन्न कालखण्डहरूमा राजामहाराजाका शासन, हस्तक्षेप, आक्रमण, प्रत्याक्रमणमा सिन्धुली साक्षी भएर बसेको छ । यही साक्षीको प्रामाणिक दस्तावेजहरू हुन् वा जनश्रुतिहरू हुन्, यिनीहरू नै सिन्धुलीको ऐतिहासिक वैभव हो ।
सिन्धुलीको प्राग ऐतिहासिक अस्तित्व
प्राचीनकालमा धर्मपालका सन्तान तथा नेपालका राजा सुधन्वासीताको स्वयंवर हेर्न जनकपुर गएका बखत राजा शिरध्वज जनकका भाइ कुशध्वज जनकसँग खटपट भएपछि सुधन्वा स्वयंवर छोडि हिँडे । राजा शिरध्वज जनकले उनलाई ससम्मान आमन्त्रण गर र स्वयंवरमा ल्याऊ अनि मात्र म स्वयंवरको काम अगाडि बढाउँछु भनेपछि कुशध्वज जनक सुधन्वालाई अनुनय विनय गर्दै पछि लागे तर सुधन्वा फर्केनन् । दिनहरू बिते तर सुधन्वा फर्किन नमानेपछि आत्मग्लानि र पश्चात्तापले कुशध्वज जनकले रोशी र कौशिका नदीको संगमस्थलमा देहत्याग गरे । पछि यी कुशध्वज जनकले देहत्याग गरेको स्थानमा स्थापना भएको मन्दिर नै हालको कुशेश्वर महादेव हो । १ यस तथ्यलाई आधार मान्दा प्रागऐतिहासिककालमा पनि विदेह राजधानीबाट नेपालमण्डल प्रवेश गर्ने चलनचल्तीको बाटो सिन्धुली भएरै गुज्रने कुरा जानकारी हुन जान्छ ।
विदेह राज्यमा राजा जनकको दरबारमा दार्शनिक यज्ञवल्क्यको नाम अग्र स्थानमा थियो । यिनले विदेह राज्यअन्तर्गत सिन्धुलीमा तपस्या गरेका थिए । २
सिन्धुलीको उत्तर आधुनिककालीन अस्तित्व
सिन्धुलीको कमला, मरिण तथा चँदाहा खोलाका नदीतटीय क्षेत्रहरू प्राचीनकालदेखि नै मानव बस्ती तथा सभ्यताले परिपूर्ण भएको प्रमाण यी क्षेत्रसँग सम्बन्धित इतिहास तथा यहाँ भएका प्राचीन मठमन्दिर तथा व्याप्त जनश्रुतिहरूले जानकारी गराउँछ ।
वि.सं. १३८१ मा सिम्रौनगढबाट राज्यच्यूत भएका कर्णाटवंशी राजा हरिहरसिंह देव पनि सिन्धुलीको तीनपाटन, दोलखाहुँदै उपत्यका पस्ने यात्रामा थिए । दुर्भाग्यवश वि.सं. १३८२ माघमा उनी सिन्धुलीमाढीभन्दा करिब ६ कोस परको दक्षिणपूर्वी स्थानमा अवस्थित सुन्दर बस्ती तीनपाटनमा बिते तर उनकी श्रीमती देवलदेवी, मन्त्री चण्डेश्वर र राजकुमार जगतसिं उपत्याकासम्म पुगी लिच्छवीकालको राजपाठ हत्याउनसमेत सक्षम भए । यिनले पनि दोलखासम्म पुग्न सिन्धुलीको बाटो नै प्रयोग गरेका थिए । ३
कान्तिपुरे राजा शिवसिं मल्लले वि.सं. १६५५ तिर कान्तिपुर राज्यलाई सिन्धुलीसम्म फैलाएका थिए । ४ यसै समयमा यिनले सिन्धुलीको कमलामाई मन्दिरमा एउटा चाँदीको कमलको फूल पनि चढाएका थिए भनिन्छ । यो चाँदीको कमलको फूल र यसमा अंकित विक्रमाब्द अझै पनि सिन्धुली जिल्ला सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकमा छ ।
वि.सं. १७३८ मा सिन्धुली मकवानपुर राज्यअन्तर्गत राजा माणिक सेनको राज्यमातहत थियो । यसै समयमा कमला नदीभन्दा पूर्वको भाग मान्धाता सेनको राज्य थियो । माणिक सेन र मान्धाता सेनबीच राज्यको भागवण्डामा किचलो उत्पन्न भइरहेको बखत कान्तिपुरे राजा पार्थिवेन्द्र मल्लले सिन्धुली गढीलाई आफ्नो अधीनमा पारे । यस समयको शिलालेख तलेजु भवानी मन्दिरको सामुन्नेमा अहिले पनि छ । यस शिलालेखमा भनिएको छ, 'असल योद्धाहरूद्वारा पहाडको टुप्पोमा रहेको, जान गाह्रो, पहिलेका राजाहरूले महत्त्व नबुझेको सिन्धुली दुर्ग खोसेर लिनुभयो । ५
मान्धाता सेनको मृत्युपश्चात् मोरङ र विजयपुरका राजा विधाता इन्द्र सेनले झगडालाई अझ तीव्र बनाउन थाले । उनले कान्तिपुरे राजाको सहयोग लिएर एक मकवानपुर बनाउने रणनीति लिएका थिए । यसै सिलसिलामा राजा विधाता इन्द्र सेनले भेटघाटका लागि कान्तिपुरे भारदारहरूलाई सिन्धुलीमा आमन्त्रण गरेका थिए र सोहीअनुरुप वि.सं. १७४६ को फाल्गुण महिनामा कान्तिपुरे भारदारहरू सिन्धुली आएका थिए । यसैगरी, वि.सं. १७४८ असोजमा मोरङ र विजयपुरका तत्कालीन वादशाह विधाता इन्द्र सेन कान्तिपुर गई राजा भूपालेन्द्र मल्लसँग बृहत् मकवानपुर निर्माण गर्न सैनिक सहयोगका लागि भेट गरेका थिए । यी १६औँ शताब्दीताका भएका कूटनीतिक यात्रामा पनि सिन्धुलीको भूमि प्रयोग भएको थियो । ६
सिन्धुलीको आधुनिक गौरवपूर्ण इतिहास
- हरिहरपुरगढीमा राजा दिग्बन्धन सेन पक्राउ
राजा दिग्बन्धन सेन मकवानपुर राज्यका अन्तिम राजा थिए । यिनी राजा हेमकर्ण सेनका छोरा थिए । गोर्खाका राजा पृथ्वीनारायण शाह दिग्बन्धन सेनका बहिनी ज्वाइँ थिए । समान उमेरका दिग्बन्धन सेनलाई बहिनी ज्वाइँ पृथ्वीनारायण शाहले आफ्नी साक्खै बहिनी इन्द्रकुमारीको डोला नबुझेर मकवानपुर राजाको मानमर्दन गरेको कुरामा भित्रभित्रै प्रतिशोधको भावना पालेर बसिरहेका थिए । राजा हेमकर्ण सेनको मृत्युपश्चात् दिग्बन्धन सेन वि.सं. १८१६ मा मकवानपुर राज्यको राजा भए । दिग्बन्धन सेनको राज्य प्रशासन ३ वर्षसम्म गोर्खालीको सम्भावित आक्रमणको व्यवस्थापन गर्ने रणनीति तयार गर्दै बितेको थियो । यसैबीचमा बंगालका सुल्तानले आवश्यक परेको बखतमा सहयोग दिन तयार भएको मानसिकतामा बंगाल नबावलाई राजी बनाए । तर वि.सं. १८१९ को भाद्र १९ गते गोर्खाली वीरहरूले अकस्मात् नै आक्रमण गरिदिए । आक्रमणबाट पराजित भई राजा दिग्बन्धन सेन मन्त्री कनक सिं बानियाँसहित सपरिबार भागेर हरिहरपुरगढीमा लुक्न पुगे ।
करिब एक महिनापछि गोर्खालीहरूले यी सबैलाई हरिहरपुरगढीमा नै पक्राउ गरे । यस पक्राउबाट उम्कन सफल भएका राजा दिग्बन्धन सेन र मन्त्री कनकसिं बानियाँले बंगालका तत्कालीन शासक मिरकासिमसँग पूर्ववचन पूरा गर्न सैन्य सहयोग मागे ।
यता मिरकासिमले पनि तुरुन्तै २००० जति फौजलाई गुरगिन खाँको (यिनी आर्मेनियाका ग्रेगरी खाँ हुन्) कमाण्डमा मकवानपुरको सहयोगार्थ पठाए । तर, ढडुवाबासमा गोर्खालीहरूले यो सेनालाई एक्कासि आक्रमण गरिदिँदा बंगाली सेनाको नराम्रो क्षति भयो र मकवानपुर सदाका लागि नेपाल राज्यमा गाभियो । सेन राजपरिवार सबै गोरखामा बन्दी भए ।
सिन्धुलीगढीको युद्ध (नेपालको तर्फबाट गरिने व्याख्या)
भारतवर्षमा तत्कालीन समयमा इस्ट इण्डिया कम्पनीले उत्तर भारतको बंगाललाई अपार साधन र स्रोतको केन्द्र मानेर आँखा गाडिरहेको थियो । जसको छिमेकमा हाम्रो टुक्राटुक्रा भएको सानो राज्य नेपाल पनि पर्दथ्यो । अंग्रेजको कुत्सित आशयलाई बंगालका तत्कालीन शासक मिरकासिम, अवधका नबाव तथा मुगल सम्राट मिलेर करिब ६० हजार फौजी दस्ताको सहयोगबाट धुलो चटाउने उद्देश्यले युद्धारम्भ गरे । उता कम्पनीले करिब ७०७२ को सेनाको सहयोगले २२ अक्टोबर १७६४ मा भारतको बक्सार भन्ने स्थानमा त्यो घमासान युद्धको डटेर प्रतिकार गर्यो । अन्ततोगत्वा कम्पनीतर्फकै जित भयो ।
बक्सारको युद्धमा भएको भारतीयहरूको मोर्चाको हारले भारतको भविष्य र सार्वभौमसत्तालाई अंग्रेजको पोल्टामा राखिदियो । यो पराजयले एकातिर २०औँ शताब्दीको मध्यसम्म भारतलाई अंग्रेजको गुलाम भएर बस्नुपर्ने भाग्य यही युद्धमा भएको हारले कोरिदियो भने अर्काेतर्फ अंग्रेजहरूमा यो विजयले मात लाग्न थाल्यो ।
यता पृथ्वीनारायण शाह नेपाल एकीकरणको अभियानलाई सफलतापूर्वक सम्पन्न गर्दै आइरहेका थिए । उनले दुई शक्तिशाली राज्यहरू मकवानपुर र कीर्तिपुरलाई क्रमशः वि.सं. १८१९ र वि.सं. १८२३ मा पराजित गरी गोर्खा राज्यमा गाभेपछि निश्चय नै कान्तिपुरलाई दख्खल गर्नुपर्ने बाध्यता आइसकेको थियो । यस अवस्थामा उल्टै तत्कालीन कान्तिपुरे राजा जयप्रकाश मल्लले तत्कालीन बंगालका गभर्नरसँग फकिर रामदास र उमदा (मुसलमान व्यापारी) लाई दूत बनाई सहयोगको याचना गरे । भारतमा बक्सारको विजयमदमा मस्त भएको अंग्रेजको आँखा स्वाभाविक रूपले बंगालनजिकैको सानो तथा प्राकृतिक स्रोतको विपुलता भएको देश नेपालतिर गाडिन थालेको थियो ।
जयप्रकाश मल्लले गोर्खाविरुद्ध लड्न आवश्यक पर्ने सैनिक सहयोगका लागि गरेको याचनाले इस्ट इण्डिया कम्पनीअन्तर्गत बंगालका तत्कालीन गभर्नर ह्यारी वेरेल्स्टलाई के खोज्छस् काना आँखो भनेजस्तै भयो । ह्यारीले जयप्रकाश मल्लका दुई जना दूतहरूसँग कान्तिपुरको अवस्थिति मागे । फकिर रामदास र उमदाले गभर्नर ह्यारीलाई दिएको कान्तिपुर र गोर्खासम्बन्धी सूचना यस प्रकार थिए:
- गोर्खासँग कुल ५००० लडाकु सैनिकहरू छन् । जसमध्ये २००० जना नेपाल खाल्डोमा छन् ।
- पटनादेखि पनौतीसम्म ९६ कोस छ र यो ११ वटा बिसौनीमा पूरा हुन्छ ।७
यी सबै सूचना तथा फेहरिस्तपश्चात् सामान्य छलफल गभर्नर ह्यारी वेरेल्स्टले सहयोगकोका लागि स्वीकृति प्रदान गरे र कलकत्ताबाट कप्तान किनलोकको नेतृत्वमा कम्पनीतर्फका र भारतीयतर्फका गरी करिब २४०० सेना १८ कम्पनीमा विभाजित भई काठमाडौंतर्फ चल्यो ।
वास्तवमा सिन्धुलीगढीको युद्ध गोर्खालीका लागि जीवन-मरणको युद्ध थियो । त्यसैले पृथ्वीनारायण शाहले यस युद्धमा चुनिएका र विश्वासी सेनानायकहरू पठाएका थिए । कीर्तिपुर जिताउने श्रीहर्ष पन्त र मकवानपुर जिताउने काजी वंशराज पाण्डे जो कालु पाण्डेका साक्खै छोरा थिए, लाई दक्षिणी मोहडातर्फको आरम्भकै दुर्ग पौवागढीमा तैनाथ गरिएका थिए । पौवागढी, सिन्धुलीगढीक्षेत्रको सबैभन्दा संवेदनशील स्थानमा अवस्थित छ । यसैगरी शिकारी अफिसर वंशु गुरुङ र खजान्ची वीरभद्र उपाध्याय माथिको दुर्ग ठूलो गढीमा तैनाथी थिए । यस युद्धमा गोर्खालीहरूले आफ्नो बहादुरी र साहस देखाए । किनलोक नेतृत्वको कम्पनी सेनाको नराम्रोसँग पराजय भयो । १६०० कम्पनी सेनाहरू यस युद्धमा मारिए भने कप्तान किनलोकसहित बचेका ८०० सेनाहरू रौतहटमा बसी मालपोत उठाउन थाले ।
सिन्धुलीगढीको युद्ध (क्याप्टेन किनलोकको दैनन्दिनीबाट)८
नेपाल अभियान सुरु गर्नुपूर्व किनलोकले पटनास्थित सेलेक्ट कमिटीलाई वि.सं. १८२४ असारमा एउटा विवरण पेस गरेका थिए । यो विवरणको शीर्षक A short account of the present situation of Napaul and distress of Jay Percass Mull the Rajah, taken from his Vakeels Muktan Unda and Faquir Ramdoss थियो । यो शीर्षकमा जयप्रकाश मल्ल, उमदा तथा फकिर रामदासको उच्चारण अलि फरक देखिन्छ । क्याप्टेन किनलोकले पेस गरेको यही तथ्यलाई आधार मानेर कलकत्ताको फोर्ट विलियमस्थित तत्कालीन गभर्नर ह्यारी वेरेल्स्टले स्वीकृति दिएका थिए । किनलोकले पेस गरेको विवरणलाई संछेपमा यसरी प्रस्तुत गरिएकोछ ।
- नेपाली दूतहरू (उमदा तथा फकिर रामदास) भन्छन्, 'गोर्खाली राजा पृथ्वीनारायण शाहले कान्तिपुरवरिपरिका सबै साना राज्यहरूलाई जितेर अब स्वयम् कान्तिपुर राज्यलाई दख्खल गर्ने सुरमा छन् ।
- गोर्खालीहरूको अवरोधका कारणले आफ्नो राज्यमा जनतालाई आवश्यक पर्ने खाद्यान्न लत्ताकपडाहरूसमेत अहिले कान्तिपुर ल्याउन कठिन छ । त्यसैले यस समस्यापूर्ण घडीमा अंग्रेजहरूको सहयोग कान्तिपुरलाई अति आवश्यक छ ।
- गोर्खालीहरूसँग कुल मिलाएर ५० हजार जति मात्र सेना छन् । त्यसमध्ये ३० हजार सेना आफ्नै राज्यहरूको सुरक्षामा छन् भने बाँकी २० हजार सेना लडाइँका लागि तयार छन् । हतियारको नाममा यी सेनाहरूसँग धनुष र काँण मात्र छ र अहिलेको समयमा यी सेनाहरू गोर्खाली राजाले उपलब्ध गराएको जमिनमा मकै छर्न तल्लीन छन् ।
- नेपालका दूतहरू हामीलाई एक महिना वा तीन हप्ताजति लाग्ने यात्रामा जीवन दिएर पनि सहयोग गर्ने अवस्थामा छन् । मनसुनमा बाटाहरू झ्याडीहरूले थुनिन सक्छन् । तर, यदि मनसुनभन्दा पछाडि अभियान सुरु गर्ने हो भने त्यस बेलासम्म कान्तिपुर गोर्खाको हातमा गइसक्नेछ ।
- गोर्खालीले १ महिनाजति अगाडि लम्जुङ र तनहुँ खोसेर लगिसकेको र यहाँबाट आउने खाद्यान्नको अभावले कान्तिपुरको ठूलो जनसंख्यालाई भोकमरीको अवस्था सिर्जना हुन सक्ने कुरा अवश्यम्भावी छ ।
क्याप्टेन किनलोकले पटनास्थित सेलेक्ट कमिटीका अध्यक्षलाई यात्रा तथा दूरीको बारेमा पेस गरेको विवरण यस प्रकार छ:
१. पटना-होजपुर ३ कोस रसद पानी पाइने
२. होजपुर-दरभंगा २२ कोस रसद पानी पाइने
३. दरभंगा-बोवा ७ कोस रसद पानी पाइने
४. बोवा-जनकपुर १२ कोस रसद नपाइने पानी पाइने
५.जनकपुर-जलाउदेवास (जमुनीबास हुनसक्छ ) ६ कोस रसद नपाइने पानी पाइने
६. जलाउदेवास-रानीवास ६ कोस रसद नपाइने पानी पाइने
७. रानीवास-सिन्धुली ७ कोस रसद पानी पाइने
८. सिन्धुली-खुर्काेट ६ कोस रसद पानी पाइने
९. खुर्काेट-झाँगाझोली दुम्जा नजिक ६ कोस रसद नपाइने पानी पाइने
१०. झाँगाझोली-दाप्चा १० कोस राजाले दाप्चाबाट रसद पानीको व्यवस्था गर्ने
११. दाप्चा-पनौती ६ कोस राजाले रसद पानीको व्यवस्था गर्ने
रसद पानीसहित दूरीको विवरणसँगै किनलोकले पटनादेखि जलाउदेबाससम्मको बाटो एकदम राम्रो भएको, जलाउदेबासदेखि सिन्धुलीसम्मको दूरी घना जंगलको बाटो भए पनि तोपहरू पार गराउन सकिने बाटो भएको र सिन्धुलीदेखि नेपालसम्मको बाटो एकदम राम्रो, डाँडाहरू तथा ठूला नदीहरू पार गर्नु नपर्ने ब्यहोरा पेस गरेका थिए । यो अन्तिम विवरणमा किनलोक झुक्किएका छन् । जसले गर्दा उनको नेपाल अभियान दु:खपूर्ण किसिमले अन्त्य भएको थियो ।
यिनै विवरणहरूका आधारमा कप्तान किनलोकलाई नेपाल अभियानका लागि पटनास्थित फोर्ट विलियमबाट स्वीकृति प्राप्त भयो र वि.सं. १८२४ को भाद्र महिनामा किनलोकले जयप्रकाश मल्लका दुई दूतहरू उमदा र फकिर रामदाससहित अंग्रेजी अफिसरहरू, इन्डियन सेनाहरू (जसलाई उनीहरू ब्लाक अफिसर्स भन्थे), भरियाहरू तथा केही स्वास्नीमानिसहरूसहित करिब २४०० भन्दा बढीको संख्यामा नेपाल अभियान सुरु गरे ।
भारतीय भूमिहरूमा नेपालबाट बगेर गएका नदीहरू गण्डकी, त्यसपछि दरभंगामा कमला र बागमती नदीहरू तर्दै किनलोकको फौज वि.सं. १८२५ भाद्र २५ गते दरभंगा आइपुग्यो । दरभंगामा किनलोकलाई बाटोका लागि रसदपानीको व्यवस्था गर्नुपर्ने थियो । सोहीअनुरुप उनले दरभङ्गाको नुन प्रतिनिधि (Salt agent) लियथ्युलियरलाई भेटे । लियथ्युलियर एक सक्षम एवं इमानदार कम्पनीका सरकारी कर्मचारी थिए । उनले अभियानका लागि आवश्यक पर्ने रसद पानीका लागि विश्वस्त रहन अनुरोध गरे ।
दरभंगाको पानीले केही सैनिकहरू बिरामी भए तर फकिर रामदासले चिराइतो पानी खुवाउन अनुरोध गरे । यस उपचारबाट सैनिकहरू सलामत भएकाले किनलोक फकिरसँग अझ विश्वस्त भए । दरभंगामै किनलोकलाई उनको हलकाराले एउटा निराश खबर सुनायो । जनकपुर र उत्तरतिरका पहाडका बीचमा भएका मानिसहरू पहाडीहरूको आक्रमणले हिजो आज पूर्ण रूपमा विस्थापित भएका छन् । उनीहरूले घरमा एक दाना पनि खाद्यान्न राखेका छैनन । किनलोकलाई अर्काे समस्या आइपर्यो । उनले जनकपुरमा प्रशस्त रसदपानी भरेर सिन्धुलीसम्म पुग्ने आशामा थिए । वास्तवमा यो आक्रमण गोर्खालीहरूले नै गरेका थिए । उनीहरूले अंग्रेजहरूलाई रसदपानीबाट वञ्चित गराउन यो रणनीति अपनाएका थिए ।
वि.सं. १८२४ असोज ३ गते किनलोक जनकपुर आइपुगे । जनकपुरमा एउटा पेगोडा स्वरुपको मन्दिर जसको वरिपरि माटोले बनेका साना किल्लाहरू थिए । वास्तवमा यही मन्दिर नै आजको जानकी मन्दिर थियो । जनकपुरमा किनलोकले त्यहाँँका सर्वसाधारणहरूलाई भेटे । पहाडीहरू (गोर्खालीहरू) को आक्रमणबाट बचाउने कुरामा विश्वस्त गराए । उपस्थित सबैलाई सुपारी दिए । जनकपुरमा खाद्यान्न थिएन । उनले खाद्यान्नका लागि भर गरेका दानदेव चौधरीको नामनिशान त्यहाँँ थिएन ।
किनलोकले दानदेवलाई धम्कीपूर्ण पत्राचार पनि गरे । जनकपुरमै किनलोकले सिन्धुलीमा गोर्खालीहरू ३०० को हाराहारीमा भएको पत्तो पाए र यो पनि थाहा पाए- गोर्खाली पक्षका धेरै मानिसहरू जंगलभित्र र सिन्धुलीका बस्तीहरूमा छन्, जो आवश्यक पर्दा तुरुन्त भिडन्तमा सरिक हुनेछन् । सिन्धुलीगढीको किल्लामा रहेका किलेदार चम्पनसिं थापाले पृथ्वीनारायण शाहलाई किनलोकको जनकपुरको उपस्थितिका बारेमा खबर गरिसकेको समाचारले रात रहे अग्राख पलाउँछ भन्ने सोचले किनलोकले आफ्नो एक बटालियनलाई भोलिपल्ट बिहानै सिन्धुलीतिर लाग्न आदेश दिइसकेका थिए ।
असोज ५ गते ३ बजेतिर सिन्धुलीको यात्रा सुरु भयो । बाटोमा जयप्रकाश मल्लको चिट्ठी किनलोकले पाए । जतिसक्दो चाँडो अभियानलाई अगाडि बढाउनुपर्यो भन्ने आशय थियो । बाटो घना जंगलले भरिभराउ थियो । ३० फिट गोलाइ भएका अजंगका रुखहरू देखेर किनलोकले त्यसलाई पानीको व्यवस्था भए भारतसम्म लान सकिने सोच पनि बाटोमा बनाएका थिए । कुचकै अवसरमा एक दिनको राज किनलोकको बास रातुको दमारजस्तो ठाउँमा भएको थियो । त्यस रातको अविरल पानी तथा चट्याङले एक्कासि खोला बढेर सिपाहीहरू, खाद्यान्न तथा हातहतियारसमेत बगायो ।
यही बाढीले किनलोकलाई समेत बगायो । तर भाग्यवश केही फिट तल उनलाई रातुले खोलाले पाखा लगायो । बाढीको विभीषिकाले अभियानमा निकै ठूलो क्षति भयो । किनलोक निकै हतास भएका थिए । यो क्षतिको परिपूर्ति गर्न कठिन देखिएकाले किनलोकले नेपाल अभियानलाई त्यहीँ रोक्ने विचार पनि गरेका थिए ।
असोज १० गते किनलोक नाइटोसम्म पुग्ने कमला नदीको भेललाई ३२ पटक तरेर सिन्धुली आइपुगे । सिन्धुलीमा त्यस बेला पनि थुप्रै घरहरू थिए । ठूलो फाँटमा धान खेती थियो । किनलोकले केही सेनालाई त्यहीँ राखेर गढीतिर नै बढे । करिब १ माइलजति माथि पुगेपछि उनको भेट लेफ्टिनेन्ट होगानसँग भयो । होगानले भने, 'सिन्धुली गढीमा शत्रुहरू अहिले कोही पनि छैनन् । हाम्रा ५ बटालियनलाई ब्लाक अफिसरको सन्कीपनले गोर्खालीहरूले नराम्रोसँग भगाइदिए ।' होगान आफैँ पनि निराश भएका थिए । उनले भने, 'हाम्रा सेनाहरू सबै फर्केर क्याम्पमा आइपुगेका छन् । गोर्खालीहरूको पाशुवत् व्यवहारले हाम्रा सेना यति भयभीत र आक्रान्त छन् कि सबै युद्धको त्यो विभीषिका सम्झने स्थितिमा छैनन् ।'
सिन्धुलीगढीमा त्यो ५ बटालियनसँग भएको युद्धमा कम्पनी सेनाका विशेषगरी ब्लाक अफिसरहरू गोर्खालीको प्रतिकारमा परेका थिए । भागेर ढुंगामा लुकेका सेनाहरूलाई संगिनले घोचीघोची मारेको र भिरबाट खसेर अनन्त गहिराइमा पछारिएका दृश्यहरूले कम्पनी सेनाहरू अत्यन्तै त्रसित थिए ।
यी सबै घटनालाई पुनर्मूल्यांकन गर्दे किनलोकले पुन: हार्डीलगायत अरु साहसी सेनाहरूलाई सिन्धुलीगढीमा पुन: आक्रमण गर्न तीनतिरबाट खटाए । ढनमनातिरबाट गएको फौजले डाँडाको टापुबाट गोर्खालीहरूको गढी देखे । किनलोकको भनाइमा त्यो गढी अत्यन्त अस्वस्थकर ठाउँ थियो । दिउँसोको समयमा अत्यन्त गर्मी हुन्थ्यो, रातमा भारतको केही ठाउँहरूको जनवरी र डिसेम्बर महिनाको जस्तो जाडो हुन्थ्यो । कुहिरोले केही देखिँदैन थियो । उनको रेकीमा गढीमा पुग्न कुनै जीवित प्राणीले पनि सक्छजस्तो थिएन । अन्त्यहीन भिरको टापुमा गढी थियो । गढीसम्म पुग्ने बाटोको माटो यति कमजोर लाग्थ्यो कि टेक्नेबित्तिकै चिप्लिएर त्यही अन्त्यहीन भिरको फेदमा विश्राम लिनुपर्ने थियो । वास्तवमा किनलोक यस गढीबाट काठमाडौंतिर जाने कुरामा हतास भइसकेका थिए । एकातिर रसदपानीको अभाव र दुर्भेद्य गढी थियो भने अर्काेतिर विकराल समस्या त उल्लेख्य संख्यामा सैनिकहरू बिरामी र भोकले आक्रान्त थिए ।
यस्तो गढी र गोर्खालीहरूको उपस्थितिका बारेमा किनलोकलाई जयप्रकाश मल्लका दूतहरूले पटनामा केही सूचना दिएका थिएनन् । यो कुरामा पनि किनलोकलाई झोँक चलिरहेको थियो । उनले फकिर रामदासलाई त्यहीँ बोलाएर यससम्बन्धमा बेस्सरी झपारे । किनलोक भन्छन्, 'मेरो गालीले रामदास रोए ।' रामदासले भने, 'म भारत गएदेखि आजका मितिसम्म यस दुर्गबाट ७०० भन्दा बढी सन्न्यासीहरू काठमाडौं पुगिसके तर तिनीहरूले यस ठाउँमा गोर्खालीहरूको उपस्थिति कसैले देखेका छैनन् । म भारत जाँदा पनि देखेको थिइनँ । हाम्रै हलकाराहरू पनि यस ठाउँबाट आवतजावत गरिरहेका छन् । तिनीहरूले पनि गोर्खालीहरू यहाँ देखेको कुरा भनेनन् । यो त गोर्खालीहरूले हालैमा गरेको निर्णय हो ।'
गढीबाट पार गर्न नसक्ने निर्क्योल गरेपछि क्याप्टेन किनलोकले काठमाडौं पुग्ने हरिहरपुर गढीको वाटो रोजे । रात विरात, खोलाको भेल अनेक दु:ख कष्ट सहँदै किनलोक आफना सहयोगी फौजहरू सहित हरिहरपुर गढी पुगे तर त्यहाँ पनि कठिन भुबनोट, भोक, सैनिक निराशा र आत्महत्याजस्ता प्रमुख कारणले किनलोकको यतातर्फको अभियान पनि निराशापूर्ण भयो । उनी गोर्खालीका अगाडि उभिन सकेनन् र तलहट्टीतिर लागे ।
विदेशी इतिहासकारहरू गोर्खालीको ताकतलाई स्वीकार्दैनन्
सिन्धुलीगढीको लडाइँका जिम्मेवार व्यक्ति तथा इस्ट इण्डिया कम्पनीअन्तर्गत तत्कालीन बंगालका गभर्नर ह्यारी वेरेल्स्ट आफैँले लेखेको पुस्तक अ भ्युज अफ द राइज, प्रोग्रेस एण्ड प्रेजेन्ट स्टेट अफ इङ्लिस गभर्नमेन्ट इन बङ्गाल भन्ने पुस्तकमा भनिएको छ-दक्षिणी भारतमा हैदर अलीलाई फ्रान्सिसी सहयोग प्राप्त भई इस्ट इण्डिया कम्पनीसँग फ्रान्सले प्रतिशोध साँध्ने प्रयत्न गरिरहेको हुनाले गोर्खासँगको युद्धमा इस्ट इण्डिया कम्पनीका सेनालाई प्रभावकारी तरिकाले फर्मेसन गर्न नसकेका कारणले गोर्खासँग पराजित हुनुपरेको थियो । साथै, इस्ट इण्डिया कम्पनीले पुनःआक्रमणको रणनीति अवलम्बन नगरेको हो ।
डा. आरके पुर्थीको नेप्लिज गोर्खा भन्ने पुस्तकको द गोर्खा कन्क्वेस्ट भन्ने पाठको पेज नं. ३५ मा किनलोक कठिन भूबनोट, जंगलयुद्धको अज्ञानता तथा मलेरियाका कारणले गोर्खालीसँग हारेका हुन् भनिएको छ ।
नयाँ दिल्लीस्थित अनमोल पब्लिकेसनबाट प्रकाशित टीआर वैद्यको एडभान्स हिस्ट्री अफ नेपाल भन्ने पुस्तकको फर्मेसन अफ ग्रेटर गोर्खा भन्ने पाठमा इस्ट इण्डिया कम्पनीका सेनाहरू हार्नुको कारण खोलानाला, बाढीपैह्रो तथा भोक हो भनेर उल्लेख गरिएको छ ।
जोन पार्करको द गोर्खाज : द इनसाइड स्टोरी अफ वर्ल्ड्स मोस्ट फियर्ड सोल्जर्स भन्ने पुस्तकको पेज ३८ मा सन् १७६७ ( वि.सं. १८२४ ) मा भारतको उत्तरी सिमानानजिकको नेपालको तराईक्षेत्रमा बेलायती सेनाहरू मलेरियाका कारणले नराम्रोसँग थलिइसकेका थिए, जसका कारणले गोर्खाविरुद्धको लडाइँमा यिनीहरू पराजित भएका थिए भनेर उल्लेख गरिएको छ ।
सिन्धुलीगढीको युद्ध अनुपम र ऐतिहासिक हो
सिन्धुलीगढीको लडाइँ तत्कालीन समयमा असाधारण थियो । बेलायती साम्राज्यवादलाई तत्कालीन अवस्थाको संसारमा कसैले हराउन सकेका थिएनन् । तर, त्यो अजेय शक्ति सिन्धुलीगढीमा नराम्रोसँग पराजित भयो । सिन्धुलीगढीको युद्धलाई अनुपम र ऐतिहासिक मान्नुपर्ने आधारहरू यस प्रकार छन्:
- सिन्धुलीगढीको युद्धमा गोर्खालीले कम्पनी सेनालाई पराजित नगरेको भए सिङ्गो नेपालको निर्माण असम्भव थियो ।
- तत्कालीन समयमा बेलायत महाशक्ति राष्ट्र थियो । उसले स्पेन र क्यानाडाजस्ता शक्तिशाली राष्ट्रलाई अमेरिकाबाट चुटेर निकालिदिएको थियो र अमेरिकामा बेलायत एक मात्र देशले शासन गरिरहेको थियो । सिन्धुलीगढीमा गोर्खालीसँग युद्ध हुनुभन्दा करिब ४ वर्ष मात्र अगाडि बेलायतले अर्काे शक्तिशाली देश फ्रान्सलाई धुलो चटाएर आएको थियो । यस्तो शक्तिशाली देशको सेना सिन्धुलीगढीमा नराम्रोसँग पराजित भएको थियो ।
- नेपालको छिमेकी राष्ट्र भारतमा तत्कालीन समयमा इस्ट इण्डिया कम्पनीले भारतका राज्यरजौटाहरूलाई ध्वस्त बनाउँदै आफ्नो हुकुमत कायम गर्दै आइरहेका थिए । भारतमा प्लासीको युद्ध तथा बक्सारको युद्धमा भारतीय राजाहरू एवं योद्धाहरूको अवसान भएको थियो । यस्तो शक्तिशाली निकायसँग वीर गोर्खालीहरूले डटेर मुकाबिला गरे र उनीहरूलाई नराम्रोसँग हराएर अखण्ड नेपालको परिकल्पना साकार पार्न सहयोग भएको थियो ।
नेपाल-अंग्रेज युद्धमा सिन्धुलीगढी
नेपाल-अंग्रेज युद्ध (वि.सं.१८७१-१८७३) मा सिन्धुलीगढी पनि संवेदनशील नाकाको रूपमा थियो । यस नाकासहित विजयपुरदेखि हरिहरपुरगढीसम्मका लागि नेपालका तर्फबाट काजी जनरल भीमसेन थापाका भाइ कर्णेल बख्तावरसिं थापा सेक्टर कमाण्डर थिए भने काजी रनवीरसिं थापा सिन्धुलीगढीमा स्थानीय कमाण्डर थिए । ठूलो सतर्कताका तथा निगरानीमा राखिएको यो नाकामा अंग्रेजहरूको आक्रमण भएन ।९
क्याप्टेन किनलोक को थिए ?१०
सिन्धुली गढीको लडाइँमा इस्ट इण्डिया कम्पनीको तर्फबाट सैन्य नेतृत्व गर्ने प्रमुख व्यक्ति क्याप्टेन किनलोक थिए । नेपाल एकीकरणको इतिहासमा यिनको नाम नलिँदा इतिहास अधुरो हुन्छ । आखिर यिनको परिचय के हो त ? किनलोक एक स्कटिस नागरिक थिए । उनका बुबाको नाम डेभिड किनलोक र आमाको नाम इजाबेल थियो । उनका १ भाइ तथा १ बैनी थिए । भाइ चार्ल्स तत्कालीन समयमा बंगालको सेनामा कार्यरत थिए भने बैनी सेसिलिया स्कटल्याण्डमै थिइन् । किनलोक ४ फेब्रुअरी १७६० मा लेफ्टिनेन्ट भएर सेवा प्रवेश गरे भने त्यसको ४ वर्षपछाडि अर्थात् ११ अप्रिल १७६४ मा मद्रास इस्टेब्लिस्मेन्ट कमिसनले उनलाई क्याप्टेन बनायो ।
भारतको बक्सार र बंगालको नबावहरूविरुद्ध भएका लडाइँहरूमा क्याप्टेन किनलोकले देखाएको वीरता र सौर्यको प्रशंसा कम्पनी सरकारले गरेको थियो । क्याप्टेन पदसँगै उनी सन् १७६४ को मे महिनामा बंगालमा खटिए । यसै समयमा बट्टामा भएको विद्रोहको तिक्तताबाट उनले सेवाबाट राजीनामा पनि दिएका थिए । पछि उनको पुनर्वहाली भयो ।
क्याप्टेन किनलोक सुझबुझ भएका, चलाख एवं बुद्धिमतापूर्वक काम गर्ने साहसी फौजी थिए । उनलाई जंगल तथा पहाडी भूमिमा गर्ने युद्धको कुनै अनुभव थिएन । त्यसैले नै नेपाल अभियानको पूर्वसन्ध्यामा आफू रणमैदानबाट फर्किने वा नफर्किने कुरामा सन्देह भएर आफ्नो सारा सम्पत्तिको बाँडफाँट गरेका थिए । उनले सरकारी निकायलाई १ गस्ट १७६७ मा पेस गरेको इच्छापत्रमा आफू मरेपछि आफ्नो नाममा भएको श्रीसम्पत्ति भाइ र बहिनीलाई आधाआधा पारेर दिनू भनेका थिए । उक्त इच्छापत्रमा पालकी, चाँदीजडित लत्ताकपडा, घोडा र घोडाको काठीचाहिँ भाइ चार्ल्सलाई नै दिनू भनेका थिए ।
नेपाल अभियानमा पराजित भएको खबर पटनामा रम्बोल्डले पाएपछि किनलोकलाई दोषी बनाई कोर्टमार्सल गर्ने निधो गरे । तर, पछि रम्बोल्डले बुझे, यति ठूलो अभियानको योजना थोरै समयमा र युद्ध अभ्यासबिना नै गरिएकाले यो परिणति भएको बुझेपछि क्याप्टेन किनलोकले सजायबाट उन्मुक्ति पाए ।
पटना फर्किएपछि क्याप्टेन किनलोकको स्वास्थ्यमा कठिनाइ उत्पन्न हुँदै गयो । उनमा एक पटक काठमाडौं भेदन गर्ने तृष्णा रहिरहेको थियो । उनको यो अदम्य इच्छा फगत मृगतृष्णा सावित भयो । उनले १० मे १७६८ मा आफ्नो चोला फेरे र पटनाको एक चिहानमा समाधिस्थ भए ।
सिन्धुलीगढीको निर्माण
सिन्धुलीगढी भएको ठाउँ परापूर्वकालदेखि नै काठमाडौं जाने मुख्य नाकाको रूपमा थियो । यही नाका भएर यक्ष मल्ल, शिवसिं मल्ल, मकबानी सेन राजाहरूले विभिन्न लडाइँहरू लडेका थिए । यी लडाइँहरूलाई विचार गर्दा जसजसको अधीनमा यो ठाउँ रह्यो, उनीहरूले नै यो ठाउँमा दह्रो दुर्ग बनाएका हुन् भन्ने अनुमान गर्न सकिन्छ ।
कान्तिपुरे राजा पार्थिवेन्द्र मल्लले सिन्धुलीगढीलाई आफ्नो अधीनमा पारेका थिए । यस समयको शिलालेख तलेजु भवानी मन्दिरको सामुन्नेमा अहिले पनि छ । यस सिलालेखमा भनिएको छ, 'असल योद्धाहरूद्वारा पहाडको टुप्पोमा रहेको, जान गाह्रो, पहिलेका राजाहरूले महत्त्व नबुझेको सिन्धुली दुर्ग खोसेर लिनुभयो ।'
नेपाल अभियानअन्तर्गत कम्पनी सेनाहरू यो गढीसम्म आइपुगेका बेला यस गढीक्षेत्रमा ठूलो बंगला, भीमसेनको मन्दिर तथा ठूलो ढुङ्गे कुवा भएको कुरा कप्तान किनलोकले उल्लेख गरेकाले आजभन्दा करिब २५० वर्षअघि पनि सिन्धुलीगढीको सामरिक रूपमा अस्तित्व थियो भन्ने जानकारी हुन जान्छ ।
नेपालको एकीकरणपश्चात् सिन्धुलीगढीलाई तत्कालीन शाहवंशीय राजाहरूले अझ बढी महत्त्व दिएका थिए । रणबहादुर शाहले सिन्धुलीगढी क्षेत्रमा अवस्थित पौवागढीको मर्मत सम्भार गर्नुका साथै आडको निर्माणसमेत गरेका थिए । गीर्वाणयुद्ध विक्रम शाहको पालामा सिन्धुलीगढीमा ठूलो संख्यामा नेपाली सेना तैनाथ गरिएको थियो । नेपाल-अंग्रेज युद्ध ( वि.सं. १८७१-१८७३ ) समयमा सिन्धुलीगढीलाई काजी रणजोर थापाले मजबुत बनाएका थिए । यस समयमा यस गढीमा अमरसिं थापा स्वयम् पनि तैनाथ थिए ।
सिन्धुलीगढी दरबारको निर्माण
गढी दरबार भव्य, दुईतले, सेतो रङको र महाभारतको अलिकति समथर भागमा रहेको कौसी र बुर्जाहरू तथा झ्यालहरूले भरिभराउ थियो । बुइँगलमा भएको सहित गणना गर्दा दरबारमा ३१ वटा कोठाहरू थिए । स्नानघर र शौचालय छुट्टाछट्टै थिए । दरबारको वरपर पालेपहरा घरहरू पनि थिए । यस्तो सुन्दर गढी दरबार कसरी बन्यो भन्ने सन्दर्भलाई हेरौँ ।
सिन्धुलीगढीमा राणाकालपूर्व पनि सेनाको छाउनी थियो । कप्तान किनलोकले आफ्नो दैनन्दिनीमा सिन्धुलीगढी क्षेत्रमा एउटा राम्रो बंगला थियो भनेका छन् । राणाकालमा यो गढीक्षेत्र राजनीतिक तथा आर्थिक रूपले पनि बढी महत्त्व राख्ने स्थान बनेको थियो । त्यसले गर्दा यहाँ स्थायी प्रशासनिक निकाय हुनु अति आवश्यक देखिइसकेको थियो ।
वि.सं. १९०३ मा घटित कोतपर्वलाई आँखाले देखेका तत्कालीन केही सुरक्षाकर्मीहरूलाई जंगबहादुरले मार्न सकेनन् र कोतका सबै कुरा साक्षी प्रमाण यिनीहरूले दिन्छन् भन्ने मानी ती सेनाहरूलाई पक्राउ गर्ने आदेश भई सोधखोज गर्दा तिनीहरू सिन्धुली जिल्लाअन्तर्गत बितिजोर तीनकन्यातिरका ठकुरी तथा मगरहरू भएको बुझी तत्कालीन अवस्थामा सिन्धुलीगढीस्थित छाउनीमा सानो प्रशासनिक इकाइ खडा गरी उनीहरूको खोजी गरिएको बुझिन्छ ।
सिन्धुलीगढीको बाटो अति व्यस्त बाटो थियो । पूर्वी तराईका जिल्लाहरूदेखि काठमाडौं जाने सबै खाले मानिसहरूले यो बाटो प्रयोग गर्थे । व्यापारीहरू, बुद्धिजीवीहरू, साधारण मानिसहरू, किसानहरू काठमाडौं तथा रामेछाप जाने बाटोको रूपमा यो मार्ग व्यस्त हुन्थ्यो । विशेषगरी कृष्णप्रसाद कोइराला, धरणिधर कोइरालाहरूजस्ता राणाविरोधी व्यक्तिहरूले सिन्धुलीगढीको बाटो प्रयोग गरिरहन्थे । भीम शमशेरको पालामा प्रचण्ड गोर्खाका सदस्य खड्गमान सिंहले भारतीय विद्रोही विपिन सहनी(विहारी) र कपिल देवजस्ता खतरनाक व्यक्तिहरूलाई लिएर काठमाडौंमा बम र डाइनामाइट बनाई राणाहरूलाई निमिट्यान्न पार्ने असफल योजना तयार गर्ने क्रममा पनि यही बाटो प्रयोग भएको थियो ।
रामेछापका मानिसहरूमा आएको चेतना र आलोचना गर्ने क्षमतालाई निरुत्साहित गर्नुपर्ने अवस्था पनि चन्द्र शमशेरको पालामा नै देखिइसकेको थियो । यसरी रामेछाप, सिन्धुलीलगायत वरपरका स्थानहरूमा हुने राणाविरोधी गतिविधिहरूलाई नियन्त्रण तथा निरुत्साहित गर्न प्रशासकीय इकाइ स्थापना गर्ने सन्दर्भमा सिन्धुलीगढी दरबारको स्थापना भएको थियो ।
सिन्धुलीगढी दरबार चन्द्र शमशेरको पालामा बम वीरविक्रम कुँवर राणाले बनाएका थिए । यो दरबारको निर्माण कार्य वि.सं. १९५६ मा सम्पन्न भएको थियो । दरबार निर्माण कार्यमा सिन्धुली जिल्लाका अमले, बस्तीपुर, बन्दीपुर गाउँहरूबाट र रामेछापतर्फबाट पनि प्रशस्त संख्यामा ज्यामीहरू ल्याइएको थियो । काठका ज्यामीको काम बसेरीका मगरहरूलाई पनि लगाइएको थियो ।
गाउँगाउँ डुलेर कामदारलाई अनिवार्य उपस्थितिका लागि झ्याम्टा बजाइन्थ्यो । जलेश्वरका कालीगढहरूले पनि लामो समयसम्म काम गरेका थिए । सालका काठहरू सिन्धुली माढीबाट ओसारिएको थियो । इँटा भक्तपुर र जनकपुरका कालीगढहरूलाई बोलाई गढी दरबार परिसरमा नै पोलिएको थियो । यसरी यी सबै कामको संयोजनबाट करिब ३ वर्षमा गढीदरबारको निर्माण कार्य सम्पन्न भयो ।
अर्काेतर्फ राणाकालमा प्रशासनको काम विभिन्न तहमा विभाजित थियो । प्रशासनिक पद्धतिलाई गौँडा प्रशासन, गोश्वारा प्रशासन र गढी प्रशासनमा विभाजित गरिएको थियो । पाल्पा, सल्यान, धनकुटा र इलाम यी चारवटा गौँडा प्रशासनहरू थिए । राणाकालीन जिल्ला प्रशासनअन्तर्गत भित्री मधेसका तीन जिल्लाहरू सिन्धुली, चिसापानी र उदयपुर गढी प्रशासन इकाइहरू थिए । यी प्रशासनिक क्षेत्रको निर्क्योल यस क्षेत्रको रणनीतिक महत्त्व (विदेशीहरूले आक्रमणका लागि प्रयोग गर्न सक्ने नाका), पहाड र मधेसबीचको प्रमुख सम्पर्क मार्ग र राणाविरोधी गतिविधिका लागि प्रयुक्त हुन सक्ने नाकाका आधारमा गरिएको थियो । त्यसैले राणाकालमा यी गढीहरूमा राणा परिवारका नजिकका नातेदार एवं विश्वासपात्रहरू तथा क्षमतावान् व्यक्तिहरू मात्र बडाहाकिमको रूपमा नियुक्त हुने गर्थे । यस क्षेत्रमा नियुक्त हुने बडाहाकिमलाई राणा प्राइमिनिस्टरबाट यस प्रकारको लिखत आदेश दिइन्थ्यो:
जुन कुरामा जे गर्नु भंन्या जुंनजंवषतमा हाम्रा हुकुम मर्जिका सनदवडापत्र प्रमाङ्गी पुर्जी भै आउँछ उर्दि पुर्जिका काम्मा हाम्रा हुकुम बमोजिं तुरुन्त काम तामेल गर्नु...।
सिन्धुली नेपालको थुप्रै ऐतिहासिक सम्पदा भएको ऐतिहासिक स्थल हो । भनिन्छ, संसारकै ठूलाठूला साम्राज्यवादी नियतका लडाइँहरूमा विरलै मात्र हार खाएको बेलायती नेतृत्वको फौजले यही जिल्लाको सिन्धुलीगढीमा नराम्रोसँग पराजय भोग्नुपरेको थियो । सिन्धुलीगढी सबै नेपालीहरूको स्वाभिमानको गाथा हो, वीरताको कथा हो, राष्ट्रभक्ति र उत्सर्ग गरिएको पवित्र स्थान हो ।
सन्दर्भ सामाग्रीहरू:
1. Pandit Govinda Dahal, Dumja Sindhuli: Madhuparka
2. Gita Press Gorakhapur UP: Yagnabalkya Smriti Grantha
3. Dr. Peshal Dahal: Nepalko Itihans
4. Dr. Peshal Dahal: Nepalko Itihans
5. Dr. Premsing Basnyat: Neplese Forts and the Royal Nepal Army in Fort Battle
6. Dr. Peshal Dahal: Nepalko Itihans
7. K C Choudhary: Anglo Neplese Relations, Modern Book Agencies, Calcutta
8. Yogesh Raj: The Journal Of Captain Kilnloch, Jagadamba Prakashan
9. Dr. Premsing Basnyat: Neplese Forts and the Royal Nepal Army in Fort Battle
10. Yogesh Raj: The Journal Of Captain Kilnloch, Jagadamba Prakashan
11. Dr. Ghanashyam Bhattarai: Nepalma Sthaniya Prasashan ko Itihans, Adroit Publication
(लेखक ढकाल सिन्धुलीकाे कमलामाई नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत हुन्)
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८ ०७:५९