प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले गठबन्धन सरकार कमजोर छ भनिरहँदा पाँचदलीय गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताइरहेका छन् । सार्वजनिक मञ्चमा बारम्बार गठबन्धनको भविष्यबारे चिन्ता प्रकट गर्ने प्रचण्डले बिहीबार काभ्रे पुगेर गठबन्धन जोगाउनु नै चुनौती रहेको बताए । 'एमसीसी ल्याएर दिमाग खराब गर्ने, गठबन्धन टुटाउने प्रयास भइरहेको छ । यो परिमार्जन गरेर जान सकिन्छ तर अहिले एमसीसी मुख्य होइन, गठबन्धन मुख्य हो । गठबन्धन टुटाउन अनेकन षड्यन्त्र भइरहेको छ,' प्रचण्डको भनाइ छ ।
सरकार गठन भएको दुई महिनासम्म पनि पूर्णता दिन पाँचदलीय गठबन्धनलाई सकस छ । आफ्नो नेतृत्वको सरकारलाई विस्थापित गरेकाे गठबन्धनप्रति उसै पनि प्रतिपक्षी दल एमाले आक्रोशित छ । 'हेभी वेट' प्रतिपक्षलाई विरोधका लागि सरकार आफैँले एजेण्डा दिइरहेको छ । गठबन्धन सरकारप्रति प्रमुख प्रतिपक्षी दलका नेता ओलीको टिप्पणी छ, 'यो पञ्चेगुट हो, पञ्चेगुटभित्रै लफडा छ । यसले ७५ दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन । पहिले आफू एकजुट भएर सिंगो एमालेसँग लड्न आऊ ।'

के हो प्रचण्डको अभिव्यक्तिको अन्तर्य ?
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनमा आन्तरिक संकट पनि कम छैनन् । दल विभाजन अध्यादेशलाई निष्क्रिय बनाउन नसक्दा मतान्तर बढिरहेको छ । प्रधानमन्त्री देउवाले मन्त्रीको नामावली माग्दासमेत जसपाले अध्यादेश लाेकतन्त्रविराेधी रहेकाे भन्दै निष्क्रिय नभएसम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने अडान राखिरहेको छ । एकीकृत समाजवादी पार्टीको कानुनी हैसियतको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले सरकार गठनका लागि सर्वोच्चको फैसला कुरिरहेको अवस्था छ । माओवादी केन्द्रले नेताहरूको व्यवस्थापनको कठिनाइले मन्त्रीको नामावली दिन सकेकाे छैन ।
आन्तरिक संकटमा फसेको गठबन्धनलाई बाह्य संकट पनि रहेको प्रचण्ड अभिव्यक्तिले इंगित गर्छ । प्रचण्डले औँल्याइरहेको षड्यन्त्रबारे उनी निकट नेता हरिबोल गजुरेल भन्छन्, 'गठबन्धनकै कारण सरकारबाट बाहिरिनुपरेकाले एमाले अध्यक्ष ओलीले सरकारलाई कमजोर बनाउन हरसम्भव प्रयास गरिरहनुभएको छ । सदनदेखि सडकसम्म गठबन्धनविरुद्ध भ्रम पैदा गर्ने काम एमालेबाट भइरहेको छ । सरकारले जनताको विश्वास नजित्ने हो भने गठबन्धनको एकतामा संकट आउन सक्छ ।'
नेकपा एकीकृत समाजवादीको कानुनी हैसियतमा चुनौती दिने कदम गठबन्धनलाई कमजोर बनाउने उद्देश्यले नै भएको गजुरेलको टिप्पणी छ । जनता समाजवादी पार्टीका नेता महिन्द्रराय यादव प्रचण्डको अभिव्यक्ति बाहिरी शक्ति र एमालेप्रति इंगित रहेको बताउँछन् । 'गठबन्धनभित्रका समस्यालाई समाधान गर्दै यसलाई निर्वाचनसम्मै कायम गर्नेमा नेताहरूबीच सहमति भइसकेको छ । लोकतन्त्र नचाहने शक्तिबाट गठबन्धनले चुनौतीको सामाना गरिरहनुपरकेको छ । एमालेले निरन्तर गरिरहेको सदन अवरोध गठबन्धनलाई अप्ठ्यारोमा पार्न हो,' यादवले भने ।
राजनीतिक मामिलाका जानकारहरू भने गठबन्धनका कमजोरी ढाकछाेप गर्न प्रचण्डले पाँचदलीय सहकार्यलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको अभिव्यक्ति दिने गरेको बताउँछन् । गठबन्धन सरकारले ओलीविरुद्धको सरकार गठनको औचित्य पुष्टि गर्न नसक्दा र आन्तरिक समस्याले सशक्त सेवा प्रवाह गर्न नसकेपछि अरुको कारण कमजोर भएको सन्देश प्रचण्डले प्रवाह गरिरहेको विश्लेषक विष्णु दाहाल बताउँछन् ।
'संसदलाई निरन्तर कमजोर बनाउने हो भने यसलाई पूर्णकालीन अवस्थामा चलाइराख्न देउवा बाध्य हुने छैनन् । देउवा र ओली निर्वाचनको पक्षमा रहेकाले उनीहरूबीचको सहकार्यको सम्भावनालाई नकार्न सकिँदैन,' दाहाल भन्छन्, 'कमजोर स्थितिमा रहेका प्रचण्ड र पार्टी निर्माण गरिरहेका माधव नेपालले अहिले निर्वाचन चाहेका छैनन्, निर्वाचनलाई धकेल्न गठबन्धन जोगाउने दबाबमा रहेका प्रचण्डले षड्यन्त्रको कुरा गरिरहेका छन् ।'
यस्तै, राजनीतिक विश्लेषक राजेन्द्र महर्जन आन्तरिक संकट व्यहोरिरहेको गठबन्धनमाथि ओली र बाह्य शक्तिमार्फत चुनौती थपिएकाले प्रचण्डले षड्यन्त्रको कुरा गरिरहेको बताउँछन् । 'ओली प्रवृत्तिविरुद्धको सरकार भनिए पनि गठबन्धनले हालसम्म छनक दिन नसक्दा यसविरुद्ध ओली र अन्य शक्तिबाट प्रहारको प्रयास पनि भइरहेको छ । बाहिरबाट प्रहार हुँदा गठबन्धनलाई बाँध्ने रणनीतिका निम्ति प्रचण्डले षड्यन्त्रको सन्देश प्रवाह गरिरहेका छन्,' महर्जनले भने ।
यता गठबन्धनले मन्त्रालय बाँडफाँट र नामावली टुंग्याउन नसकेपछि आलोचना बढिरहेकाे छ । त्यसमाथि अमेरिकी सहायता परियोजना (एमसीसी) पारित गर्ने विषयमा गठबन्धनभित्र एकमत नहुँदा प्रधानमन्त्री देउवाले विशेष दूतमार्फत ओलीसँग संवादको प्रयत्न थालेका थिए । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १६ भदौमा बालकोट पठाएर देउवाले एमसीसीमा समर्थनका लागि पहल गरेका थिए । यसबाट पनि प्रचण्ड सशंकित भएको हुन सक्ने कांग्रेसका एक नेताले बताए ।
'प्रधानमन्त्रीले विशेष दूतका रूपमा कानुनमन्त्रीलाई संवादका लागि पठाउँदै एमसीसीमा समर्थन मागेपछि प्रचण्ड थप सशंकित हुनुभएको देखिन्छ । आन्तरिक एकतालाई मजबुत बनाउने हो भने जस्तोसुकै षड्यन्त्रले पनि गठबन्धन भत्किँदैन । तत्काल सरकार विस्तार गरेर जनतामा आशा जगाउने काम गर्ने र अघि सारिएका साझा न्यूनतम कार्यक्रमलाई पूरा गर्दै अघि बढ्नुपर्छ,' ती नेताले भने ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८ १९:४१