काठमाडौंको सेतोपुलस्थित मातृका आँखा अस्पतालको तेस्रो तलामा बिहीबार शंकास्पद वस्तु राखेर आतंकित पार्ने तीन जना पक्राउ परे । सर्वसाधारणलाई आतंकित बनाउने उनीहरूलाई प्रहरीले पक्राउ गरेर सार्वजनिकसमेत गरेको छ ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ का २५ वर्षीय आशिष कुँवर, सोही ठाउँका २० वर्षीय अभिषेक कुँवर र रोल्पा कुरेली गाउँपालिकाका ४० वर्षीय अम्बरबहादुर रोक्का मगर छन् ।
पक्राउ परेका आशिष र अभिषेक सहोदर दाजुभाइ हुन् । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले शनिबार राति नागढुङ्गाबाट पक्राउ गरेको हो ।
उनीहरूले अस्पताल सञ्चालकसँग फिरौती असुल गर्न अस्पतालको भवनको तेस्रो तलामा शंकास्पद वस्तु राखेका थिए । सो वस्तु बम हो कि भन्ने आशंकामा प्रहरी र सेनाको टोली डिस्पोज गर्न खोज्दा बम नभई मानिसलाई आतंकित पार्ने (होक्स) मात्र भएको खुल्यो ।

तर, उनीहरूले सञ्चालकसँग अस्पतालमा मात्र नभई ती सञ्चालकको घरमा समेत बम राखेको र रकम नदिए विस्फोट गराइदिने धम्की नै दिएका थिए । अस्पताल सञ्चालकले आफूसँग फिरौती मागेर धम्की दिएको खबर प्रहरीलाई दिएपछि उनीहरू प्रहरीको फन्दामा परेका हुन् ।
कुँवर दाजुभाइले अस्पताल सञ्चालकसँग सुरुमा ३ करोड मागेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । ‘उनीहरूले सुरुमा अस्पताल सञ्चालकसँग ३ करोड रुपैयाँ मागेका रहेछन् । पछि २ करोड ७५ लाखमा कुरामा मिलेपछि रकम लिन आउँदा हामीले पक्राउ गर्यौं’, एसएसपी सिंहले भने ।
सिंहका अनुसार अस्पताल सञ्चालकसँग उनीहरूले रकमबारे बार्गेनिङ गर्दा प्रहरी साथमै थिए । प्रहरीकै योजनाअनुुसार अस्पताल सञ्चालले उनीहरूसँग संवाद गरेर रकम लिन नागढुङ्गा बोलाएको र पक्राउ गरेको हो ।
बेल्जियम जाने नाममा १७ लाख ऋण, डुबेपछि फिरौतीको धन्दा
आशिष र अभिषेक दाजुभाइ केही समयअघि वैदेशिक रोजगारीका लागि बेल्जियम जाने योजनामा थिए । त्यसका लागि उनीहरूले काठमाडौंकै एक सहकारीबाट १७ लाख रुपैयाँ ऋण निकालेका थिए ।

तर, उनीहरूलाई बेल्जियम पठाइदिने भन्दै पैसा लिएका एजेन्ट सम्पर्कविहीन भए । त्यसपछि उनीहरूलाई सहकारीको ऋणको ब्याजसम्म तिर्न कठिन भयो ।
यहीबीच आशिष आँखाको समस्या लिएर उपचारका लागि मातृका आँखा अस्पताल पुगे । प्रहरीका अनुसार आँखाको उपचार खर्चबराबर उनले ८० हजार रुपैयाँ अस्पताललाई बुझाएको देखिएको छ । परिसरका एसपी रमेश बस्नेतका अनुसार आँखाको उपचार गराउँदा अस्पतालमा मानिसको भिडभाड देखेपछि अस्पतालको कमाइ राम्रै हुने आशिषले अनुमान गरे ।
‘आशिषले अस्पतालको कमाइ राम्रो हुने अनुमान गरेर फिरौतीबाट पैसा कमाउने सोच बनाएको देखिन्छ । यसका लागि शंकास्पद वस्तु राख्ने उनीहरूले योजना बनाएको पाइएको छ’, एसपी बस्नेतले भने ।
अस्पतालको शौचालयमा शंकास्पद वस्तु राख्न आशिष र अभिषेक दाजुभाइ गएको अस्पतालको सीसीटीभी फुटेजमा देखिन्छ ।
पेसाले इलेक्ट्रिसियन रहेका आशिषले युट्युब हेरेर बम बनाउने तरिका सिकेको र ‘टाइम बम' जस्तै देखिने वस्तु राखेको उनीहरूले प्रहरीसमक्ष स्वीकारेका छन् ।
पक्राउ परेका अम्बरबहादुर रोक्का मगरलाई भने आशिषले नै ठूलो रकमको लोभ देखाएर अस्पताल सञ्चालकलाई धम्काउन प्रयोग गरेको खुलेको छ । उनीहरूमाथि प्रहरीले प्रहरीले आपराधिक लाभ लिन खोजेको अभियोगमा अनुसन्धान अगाडि बढाएको छ ।
अस्पताल सञ्चालकलाई धम्क्याउँदै पठाएको म्यासेज । फिरौती माग्न अर्काको नाममा सिम
कुँवर दाजुभाइले फिरौती माग्नाका लागि अर्काको विवरण प्रयोग गरी सिमकार्ड लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफ्नै मोबाइलबाट कल गर्दा पक्राउ पर्ने डरले उनीहरूले अर्काको विवरण प्रयोग गरेर सिम लिएको पाइएको हो ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८ १८:१४