आज श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पुजा आराधना गरी देशभर मनाइदैछ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन पनि हो आज ।
हुर्कंदै गरेका नानीबाबुलाई अक्षर चिनाउने सुरुवाती दिनको रुपमा हेरिन्छ श्रीपञ्चमीलाई । अक्षर आरम्भसँग जोडिएको यो विशेष चाड हो । यसका आफ्नै विशेष अर्थ छन् ।
हाम्रा सेलिब्रेटीको पहिलो अक्षर आरम्भ स्मरण कस्तो होला भन्ने खुल्दुली धेरैमा छ । हामीले केही सेलिव्रेटीको पहिलो अक्षर आरम्भ अनुभव खोतल्ने प्रयास गरेका छौं ।
नाम लेखाउन अण्डा दिएँ
उपेन्द्र सुब्बा, लेखक
मलाई स्कुलको नाम ठ्याक्कै याद भएन । पाँचथर जिल्लाको आङ्साराङ गाविस पर्छ ।
त्यो बेला खरी र पाटी वोकेर स्कुल जानुपथ्र्याे । ड्रेसको चलन थिएन । दौरा सुरवाल लगाइन्थ्यो ।
म ६/७ वर्षको उमेरमा पहिलोपटक स्कुल गएको हो । मलाई अझै याद छ, पहिलो दिन ठुलो बुबाको छोराले लैजानु भएको थियो । म कक्षा कोठमा बसिन । दिनभर बाहिर खेलेरै बिताएँ ।
म स्कुल पढ्छु भनेर गएकै होइन् । घरमा काम गर्नुपर्छ भनेर गएको हो । सायद पढ्छु भनेर स्कुलको गएको भए पढ्ने थिइन होला ।
त्यस पछि निकै समय स्कुल गइन । स्कुलमा नाम लेखाउनु पथ्र्याे । पैसा पनि तिर्नुपर्थाे । मसँग पैसा थिएन । कुखुराको अण्डा लगेर मास्टरलाई दिएर नाम लेखेको अझै पनि ताजा स्मरण छ ।
कक्षा दुईमा पुगे पछि आफ्नो नाम लेख्न जाने । मैले ए बि सी डी लेख्न चार कक्षा पुगेर मात्रै जानेको हुँ । तर मेरो खराब बानी चाहिँ मास्टरले सोध्दा जानेको कुरा पनि भन्दिन थिएँ । किन आफू बाठो हुनु जस्तो लाग्यो ।
कुट्थे मलाई । मध्यम दर्जाको विद्यार्थी समुह भित्र पर्थेँ । मेहनत पटक्कै गर्दिनथें तर पास हुन्थें ।
दोस्रो दिन नै कुटाइ खाइयो
विपीन कार्की, अभिनेता

म मोरङ जनता माध्यमिक विद्यालयमा पढेको हुँ । ४ वर्षको उमेरमा भर्ना भएको हो । पहिलो दिन स्कुल गएको याद छैन् मलाई ।
मेरो ध्यान कितावमा भन्दा प्राय लुगामा मात्रै जान्थ्यो । स्कुल जाने जाँदा नर्मल ड्रेसमा नै गएको थिएँ । पहिलो दिन सरले क लेख्न सिकाउनु भयो । ३/४ दिन पछि लेख्न बल्ल क लेख्न सकें ।
त्यस्तो धेरै चक्चक गर्दिनथें । बाहिर निस्कन डराउथे । कक्षा कोठमा भित्रै बस्न मन लाग्थ्यो । साथीहरुसँग विस्तारै घुलमिल हुन थालियो ।
एक/दुई पटक भागेर खेल्न पनि गएको थिएँ । दोस्रो दिन सरले कुट्नु भो । हाम्रो पालामा सरहरुले बेस्सरी कुट्नु हुन्थ्यो । थोरै गल्ती गर्ने वितिकै पाइपको डाम बस्ने गरी हिकाउनु हुन्थ्यो ।
पछि म क्लास उक्लिँदै गए पछि मन पर्ने विषय चाहि गणित हो । सरले दिएको होमवर्क नियमित गर्थेँ । म टप टेन भित्र पर्थे क्लासको ।
खरीपाटीमा सिमीको पातले मेट्थें
यश कुमार, गायक/अभिनेता

मलाई अझै पनि याद छ, पहिलो दिन स्कुल जाँदा खरी र पाटी लिएर गएको । मेरो लागि बुबाले सिमलको काठको पाटी बनाइ दिनुभएको थियो । त्यहि लिएर स्कुल जान्थेँ ।
लेखेको मेट्न मेरो खोजीमा सिमीको पात हुन्थ्यो । म चार वर्षको उमेरमा स्कुल भर्ना भएको हो । पहिलो दिन मैले क को धर्काे तान्न मात्रै सिँके । त्यहिबेला अहिले जस्तो समय थिएन मैले ए बी सि डी ४ कक्षामा पुगेर मात्र चिनेको हुँ ।
सर्लाहीको सरस्वती माध्यमिक विद्यालयमा भर्ना भएँ । मेरो ठूल्दाईले मलाई फकाएर स्कुल लानुभयोे । अनि मेरो आमाले स्कुलमा खाजाको लागि कुखुराको अण्डा उसिनेर पठाउनुहुन्थ्यो ।
मलाई त्यो बेला देखि नै गीतसंगीतमा चाख लाग्थ्यो । पछि विस्तारै कक्षा चढ्दै गएपछि गुरुहरुले मलाई माया गर्नुहुन्थ्यो । गीतहरु गाएर सुनाउथेँ । स्कुलको कार्यक्रमहरुमा गीत गाउँथेँ । मलाई स्कुलले किताब कापी किन्दिन्थ्यो ।
स्कुल गएकै याद छैन
सिर्जना सुब्बा, अभिनेत्री

म यहि दिन स्कुल गएको भनेर ठ्याक्कै थाहा छैन् । स्कुल भर्ना गराउने भनेर मलाई स्कुल लानु भएको होइन् । मलाई स्कुल जान मन लाग्दैनथ्यो ।
मलाई मेरो फुपुहरुले सानै देखि वानी पार्नुपर्छ भनेर स्कुल लैजानुहुन्थ्यो । घरमै भाईसँग खेलेर बस्न मन लाग्थ्यो । म अलि जिद्धि खालको थिएँ । पढ्न मन नलाग्ने ।
म त्यस्तै ४ वर्ष जति थिएँ होला स्कुल जाँदा । श्री सार्वजनिक विद्यालय कक्षा आठ सम्म अध्ययन गरेँ । त्यसपछि अर्काे स्कुल गएँ । घरबाट १५/२० मिनेट लाग्थ्यो । ए बि सि डी चै तीन कक्षा पुगेर सिकेको हुँ ।
कमल खत्री, गायक

सर्लाहीको श्री चक्रगंगा उच्च माध्यमिक विद्यालयमा एक कक्षामा भर्ना भएको हुँ । मलाई सुरुमा सुरुमा स्कुल जानै मन लाग्दैनथ्यो ।
म एकै चोटी एक कक्षा भर्ना भएको हो । जान मानेन भने बुबाले गाली गर्नुहुन्थ्यो । सरकारी स्कुल भएकोले होला पाँच वर्षको हुदाँ गएको हुँ ।
कक्षा एकमा भर्ना भएको हो । हाम्रो बुलामा ४ कक्षा पुगे पछि मात्रै एबीसिडी पढ्न जानेको हुँ । रमाइलो लाग्न थाल्यो । पछि साथीहरुसँग घुलमिल हुँदै गयो । पछि बानी पर्दै गयो स्कुलमा बस्न थालियो ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५ ०१:००