कोरोनाको महामारी जोखिमकै बीच गाडी खरिद बिक्रीको बजार चम्किएको छ ।
कोरोना महामारीको सुरुआती चरणमा सुस्ताएको व्यापार लकडाउन खुलेसँगै सुधार भएको हो । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा मात्रै १० अर्ब १४ करोड ५४ लाख ५० हजार रुपैयाँको सवारी साधन अयात भएको छ ।
यो आँकडा अघिल्लो वर्षको साउन भन्दा पाँच अर्ब ६१ करोड १६ लाख ५३ हजारले बढी हो । गत वर्ष साउनमा ४ अर्ब ५३ करोड ३७ लाख ९७ हजारको मात्रै सवारी साधन आयात भएको थियो ।
कोरोना महामारी र सरकारी नीतिका कारण गाडीको आयात बढेको नाडा अटोमोबाइल्स एसोसिएसन्स अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘अहिले सार्वजनिक यातायात कम चलेको छ । कोरोनाको डरले मान्छेहरू सार्वजनिक यातायात चढ्न डराइ निजी गाडीतर्फ आकर्षित भए । त्यही भएर बिक्री र आयात बढेको हो,’ उनले भने ।
लकडाउनपछि गाडीको व्यापार सोचेभन्दा राम्रो भइरहेको निशान र ड्याट्सन गाडीको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पकी मार्केटिङ म्यानेजर स्वेता सिलवालले बताइन् ।
‘अहिले करिब २०/३० प्रतिशत व्यापार बढेको छ । इन्ट्री लेबलका गाडीदेखि ३० देखि ४० लाखसम्मका गाडीको व्यापार राम्रो छ,’ उनले भनिन् ।
आयात बढेसँगै सवारी साधनबाट संकलन हुने राजश्व समेत बढेको छ । गत वर्ष साउनमा ३ अर्ब ३२ करोड ३७ लाख ७ हजार राजश्व उठेको थियो भने यो वर्षको साउनमा ९ अर्ब ४७ करोड २३ लाख पाँच हजार राजश्व संकलन भएको छ ।
पछिल्लो ५ वर्षको साउनमा आयात भएका सवारीसाधनको तथ्याङ्क । स्रोत – भन्सार विभागअघिल्लो वर्ष साउनमा लकडाउनको कारण सवारीसाधन कम आयात भएको र यो वर्ष नियमित आयात भएकाले पनि यो बढोत्तरी देखिएको हो । तर कोरोना महामारीकै बीच आयात बढ्नुको कारण भने विद्युतीय सवारी साधनमा सरकारी नीति पनि एक रहेको दुलाल बताउँछन् ।
अघिल्लो सरकारले बजेट मार्फत विद्युतीय सवारी साधनमा अन्त:शुल्क मिनाहा र भन्सार शुल्क घटाएपछि विद्युतीय सवारीसाधन उल्लेख्य आयात भएको उनको भनाई छ । ‘पछिल्लो समय विद्युतीय सवारीसाधन धेरै आयात भएका छन् । त्यस्तै विद्युतीय मोटरसाइकल, स्कुटर र अटो रिक्साको आयात धेरै छ,’ दुलालले भने ।
यो वर्ष सवारी साधन मात्र नभई समग्र अटोमोबाइल बजार बढेको उनले बताए । ‘सवारी साधन मात्रै हेर्दा करिब ६० प्रतिशत बजार बढेको छ । लुब्रिकेन्ट, टायर स्पेयर पाट्स लगायत समग्र अटोमोबाइल क्षेत्रको बजार पनि करिब ३० प्रतिशतले बढेको छ,’ दुलालले भने ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८ १६:२४