नेपाल–भारत सीमाहरु झापाको काँकडभित्ता, पर्साको वीरगन्ज, रौतहटको गौर, रुपन्देहीको सुनौली, विराटनगरको जोगबनी, कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बाँकेको रुपैडिया र सिराहाको माडर नाकामा सीसी क्यामेरा जडान गर्न लागिएकाे हो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरज श्रेष्ठका अनुसार सीसी क्यामेरा जडानका लागि अध्यन सुरु भएको छ ।
‘हामीले हाललाई नेपाल–भारतको १० वटा सीमा नाकामा सीसी क्यामेरा जोड्ने तयारी गरेका छौं । त्यसका लागि गृह मन्त्रालयबाट २ करोड बजेट उपलब्ध भइसकेको छ । अध्ययन सकिनासाथ जोड्छौं,’ श्रेष्ठले भने ।
चीनसँग जोडिएको नाकामा समेत सीसी क्यामेरा जोड्ने योजना रहेको र यसको लागि गृहमा प्रस्ताव पठाएको उनले बताए । केही समयदेखि भारतीय आपराधिक समूहले नेपाली भूमिमा प्रवेश गरेर प्रहरीमाथि आक्रमण गरेपछि सुरक्षा संयन्त्र चिन्तित छ ।
खुला सीमाका कारण नेपाल भित्रिने भारतीय नागरिकको कुनै विवरण नेपालको सीमा पोस्ट नहुने र नेपालीको विवरण भारतको नाकामा नहुने हुन्दा आपराधिक मानसिकता बोकेका मान्छे निर्बाध रुपमा आवतजावत गरिरहेको श्रेष्ठको भनाइ छ ।
बीओपीको संख्या वृद्धि
नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले नेपाल आउट बोर्डर पोस्ट (बीओपी) को संख्या वृद्धि गरेको छ । यसअघि ८७ ठाउँमा रहेको बीओपीको संख्या बढाएर १ सय ८ पुर्याएको छ । सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार इलाममा एउटा, झापाका ७, मोरङका ६, सुनसरीका ९, सप्तरीका ६, सिरहाका ६, धनुषाका ६, महोत्तरीका ६, सर्लाही ६ र रौतहटको ५ स्थानमा बीओपी स्थापना भएको छ ।
त्यस्तै, बारामा ६ , पर्सामा ९, चितवनमा ३, पूर्वी नवलपरासीमा ३ , पश्चिम नवलपरासीमा ३, रुपन्देहीको ४ स्गान, कपिलवस्तुको ५, दाङको २, बाँकेका ५, बर्दियाका ४, कैलालीका ३ र कञ्चनपुरका ४ ठाँउमा सशस्त्र प्रहरी बलले बीओपी राखेको छ ।
हरेक बीओपी पोस्टमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी खटाइने गरेको छ । बीओपीलाई सम्वन्धित जिल्लामा रहेको गण, बाहिनीले हेर्ने गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार दक्षिण नाकामा रहेका सबै बीओपी करिब १८ किलोमिटरको दूरीमा निर्माण गरिएको छ ।
उत्तरी नाकामा पनि बीओपी तयारी
नेपाल–भारत सीमाको १०८ ठाउँमा बीओपी राखेको सशस्त्र प्रहरी बलले चीनसँग जोडिएको उत्तरी नाकाहरुमा समेत बीओपी राख्ने तयारी गरेको छ । डीआईजी सुरज श्रेष्ठका अनुसार चीनसँग जोडिएका उत्तरी नाका दार्चुलाको तिङकर, बझाङको ताक्लाकोट, संखुवासभाको किमाङथान र मुस्ताङको रुवाङथान नाकामा बीओपी राख्ने तयारी भएको हो ।
हिमाली क्षेत्र भएका कारण यातायात समस्या हुने र चिसोमा प्रयोग हुने हतियार सशस्त्र प्रहरी बलसँग नभएका कारण उत्तरी नाकामा बीओपी राख्न केही कठिन भए पनि अध्ययन गरेर चाँडै स्थापना गर्ने योजना रहेको श्रेष्ठको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६ २०:४३