१० वर्षपछि पहिलो पटक करिब तीन महिना घर बसेँ । यो मौका, संयोग, परिस्थिति जे भनौँ, जुराएको थियो- कोभिड १९ को महामारीका कारण भएको निशेधाज्ञा र कोभिडको अवस्थाले कार्यालयमा अबलम्बन गरिएको 'वर्क फ्रम होम'ले । कर्म जीवन सुरु भएपछिको मेरो सबैभन्दा लामो घर बसाई यही नै हो ।
मेरो गाउँ दाङको घोराही उपमहानगरपालिकामा पर्छ । सदरमुकाम घोराहीभन्दा करिब १५ किलोमिटर पर । आमा बिरामी हुनुहुन्थ्यो । आमालाई निक्कै गाह्रो भएपछि हामी दुई बहिनी आत्तिएर निषेधाज्ञाकै बीचमा काठमाडौंबाट घर पुगेका थियौँ । निषेधाआज्ञाको बेला काठमाडौंबाट जान गाडी पाउन गाह्रो भए पनि घोराही पुगेपछि घरसम्मै पुर्याइदिने अटो रिक्सा सजिलै पाइयाे । पहिले ग्रोभेल रहेको साँघुरो बाटो फराकिलो पिच बनेपछि अब बस कुर्नु पर्दैन, कोचाकोचको सास्ती सहनु पर्दैन । अटो रिक्सा प्रशस्तै चल्छन् । ५० रुपैयाँ तिरेपछि अटोले गन्तब्यमा पुर्याइदिन्छ । पहिले बसको भाडा १५ बाट बढेर २० रूपैयाँ पुग्दा सहचालकसँग किचकिच गरेको सुनिन्थ्यो । अहिले अटोसँग भाडामा बार्गेनिङ नगर्दा रहेछन् ।

घर पुग्नै लाग्दा चोकमा एउटा बोर्ड देखियो । जसमा लेखिएको थियो । सगरमाथा टोल । मन खिस्रिक्क भो र प्रश्न उब्जियो 'सोलुखुम्बुको सगरमाथा दाङमा झार्न जरुरी के थियो र ?' त्यो बोर्डमा भनिएको सगरमाथा टोल वा चोक हो, थारुहरूले वर्षौंदेखि लमक्की वा नमक्की डर्वा (डाँडा) र पहाडेहरूले नापी वा लामीडाँडा भन्दै र चिन्दै आएको ठाउँ । लामो मैदान (थारुहरूले डर्वा भन्छौँ) मा पहिला थारुहरूको परम्परागत घर सिधा लामो गरी एकनासले बनेका थिए । त्यसैले नाम रहन गएको थियो- नमक्की वा लमक्की डर्वा । जसको अर्थ लामो डाँडा भन्ने हुन्छ । थारु गाउँमा पहाडे समुदाय पनि मिसिएपछि लमक्कीबाट अपभ्रंस हुँदै लामी र लामीबाट पनि अपभ्रंस भएर नापी डाँडा हुन गयो ।
अहिले पनि याे टोललाई मानिसहरूले चार वटै नामबाट चिन्छन्- लमक्की वा नमक्की डर्वा र नापी डाँडा वा लामी डाँडा । तर त्यो ठाउँको नाम फेरेर राखिएछ सगरमाथा टोल । यहाँ कसैले नभन्ने र नचिन्ने नाम किन राखेको भन्ने जिज्ञासा राखेँ । जवाफ पाइयो- सुन्दा राम्रो सुनिएन रे । कसैले तिम्रो सुनिता नाम राम्रो सुनिएन भनेर अर्कै नाम राखिदिए जस्तो । कल्पना गरेँ मलाई सुनिताको सट्टा उनीहरूले राम्रो भनेर राखिदिएको नामले बोलाए भने मलाई कति रिस उठ्ला ? वर्षौंदेखि मलाई सुनिता भनेर चिनेका मेरा आफन्त र मेरो साथीहरूले मलाई चिन्लान् ? जत्ति नै राम्रो सुनिने नाम राखिदिए पनि कुनै खास् अर्थमा मेरो दिदीले प्रस्ताव गरेर बाबाले स्वीकार्नु भएको नामभन्दा प्रिय लाग्ला ? लाग्दै-लाग्दैन नि ।
भन्नेले भन्लान् नाममा के छ ? म भन्छु नाममा आफ्नोपन छ । वर्षौंदेखिको चिनारी छ, मौलिकता छ र कथा छ, पहिचान छ । थारु समुदायको शब्द, चिनारी, आफ्नोपन, मौलिकता जोडिएका धेरै चोक र टोलहरूका नाम यसैगरी फेरिएका रहेछन् । चोक र टोेलहरूमा राखिएको बोर्ड पढेर थाहा पाएँ । बोर्ड पढ्न नजान्ने मेरी आमा जस्तालाई त आफ्नै ठाउँको नाम फेरिएको पनि थाहा छैन होला । कस्तो नमज्जा !

यो पटकको घर बसाईमा मलाई निक्कै बिझाएको अर्को कुरा हो, हराउँदै गएको थारु भाषा । मेरो गाउँका धेरै बच्चाबच्ची अचेल थारु भाषा बोल्दैनन् । अघोषित प्रतिबन्ध नै रहेछ । यो प्रतिबन्ध अरूले हाेइन, उनीहरूकै बाबुआमाले लगाउँदा रहेछन् । भर्खरै बोली फुट्न लागेका छोराछोरीलाई अधिकांश बाबुआमाले नेपाली भाषामै बोलाउँछन्, जवाफ फर्काउँछन् । छोराछोरीका हजुरआमा, हजुरबुवाले थारु भाषामा उनका छोराछोरीलाई बोलाई दिए भने झर्किन्छन् । उनका छोराछोरीलाई पहाडे भाषा मात्रै सिकाउने रे ! किन ? किनभने सानैदेखि पहाडे भाषा सिकायो भने पछि नेपाली बोल्न गाह्रो हुँदैन रे । अनि थारु भाषा नसिकाएपछि थारु भाषा जानेनन् भने ? उल्टै प्रतिप्रश्न गरे- थारु भाषाको के काम छ र ? जता पनि चल्ने भनेको नेपाली भाषा हो । थारु भाषा नजाने केही हुँदैन, नेपाली जानेन भने गिल्याउँछन् (खिस्सी गर्छन्) रे । हेला गर्छन् रे । यी जवाफहरू सुनेपछि मैले लामो सास फेरे । अवाक भएँ ।


म त्यतिबेला निराश भएँ जब थारु भाषा बोल्न प्रतिबन्धित नेपालीभाषी थारु बालबालिकाको भाषा सुनेँ । उनीहरू अचेल थारु र पहाडे दुबै भाषा एकै चोटी बोल्छन् । मिसाएर । जस्तो की 'मलाई कोरु (पिरो) लाग्छ । मही (मलाई) कक्वा (काइँयो) दिनुस् ।' न थारु भाषा शुद्ध छ, न त पहाडे भाषा नै । अझै मोटु-पत्लुको प्रभाव बढी परेका बालबालिकाहरू थारु, हिन्दी र नेपाली भाषा मिसाएर एकै वाक्यमा बोल्छन् ।
मैले थारु युवा पुस्ताको यस्ताे समूह भेटेको छु, जसलाई थारु भाषा आउँदैन वा बोल्न आएर पनि बोल्न जान्दिन भन्छन् । थारु भाषा नआउनुमा उनीहरू गौरव गर्छन् । एक जना दाइको विचार बुझ्न खोज्दा उहाले भन्नुभयो, 'यो समयको माग हो । समाजका अरु मान्छेसँग एडजस्ट हुनलाई यो जरुरी छ ।' थारु भाषा बोलिरह्यौँ भने हाम्रो टोन थारु नै रहन्छ भन्नुभयो । यस्तो विचार राख्ने युवाका अनुसार, थारु भाषा नजान्नु आधुनिक हुनु हो । पढेलेखेको देखिनु हो । पहाडे समुदाय बराबरको हैसियत राख्नु हो ।

समाजमा अन्य समुदायका मानिसहरूसँग शिक्षा, स्वास्थ्यजस्ता कुरामा पहुँच बनाउँदै हैसियत बराबर बनाउने कि आफ्नो भएको मौलिक र राम्रो कुरालाई बिगार्ने ? हाम्रो टोन, भाषा, संस्कृतिको सम्मान गर्न सिकाउने कि उनीहरूकै लयमा लागेर आफ्नो भाषा नै छोड्ने ? आफ्नो भाषा जान्दिन भन्नेमा गर्व हुने कस्तो आधुनिकता हो हामी थारु युवा पुस्ताको ? अरूकाे भाषामा बाेल्दा पक्कै पनि थारुहरूको टोन सुनेर हेपिन्छ, हाँसिन्छ, धेरै समस्या हुन्छ । आत्म सम्मानमा ठेस पुग्छ । भुक्तभोगी हौँ । तर, यसको समाधान भाषा नै बोल्न छोड्नु कदापी हाेइन् । हामीले यो कुरा मनमा गाँठाे बाँध्नै पर्छ कि हाम्रो भाषा, टोन समस्या हैन । बरु यसलाई खिस्सीट्युरी गर्ने र होच्याउनेहरूको अचेतना र मानसिक दरिद्रता हो । हामीले त आफ्नै मातृभाषा हुनुकाे गर्व पाे गर्नु पर्छ ।
मेरो गाउँ र वरिपरीका गाउँमा धेरै जस्तो सिमेन्टबाट पक्की घर बनेछन् । लाग्यो, थारुहरू धनी भएछौँ । तर यस्तो रहेनछ । थोरैले मात्रै आफ्नो कमाईले यस्ता घर ठड्याएका रहेछन् । धेरैले खेतबारी बेचेर सिमेन्टको घर ठड्याउँदा रहेछन् । खेतीपाती गरेर जीवन धान्ने भूमीहीन थारुहरूले भएको अलिकति जमिन पनि बेचेर घर बनाउनु उचित लागेन । तर, घर बनाउनेहरूलाई यो उचित लाग्यो होला । थारु समुदायको अर्थतन्त्रको अर्को पाटोको रुपमा यसलाई छलफल गर्न सकिएला । मैले यहाँ खेतबारी बेचेर घर बनाउनै हुन्न वा थारुहरू सिमेन्टको पक्की घरमा बस्नै हुन्न भनेकाे हैन । यसरी नबुझियोस् । तर बनेका घरहरू थारुहरूको परम्परा, थारुहरूको पहिचान झक्काउने छँदै छैनन । परम्परागत घरहरू त अचेल बन्दैनन् । सधैंभरी उहि र उस्तै घरमा बस्नुपर्छ भन्ने छैन तर आफ्नो परम्परागत घरको झल्को आउनेगरी बनाउन त सकिन्थ्यो कि ? जस्तो नेवार समुदायले आधुनिक घरहरू बनाउँदा पनि पुरानो शैलीको र परम्परागत घरकै झल्को आउने गरी बनाएका छन् । काठमाडौं उपत्यकामा धेरै यस्ता घरहरू देख्न सक्छौँ । के हामी त्यसरी आफ्ना घर बनाउन सक्दैनाैँ ?
कुरा हुँदै गर्दा यो सालको अष्टिम्की अर्थात कृष्ण जन्माष्टमी कहिले छ ? भन्ने कुरा चल्यो । पहाडे समुदायका महिलाले तीज मनाए जस्तै अष्टिम्की अर्थात कृष्ण जन्माष्टमी थारु समुदायका महिलाले भव्यतापूर्वक मनाउने गर्छन् । गाउँ वा टोलको कुनै एउटा घरको भित्ता वा डेह्री (अन्न राख्ने माटोको भकारी) मा कृष्ण, रावण, पाँच पाण्डव जस्ता भगवान, खोला, जंगल, जस्ता प्रकृति र पशुपंक्षीको अर्थ र कथा सहितको चित्र बनाइन्छ र गाउँभरीका महिलाहरूले जम्मा भएर पूजा गर्छन् । कसको घरमा अष्टिम्की चित्र बनाउने र पूजा गर्ने भन्ने कुरा चल्यो । १०/१२ जनाको समूहमा त्यो चित्र बनाउन सक्ने २/३ जनाबाहेक भेटिएनन् । त्यो चित्रको ब्याख्या गर्ने त झन एक जना बुढी ठूलीआमा मात्रै निस्किनु भयो । अष्टिम्की चित्र बनाउन त केही मात्रै निस्किए भने कृष्ण जन्माष्टमीको दिन रातभर जागा बसेर धुनी बालेर गाइने कृष्ण, राधा, गोपिनी, रावणको कथासहितको गीत अष्टिम्की गीत झन् कसले जान्नु ? कसले गाउन जान्नु ? कुरा गर्दागर्दै, विभिन्न पर्व, मौसम र समयमा गाईने सखियाँ गीत, ढुम्रु, सज्ना, मैना, माँगर जस्ता गीत गाउने अब बृद्धबृद्धाहरू मात्रै देखिए । हामी नयाँ पुस्ताले त कुन गीत कुन पर्वमा, कुन मौसममा, कुन खेतीपाती गर्दा कुन गीत भनेर पनि थाहा नपाएका रहेछौँ । नाँचगानका लागि मादल, खैन्जी लगायतका बाजा बजाउन पनि नजान्ने रहेछौँ । डाँडापारीको घाम भएका बृद्धबृद्धाले थामिदिएको, जिम्मेवारी लिईदिएको र संरक्षण गरिदिएको गीतसँगीत, नाँचगानको संस्कृति उहाँहरूको शेष पछि नरहने भयो त ? कस्तो अप्रिय कुरा !
ट्याक्टरले खेत जोत्ने, विकासी (हाईब्रिड) धान लगाउने हुँदा बियाड पनि धेरै नचाहिने, खेतीपाती निक्कै सहज भएछ । थोरै दिनमै राेपाइँ सकिँदाे रहेछ । खेतीपाती सकिएपछि रमाईलो गर्ने हर्डाह्वा (खेतीपाती सकिए पछि खुसियाली मनाउने एक पर्व) मनाउनेहरू भने घटेछन् । प्रायः घरहरूमा ग्याँस सिलिन्डर छन् । खरानीले लुगा धुने हाम्रो समुदायमा भाँडा माझ्ने खरानीको अभाव हुन थाले छ । गर्मीमा खानलाई बनाइने मारको स्थान बजारिया कोल्ड ड्रिक्सले ओगट्न थालेछन् । माछा मार्न हेल्का, डेल्या, टापी, खोङ्ग्ह्या, जाल, ढर्या (ढडिया) जस्ता परम्परागत सामाग्रीहरूको प्रयोग बिस्तारै कम हुन थालेछ । बरु आजकल माछा मार्न झुल र अरु कपडाहरू प्रायोग हुन थालेछ । करेन्ट लगाएर माछा मारिने रहेछ ।
घाँस काटेर बोक्ने गैँजाको सट्टा प्लाष्टिकको बोरामा घाँस बोकिने रहेछ । एक जना भाउजुलाई मैले यी कुरा भन्दा उहाँले मलाई नै प्रश्न गर्नुभयो 'के बिन्डेहटा ट नानी ?' ( कसले बुन्दिन्छ त नानी ?) ओहो ! ह्याण्डमेड ह्यान्डीक्राफ्टले बजार तताउन लागेको बेला गाउँमा यस्ता सीप भएका मान्छेहरू नै पो नहुन थालेछन् । गाउँमा इन्टरनेट पुगेको छ । इन्टरनेट चलाउन नजान्ने महिलाहरू त फुर्सदमा ढकिया, गुन्द्री, कुचो बुन्छन् तर नयाँ पुस्ता टिकटकमै व्यस्त हुने रहेछ । नयाँ पुस्ताले यस्तो सीप सिकेकै छैनौं । बिडम्बना !
अन्तिममा,
हाम्रो थारु भाषा, संस्कार, संस्कृति, परम्परा, कला, सम्पदा, इतिहास हाम्रा पहिचान हुन्, हाम्राे सभ्यता हाे । हाम्रो गौरव र अस्तित्व हुन् । त्यसैले आधुनिकता, समाजमा समायोजित (एड्जस्ट) हुन वा जेसुकै नाम र बहानामा होस् यी कुराहरू हराउनु हुँदैन । यो चेत भएका थारु युवा पुस्ता छ तर, निक्कै कम छ । यो पुस्ता आफैँ पनि सम्पूर्ण संस्कार, संस्कृतिमा पूर्ण जानकार छैनौँ । अबको केही आवश्यकता पनि छन् । एक, हाम्रो पहिचानसँग जोडिएका सम्पूर्ण कुराको संरक्षण अर्गानिक रुपमै हुनका लागि गाउँ तहबाटै यो चेत हुन जरुरी छ । यसमा नयाँ पुस्ताले लेखौँ, बोलौँ, बहस र छलफल गरौँ । दुई, अहिले स्थानीय सरकार छ । जसमा धेरै जनप्रतिनिधिहरू थारु र थारु समुदायलाई माया गर्ने अन्य समुदायका पनि हुनुहुन्छ । ती जनप्रतिनिधिलाई साथ लिऔँ र स्थानीय सरकारको नीति नियम, कार्यक्रममा पहिचान संरक्षण र प्रवर्द्धनका लागि लागि वकालत गरौँ, हातेमालो गरौँ । तीन, आफ्ना प्रतिनिधिलाई निरन्तर खबरदारी गर्दै उनीहरूसँगै राज्यमा न्याय, समता, अधिकार र आत्म सम्मान स्थापित गर्ने कुरामा राज्यको संरचना, व्यवस्था र प्रवृत्तिसँगको निरन्तर संघर्ष गर्नुपर्छ ।
कल्पना गरौँ त, हाम्रो पहिचानसँग जोडिएका थारु भाषा, संस्कार, संस्कृति, परम्परा, कला, सम्पदा, इतिहास भोलिको दिनमा अरुले लेखिदिएको कितावमा पढ्नु पर्यो भने ? भोलिको पुस्ताले हामीसँग आफ्नो भाषा, संस्कृति, पहिचानको प्रश्न गर्यो भने के जवाफ दिने ? हाम्रो मौलिकता, हाम्रो पहिचान कुनै संग्राहालयमा हेर्नु पर्यो भने ? पहिचानबिनाको हाम्रो गर्जन पानीमा फालिएको अगुल्टोको ‘छ्वाईय’ भन्दा बढ्ता हुने छैन, हामी थारु हुनुको उचाई झुटो हुनेछ । अग्लो टाकुरामा उम्रेका च्याउको उँचाईभन्दा बढ्ता महत्व हुने छैन । हामी क्यारेमबोर्डको गोटी बन्नेछौँ । अर्थात्, पहिचान बिनाका भयौँ भने हामी भूपी शेरचनको 'हामी' शीर्षकको कविताकाे प्रत्येक लाइनमा आफूलाई पाउने छौँ । हामी बुद्धु हुनेछौँ र त थारु हुनेछौँ ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८ ०८:११