नेपाल विद्युत् प्राधिकरण मकवानपुरले जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाको विद्युत् लाइन काटेको छ ।
लामो समयदेखि विद्युत् महसुल भुक्तानी नगरेको भन्दै प्राधिकरणले विद्युत् कटौती गरी मिटर सिल गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको मिटरमा एमसीबी नभएको र एमसीबी बाइपास गरिएको समेत प्राधिकरणले फेला पारेको छ ।
करिब ४६ महिनादेखि विद्युत् महसुल नबुझाएको भन्दै लाइन कटिएको प्राविधिक दिनेश खरेलले जानकारी दिए । प्राधिकरणको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरमा १३ लाख ९ हजार बक्यौता छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयसँगै बक्यौता रकम रहेका सबै क्षेत्रको विद्यूत् लाइन काट्ने तयारीमा रहेको बताइएको छ । ‘बक्यौताको रिपोर्ट हेरेर सोही आधारमा लाइन काट्ने तयारी भएको छ,’ कार्यालय प्रमुख शम्भु खुर्सेतले भने ।
पछिल्लो चरणमा विद्युत् बक्यौता नतिर्ने ग्राहकको रिपोर्ट लेखा शाखाले सूची तयार पारिसकेको छ र सोहीअनुसार कार्यालयको टिम बनाएर बत्तिको लाइन काट्न फिल्डमा खटाएको लेखा अधिकृत शिव राईले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयको विद्युत् कटौती गरेपछि हेटौंडा अस्पतालको प्रशासन विभागको लाइन पनि काटिएको थियो । हेटौंडा अस्पतालको प्रशासन विभागमा समेत जनस्वास्थ्यको लाइनबाट विद्युत् उपभोग गर्दै आएकोले यो विभागमा पनि लाइन काटिएकाे हो । अहिले हेटौंडा अस्पतालले यो विभागमा आफ्नै लाइन जोडिसकेको बताएको छ ।
यता ८० लाख विद्युत् महसुल बक्यौता रहेको जिल्लाको जेठो सरकारी अस्पताल हेटौंडा अस्पताल २८ वर्षदेखि विद्युत् महसुल बक्यौता नतिरेपछि प्राधिकरणको कालो सूचीमा छ ।
सयौंपटक ताकेता गर्दा पनि अस्पताल प्रशासनले बक्यौता भुक्तानी गर्न चासो नदेखाएको भनेर अघिल्लो साल कालो सूचीमा सूचीकृति गर्दै प्राधिकरणले लाइन पनि काटिदिएको थियो । तर, अस्पताल जस्तो संवेदनशील निकायमा विद्युत् काटिनु नहुने भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारीकै अनुरोधमा अस्पतालमा विद्युत् सेवा सूचरु भयो । फेरि पनि बक्यौता तिर्ने प्रक्रिया भने अगाडि बढेन ।
तर ८ महिनाअघि हेटौंडा अस्पताल प्रमुखको रुपमा हाजिर हुन आएका मेडिकल सुरीटेन्ठेन्ट डा. प्रवीण श्रेष्ठले २८ वर्षअघिदेखिको बक्यौता महशुल तिर्ने हिम्मत आफूले गरिरहेको बताए । ‘विस्तारै घटाउँदै गर्दा संभव छ भनेर हामीले तिर्न सुरु गरेका हौ’ मेसु श्रेष्ठले भने । २०४७ सालदेखि बक्यौता रहेको विद्युत महशुल मेसु श्रेष्ठको पहलमा गत २१ फागुनमा पहिलो पटक ११ लाख रुपैयाँ प्राधिकरणलाई बुझाइएको थियो ।
अस्पतालले ३ वटा मिटर राखेर नियमित विद्युत आपूर्ति गर्दै आएको छ । ११ लाख रुपैयाँ महशुल भुक्तानी गरेको जानकारी दिंदै डा. श्रेष्ठले अब ६९ लाख रुपैयाँ तिर्न बाँकी रहेको बताए । ‘मासिक रुपमा थोरैथोरै भएपनि घटाउँदै जाँदा संभव छ भनेर सुरु गरेका हौं, श्रेष्ठले भने ‘नयाँ महसुलमा पनि पुरानै बक्यौता जोडेर बिल आउन थालेपछि मासिक भुक्तानी गर्न समस्या भएको डा. सेष्ठले बताए । ‘आफ्नो जिम्मेवारीबाट पर हट््न हुन्न, महसुल तिर्नु हाम्रो जिम्मेवारी पनि हो, हामी तिर्दै जानेछौ’ उनले भने ।
२०६७ साल अस्पतालमा निमार्ण गरिएको सेन्ट्रल सक्सन सिस्टम र सेन्ट्रल अक्सिजन सिस्टम पनि अहिले सञ्चालनमा आएको छ । मेसु श्रेष्ठले आएपछि निर्माण गरिएको ८ वर्षको अन्तरामा उक्त सिस्टम सञ्चालनमा ल्याएका हुन् । त्यसैगरी अस्पतालको आकस्मिक कक्ष अगाडि अक्सिजन अलार्म बक्स समेत राखिएको छ ।
अस्पतालमा हाल मेजर अप्रेसन नियमित हुन थालेको छ । मूत्रथैलीको प्रोस्टेड ग्रन्थी, फुटेको एपेन्डिक्स र मृगौलाभित्र भएको पत्थरीको सफल शल्यक्रिया भइरहेको छ । डा. श्रेष्ठको ८ महिना कार्यकालमा हेटौंडा अस्पतालमा सुधारको काम भएको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६ ०४:२४