भाइरसले प्राकृतिक रूपमा नै आफ्नो बनावट र प्रकृतिलाई बदल्ने गर्छन् । भाइरसको परिवर्तित स्वरूपलाई उत्परिवर्तन वा भेरियन्ट भनिन्छ । उत्परिवर्तनले भाइरसलाई नयाँ वातावरणमा बाँच्न, संघर्ष गर्न र धेरै ठाउँमा फैलिन मद्दत गर्छ ।
सकेसम्म धेरै ठाउँमा फैलिन सक्नु नै भाइरसका लागि सफलता हो । चीनमा ‘सार्स–कोभ टु’ को पहिलो पटक पहिचान गरिएपछि यसका हजारौँ उत्परिवर्तन देखापरेका छन् । जसमध्ये मुख्य रूपमा चारवटा भेरियन्टमा वैज्ञानिक र अनुसन्धानकर्ताको ध्यानाकर्षण भएको छ ।
ती चार भेरियन्टमध्ये बेलायतमा देखापरेको अल्फा भेरियन्ट, दक्षिण अफ्रिकामा देखिएको बिटा भेरियन्ट, ब्राजिलमा देखापरेको गामा भेरियन्ट र भारतमा डेल्टा भेरियन्ट देखिएका हुन् ।
यी भेरियन्टले मानिसलाई बढी बिरामी बनाउने र खोपको प्रभावकारितामा पनि कमी ल्याइदिन सक्ने हुनाले ‘डब्लुएचओ’ले पनि चिन्ता प्रकट गरेको छ । यी भेरियन्टमध्येमा पनि हालसालैको डेल्टा भेरियन्टले मानिसलाई बढी प्रभाव पारेको देखिएको छ ।
सार्स–कोभिडको नयाँ प्रजाति डेल्टा भेरियन्ट सबैभन्दा पहिला २०२१ को सुरुवाततिर भारतमा पहिचान गरिएको हो ।
डेल्टाको वैज्ञानिक नाम B.1.617.2 हो । केही महिनाको बीचमा कोरोना प्रजातिको यो भाइरस विश्वका ९८ देशमा फैलिइसकेको छ । जसमध्ये भारत, अस्ट्रेलिया, स्कटल्याण्ड, बेलायत, इजरायल, अमेरिकाजस्ता एक दर्जन देशमा तीव्र गतिमा फैलिएको छ । भारतमा यही भाइरसका कारण गएको अप्रिल र मे महिनामा खतरनाक दोस्रो लहर निम्त्याएको थियो ।
नेपालका कोभिड बिरामीहरूमा पनि यो भाइरसको पहिचान भएको छ । कोरोनाको दोस्रो लहरका कारण नेपालमा पनि हजारौँ नागरिकको मृत्यु भएको छ । लकडाउनपछि पनि अपेक्षित रूपमा संक्रमित मानिसहरू घटेनन् । हाल अमेरिकामा कोरोना देखिएका ८३ प्रतिशत मानिसमा यो भाइरस जिम्मेवार छ ।
डेल्टा भाइरस कत्तिको संक्रामक छ ?
तथ्यांकहरूले डेल्टा भाइरस अल्फा प्रजातिभन्दा ४० देखि ६० प्रतिशत बढी संक्रामक र सुरुको क्षणमा चीनमा देखिएको भाइरसभन्दा झण्डै दुई गुणा बढी संक्रामक भएको देखाएका छन् ।
यस्तै, डेल्टा भाइरसका कारण बिरामीको श्वासनलीमा भाइरसका कण बढी देखिएका छन् । यसको अर्थ बिरामी मानिसमा भाइरसको लोड पनि अत्यधिक बढी देखिएको छ ।
केही व्यक्तिलाई खोपको दुवै डोज लगाएको दुई हप्तापछि पनि कोभिडका लक्षण देखा पर्न सक्छन् तर गम्भीर बिरामी बनाउने सम्भावना ज्यादै कम हुने वैज्ञानिकहरूले बताएका छन् । अतः अहिलेसम्म देखापरेका कोरोनाका विभिन्न भेरियन्टलाई निस्तेज पार्ने एक मात्र उपाय खोपको प्रयोग नै हो ।
चीनमा गरिएको अध्ययनले यो भाइरसले आक्रमण गरेका बिरामीमा अरु प्रजातिका भन्दा भाइरसको लोड झण्डै १ हजार गुणा बढी देखिएको छ ।
के डेल्टा भाइरस बढी खतरनाक छ ?
बेलायतमा गरिएको सर्वेक्षणले डेल्टाका लक्षणहरू केही फरक पनि देखिएका छन् । जसको अर्थ यो एकदमै खतरनाक छ भन्ने होइन । ज्वरो आउनु, टाउको दख्नु, घाँटीमा कठिनाइ हुनु, रुघाखोकी त साधारण लक्षण भैहाले । त्यसबाहेक सुन्ने शक्ति कमजोर हुनु, पेट र आन्द्रामा समस्या हुनु, रगत जम्नेजस्ता लक्षण पनि केही बिरामीहरूमा देखिएका छन् ।
स्कटल्याण्डमा गरिएको सर्वेक्षणमा अरु प्रजातिभन्दा डेल्टा भाइरसका कारण अस्पताल जानुपर्ने बिरामी दुई गुणाले बढेका छन् । यसले यो भाइरस बढी बलियो छ भन्ने हो ।
अमेरिकामै पनि संक्रमित व्यक्ति अस्पतालमै जानुपर्ने प्रतिशत बढेको छ । विशेष गरी खोप कम लगाएका राज्यहरूमा । त्यसैले भर्खरै अमेरिकी सबैभन्दा उच्च संक्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउसीले डेल्टा भेरियन्टका कारण खोप नलगाएका मानिसमा कोरोना महामारी तीव्र बनिरहेको भन्दै अमेरिका गलत दिशामा हिँडिरहेको चेतावनी दिएका थिए ।
वास्तवमा डेल्टाले नै बढी मानिसलाई बिरामी पारिरहेको छ वा यो सामान्य ढंगले मात्रै धेरै जसंख्यामा फैलिइरहेको छ भन्ने यकिन हुन बाँकी नै छ । तर, यो भाइरस विश्वका खोप नलगाएका ठाउँहरूमा बढी देखापरेको यथार्थ हो । त्यसैले अमेरिकी सीडीसीका निर्देशकले पनि ‘डेल्टा भाइरस खोप नलगाएका मानिसका लागि भएको महामारी’ भनेर टिप्पणी गरेका छन् ।
डेल्टाविरुद्ध खोप कत्तिको प्रभावकारी छ ?
न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्षअनुसार मोडेर्ना अथवा बायोटिक–फाइजर खोप डेल्टा भाइरसविरुद्ध प्रभावकारी छ । त्यही निष्कर्षलाई ‘न्याचर’मा प्रकाशित अनुसन्धानको निष्कर्षले पनि थप प्रमाणित गरेको छ । जसमा बायोटिक–फाइजर वा अक्सफोर्ड–एस्ट्राजेनिकका दुवै डोज लगाएका व्यक्ति सुरक्षित रहने उल्लेख छ ।
बेलायतमा गरिएको अनुसन्धानले डेल्टाविरुद्ध एक डोजको मात्रा लगाएका व्यक्तिका लागि खोप ३० दशमलव ७ प्रतिशत र दुवै डोजको मात्रा लगाएका व्यक्तिमा ८८ प्रतिशत प्रभावकारी छ ।
प्रारम्भिक अनुसन्धानमा जोनसन एण्ड जोनसन खोप पनि नयाँ प्रजातिका लागि प्रभावकारी पाइएको छ । भाइरसविरुद्ध हामीले खोप प्रयोग गरेर यसलाई कमजोर वा निस्तेज पार्ने काम गर्छौं । डेल्टा भाइरसले अहिलेका खोपलाई कम प्रभावकारी बनाएको प्रमाण फला परेको छैन ।
केही व्यक्तिलाई खोपको दुवै डोज लगाएको दुई हप्तापछि पनि कोभिडका लक्षण देखा पर्न सक्छन् तर गम्भीर बिरामी बनाउने सम्भावना ज्यादै कम हुने वैज्ञानिकहरूले बताएका छन् । अतः अहिलेसम्म देखापरेका कोरोनाका विभिन्न भेरियन्टलाई निस्तेज पार्ने एक मात्र उपाय खोपको प्रयोग नै हो ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८ १५:२७