यो फिल्म सुरु हुँदा टायल बिछ्याइएको भुइँ देखिन्छ । ती टायल पुराना छन् । लामो समयदेखि पुछिएका जस्ता लाग्छन् । ती टायलहरूमाथि स्पेनिस अक्षरमा फिल्मको 'ओपनिङ क्रेडिट' सुरु हुन्छ । केही सेकेन्ड नबित्दै फिल्मले 'भुइँको कथा भन्नेवाला छु' भन्ने संकेत गरिसक्छ ।
सुन्दर फिल्मलाई आफूले के गर्दैछु भन्ने संकेत गर्न लामो समय लाग्दैन ।
मिडियम सटमा क्यामेरा अडिइरहेकै बेलाबेला पछाडि कसैले ढोका खाेलेको आवाज सुनिन्छ । चरा कराएको सुनिन्छ । ढोका बन्द हुन्छ । केही सामानहरू ठोक्किन्छन् । कोही हिँड्दै नजिक आउँछ । पाइलाहरू नजिकैबाट हिँडेर जान्छन् र पर पुग्छन् । धारा खुल्छ । पानी झरेको आवाज आउँछ । बिस्तारै त्यो आवाज ठूलाे हुन्छ । पानी छप्ल्याङछुप्लुङ गर्छ । कसैले भुइँमा ब्रसले केही घोटेको वा दलेकोजस्तो आवाज आउँछ । फेरि पानीको छप्ल्याङछुप्लुङ हुन्छ ।
तर, क्यामेरा वरपर के भइरहेको हो भनेर देखाउन हतार गर्दैन । ऊ केवल भुइँतिर एकोहोरो हेरिरहन्छ । वरपर भइरहेको घटनाहरू आवाजमा मात्र सुनिइरहन्छन् ।
ती आवाज सुन्दै टायलहरूलाई लगातार नियालिराख्दा म निर्देशकलाई सम्झिन्छु । उनी भुइँको सटमा हामीलाई अड्याएर पछाडि सुनिएका आवाजहरू मात्र किन सुनाइरहेका छन् ? के उनी त्यसभन्दा धेरै केही भन्न खोजिरहेका छन् ?
नाटक निर्देशक विमल सुवेदी सरले नेसनल स्कुल अफ ड्रामामा पढ्दै गर्दा आफूले बनाएको एउटा प्रस्तुतिको कथा सुनाउनुभएको सम्झिन्छु । उहाँहरूलाई आफ्नो 'घर' को थिममा प्रस्तुति दिन भनिएको थियो । सरले चुरा बजेको आवाजमार्फत प्रस्तुति बनाउनुभएको थियो । किनकि उहाँका लागि घर भनेको आमाको हातमा बज्ने चुरा थियो ।
अझै 'ओपनिङ क्रेडिट' का नामहरू आई नै रहेका छन् । क्यामेरा ब्ल्याक एन्ड ह्वाइट भुइँतिर हेरी नै रहेको छ । लगातार हेरिरहेपछि जुनसुकै चिजको पनि आफ्नो कल्पनाअनुसारको प्याटर्न देखिन थाल्छ । म ती भुइँमा मेरो कल्पनाअनुसारको प्याटर्न देख्न थाल्छु । अनि वरपर बजेको आवाजको आधारमा आफ्नो कल्पनाअनुसार पात्रहरू बनाउँछु । मलाई त्यो भुइँ कुनै अमूर्त चित्रजस्तो लाग्छ । म अझै गहिरिएर नियाल्न थाल्छु । ठीक त्यसै बेला धारा खुलेको आवाज आएतिरबाट कसैले फिँज भएको पानी भुइँमा खन्याउँछ । त्यो पानी मैले हेरिरहेको भुइँसम्म आउँछ । अनि एक छिन अडिएर फर्किन्छ ।
कसैले अमूर्त पेन्टिङमा पानी खन्याएजस्तो हुन्छ ।

पानी नआउँदासम्म भुइँ केवल भुइँ थियो । पानी परेपछि भुइँभन्दा माथिको आकृति भुइँमा टल्किन्छ । माथिबाट छिरेको उज्यालो आउने ठाउँ लगभग चार पाटे सेतो आकृति भएर भुइँमा टल्किन्छ । पानी बग्दै जाँदा त्यो सतह स्पष्ट हुन्छ । त्यसले अमूर्त चित्रमा अझै अमूर्तता थप्छ । त्यो अमूर्तता राम्रोसँग स्थापित हुन नपाउँदै फेरि उताबाट पानी पोखिन्छ । सेतो सतह एक छिन हराउँछ अनि फेरि बन्छ ।
त्यसपछि हवाई जहाज उडेको आवाज आउँछ । पानीमा हवाई जहाजको कालो छाया देखिन्छ । त्यो जहाज देब्रेतिरबाट उड्दै आएर दाइनेतिर बनेको त्यही सेतो सतहमाथि उड्छ । त्यो उडिसक्न नपाई फेरि पानी पोखिन्छ । फेरि सेतो सतह हराउँछ । हवाई जहाज पनि हराउँछ ।
ओपनिङ क्रेडिट आइरहन्छ । भुइँ घोटेको आवाज आइरहन्छ । पानी खनिएर आइरहन्छ । सेतो सतह बन्दै भत्किँदै गरिरहन्छ । हरेकपल्ट खनिएको पानी क्रमशः कालो कालो हुँदै जान्छ । सायद पानीले बगाउनुपर्ने फोहोर धेरै थियो । केही बेरमा धारा बन्द हुन्छ । भुइँमा पोखिएको पानी लगभग बगिसक्छ थाल्छ । सेतो सतह पुरिने गरी अन्तिमपल्ट खनिएको पानीले धेरै फिँज ल्याउँछ अनि त्यसैमाथि फिल्मको नाम लेखिन्छ 'ROMA' ।

अनि बल्ल क्यामेरा पानी आएको ठाउँतिर बिस्तारै फर्किन्छ । कुनै कट बिना नै पानीको पाइप मिलाइरहेकी एक युवतीलाई देखाउँछ । उनी भुइँ सफा गर्ने सामान बोक्छिन् र फर्किन्छिन् । क्यामेरा उनलाई 'मास्टर सट' प्रयोग गरेर पछ्याउँछ ।
यसरी ओपनिङ क्रेडिटमा प्रयोग भएको यो लङ सट र यसका वरपरका आवाजहरू फिल्मभर छुट्दैनन् । यसमा बनेका बिम्बहरू फिल्मका धेरै सिनहरूमा फैलिन्छन् ।
०००
मेक्सिकोमा जन्मिएका निर्देशक आलफान्सो क्वारोनले १९७० को मेक्सिको र त्यसको पारिवारिक तथा राजनैतिक उथलपुथललाई पृष्ठभूमि बनाएर क्लेओ नाम गरेकी एक घरेलु महिला कामदारको कथा भनेका छन् । क्लेओ काम गर्ने एन्टोनियो र सोफियाको घर देखाउँदै तत्कालीन समयको ढुकढुकी सुनाएका छन् । त्यो ढुकढुकी केवल क्लेओको मात्र हैन । उनले स्याहार्ने ४ जना बच्चाहरूको मात्र हैन । श्रीमानले बिचैमा छोडेपछि अभर पर्ने श्रीमती सोफियाको मात्र हैन । त्यो ढुकढुकी उनी स्वयंको पनि हो किनकि कुनै बेला उनलाई पनि क्लियोजस्तै कुनै एक घरेलु महिलाले हुर्काएकी थिइन् ।
यो फिल्म त्यसैले पनि विगतको कुनै कथामा बनाइएको फिल्म मात्र नभएर आफ्नो वर्तमानबाट निर्देशकले हेरेको विगत पनि हो । त्यसैले ओपनिङ क्रेडिट आउन्जेल जे जे देखियो त्यो फिल्मभर थाहै नपाई फैलिन्छन् ।
सबैभन्दा पहिला आवाजको कुरा । ओपनिङ सिनमा क्लेओको पाइला बजेका आवाजहरू सुनिन्छन् । त्यो आवाज पटक-पटक फिल्ममा उनी हिँडेको बेलामा बजिरहन्छ । त्यसले उनको दैनिकीको एकोहोरो आवाज सुनाउँछ । यस्तै ढोका नखुलुन्जेल बज्ने घरको घण्टीले पनि ढोका खोल्न जानुपर्ने उनको एकोहोरो दैनिकी सुनाउँछ ।
यस्तै फिल्मभर कुकुर भुकेको आवाज र चरा कराएको आवाज पनि आइरहन्छ । कुनै अर्को दृश्य भइरहेको बेला पनि पृष्ठभूमिमा त्यो आवाज बजिरहेको सुनिन्छ । त्यसले एकैपल्ट धेरै घटनाहरू भइरहेको टाइम र स्पेसलाई प्रतिनिधित्व गर्छ । क्वारोनले प्रयोग गर्ने बिनासम्पादनका लङ सटहरूले त्यसलाई झनै शक्तिशाली बनाउँछन् ।

एउटा दृश्यमा क्लियो र हजुरआमा कोक्रो किन्न गएको बेला बाहिर आन्दोलनमा गोली चलेको सुनिन्छ । केही आन्दोलनकारीहरू पसलमा पनि छिर्छन् । उनीहरूलाई पछ्याउने अरू आन्दोलनकारीहरू पनि छिर्छन् । भाग्दै आएको एक जना आन्दोलनकारीलाई पसलमै गोली हान्छन् । गर्भवती रहेकी क्लेओलाई त्यहाँ नै बेथा लाग्छ । उनलाई बाहिर निकाल्दै गर्दा कोही अत्यधिक पीडाले बिलौना गरिरहेको सुनिन्छ । त्यो बिलौना पहिला त उनले नै गरेकी हुन् जस्तो लाग्छ तर जब उनलाई निकालेर गाडीमा हालिसकेपछि धेरैवेरबाट खिचिइरहेको लङ सट आवाज आएतिर सोझिन्छ, त्यहाँ भर्खरै गोली लागेर बितेको आफ्नो प्रेमीलाई काखमा राखेर बिलौना गरिरहेकी अर्कै युवती देखिन्छिन् ।
यस्तै उनले काम गर्ने घर बाहिरबाट धेरै आवाजहरू पास हुन्छन् । त्यसले पनि घरमा घटना भइरहेको समयमा शहरमा भइरहेका घटनाहरूलाई समेट्छ ।
रियल टाइममा यस्तै हुन्छ । धेरैवटा घटनाहरू एकैपल्ट भइरहेका हुन्छन् । एकैपल्ट भइरहेका धेरै घटनाहरूलाई सँगै भन्नका लागि क्वारोन क्यामेरालाई कुनै खिचिरहेको दृश्यमा छोडिदिएर वरपर भएको आवाजहरू पनि सुनाइरहन्छन् । ठीक त्यसरी नै जसरी ओपनिङ क्रेडिटमा भुइँ देखाएर वरपरको आवाजहरू सुनाइरहेका थिए ।
०००
ओपनिङ क्रेडिटको लङ टेकमा आवाज मिसिएजस्तै पटक-पटक पानी मिसिएको थियो । उताबाट बग्दै आएको पानी फर्किएपछि फेरि खन्याइएको थियो । अनि पटक-पटक खन्याइएको थियो । त्यो पानीमा फिँज थियो । त्यो पानी केही चिज सफा गर्दा निस्किएको पानी थियो । त्यो पानी बिस्तारै कालो भएको थियो ।
यो दृश्य फिल्ममा दोहोरिन्छ । घरमा पालिएको कुकुरले बारम्बार कोरिडोरमा दिसा गरिरहन्छ । मालिक एन्टोनियो त्यसरी फोहोर पारेको भनेर रिसाइरहन्छ । क्लेओ त्यही दिसा सफा पारिरहेकी हुन्छिन् । तर, ओपनिङ क्रेडिटले गरेको संकेत यहाँ मात्र टुङ्गिँदैन ।
एउटा दृश्यमा उनीहरू समुन्द्र किनारमा गएका छन् । श्रीमानले आफूलाई छोडेपछि सोफिया ४ जना छोराछोरी र क्लेओ लाई लिएर घुम्न गएकी हुन्छिन् । केटाकेटीहरू समुन्द्रमा खेल्न गएका हुन्छन् । उनीहरूलाई पौडिन आउँदैन । तर पर-पर पुग्छन् । क्लियोलाई पनि पौडिन आउँदैन । तर पर पुगेका उनीहरूलाई बचाउन समुन्द्रमा पस्छिन् । छालमाथि छाल अनि छालमाथि छाल । उनी धेरै छाल कटेर पर-पर जान्छिन् । केटाकेटीहरू भेटिँदैनन् । अझै जान्छिन् अनि उनीहरूलाई बचाउँछिन् । उनले त्यस बेला काटेको समुन्द्रको छाल र ओपनिङ क्रेडिटमा तारनतार पानी खन्याउँदा बनेको फिँज उस्तै उस्तै लाग्छन् ।
उनका लागि कोरिडोरमा पानी खन्याएर हरेक दिन सफा गर्नु र पौडी खेल्न नजान्दा नजान्दै पनि बच्चाहरूलाई बचाउन समुन्द्रमा पस्नु उस्तै हो । कोरिडोर सफा गर्दै गर्दा मनमा आउने उतारचढाव र बच्चाहरूलाई बचाउन जाँदा मनमा आउने उतारचढाव उस्तै हो ।
उनको जिन्दगी पौडन नआई पनि समुन्द्रको छालमा पसेको जस्तै छ । उनलाई थाहा छैन, अगाडि अरू केकस्ता छालहरू आउँदैछन् । उनलाई थाहा छैन, पहिला आएका छालहरूले उनलाई कति दुखाएका छन् । यसलाई पनि लङ टेकमा खिचेर क्वारोनले क्लेओको महत्त्वलाई अझै दर्शाएका छन् ।
उनले मन पराएको केटा उनलाई गर्भवती बनाएर गायब हुन्छ । महिनौँ पछि भेट्दा पनि त्यो बच्चा आफ्नो हो भन्दैन । कोक्रो किन्न गएको बेला आन्दोलनकारी मार्न आएको उसैले बन्दुक ताकेपछि डरले उनलाई चाँडो बेथा लाग्छ । आन्दोलनको कारण गाडी जाम भएर उनी मृत बच्चा जन्माउँछिन् । मृत बच्चालाई हातमा उठाएर रुन्छिन् । ती सबै छालहरू आफूभित्रै राखेर उनी मालिकको बच्चाहरूलाई बचाउनलाई पौडी खेल्न नजान्दा नजान्दै पनि समुन्द्रमा छिर्छिन् ।
आफूलाई आफूबाट हराएर अरूको लागि समर्पित गर्ने घरेलु महिला कामदारको कारुणिक दृश्य देखाएर निर्देशकले सबैलाई उनीहरूको ठाउँमा पुगेर सोच्ने बनाएका छन् । र, सँगै उनले जन्माएको मृत बच्चा हाम्रो राजनैतिक प्रणालीले जन्माएको मृत व्यवस्थाजस्तै हो भनी देखाएका छन् ।

०००
फिल्ममा रिफ्लेक्सन एकदमै धेरै प्रयोग भएको छ । जसरी ओपनिङ सिनमा पानी पहिलोपल्ट पोखिएपछि माथि भएको उज्यालो आएको ठाउँ देखियो त्यसरी नै । प्रोडक्सन डिजाइन यसरी गरिएको छ कि घरमा पनि धेरैतिर झ्यालहरू रिफ्लेक्ट हुन्छन् । बुक र्याकहरूमा आधा झ्याल रिफ्लेक्ट हुन्छ । झ्यालको ग्रिल घरमा भएको पिँजडाको रडजस्तै लाग्छन् ।
परिवारमा हुने साना-साना घटनाहरूमा त्यस बेलाको परिवेश रिफ्लेक्ट हुन्छ । एउटा दृश्यमा बालबालिकाहरू खाना खाने बेलामा आफूले देखेको कथा सुनाइरहेका छन् । 'एक बालकले फुकेको बेलुन आर्मीतिर देखाएको थियो । आर्मीले बच्चाको टाउकोमा गोली हान्यो ।' यस्तो कथा सुनाउँदै हाँसिरहेका छन् । त्यस बेला कसैको टाउकोमा गोली लाग्नु सामान्य थियो भन्ने कुरा बालबालिकाहरूको व्यवहारबाट रिफ्लेक्ट भएको छ ।
अर्को दृश्यमा टाउकोमा बाल्टी लगाएर हिँडिरहेको मालिकको छोरोको पछाडि क्लेओ हिँडिरहेकी छन् । ऊ बाटोमा अन्तरिक्षमा हिँडेजसरी हिँडिरहेको छ । तर, तल बाटो पुरै भत्किएको छ । हिलो छ । रिफ्लेक्ट भएको चिज र रिफ्लेक्ट भएको भुइँ आपसमा समान छैनन् भन्ने कुरा त्यो सिनले बताउँछ ।
यस्तै अर्को दृश्यमा क्लेओ भान्साको टेबल पुछिरहेकी छन् । निहुरिएर उनले पुछेको टेबलमा उनकै अनुहार देखिएको छ । उनी आफ्नै अनुहार नै पुछिरहेकी छन् । क्लेओ स्वंय त्यो बेलामा घरेलु कामदारले भोगेको अवस्थाको रिफ्लेक्सन हुन् । उनी एक महिला कामदार मात्र हैनन् । उनी संसारमा भएका करोडौँ महिला कामदारहरूमध्ये एक हुन्, जसको काम सुरक्षित छैन । उनलाई सबैले घरमा माया गर्छन् तर त्यो माया मात्र उनले चाहेको हैन । एउटा दृश्यमा उनी आफूलाई गाउँ मनपर्ने सुनाउँछिन् । तर जान सक्दिनन् । उनी आफ्नी आमासँग बस्न पाउँदिनन् ।
बच्चाहरू बन्दुक हानाहान खेलिरहेको एउटा दृश्यमा उनको पीडा कति छ भन्ने कुरा बुझिन्छ । एउटा बच्चा पल्टिरहेको हुन्छ । उनी उठाउन जान्छिन् । ऊ भन्छ, 'म त मरिसकेँ, अहिले उठ्न सक्दिँन ।' उनी बच्चा पल्टिएको अर्कोतिर जान्छिन् । उसको टाउको भएतिर आफ्नो टाउको पारेर सुत्छिन् र भन्छिन् 'म पनि त्यसरी नै मर्न पाए हुन्थ्यो ।'
यो फिल्मले घरेलु कामदारहरूले कहिल्यै देखाउन नपाएर छैन जस्तो लाग्न थालेका पीडाहरूलाई पनि उधिन्छ ।
०००
फिल्म सकिँदासम्म ओपनिङ क्रेडिटमा प्रयोग भएको सट कुनै अमूर्त चित्रजस्तो लाग्छ अनि फिल्मचाहिँ त्यो चित्रमाथि लेखिएको कुनै लामो कविताजस्तो । निर्देशकको एकदमै नजिकैको कविता । उनले बाल्यकालदेखि नै सुनेको कविता । दुई फरक वर्गका महिलाहरूले एकै ठाउँमा रहेर भोगेका अलग-अलग पीडाहरू बताउने कविता ।
डुब्न लागेकी बच्चालाई बचाएर ल्याएपछि क्लेओ पहिलोपल्ट भत्किन्छिन् । उनी आफ्नो सन्तान गुमेको पीडा पहिलोपल्ट सुनाउँछिन् । बाँकी बच्चाहरू र सोफिया सबै उनलाई अँगाल्छन् । उनीहरू सँगै रुन्छन् । उनी बच्चालाई बचाउन जाँदादेखि नै पछ्याइरहेको क्यामेरा उनीहरू एक अर्कालाई एकदमै भावुक भएर अँगालिरहेको दृश्य देखाइरहन्छ । अरू बेला कामदार भनेर माया गर्ने सोफियाले पहिलोपल्ट त्यहाँ उनलाई एक मानिसको रूपमा अँगाल्छिन् ।

त्यो दृश्यले आफूलाई दाउमा राखेर अरूका लागि बाँचिरहेकाहरूलाई चिन्न अपिल गर्छ । उनीहरूलाई काम गर्ने मान्छेको रूपमा गर्ने मायाभन्दा अझै माथि उठ्न अपिल गर्छ ।
त्यसैले त यही फिल्मबाट निर्देशक र सिनेमाटोग्राफीमा ओस्कार जितेपछि बोल्दै क्वारोन भन्छन्, 'एक आदिवासी महिलाको कथा वरपर घुमेको यो फिल्मलाई पहिचान गरेकोमा एकेडेमीलाई धन्यवाद । यी ती चरित्र हुन्, जसलाई इतिहासदेखि नै सिनेमाहरूले छोड्दै आइरहेका थिए ।'
उनले इतिहासले छोड्दै आएका क्लेओ र सोफियाजस्ता पात्रहरूलाई फिल्ममार्फत ब्युँताएका छन् ।
त्यसैले पनि होला फिल्म सकिएपछि पनि ती पात्रहरू मेरो आँखाअगाडि आउन छोडेका छैनन् ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८ ०६:०५