फेरि एक पटक कांग्रेसले सरकारको नेतृत्व गर्ने मौका र जिम्मेवारी पाएको छ । राज्यको औकातभन्दा बढी भएको भन्दै तत्कालीन बीपी सरकारले प्रधानमन्त्रीको तलब २५०० बाट १५०० रुपैयाँमा झार्यो । मन्त्रीको तलब १५०० बाट १००० मा झार्यो । भर्खरभर्खर राणा शासन फ्याँकेर देश बनाउने संकल्पको कार्ययोजनासहित रफ्तारमा अघि बढेको सरकार थियो ।
‘महाराजाधिराज’ भयभीत भएर दुईतिहाइ सरकारलाई अपदस्थ नगरेको भए सायद हाम्रो देश विकासको अर्को चरणमा प्रवेश गरिसकेको हुन्थ्यो होला । १८ महिने बीपीको शासनकालका कार्यक्रम पढ्दै गर्दा यो अनुमान गर्न सकिन्छ । कांग्रेसलाई २०१५ सालको जस्तो प्रगतिशील कांग्रेसको रूपमा फर्काउने अर्को स्वर्णिम अवसर मिलेको छ ।
कांग्रेस यतिबेला महाधिवेशनको संघारमा समेत छ । कांग्रेसभित्रै पनि परिवर्तनका पक्षमा आवाजहरू चर्किन थालेका छन् । तर, त्यो परिवर्तनको आवाज नेतृत्वका लागि चर्को तर सभ्य र सुसंस्कृत राजनीतिका लागि मलिन रूपमा देखिँदै छ । देशको सबैभन्दा पुरानो पार्टी भएकाले यसको जराले समाजको जमिनलाई बलियोसँग समातेको छ । आजसम्मको परिदृश्य हेर्दैगर्दा यो पार्टीको अस्तित्व र प्रभाव देशमा लामै समयसम्म पर्नेछ । विगतमा कांग्रेसले दिन नसकेको अपेक्षित सुशासनकै कारण मानिसहरू दिक्क बनेर केपी ओलीलाई विकल्पको रूपमा देखे र झण्डै दुईतिहाइको मत दिएर पठाए ।
तर, ओलीले अतिवादको लतमा फस्दै गएपछि गन्यमान्य व्यक्तिले कांग्रेसतिर फर्केर हेर्न थालेका हुन् । कांग्रेसको अगाडिको लहरमा देखिने पुस्ताप्रति आममानिसको खास आशा नरहे पनि युवापुस्ताप्रति एउटा आशाको अंश बाँकी छ । कांग्रेसीजनले नागरिकको मनोविज्ञानअनुसार पार्टी पङ्क्तिलाई बदल्न सके कार्यकर्तासमेतका लागि लाभप्रद हुने नै भयो । अन्यथा लोकप्रिय मुद्दाको काँधमा चढेर ओलीका अवतारहरू प्रकट भैरहन सक्छन् ।
कांग्रेस बदलिनु भनेको देशमा लोकतान्त्रिक गणतन्त्रको भव्य भवन नहल्लिने गरी स्थापित हुनु हो । कांग्रेस बदलिनु भनेको क्षमतावान् र ऊर्जाशील व्यक्तिका लागि राजनीतिमा स्थान खाली हुनु हो । अरु पार्टीमा नयाँ पुस्ताको नेतृत्वका लागि दबाब पुग्नु हो । विश्वले नेपालप्रति सम्मानका दृष्टिले हेर्नु हो । यसका लागि कांग्रेसीले सत्ता र महाधिवेशनमार्फत आफूप्रति उठेका प्रश्नको इमानदार जवाफ दिन सक्नुपर्छ ।
नेतृत्वप्रतिको निराशा
कांग्रेसका नेताहरूले इतिहास नदोहोर्याएको कुनै भाषण हुन्न । हो गर्विलो इतिहास छ, राणा र राजासँग कठोर संघर्षको कापबाट निस्किएको पार्टी गर्व गर्नु जायज पनि छ । तर, मानिसको मनमा प्रश्न उठ्छ– के कांग्रेसले दिने भनेको इतिहास मात्रै हो ? उतिबेला जन्मेका बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई देखाएर के कुनै तन्नेरी आजको कांग्रेसमा आशा र भरोसा गर्न सक्छ ? के कांग्रेसले सक्ने भनेको राजनीतिक परिवर्तन मात्रै हो ? नागरिकको जीवनलाई सम्मानजनक बनाउन सक्ने खुबी र इमानदारी कांग्रेससँग छैन ?
मेडिकल शिक्षा व्यापारीहरूको पञ्जामा पुगिसकेको सम्झाउन गोविन्द केसी नै जन्मनुपर्ने अवस्था भयो । शिक्षा र स्वास्थ्यसमेत व्यापारीको कब्जामा पुग्दा हेरेर बस्ने कांग्रेसले आफ्नो समाजवादबारे सबैले बुझ्ने गरी आधिकारिक व्याख्या गर्दैन । नेताहरू हाम्रो समाजवाद भनेको बीपीले कल्पना गरेको समाजवाद हो भनेर उम्कन खोज्छन् ।
नेता त्यो हो, जसले नयाँ प्रश्नहरू जन्माउँछ, अनुत्तरित प्रश्नहरूमाथि घोत्लिन्छ, उत्तर निकाल्ने कोसिस गर्छ र ती उत्तरलाई राम्रोसँग व्याख्या गर्न सक्छ । पछिल्लो तीन दशकमा कांग्रेसलाई गर्विलो पार्ने र नागरिकको मनमा बस्न लायक आदर्श नेता कोही जन्मेन । पार्टीको काम सत्ता चलाउने मात्र होइन, नेतृत्व जन्माउने पनि हो । देशमा आशाको सञ्चार प्रवाहित गर्न सक्ने नेतृत्वको विकास गर्न कांग्रेस चुकेको छ ।
कांग्रेसमा शीर्ष नेतामध्ये कतिले लोकतान्त्रिक समाजवादबारे आधा घण्टा गहन विचार दिन सक्छन् ? लोकतान्त्रिक समाजवादको समय सान्दर्भिक व्याख्या कसले दिन्छ ? ‘के नेतृत्वसँग देश बनाउने ठोस दृष्टिकोण र योजनाबारे नागरिकलाई विश्वस्त पार्न सक्ने खुबी छ ?,’ मान्छेले चोकचोकमा प्रश्न गरेका छन् । बीपीपछि कांग्रेस नेतृत्वमा उत्पन्न वैचारिक खडेरीमा वर्षा गराइदिन सक्ने व्यक्ति देखापरिरहेको छैन ।
कांग्रेको नेतृत्व छान्ने प्रक्रियामा क्रियाशील सदस्यहरू महत्त्वपूर्ण हुन्छन् तर निर्णायक हुँदैनन् । किनकि क्रियाशील सदस्यले सीधै केन्द्रीय नेतृत्व छान्न पाउँदैनन् । क्रियाशील सदस्यले महाधिवेशन प्रतिनिधि छान्छन् र ती छानिएका प्रतिनिधिले नेतृत्व छान्छन् । यसले नेतृत्वप्रति आमसदस्यले अपनत्व महसुस गर्दैनन् । कांग्रेसका सक्रिय कार्यकर्ताले प्रत्यक्ष रूपमा नेतृत्व छान्न पाउँदैनन् । केही हजार प्रतिनिधिबाट चुनिएको नेतृत्वप्रति आममानिसको खास चासो नरहनु अस्वाभाविक होइन । आफ्नो नेताको वर्तमान नेतृत्वले सबै बल प्रयोग गरेर प्रतिनिधि छान्ने र ती प्रतिनिधिले आफूलाई छान्ने प्रक्रियाले कुशल नेतृत्व जन्माउन सक्दैन । क्रियाशील सदस्यता वितरण गर्दा पार्टीका लागि सम्पत्ति हुन सक्ने सम्भावना भएको व्यक्तिलाई होइन, आफ्नो गुटका मान्छे र नजिकका आफन्तलाई छानीछानी सदस्यता दिने अभ्यास छ । यसै कारण महाधिवेशनको सम्मुखमा क्रियाशील सदस्यको वितरणमा उग्र विवाद भइरहन्छ ।
कांग्रेको युवापुस्तामा केही आसलाग्दा नेताहरू छन् । पाएसम्म कांग्रेसका कार्यक्रममा आयोजकले विश्वप्रकाश शर्मा र गगन थापाहरू रोज्छन् । तर, नेतृत्व छान्ने बेलामा आराम गर्न दिनुपर्ने उमेरका नेताले नै निरन्तरता पाउँछन् भने कार्यकर्ताको योग्तामाथि निश्चय पनि प्रश्न उठ्छ ।
समाजवादको अस्पष्टता
कांग्रेसको समाजवाद के हो ? भद्र मान्छेको मुखबाट सुनिने प्रश्न हो यो । समाजवादबारे उहिल्यै बीपीले भनेका केही कुराबाहेक कांग्रेसमा आधिकारिक व्याख्यासहितको दस्तावेज भेटिँदैन । प्रदिप गिरी, नरहरि आचार्य, रामचन्द्र पौडेललगायत केही नेताका फुटकर लेखबाहेक समाजवादी दृष्टिकोणबारे स्वयम् नेता नै अलमलिन्छन् ।
उहिले बीपीले कल्पना गरेको समाजवाद र अहिलेको कांग्रेसको व्यवहार विरोधाभाषपूर्णसमेत छ । २०४७ मा प्रजातन्त्रको पुनर्स्थापनापछि गणतन्त्रको स्थापनासम्म सबैभन्दा लामो समय सरकार चलाएको कांग्रेसले आफ्नो गल्तीप्रति ‘श्री ५ को श्रीपेच’ र ‘प्रचण्डको जनयुद्ध’ देखाएर उम्कन मिल्दैन ।
समाजवादको सपना बोकेको कांग्रेसले शिक्षा र स्वास्थ्यलाई निजीकरण र व्यापारीकरण हुनबाट जोगाएन । हामीले बुझेको समाजवादी व्यवस्थामा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाजस्ता मुद्दामा समान अवसरको सनिश्चितता रहन्छ । तर, बहुदल स्थापनापछि सरकारी स्कुलको संख्या बढ्यो तर गुणस्तर बढेन । परिणामस्वरुप गुणस्तरको भ्रम फिँजाएर चोकचोकमा निजी स्कुलका दोकान खुले । शिक्षा व्यापारीहरूको हातमा गयो । निजी स्कुलले गतिलो शिक्षा दिएको देखाउन थाले । प्रस्ट रूपमा दुई खालको शिक्षामा देश विभक्त भयो ।
सरकारी स्कुल पढेर आएका विद्यार्थीले निजी स्कुलमा पढेकाहरूसँग हरेक ठाउँमा प्रतिस्पर्धा गर्नुपर्ने भयो । सरकारी स्कुल पढेर आएका विद्यार्थीले हार्नुपर्ने भयो । अभिभावक सकी नसकी निजी स्कुलमा बालबच्चा पढाउन बाध्य भए । सरकारी स्कुलका शिक्षकलाई राजनीति गर्न छुट दिइयो । स्कुलका कलिलो बालमस्तिष्कमा पार्टी/संगठनको सदस्यता भिराइयो ।
अझै पनि कांग्रेस–कम्युनिस्टका संगठन स्कुलस्कुलमा गएर संगठन विस्तार गर्छन् । सरकारी स्कुल जर्जर हुनुको मुख्य कारण त्यहाँ हुने राजनीतिक नियुक्ति र राजनीतिक गतिविधि नै हुन् । सरकारी स्कुलमा विद्यार्थी संख्या घटेको घट्यै छ, निजी स्कुलमा बढेको बढ्यै छ । समाजवाद र समानताको नारा लेखिएको ‘ब्यानर’ हरेक कार्यक्रममा झुण्ड्याउने कांग्रेसले शिक्षामा व्याप्त यो असमानताप्रति गहन छलफल गर्दैन ।
देश विकासका लागि खुल्ला अर्थतन्त्र बोक्नु अनिवार्य थियो । तर, कांग्रेसले यसमाथि कुनै लगाम लगाएन । खासखास क्षेत्रमा नागरिकप्रति राज्यका केही दायित्व रहन्छन् । देशमा निजी अस्पताल धमाधम खुले । तर, सरकारी अस्पतालको संख्या र क्षमता वृद्धि गर्न ध्यान दिइएन ।
परिणाम, हुनेखानेहरूका लागि राजधानीभित्र दर्जनौँ सुविधासम्पन्न अस्पताल खुलेका छन् । देशभरबाट आउने सर्वसाधारणका लागि वीर र टिचिङ अस्पताल मात्र भए । टिकट काट्न घण्टौँ लाइनमा बस्नुुपर्छ । उपचार गर्न कैयौँ हप्तासम्म पालो कुर्नुपर्ने अवस्था छ । त्यो बेलासम्म बिरामीको स्वास्थ्य अवस्था निकै बिग्रिसकेको हुन्छ ।
कांग्रेको युवापुस्तामा केही आसलाग्दा नेताहरू छन् । पाएसम्म कांग्रेसका कार्यक्रममा आयोजकले विश्वप्रकाश शर्मा र गगन थापाहरू रोज्छन् । तर, नेतृत्व छान्ने बेलामा आराम गर्न दिनुपर्ने उमेरका नेताले नै निरन्तरता पाउँछन् भने कार्यकर्ताको योग्तामाथि निश्चय पनि प्रश्न उठ्छ ।
मेडिकल शिक्षा व्यापारीहरूको पञ्जामा पुगिसकेको सम्झाउन गोविन्द केसी नै जन्मनुपर्ने अवस्था भयो । शिक्षा र स्वास्थ्यसमेत व्यापारीको कब्जामा पुग्दा हेरेर बस्ने कांग्रेसले आफ्नो समाजवादबारे सबैले बुझ्ने गरी आधिकारिक व्याख्या गर्दैन । नेताहरू हाम्रो समाजवाद भनेको बीपीले कल्पना गरेको समाजवाद हो भनेर उम्कन खोज्छन् ।
भविष्यको मार्गचित्र
डोनाल्ड ट्रम्पले लोकतन्त्रका हाँगाबिँगा भाँच्ने प्रयत्न गरे । तर, अमेरिकामा जमेर रहेको लोकतान्त्रिक भावना र संस्थाहरूले उनको उद्देश्यलाई असफल पारिदिए । त्यसकै नक्कल हामीकहाँ ओलीले गर्ने भरपूर कोसिस गरे । अत्यासलाग्दो समय सकिएर ओलीको प्रतिगमन यात्रामाथि बिराम त लागेको छ तर ओली प्रवृत्ति अर्को अवतारमा प्रकट हुन सक्ने वातावरणको तुवाँलो हटेको छैन ।
‘ओली गए देउवा आए, थपडी बजाउनुपर्ने कुनै कारण छैन’ भन्ने शिक्षितहरूकै ठूलो जमात छ । देशका लागि यो नै डरलाग्दो छ । सम्पूर्ण विधि, विज्ञान, पद्धति र संविधान च्यातचुत गर्ने ओलीले पढेलेखेका भनिएका मानिसलाई त भ्रममा पारिदिएका छन् भने आलोचनात्मक चेत नबोक्ने र ओली गफमा प्रभावित भैहाल्ने ठूलो जनसंख्या छ । अत: कुनै पनि लोकप्रिय नाराको बलमा ओली वा ओली प्रवत्ति फर्किन नपाओस् भन्ने कुरामा कांग्रेसले हेक्का राख्नुपर्छ । मानिसको मनमा प्रतिगमन सोचप्रतिको समर्थन अविकास, गरिबी र अभावका कारण हुने गर्छ ।
आमनागरिक आफ्नो सुनौलो भविष्यको रेखा देशमै कोर्न पाए हुन्थ्यो भन्ने चाहना राख्दछन् । उनीहरूका चाहना र सपनाका लागि ‘पिलर’ बन्ने गरी कांग्रेसले दृष्टिकोण र कार्यक्रम ल्याउन ध्यान दिनुपर्छ ।
देशभित्र एउटा तानाशाह नभईकन देश बन्दैन भन्ने निष्कर्षमा पुग्ने संख्या बढ्दै जान थालेको छ । यो लोकतन्त्रका लागि खतरा हो । उनीहरूको निष्कर्षलाई गलत सावित गर्ने गरी कांग्रेस बदल्ने कि अर्को खालको तानाशाह जन्माउन बिउ रोप्ने र पछि लोकतन्त्रका लागि लड्न आह्वान गरिरहने ?
पार्टीभित्रको फोहोर सफा गर्न नसक्ने पार्टीले देशको फोहोर सफा गर्न कसरी सक्छ ? फ्रेङ्कलिन रुजबेल्ट चार पटक अमेरिकी राष्ट्रपति बने । कहिलेकाहीँ देशले यसरी व्यक्तिको माग गर्छ । कांग्रेसको अगाडिको लहरमा विलक्षण क्षमता भएको को छ, जसलाई फेर्न कांग्रेस कार्यकर्ता हिचकिचाइरहन्छन् । अझै पनि पार्टीभित्र नेतृत्व बदल्ने हुरी चल्दैन, मानौँ पार्टी नेतृत्वमा असाधारण प्रतिभा विराजमान छ ।
विश्वका थुप्रै देशमा ४० वर्षभन्दा कम उमेरका मानिसले नेतृत्व हत्याउन सक्छन् भने नेपालमा किन सक्दैनन् ? प्रतिभाशाली युवालाई ‘भाइ’ बनाएर पालो कुर्न लगाउने संस्कार कसले भत्काउने ?
कांग्रेस भविष्यप्रति चिन्तनशील बनोस् । लोकतन्त्रलाई उन्नत बनाउन छलफल गरोस् । लोकतन्त्रको अर्थ बोल्न लेख्न पाउने अधिकार मात्रै होइन । आजका नेपालीले युरोपका देशमा अभ्यास हुँदै गरेको परिस्कृत र सभ्य लोकतन्त्रबारे सुनेका र देखेका छन् । जहाँ राज्यले नागरिकका दैनिक जीवनसँग सरोकार राख्छ, चासो दिन्छ, नागरिकका प्रचण्ड समस्यामा शीतल छहारी दिन्छ ।
आजको नयाँ पुस्तामा इतिहासप्रति खास चासो पनि छैन । किनकि इतिहासले भोको पेट भर्दैन । रित्तो गोजी टकटक्याउनुपर्दा दिक्क मानिरहेको युवालाई सुनौलो भविष्यको ग्यारेन्टी चाहिएको छ । कांग्रेसले नागरिकलाई ढाडस दिने गरी कर्ममा उत्रिन कुनै बार कुर्नु पर्दैन । देउवालाई समर्थन गर्ने क्रममा मिनेन्द्र रिजालले संसदमा बोल्दा ओलीमाथि व्यंग्य गर्दै भनेथे, ‘अब सत्ता कसरी चल्छ, जनताले देख्नेछन् ।’
हो, अब प्रत्येक दिन कांग्रेसका लागि परीक्षा बन्नेछ । कांग्रेसमाथि उठेका प्रश्नको उत्तर दिने ठाउँमा फेरि कांग्रेस पुगेको छ । मानिसलाई लोकतन्त्र र विकासप्रति आस्था बढाउने कर्ममा सरकार कत्तिको उत्रिन्छ, प्रत्येक दिन मानिसले हेरिरहनेछन् ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८ १२:०६