घरेलु हिंसाको सुरुवात मानव सभ्यताको विकास सँगै भएको पाइन्छ । हिन्दु धर्मको धार्मिक ग्रन्थ महाभारत र रामायणमा सीता र द्रौपदीले भोग्नुपरेको हिंसा, श्रीकृष्ण चरित्रमा भगवान् श्रीकृष्णको सोह्र सय गोपिनी भएको, श्रीस्वस्थानीको कथामा ७० वर्षको बुढासँग सात वर्षीया गोमाको विवाह भएको जस्ता तथ्यले पनि घरेलु हिंसा परापूर्वकालदेखि नै चलिआएको स्पष्ट हुन्छ ।
आजको समयमा आएर महिला हिंसा झनै जटिल र गम्भीर विषयवस्तु बन्न पुगेको छ । जसबाट विश्वका धेरै समाजहरू आक्रान्त हुन पुगेका छन् । नेपालमा महिलामाथि विभिन्न खाले विभेद हुने गरेका छन् । विभेद हुनुमा हाम्रो परम्परागत गलत संस्कृतिले पनि केही हदसम्म सहयोग पुर्याएको छ । अर्कोतर्फ आधुनिकीकरणको नाममा पश्चिमी छाडा संस्कृतिले पनि काम गरेको छ । नेपालको सन्दर्भमा महिलाहरू विभिन्न कारणबाट हिंसामा परेका छन्– जस्तै; छाउपडी, दाइजो प्रथा, बहुविवाह, छोराछोरीबीचको भेदभाव आदि हुन् ।
कतिपय ठाउँमा दाइजो नल्याएको र थोरै भएको निहुँमा महिलाहरूलाई जिउँदै जलाइएका, छोरा नपाएको भनेर अपहेलना गरेका, महिलाको इच्छाविपरीत महिलाको कोख रित्तो बनाइदिने अर्थात् भ्रूणहत्या गर्नेजस्ता अत्यन्त घृणित कार्य पनि भइनै रहेका छन् । जसका कारण महिलाहरूले विभिन्न शारीरिक, मानसिक यातनाहरू भोगिरहनु परिरहेको छ । कतै महिलालाई ललाइफकाइ बेचबिखन गर्ने, कतै राम्रो परिवार भए पनि त्यसभित्र हुने विभेद, अन्याय, शोषण चुपचाप सहन बाध्य पार्ने, कतै आफ्नै ससुरा, जेठाजुबाट बलात्कृत हुने जस्ता घटनाहरू पनि हुन पुगेका छन् ।
महिलाहरू कतै न कतै, कुनै न कुनै रूपबाट यौन शोषणमा परेका छन् । यसरी परिवार, समाज, राष्ट्र नै महिला हिंसाबाट आक्रान्त भए पनि यसविरुद्ध न्यायिक उपचार भने उनीहरूले पाउन सकिरहेका छैनन् ।
पटकपटक गरी देशमा धेरै राजनीतिक परिवर्तन भए पनि महिला अधिकार र न्यायका बारेमा किन चाहिने जति उपलब्धि हासिल हुन सकेको छैन ? समाजमा भएका महिला विकाससम्बन्धी संस्थाहरूको कार्य सम्पादन किन सन्तोषजनक छैन ?
साथै, महिला हिंसाको सिकार हुँदा पनि डरधम्कीका कारण, कुनै घटना त आफ्नै घरपरिवारको इज्जत जाने डरले पनि सम्बन्धित निकायमा उजुरी नगरेका घटनाहरू धेरै छन् । यो पनि महिला हिंसा बढ्नुको एक मुख्य कारण हो । महिला सामाजिक, शैक्षिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा सहभागी हुन नपाउनुले पनि उनीहरूमा हुने हिंसा बढ्दो छ ।
पटकपटक गरी देशमा धेरै राजनीतिक परिवर्तन भए पनि महिला अधिकार र न्यायका बारेमा किन चाहिने जति उपलब्धि हासिल हुन सकेको छैन ? समाजमा भएका महिला विकाससम्बन्धी संस्थाहरूको कार्य सम्पादन किन सन्तोषजनक छैन ? यस्तो जघन्य हिंसाको न्यूनीकरण हुन नसक्नुको कारण के हो ? यस्ता सयौँ प्रश्नहरू अझै अनुत्तरित नै छन् ।
महिलाहरूलाई चौतर्फी रूपमा सक्षम, सबल र आत्मनिर्भर नबनाएसम्म उनीहरूले महिला हिंसाविरुद्ध आवाज निकाल्न सक्दैनन् । जसले गर्दा उनीहरू घरेलु हिंसाबाट मुक्त हुन सक्दैनन् र सभ्य समाज निर्माण गर्न पनि सकिन्न । परम्परागत अन्धविश्वास, कुसंस्कारलाई हटाउन अब सबै लाग्नु आवश्यक छ ।
एकातर्फ समाज चेतना र विकासमा अघि बढेको देखिन्छ भने अर्कोतर्फ महिलामाथि हुने हिंसा अझ वृद्धि भइरहेको छ । आखिर के कारणले परिवार, समाज तथा सिंगो राष्ट्र महिलाप्रति अनुदार भएको ? उसो त पुरुषबिना महिला र महिलाबिना पुरुष रहन सक्दैन । किनकि यी दुईबिना मानव सृष्टि चल्न सक्दैन । त्यसो भए किन सृष्टिको एक हिस्सा अपहेलित र पीडित बन्न बाध्य छन् ?
घरेलु हिंसाका कारण कतिपय महिलाहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको छ । कतिले त अकालमै ज्यान गुमाउनुपरेको छ । कति महिला दीर्घकालीन रोगको सिकार बन्न पुगेका छन् । मेरो विचारमा महिला हिंसा, घरेलु हिंसा अन्त्य गर्नका लागि महिला हिंसासम्बन्धी उचित कानुन, पुनरुत्थान तथा सहज, सरल र भरपर्दो कानुनी उपचारको व्यवस्था हुनुपर्छ ।
समाजमा रक्सी, जुवा, तासजस्ता महिला हिंसालाई बढावा दिने कार्यहरूलाई प्रतिबन्ध लगाउने वा आचारसंहिता निर्माण गर्नुपर्दछ । महिला शिक्षामा जोड दिने तथा विभिन्न कार्यक्रममार्फत महिलालाई सक्षम बनाउँदै लैजाने उपायहरू अवलम्बन गर्न जोड दिनुपर्दछ । समाजमा व्याप्त परम्परागत कुरीति, अन्धविश्वास र कुसंस्कारलाई न्यूनीकरण गर्दै विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
समाजमा हुने गरेको बालविवाह, बहुविवाह, बहुपति विवाह, लैङ्गिक विभेद, छाउपडी, दाइजो प्रथाजस्ता सामाजिक समस्यालाई निरुत्साहित गर्नुपर्दछ । हिंसापीडित महिलाको सामाजिक सुरक्षामा पहुँच पुर्याउनुपर्दछ । महिला हिंसाको क्षेत्रमा काम गर्ने व्यक्तिलाई उचित पुरस्कारको व्यवस्था गरी प्रोत्साहन गर्नुपर्दछ । महिला हिंसासम्बन्धी बनेको कानुनी प्रक्रियालाई कडाइका साथ कार्यान्वयन गराउनका लागि दबाब दिनुपर्दछ । महिलाहरूले अन्याय, हिंसा सहने हो भने अन्याय गर्ने मान्छेको मनोबल झन् बढ्दै जान्छ । त्यसैले अन्याय नसहौँ र यसविरुद्ध खुलेर प्रतिकार गरौँ ।
प्रकाशित मिति: शनिबार, असार २६, २०७८ ०७:०१