गंगाबहादुर भुजेल फेवातालको मुहान हर्पन खोलाछेउमा बस्न थालेको ३५ वर्ष भयो । फेवातालसँग भने उनी जन्मेदेखि नै परिचित छन् । २०४३ सालमा बसाइँ सरेर चंखपुर झरेपछि अझै नजिक भए । चंखपुर फेवातालको चार किल्लाअन्तर्गत उत्तर–पश्चिमको क्षेत्र हो ।
फेवातालको पानीको मुख्य स्रोत हर्पन खोलाले बाटो बिराउँदा भने उनको मनमा चिन्ता गढेको छ । हर्पन खोलामा आएको बाढीले बिहीबार बिहान मात्रै भुजेलका तीन जना छिमेकीले चलाइरहेको पसल बगायो ।
नागबेली आकारमा बगिरहेको खोला गत १९ असारयता पानी परेपछि बढेको छ । सामान्य बाढी आए पनि धानखेत नै त मासिएको थिएन, बिहीबार भने ठूलो बाढी आएको गंगाबहादुरले सुनाए । उनका अनुसार पोहोर पनि खोलामा बाढी आएको थियो । तर, अहिलेजस्तो छोडेरै हिँड्नुपर्ने अवस्था भने थिएन ।
चंखपुरस्थित हर्पन खोलामा आएको बाढी हेर्न पुगेकाहरू ।पामे जाने सडकबाट हर्पन खोला तरेर पारि जान पुल बनाइएको छ । पारिपट्टि धान खेत छ । त्यही धानखेतमा तल फलाम गाडेर माथि बस्ने व्यवस्था भएका खाजा घर थिए । १९ असारमा हर्पन खोलामा पानी बढेपछि व्यवसायीले सामान निकाल्न थाले । ‘एक जनाको घरका सबै सामान सारियो । अरु दुइटाको टिन खोलेका थिए, फलाम खत्तम भयो (दुईवटा घरका जस्ता खोलेर सारियो, अरु फलामचाहिँ बगायो),’ गंगाबहादुरले भने ।
फेवातालमा थुप्रिने गेग्र्यानलाई मुहानमै रोक्न गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा चार खोलामा २८ करोड ९६ लाखमा चारवटा सिल्टेसन ड्याम बनाइएको थियो । गत वर्ष असारमा बेत्यानी खोला, अँधेरी खोला, हर्पन खोला र लौरुक खोलामा ड्याम बनाइएको हो । तर, एक वर्षमै त्यो ड्याम भत्किएपछि हर्पन खोलामा पानीको बहाब बढेको छ र आसपासका बस्ती डुबानको जोखिममा छन् ।
पोखरा २३ ककरे नौबिसे झोलुंगे पुलछेउका १० घर उच्च जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । ती परिवारको कुनै व्यवस्थापन हुन सकेको छैन । बाढीले ड्याम भत्काएको खबर पाएपछि पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङ अवलोकन गर्न गएकी थिइन् । ड्याम बनाउने निर्माण कम्पनीसँग भने सम्पर्क नभएको पोखरा २३ का वडा सदस्य भरतराज भण्डारीले बताए ।
हर्पन खोलामाथिको सेल्फी पुल । खोला बढ्दा पुलपारिका तीन व्यवसायी विस्थापित भएका छन् ।डुबानको जोखिममा परेका बस्ती जोगाउन खोलाको धार परिवर्तन गर्ने तयारी छ । ‘त्यो ढुंगागिट्टी निकाल्ने कम्पनीले डोजर दिन्छु भनेको छ । धार परिवर्तन गरी अर्कोतिर लैजाने भन्ने छ । गरिहाल्ने भन्ने भइसकेको छैन,’ भण्डारीले शिलापत्रसँग भने ।
२०७५ भदौ अन्तिममा सम्झौता भएर २०७६ साल असारमा ड्यामको गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखराका मेयर मानबहादुर जिसीले शिलान्यास गरेका थिए । गत वर्ष असारमा बेत्यानी खोला, अँधेरी खोला, हर्पन खोला र लौरुक खोलामा ड्याम बनाइएको थियो ।
बेत्यानीबाहेक तीनवटा खोलाको ड्याम र सिल्ट पोखरी खड्का–कृष्ण–पिके जेभी, दाङले बनाएको हो । सो निर्माण कम्पनीले नै अँधेरीखोलामा बनाएको ड्यामको केही भाग निर्माण सकिएको दुई महिनामै गत साउनमा भत्किएको थियो । पछि त्यसलाई मर्मत गरिएको थियो ।
हर्पन खोलामा आएको बाढी धान खेतमा पसेर भएको क्षति ।फेवातालको पानीको मुख्य स्रोत हर्पन खोलाको ड्याम भत्किएसँगै खोलामा पानीको बहाव बढेको छ । गंगाबहादुर बिहानै ५ बजे घरबाट लाइट बाल्दै बाटोसम्म ओर्लिए । खोलाले धार नै परिवर्तन गरेर धान खेतमा पसेको देखे । ‘बिहान ५ बजे लाइट बालेर आएर हेरेँ । ढलान गरेको त्यहीँ ढलेको छ । त्यो ढल्दा धार फेरियो । झन् हिनामिना गराइदियो,’ उनले सुनाए । हर्पन खोलाको ड्याम भत्किएर खोलामा बाढी आएको बारे भने गंगाबहादुर बेखबर छन् ।
गंगाबहादुरलाई आफूलाई केही भइहाल्छ भन्ने होइन, छिमेकीलाई हर्पन खोलामा आएको बाढीले पीडा थप्छ कि भनेर चिन्ता छ । उनको घर पामे जाने सडकभन्दा माथि पर्छ । त्यसैले बाढीले आफ्नो घरलाई भेट्ने डर छैन । ‘छेउछाउका घरलाई एकदमै डर भयो । खोला घरछेउमै थियो । अहिले यस्तो डर भयो,’ बाढीले कटान गर्नै लागेको छिमेकीको घर देखाउँदै गंगाबहादुरले भने ।
तस्वीरहरू : अनुप पौडेल/शिलापत्र
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८ ०९:१४