कालीगण्डकी–तिनाउ बहुउद्देशीय डाइभर्सन आयोजनाबारे २२ महिनादेखि साम्य विवाद गत सातादेखि फेरि सतहमा आएको छ । आयोजना रोक्न गण्डकी प्रदेश सरकार र लुम्बिनी प्रदेशका कालीगण्डकी तटीय पालिका विरोधमा छन् । कुनै पनि हालतमा आयोजना सफल हुन नदिने यी पालिकाको अडान छ ।
तटीय क्षेत्रका पालिकालाई कालीगण्डकीको धार्मिक अस्तित्व नै मासिने चिन्ता पनि छ । भारतको गंगा नदीसम्म पुग्ने कालीगण्डकीको उद्गमस्थल मुस्ताङ र तिब्बत सीमानाको न्यूबिने हिमाललाई मानिन्छ । मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, पाल्पा, स्याङ्जा, तनहुँ हुँदै देवघाटमा पुगेर सप्तगण्डकीमा मिसिन्छ । भगवान् विष्णुको अवतार मानिने शालिग्राम पाइने विश्वको एक मात्रै नदी भएकाले यसको स्वरूप बिगार्न नहुने धार्मिक तर्क एकथरीको छ ।
कालीगण्डकी नदीका अध्येता जलसंस्कृति विज्ञ डा. कुलराज चालिसे तल्लो क्षेत्रलाई मरुभूमि बनाएर कुनै पनि हालतमा डाइभर्सन गर्न नहुने तर्क गर्छन् । कालीगण्डकी सिंचाइका लागि लैजाने हाे भने देवघाटबाट लैजान सरकारलाई उनको सुझाव छ ।
प्रस्तुत छ, कालीगण्डकीको धार्मिक महत्त्वमा केन्द्रित रहेर अध्येता डा. चालिसेसँग शिलापत्रका लागि अनुप पौडेलले गरेको कुराकानीको सम्पादित अंशः
कालीगण्डकी नदीको महत्त्व के छ ? डाइभर्सन योजनालाई कसरी लिनुभएको छ ?
सन् १९८८ मा डलास विश्वविद्यालयका ११ जना वैज्ञानिकले लस्ट ओसियन एक्सपिडिसियन भने लुप्त भएको समुद्रको खोजी गर्ने बेलामा हाम्रो यस क्षेत्रमा आएर खोजी गर्यो ।
थाक खोलाको बगरलाई नापेर हेर्दा खेरी यो नदी २ करोड वर्षअघि कालीगण्डकी उत्तरतिर बग्थ्यो, हिमाल उठेपछि दक्षिणतिर बग्न आयो भनिन्छ । त्यही भएर कालीगण्डकी हिमालभन्दा जेठी नदी भनेर मानिन्छ । अरु नदी हिमाल उठेपछि उत्पत्ति भएको हो ।
कालीगण्डकीमा उत्पत्तिको कथा छ । यो विश्वका लागि अनुसन्धानशाला हो । नेपाललाई मात्रै होइन, यसले विश्वकै लागि महत्त्व राख्छ । यो विश्व सम्पदा सूचीमा हुनुपर्ने थियो । तर, त्यहाँ लैजान सकेनौँ । अझ त्यहीँमाथि राम्दीमा बाँध हालेर पानी लैजाने कुरा गलत छ ।
बागलुङ, म्याग्दी क्षेत्रमा शालिग्राम कम पाइन्छ । यसको तीव्र प्रवाह जब राम्दीमा पुग्छ अनि गण्डकी पूर्वतिर लाग्दा मन्द हुँदै जान्छ । मन्द भएर नागबेली आकार बनेर बग्छ । त्यही भएर त्यहाँ खेतमा मकै गोड्दा पनि शालिग्राम भेटिन्छ । म त्यहाँ गएर बाटोको भिरमा हेर्थें, त्यहाँ शालिग्रामै शालिग्राम थियो । त्यो ठाउँ विश्वका लागि अनुसन्धान गर्न एकदमै योग्य छ । धार्मिक हिसाबले पनि कालीगण्डकी उत्तिकै महत्त्वपूर्ण छ । हाम्रा १८ वटै पुराणमा शालिग्राम उल्लेख छ ।
व्यापारको दृष्टिले पनि हेर्नुपर्यो । भारतले एउटा सानो चीज पायो भने कत्रो ठूलो प्रचार गरेर तीर्थस्थल बनाउँछ । भौतिक प्रमाण नपाए कथा बनाएर भए पनि तीर्थस्थल बनाउँछ । हामीसँग भौतिक प्रमाणका रूपमा शालिग्राम छ । योभन्दा ठूलो प्रमाण के चाहियो ?
उता (रूपन्देही र कपिलवस्तु) जति क्षेत्रफलमा सिंचाइ गर्ने भनिएको छ त्यति बराबर फाँट यता पनि छ । यताको फाँटको पर्यावरण, पानीको स्रोत बर्बाद हुने गरेर लगियो भने त्यो बुद्धिमतापूर्ण भएन ।
यसकाे अर्थ कालीगण्डकी डाइभर्सन राेक्नुपर्ने हाे ?
रूपन्देही, कपिलवस्तु र नवलपरासीमा सिँचाइ नहोस् भन्ने पक्षमा हामी छँदै छैनौँ । गण्डकीको पानी तल्लो फाँटलाई प्रभाव गर्ने गरेर नलैजाऔँ । देवघाटको उचाइबाट पानी बुटवल लैजान नसकिने होइन, मज्जाले सकिन्छ । गैँडाकोटको हर्कपुरबाट पनि लैजान सकिन्छ भने त्यताबाट किन नलैजाने ?
तिनाउ सबैभन्दा ठूलो जलाधार क्षेत्र हो । तिनाउको जलाधारमा बर्खाको पानी तीन महिनालाई सञ्चय गरेर राखेर लग्यो भने पुग्छ । त्यहाँचाहिँ केही लगानी नगर्ने ! अहिले प्रस्ताव गरेको खर्चको एक चौथाइले त्यो काम हुन्छ नि त ।
अर्घाखाँचीदेखिको क्षेत्रलाई पनि त्यसै गरेर कपिलवस्तुको बाणगंगामा लैजान सकिन्छ । कपिलवस्तुको पोखरी संस्कृतिलाई बढायो भने पनि विकल्प हुन्छ । भूमिगत जुन पानीको बहाब छ त्यसलाई उपभोग गर्ने प्रणाली ल्याउन सकिन्छ । विकल्प उपयोग नगरी एकैचोटि कालीगण्डकीलाई खँगारेर लैजानुपर्ने कारण किन ? कालीगण्डकीलाई आफ्नो बाटो जान दिएर देवघाटसम्म पुर्याएर त्यताबाट लगे हुँदैन ?
साना–साना पानीको स्रोतहरू ज्याग्दी, निस्दी, केलादी होस् यी सबैको स्रोत कालीगण्डकी हो । जमिनभित्र घुसेको पानी त्यहाँ पुगेको हो । जुन २० घनमिटर प्रतिसेकेण्ड पानी दिएर त्यहाँ के हुन्छ ? सकिन्छ भने ठाउँ-ठाउँमा बाँध बनाएर अहिले जुन पानी बगेको छ राम्दीदेखि देवघाटसम्म दुई-तीन दिन लागोस् ।
हामीले तीन महिनाको पानी संग्रह गर्नुपर्ने हो । त्यो तीन महिनाको पानी हामीले वर्षभर पानीको स्रोत बनाउनुपर्छ भने त्यहाँ संग्रह गर्ने ठाउँ छ । त्यत्रो फाँट छ, त्यहाँ संग्रह गरे हुँदैन ? बिजुली निकाल्न परे त्यही फाँटमा निकाले हुँदैन ? अहिले बगिरहेको नदीलाई डाइभर्ट गर्ने भनिएको छ । रामपुरमा संग्रह गरेर लैजाने हो भने पनि वर्षभरि पानी पुग्छ नि त ।

हिमनदी सधैँलाई हुन्छ भन्ने पनि प्रमाणित छ ? त्यो पनि प्रश्न छ नि । मेलम्ची, पोखराकै सेती, म्याग्दीको गलेश्वरमा कालीगण्डकी थुनिएर तलतिर हाहाकार भएको कुरा गर्नुस् । यस्ता चीज अहिले जलवायु परिवर्तनले ल्याइरहेको छ नि ।
हिमनदी पनि स्थिर छैनन्, विनाशका कारण हुन सक्छन् । सुकेर पानी कता गयो भन्ने बेला आएको छ । विकल्प भनेको माटोमुनि पानी सञ्चय गर्ने हो । माटोमुनि गर्नलाई त्यस्तै फाँटमा तलाउ बनाएर लैजानपर्छ । त्यसपछिको पानी लगे हुँदैन बुटवल ? नलैजाने त भन्दै भन्दैनौँ । बुटवल पनि हाम्रै हो, कपिलवस्तु पनि हाम्रै हो ।
विगतको ५० वर्षको हिसाब गरेर हुँदैन । अहिलेभन्दा एक खर्ब ३७ अर्ब भनेको छ । मेलम्चीजस्तै तत्काल परियोजना पुरा हुँदैन । पुरा हुँदा दुई-तीन गुणा बढी लाग्छ । मुद्रास्फीति पनि हेर्नुपर्छ । डलरका आधारमा हाम्रो पैसा कति अवमूल्यन हुँदैछ । त्यो व्यवस्थित गर्दा कहाँ पुग्छ बजेट ?
१ लाख ७ हजार हेक्टर भूमि भनेर हुन्छ ? त्यहाँ कति शहरीकरण कति भएको छ ? खण्डीकरण कति छ ? जम्मै पहाडबाट गएको मान्छे मधेसतिर गएको छ । त्यहाँ जनसंख्या कति बढेको छ ? कहाँ छ खेती गर्ने ठाउँ ? एक कट्ठा, १० धुरको दरले लिएका छन् । तिनीहरूले व्यावसायिक कृषि त गर्दैनन् ।
आयोजना सम्पन्न हुँदासम्म त्यहाँ सिँचाइ गर्ने ठाउँ नै नहुन सक्छ भन्न खोज्नुभएको हो ?
हुँदैन । आयोजनाको लगानी उठाउँदाको अन्तिम दिनसम्म त्यहाँको जनसंख्या कति हुन्छ ? खेतीयोग्य जमिन कति हुन्छ ? त्यो अध्ययन गरिएको छ ? ५० वर्ष पछाडि त्यहाँ पानीको माग कति हुन्छ त्यो पूर्वानुमान गरौँ न । माग हुने भए ठूलो, महँगो परियोजना गर्ने हो । होइन भने यो प्रोजेक्ट सम्पन्न भइसक्दासम्म त्यो सिंचाइका लागि भनिएको जमिन भरिनेवाला छ । त्यहाँ कहाँ पानीको माग हुन्छ र लैजान खोजेको ?
अहिले त्यहाँ जुन ट्युबबेल प्रयोग गरिएको छ, त्यसलाई अगाडि बढाए हुँदैन ? माथि जलाधारमा लगानी गर्ने, जमिनभित्रको पानी रिचार्ज गर्ने, तिनाउ नियन्त्रण गर्ने र त्यहाँको पानीलाई जमिनमुनि घुसाउने तीन महिनाका लागि । त्यही भएर भविष्यमा पानीको माग कति हुन्छ भन्ने पूर्वानुमान गर्नुपर्यो । त्यो इन्जिनियरले गर्ने काम होइन, कृषि प्राविधिकले गर्ने हो ।
कृषि उत्पादन नहोस् भन्ने पक्षमा छैनौँ हामी । पहिला त्यहाँ कति राम्रो कृषि उत्पादन हुन्थ्यो । खोई, अहिले कहाँ छ उखु ? भएका मिल सबै बन्द भइसके । धान मिल पनि धेरै थिए, अहिले छैनन् । पारिबाट चामल ल्याएर खाने हो । एक हप्ता नाका बन्द भए भोकमरी हुन्छ । उत्पादन गर्दिने मान्छे खोई ? खेत खोई ? सबै घडेरी भयो, शहरीकरणमा गएको छ । सिँचाइ र शहरीकरण सँगसँगै मिल्छ ?
सिँचाइका लागि पानीको माग के हो ? त्यो ५० वर्षपछि कस्तो हुन्छ विश्लेषण गर्नपर्यो, एक-दुई वर्षकाले हुँदैन । नयाँ सर्भे त्यहाँ गरिएको छैन । सिँचाइको माग पनि भएको छैन, कसैको स्वार्थमा ल्याइएको छ ।
सन् २०३० सम्म भारतलाई दिगो विकास लक्ष्य प्राप्त गर्न जुन पानीको बाधा भइराखेको छ । पानी हामीले जारमा, लिटरमा नापेर अथवा तेलको ट्यांकरमा यताबाट पानी पठाएर उताबाट तेल ल्याउने गर्न सकिँदैन ?
आयोजनामा भारतको स्वार्थ छ भन्ने कतिपयको तर्क छ । तपाईंले कसरी लिनुभएको छ ?
यसमा भारतको अहिलेको सरकारलाई केही भन्दिनँ । योभन्दा पहिला कंग्रेस आईको सरकार थियो, मिलीजुली सरकार थियो । विश्व बैंकअन्तर्गतको साउथ एसिया वाटर इनिसिएटिभ भन्ने दुई चरणमा आठ-दश वर्ष उनीहरूले सर्भे गरे ।
भारतको गंगाको मैदानमा जुन पानी सञ्चय गर्ने गहिराइ अत्यधिक छ । त्यहाँ नहर बनाउनभन्दा तल जम्मा गर्दा धेरै राम्रो हुन्छ भन्ने उनीहरूको रिपोर्ट छ । गंगा मैदानको लागि पानीको मूल स्रोत नेपाल हो । हामी छतमा राखेको ट्यांकीजस्तो हो । त्यसका लागि हाम्रा नदीहरूलाई उनीहरूले सम्बोधन गर्नुपर्थ्यो । त्यहीअन्तर्गत नेपालका नदीलाई पश्चिम–पश्चिम बगाउने, ठेल्दै लैजाने किनभने उनीहरूको बाढीको समस्या भनेको बिहार, बंगाल र उडिसामा थियो । उत्तर प्रदेश, राजस्थान, दिल्लीतिर पानीको अभाव थियो । त्यही भएर नेपालको पानीलाई उनीहरूले पश्चिमतिर ठेल्नुपर्छ । त्यही पश्चिम ठेल्ने क्रममा यो आयोजना पनि आएको हो ।
नेपाल सरकारले तल्लो तटीय क्षेत्रलाई प्रभाव पर्दैन भनेर कालीगण्डकीको विकल्पमा दुईवटा जलाशययुक्त आयोजनालाई देखाइएको छ । यो सम्भव छ त ?
आँधीखोला र उत्तर गंगा जलाशय बहुत राम्रो प्रोजेक्ट हो । पर्वतको फलेवास नगरपालिकाले पनि जलाशय बनाउँछु, कालीगण्डकीमा बनाउँछु भन्नुभएको छ, राम्रो गर्नुभयो । पानी जति सक्दो धेरै सिरानमा नै जम्मा गर्ने हो ।
मेलम्चीको जुन समस्या भोगेका छौँ, त्यसबाट हामीले पाठ सिक्नुपर्छ । त्यो बजारमा त्यत्रो गेग्य्रान कसरी भरिन गयो ? कसरी त्यत्रो विपत्ति आयो ? डाइभर्ट गरेर दोभानमा लगेर जलाशय बनाउँदा त्यो फुट्यो भने के हुन्छ ? दीर्घकालीन हुँदैन । दिगो हिसाबमा जान देवघाटसम्म गए धर्म संस्कृतिको सम्बोधन हुन्छ, शालिग्रामको पनि सम्मान हुन्छ ।
उहाँहरूले जुन स्टेटमेन्ट दिनुभएको छ, त्यो आधा सत्य हो । जलाशययुक्त राम्रो हो । त्यस्तै जलाशय रामपुर उपत्यकामा बनाऔँ । अहिले राम्दीदेखि देवघाटसम्म पानीजहाज चलाउने भन्नुभएको छ । त्यसलाई प्राथमिकता दिऔँ, गर्नुपर्ने त्यो हो ।

न ईआईए गरेको छ, न योजना आयोगमा परेको छ, न डीपीआर गरेको छ । एकैचोटि कार्यालय खोलेर जसरी हुन्छ, कालीगण्डकी नल्याई छोड्दिनँ भनेर छाती पिटेर मूर्ख कुरा गरेर हुन्छ ? नीति निर्माणको तहमा भएको मान्छेले प्राविधिकसँग पूर्ण सल्लाह गर्नु पर्दैन ? प्राविधिकलाई अरु कुरा जान्दिनँ, त्यहाँ गएर काम गर, होइन भने जागिर खाइदिन्छु भन्ने हो ?
सिँचाइ गुरुयोजनाले पाँचौँ प्राथमिकतामा राखेको छ, अन्त भएन भने गर्ने भनेर । तिनाउ, रोहिणी, बाणगंगामा गर न पहिला । अनि कालीगण्डकी आउला पुगेन भने । कालीगण्डकी पनि देवघाटबाट लगे हुन्छ । यता सुकाएर लैजाने होइन, यता बनाएर बल्ल लैजाने हो । रामपुर क्षेत्रमा जुन पर्यटकीय गतिविधिको सम्भावना छ, त्यसलाई बाधा पुग्ने गरेर लैजानु हुँदैन ।
धर्मसंस्कृतिमा केन्द्रित रहेर अध्ययन गर्नुभयो । कालीगण्डकी डाइभर्ट गरेर लैजाँदा शालिग्रामलाई पर्न सक्ने असर के हुन्छ ?
शालिग्राम अहिलेका होइनन् । त्यो शालिग्रामको कार्बन डेटिङ गर्दा अहिलेसम्म साढे २ करोड वर्षअगाडिको हो भन्ने रिपोर्ट आइरहेको छ । त्यो खालको शालिग्राम तटका पाखामा अहिले पनि छन् ।
शालिग्राम र दामोदरकुण्डबाट आएको जुन जल छ, त्यसको सम्पर्क हुनुपर्छ भनिन्छ । शालिग्रामलाई दामोदरकुण्डकै पानीबाट पूजा गर्ने हाम्रो धार्मिक मान्यता, इमोशन हो । जनताको सदियौँदेखिको मान्यतालाई ठेस पुग्ने काम गर्नुभएन । धर्म परम्परालाई जति नै बाहियात भने पनि हामी मान्न छाडेका छैनौँ नि । हाम्रो १८ पुराणले व्याख्या गरेको, उपनिशेदहरूले व्याख्या गरेको, वेदले व्याख्या गरेको शालिग्रामको महत्त्वलाई भुल, यो एउटा ढुङ्गा हो भन्दैमा हामी मान्दैनौँ । १ अर्ब जनसंख्याले हामीभन्दा धेरै मान्छ । उनीहरूका लागि दुर्लभ छ । हामी खोलामा हिँड्दा खुट्टा टेकिन्छ, सामान्य हो । यहाँका ठूला साधु भारत गए भने उताकाले खुट्टा पखाल्छन्, तिमीहरू शालिग्राम भएको नदीबाट आएको भनेर ।
त्यो जनसंख्या, त्यो इमोसनलाई हामीले व्यापारमा परिणत पो गर्ने हो । पर्यटक बाहिरको कति आउँछ र ? त्यो १ अर्बमध्ये १० प्रतिशत मात्रै ल्याउन सक्ने हो भने १० करोड हुन्छ । हामीले राखेको पर्यटकको लक्ष्य भारतले पुग्छ । बजारमा आएको अरु चामल अन्तको हो, कालीगण्डकीको पानीले सिँचाइ गरेकोमा कुन खान्छौ भनेर सोध्यो भने कालीगण्डकीको भन्छ । व्यापारको ब्राण्ड भ्यालु शालिग्राम हो, त्यसलाई सम्मानका साथ पूजा गरेर देखाउनुपर्छ उनीहरूलाई । त्यसैले शालिग्राम र गण्डकीको विच्छेद गराउनु हुँदैन ।
जलस्रोतले प्रदेशबीच नै मतभेद सिर्जना भएको देखियो । यसलाई कसरी लिनुभएको छ ?
यो आयोजनाले दुई प्रदेशबीच द्वन्द्व छैन । गण्डकीमा जनता उठेका छन्, लुम्बिनीमा नेता मात्रै उठेका छन्, जनता छैनन् । नेता मात्रै उफ्रिएका हुन् । रम्भा, रामपुर, निस्दी लुम्बिनी प्रदेश होइन ? उनीहरूले हामीले भन्दा चर्को विरोध गरेका छन् ।
बुटवलका जनताले पनि विरोध गरेका छन् । यो प्रदेश होइन, जनताको तहमा गइसक्यो । कालीगण्डकी बुटवलको जलाधार होइन । उनीहरूको यसमा अधिकार नै छैन । चितवनका जनताले उफ्रिन पाउँछन्, किनकि त्यहाँ जान्छ गण्डकी । लुम्बिनीले कसरी पाउँछ ? यो अन्तरबेसिन भएकाले उताकाले नम्र निवेदन गरेर हामी काकाकुल भयौँ, तपाईंलाई यति दिन्छौँ पानी दिनुस् भनेर निवेदन हाल्नुपर्छ लुम्बिनीले गण्डकीलाई ।
सिँचाइ विभागको विज्ञप्तिले तल्लो तटीय क्षेत्रलाई कुनै प्रभाव पर्दैन भनेको छ नि ?
सिँचाइ विभागको महानिर्देशकले हाम्रो भविष्यको चिन्ता गरेर एउटा स्टेटमेन्ट दिनुभयो । म उहाँलाई भन्न चाहन्छु– पे–ब्याक अवधिसम्म त्यहाँको पानी मागको डाटा छ कि छैन ? हामीसँग शहरीकरणको ट्रेन्ड के छ ?
उहाँले जनताको तहमा आएर साक्षात्कार गर्नुपर्यो । उहाँले आफ्नो बुँदा ल्याउनुपर्यो । हामी पनि आफ्नो बुँदा लिएर तयार भएका छौँ । अर्थमन्त्रीलाई चित्त बुझाउने स्टेटमेन्ट दिएर भएन । गण्डकी प्रदेशमा आएर कुरा गर्नुपर्यो । डाटा हेरेर एक-एक प्रश्नको जवाफ दिनुपर्छ । १ सय ७ हेक्टर जमिन कहिलेसम्म कायम रहन्छ ? कहिलेको डाटा हो त्यो ?
कालीगण्डकीमा पानीको बहाव भनेर देखाइएको डाटा कहिलेको हो ? जलवायु परिवर्तनले नदीको भविष्य के हुँदै छ, त्यसको पनि डाटा दिनुपर्यो । कृषिको पानीको माग पूर्वानुमान गर्ने कृषिविज्ञले हो कि इन्जिनियर सा'बले हो ? सिँचाइ विभाग भनेर छुट्टै होइन, यसलाई कृषि मन्त्रालयअन्तर्गत राख्नुपर्छ । कृषिको माग सिँचाइ हो नि ।
अन्तिममा, कालीगण्डकी–डाइभर्सन गर्न काम थालेको सरकारलाई के सुझाव दिनुहुन्छ ?
रामपुर उपत्यकामा जलाशय बनाउनुस्, त्यसपछि त्यो पानीलाई बाह्रैमासे मधेस जाने बनाउनुस् । उत्तर गंगा र आँधीखोलाबारे ल्याउनुभयो, उहाँहरूलाई मुक्त कण्ठले प्रशंसा गर्छु । जलवायु परिवर्तनले हामीलाई जोखिम बढाइरहेकाले जलाशयमै जोडिनुपर्छ । तेस्रो जलाशय बनाउँदा के जान्छ ? तिनाउलाई ठाउँ-ठाउँमा रोकेर बुटवलको बाढीको खतरा बचाऔँ । ट्युबवेल बनाऔँ, नहर नै लैजानुपर्ने हो भने देवघाटबाट लैजाऔँ ।
यी पनि पढ्नुस् :
शिलापत्र सविस्तार: कालीगण्डकी डाइभर्सनकाे विषय के हाे ? दुई प्रदेशबीच किन विवाद उठ्दै छ ?
कालीगण्डकी डाइभर्सनमा बलमिच्याइँ भयाे
कालीगण्डकी नदी डाइभर्सनविरुद्ध पाँच राजनीतिक दल एकै ठाउँमा उभिए
कालीगण्डकी डाइभर्सनले निम्त्यायो विवाद, गण्डकीका मुख्यमन्त्री भन्छन्- कुनै हालतमा सफल हुन दिन्नौँ
कालीगण्डकी डाइभर्सनबारे गण्डकी सरकार – प्रदेशबीच द्वन्द्व निम्त्याउने काम गरियो
कालीगण्डकी डाइभर्सन परियोजना रोक्न सर्वोच्चमा पर्यो रिट
कालीगण्डकी डाइभर्सन आयोजना रद्द गर्न माग
प्रकाशित मिति: सोमबार, असार २१, २०७८ १३:१३