पाल्पा घर भई बुटवलको बेस क्याम्प बस्दै आएका ५० वर्षीय अर्जुन सारु वैशाख २६ गते बिहान मिस्त्री काम गर्न बुटवलको दिपनगरमा गए । साँझ कोठामा आउँदा टाउको भारी भयो । शरीर दुख्यो । त्यसपछि नजिकै मेडिकलबाट औषधि लिएर सेवन गर्दै घरमै आराम गरेर बसे ।
१० दिनसम्म घरमै परिवारसँग आराम गरिरहेका अर्जुनलाई ६ वैशाखमा लहरे खोकी बेस्सरी लाग्यो । आत्तिँदै नजिकैको मेडिकलमा जाँदा अक्सिजनको लेभल ६५ झरेकाे देखियो । त्यसपछि तुरुन्तै लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर उपचार थालियाे ।
अक्सिजन लेभल कम भएका अर्जुनलाई श्वासप्रश्वासमा समस्या हुँदै गयो । अस्पतालमा अक्सिजन थिएन । अर्जुनका छिमेकी अक्सिजनको बन्दोबस्तमा लागे । कहिले उद्योगसम्म सिलिण्डर पुर्याउने र कहिले अक्सिजन अस्पतालमा ल्याउने काम ती छिमेकीले गरे ।
‘छिमेकी भनेको जिउँदाको जन्ती मर्दाको मलामी भनिन्छ । छिमेकी देवर बाबुले कहिल्यै नबिर्सने गुन लगाएकै कारण अहिले पनि अस्पतालको बेडमा उपचार गराइरहनुभएको छ,’ लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड आकस्मिक कक्षमा रहेकी अर्जुनकी श्रीमती खुमिसरा सारुले भनिन् ।
अस्पतालको बसाइ लम्बिँदै थियो । घरमा जम्मा गरेर ल्याएको १५ हजारमा ३ हजार मात्र थियो । यत्तिकैमा डाक्टरले श्रीमान्को अक्सिजन लेबल कम भएकाले आईसीयूमा राख्न पनि पर्न सक्छ भने ।त्यसपछि खुमिसरा झन् आत्तिइन् । गोजीमा पैसा थिएन । बिरामीलाई दैनिक खुवाउनुपर्ने, आफूले पनि खानुपर्ने, औषधि पनि किन्नुपर्ने भएकाले पैसा खोज्न थालिन् ।
‘ल्याएको पैसा सबै सकिएको थियो । ऋण पनि धेरै ठाउँमा खोजेँ पाइएन । अन्तिममा सबैतिर हारगुहार गरेपछि ४५ हजार रुपैयाँ जम्मा गरेँ । अहिले त्यहि पैसाले उपचारको खर्च तिरिरहेकी छु,’ उनले भनिन् ।
अक्सिजनको हाहाकार हुँदा छिमेकीले १२ वटा सिलिण्डर भरेर अस्पतालमा ल्याउने, अस्पतालबाट उद्योगसम्म लैजाने काम गरे । खुमिसराका अनुसार अस्पतालमा औषधि, खानासहित ६० हजारभन्दा बढी खर्च भइसकेको छ भने अक्सिजनसहित १ लाख रुपैयाँ खर्च भएको छ ।
‘अक्सिजनका लागि अस्पतालमा झगडासमेत भयो । बल्लतल्ल दुईवटा सिलिण्डर पछि पाएकी हुँ । अहिले त पाइपलाइनबाट अक्सिजन दिइएको छ । किन्न परेको छैन । तर, औषधि र खानपिनमा खर्च भइरहेको छ,’ उनले भनिन् ।
खुमिसराका दुई सन्तान छन् । जेठी छोरीको विवाह भयो । एउटा छोरा २१ वर्षको भयो । खुमिसरा आफू पनि बिरामी छिन् । दिशाबाट रगत बगिरहन्छ । रिङ्गटा लाग्छ । हातखुट्टा कमजोरीले काँप्छन् । छोरा पनि सानो उमेरदेखि निमोनियाले ग्रसित छ । उसले पनि केही गर्न सक्दैन ।
‘सिमेन्ट, इँटा, बालुवाको काम गरेर कमाउने पैसाले नै घर खर्च चल्ने हो । म बिरामी, छोरो बिरामी । तर यसपटक आफैँ थलिएको पनि २८ दिन भयो । अब कसरी ऋण तिर्ने ? कसले कमाउने ? कसरी गुजारा चलाउने ?,’ उनले भनिन् ।
अहिले अर्जुनको स्वास्थ्य अवस्था सबै ठीक भए पनि अक्सिजनको लेबलमा सुधार भएको छैन । खानामा रुचि छ । ‘यो अक्सिजन लेबल अहिले ६ मा छ रे ! अक्सिजन लेबल सुधार भए त कोठामै राखेर आराम गराउँथे । तर, त्यो सुधार भएको छैन भनेर डाक्टरले भन्नुभएको छ,’ उनले भनिन् ।

०००
कपिलवस्तु बाणगंगा नगरपालिका– ११ का ठूलो दुरारे थारू १३ जेठदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा छन् । उनकी ६५ वर्षीया श्रीमती सोमनी थारू अस्पतालको कोभिड आकस्मिक कक्षभित्र भएकाले थारू घरि आकस्मिक कक्षभित्र त घरि औषधि लिन दौडधुपमा व्यस्त छन् ।
सोमनी थारू कोरोना पोजिटिभ भएर घरमै आइसोलेसनमा थिइन् । तर, एक्कासि अक्सिजन लेबल घटेपछि उनलाई प्रादेशिक अस्पतालमा श्रीमान् ठूलो दुरारे थारूले ल्याएका हुन् ।
थारू आफूले जसोतसो वर्षभरि खान पुग्ने गरी कृषिकर्म गर्छन् । दुई छोरा भारतमा भए पनि घरमा ध्यान दिँदैनन् । कृषि गरेरै जीविकाेपार्जन गरेका थारूले पनि श्रीमतीको उपचारमा ५० हजार खर्च गरिसकेका छन् ।
‘नि:शुल्क उपचार हुन्छ भनेको सुने पनि केही बुझेको छैन । बिरामी आत्तिएकाले ऋण खोजेर अस्पतालमा हतारहतारमा ल्याइयो,’ उनले भने ।
अस्पतालले अझै श्रीमती सोमनीलाई कम्तीमा १२ दिन राख्नुपर्ने भनेको छ । अक्सिजन कम भएका कारण घरमा लैजान नमिल्ने अवस्था सोमनीको छ । औषधि खर्च र आफ्नो खाना खर्चमा मात्र ५० हजार खर्च भएको थारूले बताए । उनी अस्पतालमा आएदेखि अक्सिजन भने अस्पताल आफैँले व्यवस्थापन गरेको बताए ।
‘अरु आम्दानी केही पनि छैन । ऋण काढेर उपचार गरियो । अझै कति लाग्छ, थाहा छैन । कसरी खर्च धान्ने होला भन्ने चिन्तामा छु,’ उनले भने ।
सरकारले कोरोना संक्रमितको उपचार नि:शुल्क गर्ने घाेषणा गरेको छ । उपचारका क्रममा खर्च नलाग्ने र सबै खर्च सरकारले व्यहोर्ने बताइरहे पनि सरकारी अस्पतालमा कतिपय संक्रमित उपचार गराउँदा पनि ऋणमा चुलुम्म डुबेका छन् ।
दैनिक ज्यालादारी काम गरेर साँझबिहान चुल्हो बाल्नुपर्ने अवस्थाका मजदुरहरूलाई कोरोना रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका कारण सबै क्षेत्र ठप्प हुँदा ठूलो समस्या परेको छ । बिहान के खाने बेलुकी के खाने भन्ने समस्याले पीडित मजदुरहरू त कोरोना संक्रमणमा परेर झन् पीडित बनेका छन् ।
यस्तो समुदायका परिवारलाई कोरोना भएमा सरकारले नि:शुल्क उपचार गर्ने घोषणा गरे पनि ती मजदुर तथा निम्न वर्गका मानिसको सरकारी अस्पतालमा उपचार गर्दा पनि लाखौँ रुपैयाँ खर्च भइरहेको छ । यसरी निषेधाज्ञाले पिरोलिएका मजदुरहरू कोरोनासँग लड्नुपर्दा लाखौँको ऋणमा चुर्लुम्म डुबेका छन् ।
यस्ता कतिपय मजदुर तथा निम्न वर्गीय समुदायका व्यक्तिहरूलाई सरकारले कोरोना उपचार नि:शुल्क गर्छ भन्ने थाहा छैन । बेड शुल्क, डाक्टर शुल्क नलिए पनि औषधि, अक्सिजन र खानपिनमै लाखौँ रुपैयाँ ऋण गरेरै भए पनि उपचार गराइरहेका छन् । दिनभर ज्याला मजदुरी गरेर साँझ छाक टार्ने त्यस्ता परिवारलाई कोरोनाले ऋणको भारी बोकाइदिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८ १८:४४