निर्माता तथा निर्देशक तुलसी घिमिरेको नामबिना नेपाली सिने नगरी अपुरो हुन्छ । दार्जिलिङमा जन्मेर नेपाली सिने नगरीको उन्नयनमा घिमिरेले पुर्याएको योगदान अतुलनीय छ ।
घिमिरे नेपाल प्रवेश गर्दा नेपालको सिने नगरीको स्थिति दयनीय थियो । घिमिरेले आमनेपालीलाई नेपाली मौलिक चलचित्रको स्वाद चखाए ।
त्यतिबेला नेपाली सिनेमा निर्माण गर्ने विषय चानचुने थिएन । तर, त्यतिबेलाको दुःखलाई घिमिरे सुन्दर स्मृतिका रूपमा लिन्छन् । र, अहिले पनि रमाउँछन् ।
‘भारतको सेन्टिमेन्ट र नेपालको आइडियोलोजी मिल्दैनथ्यो,’ उनी भन्छन्, ‘तर पनि त्यो समयभन्दा अहिले सिनेमा बनाउन कठिन छ ।’
घिमिरे धेरै चलचित्र बनाउँदैनन् । जति बनाउँछन्, गुणस्तरीय बनाउँछन् । यस अर्थमा उनी संख्याभन्दा गुणस्तरमा बढ्ता जोड दिन्छन् । घिमिरेले निर्माण गरेका देउता, चिनो, दक्षिणा, दर्पणछायालगायत चलचित्र गुणस्तरीय कोटिमा पर्छन् ।
नेपाली सिनेमाको विगत, वर्तमान र भविष्यबारे घिमिरे भन्छन्ः
हिजोका सिनेमा मनले बनाइन्थ्यो । आजको सिनेमा धनले बनाइन्छ । हिजो हामीलाई नेपाली सिनेमाका लागि काम गरिरहेका छौं भन्ने ‘फिल’ हुन्थ्यो । मैले बनाएको सिनेमामा कतै न कतै राष्ट्रियता झल्किन्थ्यो । तर, आजका अधिकांश सिनेमा धनमा मात्रै केन्द्रित भएका छन् । नेपालीपन मर्दो अवस्थामा छ ।
अहिलेका नेपाली सिनेमामा ‘कन्टेन’को अभाव छ । टेक्निकल, प्रेक्टिकल र मेकानिकल पक्ष दुरुस्त छ । पहिले सिनेमा आत्मा हुन्थ्यो । अहिले देह मात्र छ । सिनेमाले मनोरञ्जनसँगै राष्ट्रिय भावना पनि जोगाउनुपर्छ ।
वास्तवमा सिनेमा के हो ? सिनेमा किन बनाइन्छ ? एउटा देशलाई सिनेमा चाहिन्छ ? हामीले बुझ्नै सकेनौं । संसारका कतिपय देशमा सिनेमा नै बनाइँदैन । नेपालमा बनाउनुपर्ने औचित्य बुझ्न जरुरी छ ।
नेपाली समाज धेरै जातजाति मिलेर बनेको छ । समाजको विविधतामय संस्कृति बुझ्ने माध्यम सिनेमा हो । नागरिकलाई देशभक्त बनाउने माध्यम सिनेमा नै हो ।
नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने गतिलो माध्यम पनि सिनेमा नै हो । जुन विषय नेपालका अधिकांश सिनेकर्मीले बुझेका छैनन् ।
हामीले सिनेमालाई गलत बाटोमा हिँडाइरहेका छौं । सिनेमा व्यापार मात्रै नभएर कलात्मक पाटो हो । तर, नेपाली सिनेमामा व्यापार हावी भएको छ । कला पक्षलाई उपेक्षा गरिएको छ ।
सिनेमामा नेपाली संस्कृति समेटिएको छैन । हाम्रो मौलिक संस्कृति समेट्ने हो भने सिनेमा अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।
नेपालमा लोकतन्त्र र गणतन्त्र आगमनसँगै मानिस अराजक भए । मानिसले आफ्नै सिद्धान्तलाई सही मान्न थाले । सिनेमाहरु पनि ‘पपिन ढर्रा’को निर्माण हुन थाले ।
पहिला निर्देशक, निर्माता, प्रोडक्सन, प्राविधिक र कलाकारबीच आमीत्यता थियो । तर, अहिले कसैले कसैलाई चिन्दैन । दुई–चारजना आफ्नो सर्कलको साथीभाइलाई मात्रै चिन्छ ।
आफ्नो सिद्धान्तमाथि सिनेमा बन्न थाले । आफ्नै कुरा मात्रै राम्रो ठान्न थाले । सिनेमामा राष्ट्रियता देखा परेन । पार्टी भक्ति देखा पर्न थाल्यो । यो निकै दुःखद कुरा हो ।
प्रविधिको विकाससँगै सिनेमा पनि डिजिटल युगमा प्रवेश गर्याे । काम गर्न सजिलो भयो । अनि सिनेमालाई पनि हल्का ढंगले हेर्न थालियो ।
सिनेमामा पनि ग्रेडिङको जरुरी छ । जसले दर्शकलाई रोजेर सिनेमा हेर्ने सुविधा हुन्छ । यसका लागि सरकारले पहल गर्न जरुरी छ ।
नक्कल बढी भयो
पछिल्लो समय बनेका अधिकांश सिनेमामा विदेशी सिनेमाको नक्कल ज्यादा पाइन्छ । विदेशी भाषामा निर्मित सिनेमालाई तोडमोड गरेर नेपालीकरण गरिएको छ ।
कल्चरल फिल्म बनाउने भन्दै कोरियन र चाइनिज सिनेमाको नक्कल गरेको पनि पाइएको छ । जुन बेकार हो । भारतमा आर्ट र कल्चरमा राम्रा सिनेमा बनेका छन् । जसबाट नेपाली सिनेमा निर्माणकर्ताले सिक्न आवश्यक छ ।
जुन दिन हामीले आफ्नै सुख दुःखमाथि फिल्म बनाउँछौं । अनि, मात्र नेपाली फिल्म उद्योगले फड्को मार्न सक्छ ।
बलिदानको बयान
हामीले निर्माण गरेको चलचित्र ‘बलिदान’ले समाजमा राम्रो छाप पारेको बुझाइ छ । त्यसपछि पनि थुप्रै आन्दोलनकारी चलचित्र बने । तर,
त्यसमा जबरजस्त आफ्नो विचार लाद्ने प्रयास भयो । जसकारण, अपेक्षाकृत चलेन ।
बलिदानचाहिँ नेपालको आफ्नै बेग्ले मौलिक कथा थियो । कुनै राजनीतिक दलको विचारबाट परिचालित थिएन । जसलाई नेपाली दर्शले रुचाए ।
अहिले पनि बलिदानजस्ता चलचित्र निर्माण हुन जरुरी छ । देशभक्ति झल्काउने सिनेमा बन्नुपर्छ । भारतमा शहीद भगसिंह, उरी र बाजिर मुस्तानीमाथि सिनेमा बनेका छन् । उनीहरुले इतिहालाई ग्लामराइस गरेर सिनेमा बनाइरहेका छन् । हामीले पनि त्यसबाट सिक्न सक्नुपर्छ ।
नेपालमा पनि इतिहास र शहीदमाथि सिनेमा निर्माण थाल्नुपर्छ । तर, नेपाली चलचित्र निर्मातामा त्यस्ता सिनेमा किन बनाउनु भन्ने सोच छ ।
नेपाली सिनेमाको बजार
नेपाली सिनेमाको बजार सानो र सीमित छ । यसको पछाडि सिस्टम दोषी छ । कालिङपोङ, देहरादुन, आसाम, दिल्ली, मुम्बई र कोलकातामा नेपाली सिनेमाको राम्रा बजार हुन सक्छ । युरोप–अमेरिकासम्म नेपाली सिनेमाको बजार विस्तार गर्न सकिन्छ । नेपाल सरकारले सिनेमा विस्तार गर्ने कुनै योजना ल्याएको छैन ।
अहिले जति पनि चलचित्र विदेशमा देखाइन्छ, त्यो आफ्नै बलबुताले पुगेका हुन् । त्यहाँ पनि कुनै होटलको हलमा प्रदर्शन गर्नुपर्छ । त्यो जस्तो लाजमर्दाे के हुन सक्छ ?
भारतझैं नेपालमा पनि राज्यले सिनेमा निर्माणमा लगानी गर्नुपर्छ । त्यसपछि विशुद्ध व्यापार मात्र नभई जीवन्त साहित्य हुन्छ ।
पछिल्लो समय दुई दिनका लागि सिनेमा निर्माण भएको छ । पुरानै शैलीको सिनेमा निर्माण गरेर दर्शक झुक्याउन सकिँदैन । आफ्नै समाजको कथामा सिनेमा बनाउन सके सिनेमाको विकास र विस्तार हुन कठिन छैन ।
नेपाली सिनेमाले आफ्नो बाटो बिर्सन लागेको छ । हुन त निर्मातासँग कम बजेट हुन्छ । बजेट कम हुनासाथ सबै कुरामा खुम्चिनुपर्छ । त्यो पनि एउटा बाध्यता हो । तर, सबै दोष पैसालाई दिन मिल्दैन ।
नेपालमा बक्स अफिसको सिस्टम छैन । निर्देशक आफैं मार्केटिङ गर्न कुदिरहेका हुन्छन् । निर्माताले कहिल्यै पनि मार्केटिङ गर्न सक्दैनन् । यहाँको मुख्य समस्या नै यही हो ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६ १८:००