आज भएको लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभाका बहुमत सांसदहरूको मत विपक्षी गठबन्धनका उम्मेदवारलाई परेपछि लुम्बिनी प्रदेशमा फेरि हलचल आएको छ ।
नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले आजको मत परिणामअनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको बताएको छ ।
मुख्यमन्त्री पोखरेलले आफ्नो पक्षमा विश्वासको मत रहेको वा नरहेको प्रदेशसभा बैठकमा फेस गरे पनि आजको नतिजाले उनी अल्पमतमा परेको प्रष्ट देखिएको माओवादी सांसद एवं पूर्वसामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । उनले १९ जेठमा सरकारको गतिविधि हेर्ने र त्यहीअनुसार अघि बढ्ने बताए ।
'हामीले बहुमत सदस्य भएको प्रमाण मुख्यमन्त्री अल्पमतमा रहँदै गर्दा जुन दिन नियुक्त हुनु भो त्यही दिन प्रदेश प्रमुखकहाँ पेस गरेका छौँ । १९ गते उहाँहरू कसरी प्रस्तुत हुनुहुन्छ । नैतिकता, लाज सरम केही लागे सामान्य ढंगले बैठक अगाडि बढ्छ तर बहुमत अल्पमत मतलव नगरि गएमा त्यहीअनुसार प्रतिबाद गर्छौं,' उनले भने ।
उनले प्रदेशसभामा पाउने मतको आकलन आजकै मत परिणामले देखाउने बताए । ताजा मत परिणाम हेर्दा लुम्बिनी प्रदेशका दुई जना प्रदेशसभा सदस्यले गठबन्धनका उमेदवारलाई मत दिएका छन् । माधव पक्षका दुई सांसदले मत नदिएको चर्चा भए पनि निर्वाचनमा स्वतन्त्र उम्मेदावरको रूपमा सूर्य चिह्नबाट विजयी सांसदहरू अर्जुन शाही र धर्मलाल श्रीवास्तवले मत नदिएको एमालेकै कतिपय नेताले बताएका छन् ।
नेकपा एमाले र जसपाको ठाकुर पक्षलाई राखेर दोस्रो पटक सरकारमा गएका मुख्यमन्त्री पोखरेललाई यो निर्वाचनको परिणामले संकट ल्याइदिएको छ ।
राष्ट्रियसभा सदस्य पदको निर्वाचनमामा प्रदेशसभामा हाल कायम रहेका ८३ जना सांसदहरूको सहभागी थिए । उनीहरूमध्ये ४० जनाले मात्र पोखरेलको दल नेकपा एमालेका उम्मेदवारलाई मत दिए । बाँकी ४२ जना अर्थात् बहुमत सांसदको मत कांग्रेसका उमेदवारले पाए । त्यसमा पनि कांग्रेस उमेदवारकै एक मत बदर भएको थियो ।
कांग्रेसका लुम्बिनीका प्रमुख सचेतक फखरुद्दिन खानले प्रदेशसभाका ८३ सांसदमध्ये एमाले उम्मेदवार खड्काले ४० मत मात्र पाउनुले प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको पुष्टि गरेको बताए ।
यता १९ जेठमा प्रदेशसभाको आठौ अधिवेशन आह्वान भइसकेको अवस्थामा विपक्ष गठबन्धले अल्पमतको सरकारले बजेट पेस गर्न नहुने भन्दै विरोधको तयारी गरेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८ २१:१४