यो फिल्ममा एक बालिकाले आफ्नो आँखैअगाडि आफ्नो आफन्तले चलाएको गोलीले कसैलाई मारेको देख्छिन् । उनलाई अदालत गएर त्यो घटनाको साक्षी बस्नु छ ।
उनलाई साँचो बोल्न मन छ । तर, परिवारले आफ्नो मान्छे बचाउनू भनेका छन् । उनी सकसमा छिन् । उनीजस्तै उनको कक्षामा पढ्ने लगभग सबै आ-आफ्नै सकसमा छन् ।
ठूला मान्छेले गराएका हरेक नराम्रा घटनाहरूले बालबालिकाहरूलाई सकसमा पार्छन् । त्यसमा मिसिन्छु भनेर कहिल्यै नचाहेका उनीहरू आफूलाई सकस हुन थालेपछि मात्र थाहा पाउँछन् । साँचो बोल्नुपरेको सकस । मर्दै गरेको कसैलाई देख्नुपरेको सकस । भाग्नुपर्दाको सकस । कहिल्यै नचाहेका पीडा बोकेर सास फेर्नुपर्दाको सकस ।
सकस एक ठाउँमा मात्र छैन ।
बम खस्दा चिच्याउनुपर्दाको सकस । बमबारीका बीचमा नाङ्गै भाग्नुपर्दाको सकस । शरणार्थी भएर हिँड्नुपर्दाको सकस । कति बेला के हुन्छ, थाहा नपाई बाँच्नुपर्दाको सकस । सिमानावारि र पारि हुनुको सकस । काँडे तार वारि र पारि हुनुको सकस । पर्खाल वारि र पारि हुनुको सकस । पीडाको सकस । बदलाको सकस ।
अनि देखेको, भोगेको, बुझेको, सम्झिएको कुरालाई दिमागबाट मेट्न नसकेर सधैँ भारी बोकिरहनुको सकस । आफूजस्तै अर्कोलाई घृणा गर्नुको सकस । घृणा नगर्न नसक्नुको सकस ।
हरेक देशका बालबालिका कुनै न कुनै सकसमा छन् । तिनको सकस बुझाउने मलिन अनुहार र आँसुले टिलपिल भरिएका आँखा भएका फोटोहरू पत्रिकाको पहिलो पृष्ठमा नछापिएका देशहरू कति होलान् खै ?
खासमा कुनै घटना त झिल्कोजस्तै हो । त्यसको असर धेरैवटा वनसम्म डढेलो लागेर फैलिन्छ । डढेलोमा लाखौँ रुखहरू मर्छन् । हजारौँ जनावरहरू मर्छन् । कीरा फट्याङ्ग्राहरू मर्छन् । त्यसको धुवाँ आकाशमा कालो बादल भएर फैलिन्छ । त्यसले घाम छेक्छ । त्यो कालो बादलले आँखा पोल्छ ।
त्यो बादल कसैको घरमा मात्र मडारिँदैन । सामाजिक संस्थाहरूमा मडारिन्छ । स्कुलहरूमा मडारिन्छ । स्कुलमा पढ्ने बालबालिकाहरूका आँखा पाक्छन् ।
सन् १९९२ मा अमेरिकाको लस एन्जलसमा हिंसा भड्किएको थियो । सबैले बनाएको अमेरिकालाई आफ्नो मात्र ठान्ने गोरा अमेरिकनहरूले बाँकी काला, ल्याटिनो तथा एसियाली अमेरिकनहरूलाई निरन्तर आक्रमण गरेका थिए । शहरका धेरै ठाउँहरूमा बिनाकारण मान्छे मरेका थिए । बदलाको राग सारा शहरभरि उडेको थियो । एउटा लासले अर्को लास । अर्को लासले अर्को लास । केही मरेका लास, केही जिउँदा लास । मार्नेहरू दुवैतिर थिए । मर्नेहरू दुवैतिर थिए । को पो कता थिएँ भन्नेसमेत नचिन्ने अवस्था आएको थियो ।
हिंसा भड्किएको असर विद्यालयमा पुगिसकेको थियो । बालबालिकाहरू त्यसको प्रभावमा नपर्ने कुरै भएन । उनीहरूको भाषामा एक अर्काप्रति घृणा थियो । उनीहरू आफूलाई कुनै लडाइँमा भएको मान्न थालेका थिए । स्कुलमा प्रत्यक्ष रूपमा हिंसामा परेका उनीहरूलाई पढाउने छुट्टै कक्षाको व्यवस्था गरिएको थियो । एक विद्यार्थीको भाषामा ती ‘नयाँ ट्रायल रुम’ जस्ता थिए । उनीहरूलाई 'जोखिममा रहेका विद्यार्थी' भनिएको थियो ।
पढाइ पूरा नगर्ने सम्भावना भएका विद्यार्थी । 'सकसमा रहेका विद्यार्थी, ट्रमामा रहेका विद्यार्थी ।'
उनीहरूलाई पढाउन पहिलाको भन्दा नौलो र संवेदनशील सिकाउने तरिका चाहिएको थियो । तर, स्कुल त्यो दिनलाई तयार थिएन । किनकि संवेदनशील हुनलाई आफूले पनि केही दिन थाल्नुपर्थ्यो । तर, स्कुल ‘शिक्षा कसैलाई जबर्जस्ती दिन सकिँदैन भनेर’ पन्छिइरहेको थियो । ती बालबालिकाहरूलाई त्यो समस्याबाट तान्न सक्ने शिक्षक चाहिएको थियो । अर्को अर्थमा फलामको चिउरा चपाउन सक्ने शिक्षक चाहिएको थियो ।
'फ्रिडम राइटर्स' फिल्मले त्यस्तो अवस्थाका ती विद्यार्थीहरूलाई पढाउन गएकी एक जब्बर शिक्षिका एरिन ग्रुअलको कथा भन्छ । सत्य घटनामा आधारित यो फिल्मले शिक्षिकाको यात्राको कथा सुनाउँदै उनले पढाउन लागेका विद्यार्थीहरूको विगत कोट्याउँछ र त्यसभित्र लुकेर अर्को अमेरिकी विभेदको तहतह खोतलिदिन्छ । अनि उनका विभिन्न प्रयासमार्फत आग्रह गर्छ, 'बालबालिकाहरू प्रभावित हुनु भनेको एउटा पुस्ता प्रभावित हुनु हो । बालबालिकाहरूले युद्ध र हिंसा देख्नु भनेको अर्को पुस्ताले युद्ध र हिंसा सिक्ने जोखिम हुनु हो । बालबालिकाहरूलाई प्रभावित बनाउने युद्ध र हिंसा छोडौँ । यसले हामीलाई कहीँ पनि पुर्याउँदैन ।'
यो फिल्मले हिंसाको कुरा त्याग्न आग्रह गर्दै अहिंसाको कुरा गर्छ ।
०००
फिल्मको एउटा दृश्यमा शिक्षिका एरिन कक्षाकोठालाई दुई भाग बनाउनेगरी रातो टेपले धर्को कोर्छिन् । त्यसको दुईपट्टि विद्यार्थीहरूलाई लाइन लाग्न भन्छिन् । फरकफरक अनुहारका विद्यार्थीहरू लहरै उभिन्छन् । उनीहरू एकअर्काको आँखामा हेर्दैनन् । हेरे पनि धेरै बेर हेर्दैनन् । उनीहरू आफ्नो दु:खको कारण एकअर्कालाई देखिरहेका छन् । आफूमध्ये कोही नभए शान्ति हुन्थ्यो भन्ने उनीहरूको मनमा लागिरहेको हुन्छ ।
शहरमा भड्किएको हिंसाले बालबालिकालाई आँखा जुधाउन नसक्ने बनाउँछ ।
उनी त्यो 'लाइन गेम' को नियम सुनाउन थाल्छिन् । उनले कुनै प्रश्न भनेपछि यदि आफूमा त्यो कुरा लागू हुन्छ भने विद्यार्थी रातो घेराको छेउमा आउनुपर्ने हुन्छ । अनि अर्को प्रश्नका लागि फेरि पछाडि जानुपर्ने हुन्छ । अनि अर्को प्रश्नमा फेरि अगाडि ।
विद्यार्थीहरू टाउको हल्लाउँछन् । उनी सुरुमा सजिलासजिला र सबैलाई लागू हुने प्रश्नहरू सोध्छिन् ।
'तिमीहरूमध्ये कतिको साथी वा आफन्त जेलमा छन् ?' 'तिमीहरूमध्ये कति आफैँ जेलमा पुगेका छौ ?' । 'कतिलाई ड्रग लिने ठाउँ थाहा छ ?' 'कतिले ग्याङमा भएको मान्छे चिन्छौ ?' यस्ता सजिला प्रश्नमा लगभग सबै विद्यार्थीहरू अगाडि आउँछन् । उनका ती प्रश्नले विद्यार्थीहरू कति गम्भीर अवस्थामा छन् भन्ने कुरा बताउँछ ।
‘कोही साथी दङ्गामा मारिएको छ कि छैन ?,’ उनले यो प्रश्न सोधेपछि फेरि सबै जना विद्यार्थीहरू अगाडि आउँछन् । यति बेला उनीहरू आँखा धेरै बेर त जुधाउँदैनन् तर पहिलाजस्तो घृणा गरेर पनि जुधाउँदैनन् । उनीहरूलाई विस्तारै सँगै हुनेजति सबै उस्तै पीडाबाट गुज्रिरहेको भन्ने थाहा हुन्छ ।
शिक्षिका भन्दै जान्छिन्, ‘दुई जनाभन्दा धेरैलाई गुमाएका छौ भने लाइनमै बस ।’ विद्यार्थीहरू घट्दै जान्छन् । ‘तीन जनाभन्दा बढी मारिएका छन् भने लाइनमै बस ।’ ‘चार वा त्योभन्दा बढी.... ।’
विद्यार्थीहरू घट्दै जान्छन् र ती मात्र बाँकी हुन्छन्, जो त्यसभन्दा पहिला सबैभन्दा धेरै झगडा गरिरहेका हुन्थे । जो एकअर्काप्रति सबैभन्दा धेरै आक्रमण गरिरहेका हुन्थे । जो एरिनलाई ‘तपाईँलाई हाम्रो अवस्था थाहा छैन, त्यसैले ख्याल गरेको जस्तो नदेखाउनू’ भनिरहेका हुन्थे ।
'फ्रिडम राइटर्स' फिल्मले त्यस्तो अवस्थाका ती विद्यार्थीहरूलाई पढाउन गएकी एक जब्बर शिक्षिका एरिन ग्रुअलको कथा भन्छ । अनि उनले पढाउने विद्यार्थीहरूको विगत कोट्याउँछ र त्यसभित्र लुकेर अर्को अमेरिकी विभेदको तहतह खोतलिदिन्छ ।
खेल खेल्दै गर्दा उनीहरू एकअर्काको आँखामा हेर्छन् । एकअर्काको बारेमा थाहा पाइसकेपछि घृणा नै गरेर पनि एकअर्काको आँखामा हेर्न सकिन्छ । आँखा जुधाउन सकिन्छ ।
यो दृश्यले फिल्ममा विद्यार्थीहरूको पृष्ठभूमि बताउने मात्र नगरेर समाजमा हुने विखण्डनले विभाजनको यता र उता दुवैतिर वा हिंसाको यता र उता दुवैतिर वा घृणाको यता र उता दुवैतिर पीडा भोग्ने उस्तै छन् भन्ने बताएको छ । शहरमा चलिरहेको हिंसालाई विद्यार्थीको व्यक्तिगत अनुभवमा ल्याएर जोडेको छ । किनकि ठूलो स्वरूपमा जसलाई जसको शत्रु बनाइए पनि सानो स्वरूपमा त व्यक्ति केवल एक व्यक्ति हो ।
यस दृश्यमार्फत फिल्मले समस्या समाधानमा समानूभूतिको महत्त्वलाई पनि उठाउँछ । विद्यार्थीहरूले ए अर्कालाई घृणा गरिरहँदा आफ्नो विगत लुकाइरहेका थिए । एकअर्कालाई बुझ्न थाल्दा आफ्नो विगत देखाउन थालेका थिए ।
त्यो खेलपछि कक्षाको माहौल फेरिन्छ ।
अर्थात् आफूले जस्तो पीडा भोगिरहेको छु, त्यस्तो पीडा अर्कोले पनि भोगिरहेको रहेछ भन्ने थाहा पाउने हो भने शहरको माहौल फेरिन्छ । देशको माहौल फेरिन्छ । आफ्नो ठाउँमा अर्कोलाई राखेर हेरेपछि धेरै चीज फेरिन्छ ।
एरिनले पहिलो चरणको फलाम चपाउँछिन् ।
०००
फिल्मले हिंसाको असर मात्र देखाउँदैन, त्यसको सुरुवात हुने जरा पनि पहिल्याउँछ ।
एक दिन एरिनले कक्षामा कसैलाई जिस्काउने गरी बनाइएको एउटा स्केच भेट्छिन् । त्यो चित्रमा हुने मान्छेको मुख एकदमै भद्दा देखिने गरी बनाइएको हुन्छ । त्यो चित्रले उनलाई हिटलरले यहुदीहरूलाई मार्न रचेको होलोकास्टको याद दिलाउँछ । त्यति क्रूर घटनाको सुरुवात पनि त्यस्तै कुनै स्केचबाट भएको थियो भन्ने कुरा उनी बताउँछिन् ।
घृणाको डढेलो लाग्नलाई ठूलो झिल्को चाहिँदैन । स्कुलमा कसैलाई जिस्काउन भनेर सुरु गरिएको बोली वा कसैको जातलाई होच्याएर लेखिएको कुनै लेख, कसैलाई निषेध गरिएको कुनै पल, यस्तैयस्तै । इतिहासका धेरै क्रूर घटनाहरू यस्तै सानासाना घटनाहरू मिसिँदैमिसिँदै ठूला भएका थिए ।
कसैले गरेको कुनै काम, कसैले बोलेको कुनै बोली र कसैले देखाएको कुनै व्यवहारको असर कहाँसम्म पुग्छ भन्ने कसैलाई थाहा हुँदैन । व्यक्तिगत रिसिबीका कारण निस्किएको सानो असन्तुष्टि बेलैमा सम्बोधन भएन भने त्यसले लामो समयसम्म अल्झाइरहन्छ ।
त्यसैले फिल्ममा शिक्षिकाले विद्यार्थीहरूलाई हिटलर र होलोकास्टका बारेमा पढाएर मानव घृणाको लम्बाइ कति परसम्म रहन्छ भन्ने बताउँछिन् । र, त्यसलाई आफ्नो हातमा रहेकै बेला समाधान गर्न पनि सुल्झाउँछिन् । किनकि घृणा एउटा मान्छेको हातबाट निस्किएर समाजमा पुगेपछि त्यो समाजको हातमा पनि रहँदैन । कसैको हातमा पनि रहँदैन ।
०००
एरिन विद्यार्थीहरूलाई एन फ्राङ्कको ‘दि डायरी अफ योङ गर्ल’ पढ्न लगाउँछिन् र सँगै आफ्नो पनि दैनिकी लेख्न लगाउँछिन् । त्यो किताब केटाकेटीलाई पढाउन स्कुलले मान्दैन । उनी आफैँ त्यसका लागि पैसा जुटाउँछिन् र चाहिने किताब आफैँ किन्छिन् । हिंसाको चपेटामा परेका विद्यार्थीहरूलाई हिंसाको मारमा परेकी युवतीको कथा पढाउँदा त्यसले झनै असर गर्न सक्ने डर स्कुलको हुन्छ । एरिन त्यसलाई गलत साबित गर्छिन् ।
उनले लेख्न लगाएका कथा त्यति बेला उनीहरूले भोगेका र महसुस गरेका कुराहरू हुन् । समय बितेपछि कुनै घटनामा परेको प्रभाव वा त्यस बेलाका मान्छेले गरेका महसुस केवल मितिमा सीमित हुन थाल्छन् । १९९२ को दङ्गा । भारत–पाकिस्तानको दङ्गा । ६२/६३ को आन्दोलन भनिएजस्तै । त्यसरी घटना मितिमा सीमित हुनासाथ त्यसका बारेमा लेखिने इतिहास खुम्चिँदै जान्छ । लेखिएको इतिहासले समयको भाव, त्रास, भावना, संवेग आदि गुमाउँदै जान्छ । त्यो निरस हुन थाल्छ । त्यसबाट सास फेर्ने मान्छेहरू हराउँदै जान थाल्छन् ।
एरिन त्यो चाहन्नन् । उनी त्यो समयमा विद्यार्थीहरूले आफ्नो ट्रमासँग गरिरहेको दैनिक सङ्घर्षलाई रेकर्ड गर्न चाहन्छिन् । उनी ती बालबालिकाहरूले भोगेको पीडा उनीहरूकै पक्षबाट लेख्न चाहन्छिन् । इतिहासले कुनै घटनालाई यसरी पनि समेट्नुपर्छ भन्ने उजागर गर्न चाहन्छिन् ।
उनीहरू एन फ्राङ्कले लेखेको किताब पढ्दै गर्दा उनी नाजीहरूसँग भाग्नुपर्दाको गुम्साहट महसुस गर्छन् । उनको पीडासँग आफ्नो पीडालाई उभ्याउँछन् । आफ्नोबारेमा लेख्दै गर्दा, सुनाउँदै गर्दा, र पढ्दै गर्दा अरूको बारेमा बुझ्दै जान थाल्छन् । आफ्नो पीडाको स्रोत बुझेपछि अरूको पीडाको स्रोत पनि बुझ्दै जान्छन् ।
एरिन उनीहरूलाई विश्वभर रङ र जातका कारण भएका नरसंहारहरूको इतिहास समेट्ने 'म्युजियम अफ टोलोरेन्स' घुमाउन लैजान्छिन् । होलोकास्टमा बाँचेका मानिसहरू भेटाउँछिन् । एक फ्राङ्कलाई लुकाउने एक जना वृद्ध महिलालाई पनि भेटाउँछिन् ।
यसरी आफ्नो कथा, आफ्नो साथीको कथा, अनि साथीको साथीको कथा, एन फ्राङ्कको कथा मिसिँदैमिसिँदै फिल्मले कुनै घटनाको प्रभाव बालबालिकाहरूमा कति गहिरो पर्छ र त्यसलाई उनीहरूको दिमागबाट निकाल्न कति गाह्रो हुन्छ भन्ने पनि बताउँछ ।
फिल्मले ट्रमा दिने खाले घटनाहरू नगराउन आग्रह त गर्छ नै, सँगसँगै कथासँग भागेर होइन, ट्रमासँग भागेर होइन, त्यसलाई फेस गरेर र त्यससँगै काम गरेर समाधान खोज्ने बाटो पनि बनाइदिन्छ ।
०००
गलत कुराहरूलाई बालबालिकाहरूबाट तर्काउँदै लाने हो भने उनीहरू त्यसलाई गलत हो भन्ने नबुझ्न सक्छन् । यो फिल्मले एरिनले गरेको सकारात्मक प्रयास देखाएर त्यो कुरालाई मान्यता दिन्छ । उनी तिनीहरूले लेखेका सबै डायरीहरूलाई सम्पादन गरेर ‘दि फ्रिडम राइटर्स डायरी’ नामको पुस्तक प्रकाशित गर्छिन् ।
अन्य स्कुलहरूमा ड्रपआउटहरू बढिरहेको बेला ती सबै विद्यार्थीहरूले हाइस्कुल पास गर्छन् । मुख्य कुरा त उनीहरूले एकअर्कालाई स्वीकार्छन् । उनीहरू एकअर्काको साथलाई घरजस्तो ठान्छन् ।
अनि सबैभन्दा मुख्य कुरा, आफ्नोबारेमा आफैँले बुझेपछि र आफूभन्दा अगाडिको साथीको पीडा बुझेपछि आफ्नो आफन्तलाई दोषी भन्न डराइरहेकी ती बालिकाले साँचो बोल्छिन् । उनले आफन्तले हानेको गोली लागेर मरेको मान्छेको परिवारको पीडा पनि बुझ्छिन् ।
हामी पनि उनले जस्तै सत्य बोल्न डराइरहेका छौँ भने कसका लागि सोचेर डराइरहेका छौँ ? के त्यो हामीले बचाउनैपर्ने मान्छे हो त ?
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८ ०५:५३