मेरा चिरपरिचित मित्रहरूको एउटा सानो झुण्डले मलाई बारम्बारजस्तो भनेको थियो, 'बिरहीजी ! एकफेर 'दोचा' पढ्नुस् है ।' मैले सबैलाई 'हस्, म पढ्छु' भनेको थेँ । निकै समय बित्यो । पढ्न त पढ्थेँ ता नि, कहाँ पाएर पढ्नु ?
पुस्तक किनेर पढ्न नसक्ने अवस्थामा बाँचेको छु भन्ने कुराको अलिकति पनि लाज नमानी सञ्चार जगत्मा आँसु खसालेर म पुस्तकको भिक्षार्थी बनेपछि, मेरो झोलीमा फाट्टफुट्ट पुस्तकको भिक्षा मिल्न लाग्यो तर 'दोचा' मिलेन । आफूलाई पढ्न मन लागेको छ 'दोचा' । ए गाँठे ! कसरी पढ्ने होला 'दोचा' ? दोचाको कभरमा टासिँएको मेरो लगभग आठ किलो चामलबराबरको मूल्यलाई हेरेर म टोलाइरहेको थेँ । अपरिचित मित्र मनुवा गनेस पौडेललाई मेरो बेहाल जिन्दगीको कुरो बुझ्दा साह्रै चित्त काटिएर आएछ । त्यसैले आधा सय पुस्तकका लागि एजुकेसनल बुक हाउसको दैलो खोलिदिनुभएपछि मैले दोचा प्राप्त गरेँ ।
दोचा पुस्तकको भोटे ताल्चा खोलेर भित्र छिरेपछि पुस्तकका पानातिर रल्लिन लागेँ । उफ् ! समय भतुवा कस्तो नजाती भैदियो । कात्रोको झण्डा बोकेर बौलाहा कोरोनाले छापामार शैली अपनाएपछि सरकारको आदेशमा जिउज्यान बचाउन गुप्तबास बस्नुपर्ने भयो । नत्र सोध्ने थिए नि मलाई 'अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?' भनेर । र, म छाती ठटाएर भन्ने थेँ, 'अहिले म दोचा पढ्दै छु ।'
चौरत्तर साल असोज महिनाको पहिलो हप्तातिर मलाई कुनै पुस्तक व्यापारीले भनेथे, 'बजारमा दोचा आयो नि !' आफ्नै पसलमा दोचा आएको छ किन्नू भन्न नसकेर उनले बजारमा आएको छ भनेर कुरो घुमाए । उनकै बोलीलाई समातेर मैले एकछिन उनीसँगै बरालिने विचारमा प्रश्न गरेथेँ:
'के हो दोचा भनेको ?'
'दोचा भनेको दोचा हो ।'
'होइन, दोचा भनेको चाहिँ के हो ?'
विचरा उनैलाई थाहा रैनछ दोचा भनेको, अनि के बताउनु । त्यतिखेरै मेरो मनमा एउटा घोचा बिज्यो, 'कठैबरी ! के होला यो दोचा भनेको ?'
एउटा सानो फुच्चे केटो पुलिस चौकीको आँगनमा सड्न लागेका दुई लासहरूको बीच कोलाहलपूर्ण कर्कश आवाजहरू सुन्दै आत्यासलाग्दो दृश्यलाई आफ्नो कलिलो मस्तिष्कमा घुसाउँदै आमाको हात समातेर लटपटिँदै गर्दा एउटा सुन्दर चीजमा बालकका आँखा गाडिन पुग्छन् । मानिलिऊँ बालकको त्यो सुन्दर खेलौना हो, जसलाई ऊ तुरुन्त सामाउन चाहन्छ । त्यो उसलाई नभई भएको छैन । समय र परिस्थितिको बीचमा यो बालहठ पटक्कै सुहाएको छैन तर पनि बालक आफ्नो हठ छाड्दैन । ऊ आमासँग भन्छ, 'चाहियो ।' बासँग भन्छ, 'त्यो जसरी पनि चाहियो ! चाहियो ! चाहियो !'
रातो, कालो, सेतो धागो मुछिएर बनेको त्यो सुन्दर चीजबाट उसका आँखा हट्नै मानेनन् । यो बालकलाई लोभ्याउने यति सुन्दर चीज के रहेछ त भन्दा त्यो दोचा रहेछ । दोचा अर्थात् जुत्ता ।
बालकहरूले आफूलाई मन परेको चीजमा झगडा गर्दा मलाई साह्रै रमाइलो लाग्छ । यहाँ पनि मलाई रमाइलो लागिरहेको छ । बालकले दोचा मागिरहेको छ । म दोचा पढिरहेको छु ।
पुलिसमा जागिरे आफ्नो बन्दुके बाउसँग यो बालक बाउको जागिरसँगै सरुवा हुँदै डोल्पा, चौरजहारी, ढोरपाटन, सुर्खेत अनेक ठाउँमा पाइला टेक्दै हुर्कियो, झगडालु भयो । चकचके भयो । चराका बचेरा चोर्न रुखमा चढ्दा सर्पले झण्डै घाँटीमा माला लगाइदियो । यो बालकले कतै चिसो चलायो, कतै तातो । अनेक कुरासँग घुलमिल हुँदै यो बालक लाठे भयो, जवान भयो । ओठमा जुँगा पलायो ।
दोचाभित्र म नराम्रोसँग लोभिएको छु । यहाँ अनेक प्रसङ्गहरू छन् । यो पुस्तक धेरै कुरा मिलेर पुलाउ बनेको छ । यसलाई म फेरि कुनै दिन दोस्रो चोटि पढेर कतै छुटेका घोचाहरूलाई चबाउने कोसिस गर्नेछु ।
उसको आफ्नै स्वीकारोक्ति छ । समयका पदचापहरूले उसको जीवनलाई भट्टी पसलतिर हुलिदिन्छ, अत्यधिक मदिरामोहमा परेर भीषण अराजक जीवनशैली अपनाउँछ । आफ्नो अत्यासलाग्दो जीवनलाई ऊ यसरी स्मरण गर्छ, 'मैले बाँचेको दुर्घटनाग्रस्त सुसाइडल जीवनको उहिल्यै राम नाम सत्य हुँदो हो । कुनै अमुक घाटमा सडेर, गलेर स्याँउस्याँउती कीरा परेर मेरो अन्त्यष्टि भइसकेको हुँदो हो ।' पेज नं २१६ ।
यो स्वीकारयुक्ति अरु कसैको होइन यही दोचा पुस्तक, आफ्नो लघु आत्मकथाका लेखक कुमार नगरकोटीको हो ।
ऊ आफू नगरकोटी हुन पनि आफ्नै कथा छ । घरभन्दा घाटमा बढी रमाउने नगरकोटीलाई कसैकसैले त बगरकोटी पनि भने होलान् । म भन्छु– पुस्तकको जुनसुकै हरफमा जेसुकै कुरा लेखिएको भए पनि पुस्तकको पेज नं ७ अनुसार कुमार नगरकोटीलाई नगरकोटी भनेर आमपाठकहरू माझ चिनाउने मान्छे भनेको सावित्री कार्की नै हुन्, जसले सारा दु:ख सहेर नगरकोटीलाई साहित्यको मियोमा निस्फिक्री घुम्न लगाइन् । यस्ती सावित्रीलाई लाख सलाम छ र अर्को कुरा, यो प्रशंसाले सावित्री भाउजूको नाकमा कुनै असर नपुर्याओस् । किनकि नगरकोटीको कलमबाट हामीले अरु थुप्रै साहित्य सिर्जना पढ्न बाँकी छ ।
पुस्तक पढ्दा नगरकोटीको जिन्दगीमा दु:खसुखका आरोह अवरोह थुप्रै छन् । तर, कस्तो मन भएको मान्छे होला नगरकोटी, जो आफ्नो जिन्दगीको रुन्चे कुनालाई प्रशस्त मात्रामा खोलेर आफ्ना पाठकहरूलाई रुवाउन चाहँदैन । निर्मलासँगको प्रेमकहानीलाई एकछिन पढौँ न त भन्यो एक पेज पूरा नहुँदै सकिन्छ । हुन त सबै प्रेममा विवाह हुँदैन र सबै विवाहमा प्रेम हुँदैन । विवाहमा परिणत नहुँदै टुङ्गिएको त्यो प्रेमकहानी झुलुक्क देखा पर्छ, अनि मिलिक्क सिधिन्छ । जसको पहिलो विवाह एक लाइनमै नष्ट भयो । दोस्रो विवाहले मरीतरी एक पेज लियो ।
मृत्युशय्यामा छटपटाइरहेका क्यान्सरग्रस्त पिता जसका लागि झण्डै दुई पेज समर्पण भयो । कसैकसैका लागि हो भने यति कुरामा एउटा उपन्यास बन्थ्यो । आफूलाई माया गरेर दोचा ल्याइदिनी धारापानी मीतआमालाई पनि कति सम्झिन सक्यो र ! ठीकै छ । कुन विषयमा कति पग्लिनी भन्ने कुरा लेखकको नितान्त व्यक्तिगत कुरा पनि हो । खुलदुली जाग्नु पनि पाठकको व्यक्तिगत कुरा हो । दुवैसँग यति अधिकार छ ।
उसो त 'मिस्टिका ब्रो' कहाँ पत्थरको हृदय भएको मान्छे हो र ? एक जोडी परेवाप्रति त उसले कति धेरै प्रेमको आत्मा खन्याएको छ । यात्राका लम्बेतान पाइलाहरूमा पनि उसले पलपल सम्झिरहेको छ । तिनीहरू के गर्दै होलान् ? के खाए होलान् ? मानव बस्तीमा तिनको साँच्चिकै सुरक्षा नदेखेर सुरक्षाका निम्ति, बासस्थानका लागि राजन मुकारुङको दमिनी भिरलाई सम्झन पुग्छ । ब्रोसँग अचम्मको मगज छ ।
यदि कोही मानिस विशेष शैक्षिक योग्यता हासिल नगरीकन नगरकोटीका पुस्तकको पाठक बन्छ भने त्यो मानिस म जस्तैगरी अम्रिकाने शब्दहरूको पासोमा परेर मर्छ, र पनि किन मलाई नगरकोटीका पुस्तकका पाना पल्टाएर मर्न मन लागिरहन्छ ! मैले उहाँका पुस्तकमा पाउने भनेको पुलाउमा मिसिएको नरिवलजस्तो मात्र हो । म त्यही नरिवलको घोचालाई कुटुक्क चबाउन मरिहत्ते हाल्छु । यस दोचाभित्र मैले प्रशस्त मात्रामा नरिवलमा घोचा पाएँ, चबाउँदा मलाई मीठो स्वाद आएको छ ।
दोचाभित्र म नराम्रोसँग लोभिएको छु । यहाँ अनेक प्रसंगहरू छन् । पुस्तकको चर्चा, फिलिमको कुरा, अविस्मरणीय क्षणहरू, जयपुरको सेल्फी, चुरोटको चर्चा, पुस्तक पढ्दाको आनन्द, दोचाको प्रसंग, अण्डा चोर्दाको कुरा, मीठो मित्रता, इमानदार पुस्तकचोर, आदि.... । यो पुस्तक धेरै कुरा मिलेर पुलाउ बनेको छ । यसलाई म फेरि कुनै दिन दोस्रो चोटि पढेर कतै छुटेका घोचाहरूलाई चबाउने कोसिस गर्नेछु ।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८ ११:१९