‘मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम धेरै स्ट्रोङ छ । त्यसकारण अलिअलि सर्ला, यो तहमा वृद्धि हुन सक्दैन । तर, यस तहमा वृद्धि भयो । सामान्य इम्युन सिस्टमले पनि यसलाई रेसिस्ट गर्न सक्दोरहेनछ,’ २ जेठमा प्रधानमन्त्री केपी ओलीले कोरोना र नेपालीको रोग प्रतिरोधी क्षमताप्रतिको आफ्नो बुझाइ कमजोर रहेको स्वीकारे ।
यी उनै ओली हुन्, जो कोरोना कहरको एक वर्षसम्म कहिले अम्बाको पातले त कहिले बेसारपानीले कोरोना ठीक हुने आत्मविश्वासी अभिव्यक्ति निरन्तर दिइरहेका थिए । उनले २५ वैशाखमा पनि ओलीले सीएनएनलाई अन्तर्वार्ता दिँदै कोरोना महामारी सरकारको काबुमै रहेको दाबी गरेका थिए । जतिबेला अस्पतालमा बेड र अक्सिजन नपुगेर बिरामीले उपचार पाउन कठिन बनेको थियो, जुन अवस्था आज पनि उस्तै रहेको तथ्यले बताउँछ ।
कोरोनाको दोस्रो लहर संघारमा पुगेको समयमा उनले कोरोनाको नुस्खाका रूपमा अम्बाको पात खान सुझाएका थिए । ‘अम्बाका दुईवटा पात उमाल्दिउँ, बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट,’ कोरोना नियन्त्रणमा रहेको दाबी गरेको ठ्याक्कै महिना दिनअघि प्रधानमन्त्री ओलीले भनेका थिए । जतिखेर कोरोनाको दोस्रो लहर दैलोमा आइपुगिसकेको थियो ।
प्रधानमन्त्री ओलीले अम्बाको पातको चर्चा गरेकै दिन ३ सय ३२ जनामा कोरोना संक्रमण देखिएको थियो । यो संख्या दोस्रो लहर फैलिसकेको प्रस्ट संकेत थियो । त्यसको अघिल्लो दिन मात्र स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्नु भन्दै सूचना जारी गरेको थियो । ओलीले ‘अम्बा पात’ टिप्पणी गरेको पछिल्लो दिन नै स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री ओलीले सुनुवाइ नै गरेनन् ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीलाई सामान्य रूपमा लिएर टिप्पणी गरेको यो पहिलो पटक चाहिँ थिएन । गत वर्ष पहिलो लहर चलिरहँदा पनि ओलीले बारम्बार कोरोनामाथि भ्रामक टिप्पणी गरेका थिए ।
२०७६ चैत २९ मा कोरोना भाइरस ‘बोसीय तत्व’ भएको दाबी गरेका थिए । ४ असार २०७७ मा राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बेसारपानी खाएमा कोरोना नलाग्ने ठोकुवा गरेका थिए ।
नेपालीहरूको ‘इम्युनिटी’ (रोग प्रतिरोधी प्रणाली) बलियो भएको भन्दै राष्ट्रियसभामा भनेका थिए, ‘कोरोना भाइरस भनेको रुघाखोकी जस्तो हो । लागिहाल्यो भने हाच्छिउँ-साच्छिउँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ ।’
भारतमा कोरोना दोस्रो लहर देखिँदै गर्दा नेपालमा त्यसको असर पर्ने भन्दै विज्ञहरूले बारम्बार सजग रहन चेतावनी दिएका थिए । चिकित्सकहरूले अस्पतालमा बेड र अक्सिजनको व्यवस्था गर्नुपर्ने सरकारलाई सुझाव दिए ।
तर, प्रधानमन्त्री ओली कोरोना सुरु भएपछि नै आफ्नो दलभित्रको झगडामा अल्मलिए । तत्कालीन सत्तारुढ दल नेकपाका शीर्ष नेता पुष्पकमल दाहाल, माधवकुमार नेतपालले पनि आफ्नै दलका प्रधानमन्त्रीलाई महामारीतिर जिम्मेवार बनाउनभन्दा ओलीविरुद्ध मोर्चाबन्दी बनाउन समय खर्चिए ।
२३ फागुनमा सर्वोच्च अदालतले नेकपा एमाले ब्युँत्याइदिएपछि त प्रधानमन्त्री झनै आफूइतरको माधव नेपाल समूहसँगको किचलोमा व्यस्त बने । ओली र नेपाल समूह दुवैले भिड जम्मा गरिरहे । राजनीतिक दौडाहाको बीचमा प्रधानमन्त्रीले ओलीले २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर मेलम्ची खानेपानी आयोजनाको उद्घाटनमा भिडभाड जम्मा पारे ।
नयाँ वर्षको सुरुवातसँगै कोरोनाको दोस्रो लहर देशैभर फैलिसकेको थियो । वैशाख महिनाभर ओली र उनको दल आफ्नो सत्ता जोगाउने दौडाहामा सक्रिय भए । प्रदेशदेखि केन्द्रसम्म तुफानको गतिमा राजनीतिक घटनाक्रम भए । वायु वेगमा नेताहरूले कुर्सी जोगाउन चलखेल र दौडधुप गरे । बेड र अक्सिजन जुटाउन लाग्नुपर्नेहरू कुर्सी जोगाउन लागे । र, त्यही समयमा कोरोना पनि भुसको आगो जसरी फैलियो ।
१ वैशाखमा प्रधानमन्त्री ओलीले नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा सबैभन्दा कम प्राथमिकतामा पारेको विषय कोरोना थियो । कोरोना महामारीमाझ पनि २०७७ सफल भएको दाबी गरिरहेका प्रधानमन्त्रीले राजनीतिक खिचातानीकै विषयमाथि धेरै समय खर्चिए ।
२०७७ को पहिलो दिन पनि शुभकामना सन्देश दिँदै ओलीले स्वास्थ्य पूर्वाधारमा लगानी गर्ने वाचा गरेका थिए । तर, एक वर्षपछिको नयाँ वर्षमा उनले सुनाएका प्रगति विवरणमा स्वास्थ्य पूर्वाधारको नामोनिसान थिएन ।
यतिखेरसम्म उपत्यका बाहिरका अस्पतालमा बेड अभाव हुन थालिसकेको थियो । प्रधानमन्त्रीले सम्बोधन गरेकै दिन १ वैशाखमा ६ सय ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
संक्रमणको ग्राफ उकालो लाग्दै गर्दा २ वैशाखमा स्वास्थ्य मन्त्रालयले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर आफ्नो ख्याल आफैँ राख्नु भन्दै नागरिकका नाममा अपिल गर्यो ।
चिकित्सक र स्वास्थ्य मन्त्रालयले फागुनदेखि नै विद्यालय बन्द गर्नुपर्ने आग्रह गरिरहेका थिए । तर, ‘एन्टी करेन्ट’ कहलिने लोभमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नमानेपछि ३ वैशाखमा मात्र विद्यालय बन्द गरिए ।
यतिखेरसम्म विद्यालय उमेरका बालबालिकामा संक्रमण फैलिसकेको थियो । ३ वैशाखमा मात्र विद्यालय उमेरका (१९ वर्षसम्मका) ८१ जनामा संक्रमण देखिएको थियो ।
कोरोनाले नेपालगञ्ज, धनगढीलगायतका क्षेत्र आक्रान्त भइसकेका थिए ४ वैशाखसम्म । ४ वैशाखमै प्रधानमन्त्री ओलीले कोरोनाको आसन्न संकटलाई बेवास्ता गर्दै आफ्नो सत्ता संकट टार्न बालुवाटारमा सर्वदलीय बैठक डाके ।
माओवादी केन्द्रले पार्टीबाट निकाला गरेका गृहमन्त्री रामबहादुर थापाको सांसद पद गुमेपछि ५ वैशाखमा उनलाई फेरि गृहमन्त्रीमा पदस्थापन गरेकै दिन ८ सय ४३ जनामा कोरोना संक्रमण देखियो ।
संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि ६ वैशाखमा ३० बुँदे स्वास्थ्य मापदण्ड जारी भयो । भोलिपल्टै ७ वैशाखमा प्रधानमन्त्री ओलीले आफैँले बनाएको मापदण्ड उल्लंघन गर्दै राम, सीता र हनुमानका मूर्ति पूजाका लागि बालुवाटारमा भिड जम्मा पारे । त्यही दिन १ हजार ७ सय ३६ जनामा संक्रमण देखियो । बढिरहेको संक्रिमतको संख्याले महामारी समुदायस्तरमा फैलिसकेको संकेत गरिसकेको थियो ।
तर, ओलीको राममोह यतिमै राेकिएन । बालुवाटारबाट लावालस्करसहित ती मूर्ति चितवनको ठोरी पठाइए । चितवनमा ८ वैशाखमा हजारौँको संख्यामा उपस्थित भिडले मूर्तियात्रा र प्रतिस्थापन गर्यो । रामरथ यात्राको नेतृत्व गरेका थिए, पर्यटनमन्त्री भानुभक्त ढकालले । त्यसको केही समयपछि ढकालमा कोरोना संक्रमण पुष्टि भयो । ढकालले मापदण्ड लत्याउँदै रामरथ यात्रा गराएकै दिन प्रधानमन्त्री ओली भने आफ्नो पार्टीकै अर्को गुटका नेता माधव कुमार नेपालसँग मेलमिलाप वार्ताका लागि होटल मेरियटमा थिए ।
त्यही क्षण हो, स्वास्थ्य मन्त्रालयले नागरिकलाई त्रसित बनाउँदै सरकारले महामारी व्यवस्थापनबाट हात उठाएको संकेत गर्ने सूचना जारी गरेको । ‘अवस्था खराब हुँदै जाने देखिन्छ भिडभाड नगर्नु । आफ्नो ज्यानको आफैँ जिम्मेवार हुनु, संक्रमित भएमा उपचार खर्च पनि आफैँ ब्यहोर्नु’ मन्त्रालयको सूचनाले भन्छ ।
भोलिपल्ट ९ वैशाखमा पनि ओली र नेपाल मेरियटमै थिए । होटलको झ्यालबाट ओली र नेपालले धरहरा नियालिरहँदा नेपालगञ्जमा कोरोना संक्रमण थेगिनसक्नु भएर निषेधाज्ञा लागिसकेको थियो । अस्पताल बिरामीले भरिभराउ थिए । ९ वैशाखमा पार्टीको काममा व्यस्त भएका ओलीले एमालेको थापाथाली स्थित नयाँ पार्टी कार्यालय उद्घाटन गरे । बल्खुमा निर्माण गर्ने भनिएको पार्टी कार्यालयको शिलान्यास पनि गरे ।
लुम्बिनी प्रदेशमा बढिरहेको कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने समयमा १० वैशाखमा मुख्यमन्त्री शंकर पोखरेल बालुवाटरमा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमीटिको बैठकमा पुगे ।
मास्क अनिवार्य भइसकेको समयमा पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लुम्बिनी र गण्डकीका मुख्यमन्त्री क्रमशः पोखरेल, पृथ्वीसुब्बा गुरुङसँग बिना मास्क बालुवाटारको आँगनमा खिचाएको फोटो ट्वीटरमा राखे । ११ वैशाखमा धरहरा उद्घाटनका नाममा ओलीले कोरोनालाई गिज्याउने गरी उस्तै भिड जम्मा पारे । यही दिन २ हजार ६ सय १९ जनामा कोरोना संक्रमण देखियो भने १४ जनाको मृत्यु भयो ।
१२ वैशाखमा स्वास्थ्य मन्त्रालयले अचम्मको विज्ञप्ति निकाल्यो । सञ्चारमाध्यमलाई मास्क नलगाउने व्यक्तिको समाचार प्रकाशन नगर्नु भन्दै जारी सूचनामा सरकारले गर्ने र गरेका कामभन्दा नागरिकलाई जिम्मेवार हुन उर्दी थियो ।
१५ वैशाखमा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने दिन गुरुङको पद जोगाउन सांसद खिमविक्रम शाहीलाई आईसीयूमा पुर्याइयो ।
सत्ता जोगाउने चक्रव्यूहमा परेर संक्रमित हुन कि होइनन् भन्नेमा नै शंका रहेका सांसद शाहीलाई आईसीयू बेडमा पुर्याइँदा स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले विचौलियाका कारण खोप रोकिएको बताउँदै सरकार लाचार भएको सुनाउँदैथिए ।
कोरोना नियन्त्रणमा लिने भन्दै १६ वैशाखमा काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरियो ।

काठमाडौ उपत्यकामा निषेधाज्ञा लगाएको पछिल्लो दिन नै सरकारले हार खाएको घोषणा गर्यो । अस्पतालमा बेड भरिँदा उपचारमा समस्या भएको स्वीकार्दै नागरिकलाई संवेदनशिल हुन अपिल गर्दै सरकारले अवस्था नियन्त्रण बाहिर गयसकेको बतायो । त्यसदिन ५ हजार ७ सय २७ जना संक्रमित भए ।
उपचारको व्यवस्था गर्नुपर्ने समयमा १८ वैशाखमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले शव व्यवस्थापन गर्ने स्थानका लागि ठाउँ खोज्नुपर्ने भन्दै पशुपति विकास कोषलाई आग्रह गर्यो । नभन्दै १९ वैशाखको रातिदेखि विद्युतीय शवदाह गृहले मात्र नधानेपछि बागमती किनार र शवदाह गृह पछाडिको चौरमा शव जलाउन सुरु गरियो ।
कोरोनाको ‘हटस्पट’ बनेको नेपालगञ्जमा अक्सिजन अभाव भयो । स्वास्थ्यकर्मी अभाव भएर भेरी अस्पतालले जनशक्तिको गुहार माग्यो । तर, सरकारले स्वास्थ्यकर्मी पठाउनुको सट्टा अनुगमन टोली पठाएर टार्यो ।
नेपालगञ्जले बारम्बार गुहार मागेपछि १३ वैशाखमा ८० जना स्वास्थ्यकर्मी नेपालगञ्ज पठाउने निर्णय भयो । निर्णय भएको एक सातापछि १९ वैशाखमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रवीण गिरीको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज पुग्यो ।
यतिखेरसम्म नेपालगञ्जको अवस्था नियन्त्रणबाहिर गइसकेको थियो । त्यसमाथि ६ जना स्वास्थ्यकर्मीको टोलीले त्यहाँ केही पार लगाउन सकेन । स्वास्थ्यकर्मी र अक्सिजनका लागि दौडधुप गर्नुपर्ने समयमा १९ वैशाखमा लुम्बिनी प्रदेशमा बिजुली गतिको राजनीतिक दौड चल्यो । बिहानै मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले साँझ नपर्दै फेरि मुख्यमन्त्रीको पद हात पारे । यही गतिमा अस्पतालमा बेड र अक्स्जिन पुर्याएको भए धेरैले अकालमा ज्यान गुमाउनु पर्दैन थियो ।
अचम्म त यो भयो कि आफ्नो प्रदेशमा फैलिएको कोरोनाबारेमा फेसबुके स्टाटसबाहेक अर्थपूर्ण एक शब्द पनि बोलेनन् पोखरेलले । पोखरेल पुनः मुख्यमन्त्री बनेको दिन ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण देखियो ।
प्रदेशबाट सत्ताको खेल फेरि केन्द्रमा सर्यो । प्रधानमन्त्री ओलीले २० वैशाखमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेर गण्डकीमा गुरुङको सरकार जोगाउन भूमिका खेले ।
राजनीतिक दौडाहाको एक चक्कर लगाइसकेपछि २० वैशाखमा थोरै फुर्सद पाएका प्रधानमन्त्रीको ध्यान महामारीतिर मोडियो । उक्त दिन राष्ट्रका नाममा सम्बोधन गरेका ओलीले आधा समय त पहिलो लहरको कोरोना नियन्त्रणमा सफलता पाएको कहानी सुनाए । ओलीले ‘सबै स्थानीय तहमा ५ देखि १५ शैथ्याका आधारभूत अस्पताल निर्माण र केन्द्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीव्रता दिइएको,’ दाबी गरे ।
‘निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ,’ सम्बोधनमा ओलीले भनेका थिए । तर, निषेधाज्ञाका कारण रोजगारी गुमाएका मजदुर र श्रमीकलाई सरकारले नभई मनकारी नागरिकले खाना खुवाइरहेका छन् ।
उक्त सम्बोधनमा ओलीले ठूला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिनेछ, बिग्रेकालाई सञ्चालनमा ल्याइनेछ, लिक्विड अडिस्जन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दाता राखिनेछ जस्ता वाचा मात्र सुनाए, बन्दोबस्त गरेनन् । मेडिकल कलेजहरू सरकारले लिएर संचालन गर्ने घाेषणा समेत गरे । त्याे पनि व्यवहारमा लागू भएन ।
‘गरिनेछ’ भन्ने शब्दको प्रयोगमाथि टिप्पणी गर्दै गत वर्ष संसदमा प्रदिप गिरिले भनेका थिए, ‘यो गरिनेछ यसरी नै गरिने हो भने, गरिनेछको ठाउँमा मरिनेछ लेख्नुपर्छ ।’
ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका दिन ७ हजार ४ हजार ४८ जनामा संक्रमण देखिएको थियो । सम्बोधनको दुई दिनपछि (२२ वैशाखमा) ओली दलबल बोकेर आफ्नो सत्ता जोगाइ माग्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगे ।
देशमा अक्सिजनको हाहाकार मच्चिसकेको थियो । संक्रमितहरू अक्सिजनको अभावमा छटपटाउन थालिसकेका थिए । २३ वैशाखमा स्वास्थ्य मन्त्रालयले व्यवसाय र उद्योगमा रहेका अक्सिजन उपलब्ध गराइदिन याचनासहित विज्ञप्ति निकाल्यो ।
सांसद पद गुमिसकेका गृहमन्त्री फेरि सांसद बन्ने आकांक्षासहित २४ वैशाखमा हेलिकप्टरमा सवार भएर उम्मेदवारी दर्ता गराउन हेटौँडा पुगे । जतिखेर कोरोना संक्रमित अस्पताल जाने एम्बुलेन्स नपाएर मरिरहेका थिए । र, यही दिन ९ हजार १ सय १६ जनामा कोरोना संक्रमण देखियो भने ५० जनाको मृत्यु भयो ।
त्यही दिन प्रधानमन्त्री ओलीले सीएनएनसंगको अन्तर्वार्तामा नेपालमा कोरोना नियन्त्रणमा रहेको दाबी मात्र गरेनन् कोरोना फैलिनुमा सरकार नभई नागरिक दोषी रहेको आरोप थोपरे ।
प्रधानमन्त्रीले कोरोना नियन्त्रणमा रहेको दाबी गरेको पछिल्लो दिन (२५ वैशाख) मा अध्यादेश ल्याएर संवैधानिक परिषद्को बैठक बोलाए । सोही दिन राजधानीका मेडिकेयर अस्पताल, नेपाल-भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर, हेल्पिङ ह्याण्डस सामुदायिक अस्पतालले अक्सिजन अभावका कारण कोरोना संक्रमित बिरामी लिन नसक्ने घोषणा गरे ।

अक्सिजन र बेडको अभावमा स्वास्थ्यकर्मी निरीह भएर संक्रमितको मृत्यु हेरिरहेको समयमा एमालेमा विवाद उत्कर्षमा थियाे । २६ वैशाखमा असन्तुष्ट माधव नेपाल पक्ष राजीनामाका लागि संसद भवन पुगेका बेला उनीहरूलाई राेक्न दूत पठाए, वक्तव्य निकाले । २६ वैशाखमै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिए ।
२७ वैशाखमा ओली संसदमा विश्वासको मतका लागि उभिए । त्यहाँ उनले महामारीलाई पन्छाउँदै आरोप-प्रत्यारोप र राजनीतिक खिचातानीका कुरा बढी गरे ।
२७ वैशाखमा स्वास्थ्य मन्त्रालयबाट अक्सिजन वितरणको जिम्मेवारी उपप्रधानमन्त्री नेतृत्वको सीसीएमसीले खोस्यो । अस्पताललाई कोटा प्रणालीमा अक्सिजन वितरण गर्ने प्रयास गर्यो सीसीएमसीले ।

त्यही दिन सरकारले अन्तर्राष्ट्रिय सहयोगी संस्थालाई सहयोगका लागि अपिल गर्यो ।

२८ वैशाखमा मेडिसिटी अस्पताल, नेपाल मेडिकल कलेज, सल्यान अस्पताल, भरतपुर अस्पतालले अक्सिजन अभावका कारण कोरोना संक्रमित बिरामी लिन नसक्ने घोषणा गरे । परिणाम, अक्सिजन अभावमा १४ जनाको मृत्यु भयो । देशभरमा २ सय २५ जनाभन्दा धेरैले कोरोनाबाट ज्यान गुमाए ।
त्यही दिन गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले कोरोना महामारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स बनाएको टिप्पणी गरे । २९ वैशाखमा गण्डकी प्रदेशमा गुरुङ फेरि प्रदेशसभाकाे ठूलाे दलकाे संसदीय नेताका हैसियतमा मुख्यमन्त्री पदमा फर्किए ।
२० वैशाखको सम्बोधनमा ओलीले ‘कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरेको,’ दाबी गरेका थिए ।
तर, २९ वैशाखमा स्वास्थ्य मन्त्रालयले आयन हेल्थकेयरमा रेम्डेसिभिर किन्न जानु भन्दै सूचना जारी गर्यो ।

यही दिन नेपाल चिकित्सक संघले राष्ट्रपति, प्रधानमन्त्री र सम्पूर्ण राजनीतिक दललाई सम्बोधन गर्दै जनताको जीवन रक्षा भन्दा ठूलो मुद्दा अरु हुन नसक्ने भन्दै सिंगो राष्ट्र एक ठाउँमा उभिएर जनताको जीवन रक्षाका लागि पहल गर्न अपिल गर्यो, ‘अस्पतालमा दिनरात खटेका हाम्रो मन खिन्न हुन्छ, उदेक लाग्छ र प्रश्न गर्न मन लाग्छ के नेतृत्वदायी भूमिकामा रहेकाहरूका लागि जनताको जीवनभन्दा ठूलो अरु केही हुन सक्छ ?’
संघले गत वर्ष साउनमै कोरोना महामारी फेरि आउन सक्ने भन्दै सचेत रहन सुझाएको थियो । त्यतिखेर उसले ६ बुँदे सुझाव पनि दिएको थियो । दोस्रो लहर आइसकेपछि १३ वैशाखमा पनि संघले सरकारलाई ११ बुँदे सुझाव दिएको थियो ।
संसदमा विश्वासको मत गुमाएका ओली फेरि ३० वैशाखमा प्रधानमन्त्री नियुक्त भए । लगत्तै ओलीले अस्पतालमा बेड अभाव नभएको दाबी गरे । जब कि अस्पतालको पिँढी, चोटा र कुर्सी समेत कोरोना संक्रमितले भरिएका थिए । ओली प्रधानमन्त्री नियुक्त भएकै दिन कोभिड केन्द्रित अस्पताल भनिएको वीर अस्पतालमा १२ जना र ट्रमा अस्पतालमा ६ जनाको अक्सिजन अभावमा प्राण पखेरु उड्यो ।
पद र सत्ता जोगाउन भन्दै ३० वैशाखमै ओली र माधव नेपालबीच छलफल भयो । अस्पतालमा अक्सिजन र बेड व्यवस्था गर्न नसकेको सरकारले आफ्नो कुर्सी जोगाउन जसपा नेता महन्थ ठाकुरको क्षेत्रमा रकमान्तर गरेर ३ अर्बभन्दा बढी बजेट पठायो ।

त्यही दिन २ सय १४ जनाले ज्यान गुमाए । करिब ९ हजार नयाँ संक्रमित थपिए । अक्सिजनको चरम अभावका कारण एक सयभन्दा बढी बेड भएका अस्पतालाई १५ दिनभित्र अक्सिजन प्लान्ट बनाउन निर्देशन दिइयो ।
१० दिनअघि मात्र ओलीले अक्सिजन प्लान्ट ‘राखिनेछ’ भनेर वाचा गरेका थिए । निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन आफ प्राइभेट हेल्थ इन्स्टिच्युट आफ नेपाल (अफिन) ले सरकारको निर्देशन अव्यवहारिक भएको बताइसकेको छ ।
३१ वैशाखमा प्रधानमन्त्री ओलीले गोदावरीमा ३ हजार मानिस अट्ने सनराइज सम्मेलन केन्द्रको उद्घाटन गरे । ३१ वैशाखमै प्रधानमन्त्री ओलीले पार्टीकै अर्को खेमा नेपाल पक्षसँग बालुवाटारमा भेटघाट गरे । उनीहरूको छलफल कोरोना संकटमा केन्द्रित नभई पार्टीगत विवाद समाधानका लागि थियो । यही दिन स्वास्थ्य मन्त्रालय भने अक्सिजन सिलिण्डर खोजी गर्दै थियो । मन्त्रालयले अस्पतालमा अक्सिजन अभाव भएको हुँदा चिकित्सकको सिफारिस बिना अक्सिजन नराख्न आग्रह गर्दै विज्ञप्ति निकाल्यो ।

सरकारको लाचारीपन देखेर खाडीमा श्रम गर्न गएका नेपालीले आफ्नो गाँस कटाएर १ जेठमा अक्सिजन सिलिण्डर पठाए ।
२० वैशाखमा प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा ‘हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔँ । चिकित्सक, विज्ञ तथा प्राविधिकहरूको सल्लाहलाई पालना गरौँ’ भनिरहँदा त्यसअगाडि उनी आफैँले ‘हाच्छिउँ’, ‘रुघाखोकी’, ‘बेसारपानी’ र ‘अम्बाको पात’ भनेर कोरोना केही होइन भन्दै अफवाह फैलाएकोप्रति भने कुनै ग्लानीबोध गरेको देखिएन ।
२८ जेठ, २०७७ मा संसदलाई सम्बोधन गर्दै ओलीले नेपालीको प्रतिरोधी क्षमता बलियो भएको दाबी गरेपछि सांसद गगन थापाले सोधे, ‘हाम्रो रोग प्रतिरोधी क्षमता बढी छ भनेर कसले भन्यो ?’
जवाफमा ओलीले भने, ‘भर्खरै सुन्नुभयो नि मैले भनेको ।’
एक वर्षपछि ओलीले कोरोनासम्बन्धी आफ्नो बुझाइ गलत रहेको स्वीकार गरेका छन् । २ जेठमा ओलीले आफ्नो बुझाइ कमजोर भएको स्वीकार्दै भने, ‘मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम धेरै स्ट्रोङ छ । त्यसकारण अलिअलि सर्ला, यो तहमा वृद्धि हुन सक्दैन । तर यस तहमा वृद्धि भयो । सामान्य इम्युन सिस्टमले पनि यसलाई रेसिस्ट गर्न सक्दोरहेनछ ।’
अफसोच यतिखेरसम्म प्रधानमन्त्रीले मामुली ठानेको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार नाघिसकेको छ । अस्पतालमा थुप्रै बिरामी गम्भीर हालतमा छन् ।
प्रधानमन्त्रीले कोरोनाको दोस्रो लहर सुरु हुँदा अम्बाको पातको बयान गरेको दिन (२६ चैत) सम्म ३ हजार ३८ जनाको मृत्यु भएको थियो । त्यस यताका ३९ दिनमा मृत्यु हुने संख्या २ हजार थपियो । र, आज नेपलले सुरुमा कोरोना संक्रमण फैलिएको देश चीनलाई पनि मृतकको संख्यामा उछिनेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८ १६:०२