वैशाख लागेदेखि नै अस्पतालमा चहलपहल व्यापक छ । कोरोना संक्रमितका आफन्त बेड पाउने आसमा अस्पतालमै आउँछन् । त्यतिमात्रै होइन, बेड मिलाइदिन भन्दै फोन तारन्तार बजिरहन्छ ।
गण्डकी सरकारको संक्रामक तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी बलबुताले भ्याएसम्म सेवामा छन् । अस्पतालको ५० बेडबाहेक इमर्जेन्सीको पाँच बेड पनि संक्रमितले नै भरिएको छ । आइसोलेसन र इमर्जेन्सीका शय्यामा पल्टिरहेकाहरू डाक्टर र नर्सले निको बनाएर घर फर्काइदिन्छन् भन्ने आसमा छन् ।
उपचाररत बिरामीलाई स्वस्थ घर फर्काउन सरुवा रोग अस्पतालमा खटिने मध्येकी हुन्, नर्स नम्रता बास्तोला । अस्पतालको नर्सिङ इन्चार्ज बास्तोला गत २६ साउनयता निरन्तर संक्रमितको उपचारमा संलग्न छन् । सुरुमा कोरोनाबारे थाहा थिएन, बिरामी देखेपछि डराउँथिन् । आजकल लक्षणसहितका बिरामी भए पनि उपचारमा खटिन उनलाई बानी परिसक्यो ।
‘पहिलाको कोभिड लक्षण देखिने खालको थिएन । त्यतिखेर केही बुझिएको थिएन । पीपीई लगाएर जाँदा पनि डर लाग्थ्यो,’ २६ वर्षीया नम्रता अनुभव सुनाउँछिन्, ‘आफू सुरक्षित भए काम गर्दा केही नहुँदो रहेछ भन्ने हुँदै गयो । अहिले बिरामी पनि लक्षणसहितका आउनुहुन्छ । त्यहीअनुसार हामी खुल्दै गयौँ ।’
आइसोलेसनको ५० बेड र इमर्जेन्सीको पाँच बेडमा पनि संक्रमित छन् । आठ जना नर्स र दुई प्यारामेडिक्सले दिनरात र बिदा नभनी संक्रमितको हेरचाह गर्नुपरेको छ । साउनदेखि नर्सिङ इन्चार्जको जिम्मेवारी सम्हालेकी नम्रता पनि प्रायः अस्पतालमै भेटिन्छिन् ।

कोरोना महामारीले नम्रतालाई आफ्नो पेसाप्रति अझ दृढ बनाएको छ । ‘कोरोनाले सिका'कोचाहिँ जोगिएर जोगाउने भन्छौँ । तर, मरेर पनि जोगाउनुपर्ने स्थिति रहेछ यो । महामारीको बेला पछि हट्नु भएन,’ उनले सुनाइन् ।
इमर्जेन्सीमा काम गर्दागर्दै कहिलेकाहीँ शंकास्पद बिरामी आइहाल्छन् । त्यस्तोबेला मास्ककै भरमा बिरामी व्यवस्थापन गर्नुपरेको नम्रताले सुनाइन् । ‘बिरामी इमर्जेन्सीमा आउँछन् । त्योबेलामा हामी पीपीईमा हुँदैनौँ,’ उनले थपिन्, ‘अनि एउटा मास्कको भरमा म्यानेज गरेका हुन्छौँ । पीपीई लगाउन दौडने कि बिरामी समाउने भन्ने हुन्छ ।’
बेड खोज्दै अन्य प्रदेशबाट पनि फोन आइरहेको उनले बताइन् । अहिलेको कोरोना संक्रमण र मृत्युदर हेर्दा अवस्था झनै भयावह हुने नम्रताको आँकलन छ । किनकि अहिले प्रायः बिरामी अक्सिजन चाहिने खालका छन् र घरमै बस्न सम्भव छैन ।
अस्पतालसम्म आइपुग्दा बिरामीको अक्सिजन लेबल ७० प्रतिशतभन्दा कम हुने गरेको उनले सुनाइन् । ‘अहिले आउने बिरामीलाई एकदम गाह्रो भएको देख्छु । जेजस्तो भए पनि आफ्नो ज्यान जोसुकैलाई पनि अमूल्य हुन्छ,’ नम्रता भन्छिन्, ‘आफूले एउटा ज्यान बचाउन सक्यो भने जीवनमा केही न केही थपिएजस्तो महसुस हुँदो रहेछ ।’
उपचार गर्दागर्दै पनि कोही बिरामीको ‘प्रोग्रेस रेट’ राम्रो हुँदैन । जनशक्ति नहुँदा अस्पतालको आईसीयू, भेन्टिलेटर चलेको छैन । ‘प्रोग्रेस रेट’ नभएकालाई अरु अस्पतालमा रेफर गर्नुपरे पनि बेड पाउन निकै सकस छ । गम्भीर बिरामीलाई रेफर गर्न पनि बेड नपाउँदा निकै दुःख लाग्ने नम्रता सुनाउँछिन् ।
‘कुनैकुनै बिरामीको प्रोग्रेस रेट राम्रो हुँदैन । अनि रेफर गर्न पर्यो भने बेड पाइँदैन,’ उनी गम्भीर मुद्रामा देखिन्छिन्, ‘यो बिरामीलाई पठाउन पाए राम्रो हुन्थ्यो कि भन्ने हुन्छ । काम गर्दागर्दै पनि सुधार नभएपछि एकदम दिक्दार लाग्छ ।’
गम्भीर बिरामीलाई सकेसम्म रेफर गरिने भएकाले सरुवा रोग अस्पतालमा मृत्युदर न्यून छ । दोस्रो लहरमा सुरुबाटै बिरामीको उपचार थालेको अस्पतालमा चार जनाले ज्यान गुमाएका छन् । पोहोर २६ साउनयता सरुवा रोग अस्पतालमा पाँच सय हाराहारी संक्रमितको उपचार भइसकेको छ । यही अस्पतालमा बसेर सामाजिक विकासमन्त्री नरदेवी पुनले कोरोना जितिन् ।
उपचार गराएर घर फर्किएका बिरामीको रेस्पोन्सले नम्रतासहितको टिमलाई काममा अझै हौसाएको छ । हप्ता दिन पहिला कोरोना संक्रमित युवक बेड खोज्दै सरुवा रोग अस्पताल पुगे । बेड खाली थिएन, उनी मानेनन् । इमर्जेन्सीमा राखरे रिपोर्ट जाँच गरेपछि भर्ना हुनुपर्ने देखियो । त्यसपछि पोखराकै मेडिप्लस अस्पतालमा उनलाई रेफर गरियो ।
‘यहीँ उपचार गराएर गएको बिरामीको आफन्त हुनुहुँदो रहेछ । बेड नभए पनि यहीँ बस्छु कि बस्छु भनेपछि इमर्जेन्सीमा राखियो । पछि कन्भिन्स गराएर अर्कोमा पठायौँ,’ नम्रताले सुनाइन् ।
जनशक्ति नहुँदा सरुवा रोग अस्पतालमा एक जना नर्स सातै दिन २४ घन्टा खटिनुपर्ने बाध्यता छ । आफ्नो ड्यूटी सकेपछि कोरोना परीक्षण गराएर मात्रै त्यहाँका स्वास्थ्यकर्मी घर जान्छन् । कोरोनाविरुद्धको युद्ध मैदानमा रहेकी नम्रतालाई आफूलाई कोरोना लाग्छ भन्ने डर छैन, डर बुढ्यौलीले छोएका बा–आमालाई केही हुन्छ कि भन्ने छ ।
‘आइसोलेसनमा बसेर घर जाँदा चेक गराइन्छ । त्यतिबेला घर जाँदा डर लाग्दैन,’ उनी गम्भीर देखिइन्, ‘तर, इमर्जेन्सीमा बस्दा धेरै घुलमिल हुनुपर्छ । आफूलाई लाग्छभन्दा पनि परिवारमा पुग्छ कि भन्ने पिर हुन्छ ।’
नम्रताका श्रीमान् पनि डाक्टर हुन् । त्यसैले काममा परिवारबाट उनलाई कुनै रोकतोक छैन । नम्रताकी सासू-आमा दम र मुटुको दीर्घरोगी छन् । ससुरा बालाई रक्तचाप र युरिक एसिडको समस्या छ । घर गए पनि उनी आमा–बासँग सकेसम्म नजिक पर्दिनन् ।

जुन भाइरसविरुद्धको लडाइँमा नम्रता होमिएकी छन्, त्यसले अहिलेसम्म उनलाई छुन सकेको छैन । भ्याक्सिन लगाएकाले कोरोनाले छुँदैन कि भन्नेमा नम्रता आशावादी देखिन्छिन् ।
‘२४ घन्टा पोजेटिभसँग सम्पर्क भएपछि कुनै दिन पोजेटिभ आउँछ–आउँछ । जति जोगिन्छु भने पनि गाह्रो छ, मास्कको भरमा हो,’ उनी थप्छिन्, ‘अहिलेसम्म पोजेटिभ भएको छैन । मास्कले हो कि भ्याक्सिनले जोगाएको छ भन्ने लाग्छ । भ्याक्सिनले हो कि !’
प्रदेश सरकारले लायन्स सामुदायिक अस्पताललाई आफू मातहत ल्याएर सरुवा रोग अस्पताल बनाएको थियो । कोरोना संक्रमितकै उपचार गर्नुपरेकाले सामुदायिकबाट सरकारी हुँदा खासै फरकपन महसुस नभएको नम्रताले बताइन् । दुई वर्ष पहिला तत्कालीन लायन्स सामुदायिक अस्पतालामा काम थालेकी उनी अरु नर्सले जस्तै नर्सिङ व्यावसायिक पेसा बन्न नसकेको गुनासो गर्छिन् ।
‘दुःख गरेर पढेपछि न्यून तलबभन्दा पनि काम किन नगर्ने भन्ने हुन्छ । अनि थोरै पैसामा पनि काम गर्छन् । म भए पनि त्यही गर्थेँ । नर्स धेरै भएपछि प्राइभेट अस्पतालले थोरै पैसा दिएर काम कजाए,’ उनले यथार्थ सुनाइन् ।
कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले भत्ता नपाएर धर्ना नै बसे, कति अस्पतालमा सेवा नै रोके । प्रदेश सरकारले आफ्नै अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमितको उपचारमा खटिए पनि जोखिम भत्ता दिन सकेको छैन । अस्पतालका कर्मचारी भत्ताकै लागि कामबाट हात उठाउने पक्षमा छैनन् । ‘भत्ता आउला नआउला काम गरिएकै छ । अहिले त आउँछ भन्ने आशा पनि छैन,’ नम्रता जिम्मेवारीप्रति दृढ देखिइन् ।
स्वास्थ्यकर्मी र अस्पतालको सेवालाई लिएर बिरामी र उनीहरूका आफन्त पनि सकरात्मक छन् । ९ दिनदेखि आमालाई सरुवा रोग अस्पतालमा उपचार गराइरहेका एक युवकले सेवासँगै स्वास्थ्यकर्मीको सेवा पनि राम्रो रहेको बताए । ‘अरु हस्पिटलमा बेड नपाएपछि यहाँ ल्याएको एक हप्ता भयो । औषधि सबै नर्सहरुले ल्याइदिनुहुन्छ,’ ती युवकले भने, ‘जटिल बिरामीलाई सिसी क्यामरा नजिकबाट जतिबेला पनि हेरिराख्नुहुन्छ । यो सिस्टम राम्रो लाग्यो ।’
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८ १९:२३