साँझको समय । केन्द्रीय टर्मिनल बसपार्क भरतपुरमा निषेधाज्ञाका बाबजुद घर फर्कनेहरूको भिड लाग्छ । सबैको आ-आफ्नै समूह देखिन्छ । त्यस्तैमा सोमबार चार/पाँच जनाको समूह केन्द्रीय टर्मिनल भरतपुर बसपार्क आइपुग्यो । साथमा झिटिगुन्टा ।
केही थैलामा त केही झोलामा । २०/२१ वर्षे भर्खरका युवाहरू । अनुहारमा गहिरो अनिश्चतता र हतासता सजिलै देखिन्थ्यो । केहीले मास्क चिउडोमा लगाएका थिए भने केहीले नाकमुनि मुख छोपिउञ्जेल मात्र । रोडको छेउमा सबै झोला थुपारेर बसको पर्खाइमा बसेका यी युवाहरूका आ–आफ्नै कथा थिए ।
सुरज उराव । वर्ष २१ । घर भोग्राह गाउँपालिका, भोग्राह, सुनसरी । घरमा आयको गतिलो स्रोत नभएपछि दुई महिनाअगाडि राम्रो कमाइको आसले उनलाई चितवन तानेको थियो, तर सुनेको र सोचेको जस्तो केही भएन । आएको केही महिनामै फेरि कोरोनाको कहर र निषेधाज्ञा सुरु भयो । काम गरे पनि ठेकेदारले ज्याला भने दिन कञ्जुस गरे । भोलि–भोलि भनी टार्दै अन्तत: ठेकेदार सम्पर्कविहीन भए र अन्तत: भएको एउटा मोबाइल पनि बेचेर घर हिँडे ।
उराव उमेरले भर्खर २१ वर्षमा लागे । तर, जिम्मेवारीले भने उनी श्रीमती र एक छोराको बुबा हुन् । परिवार चलाउनुपर्ने जिम्मेवारीलाई पूरा गर्न चितवन आएका उनलाई निषेधाज्ञासँगै खानबस्नकै समस्या भयो । भइरहेको काम बन्द भयो । अनि बन्द भयो ठेकेदारको फोनसम्पर्क । उनी भन्छन्, ‘आफैँले चिनेको अंकलले महिनाको ३०/४० हजार त हुन्छ भनी फकाइफुलाइ ल्याए ।'
यहाँ आएपछि खान पुग्ने पैसा नि पाइएन,’ उनले थपे, ‘निषेधाज्ञा लागू भएपछि साहुले पैसा देला भनेर यतिका समय कुरियो । नदिएपछि भएको एउटा मोबाइल पनि साथीलाई ३ हजारमा बेचेर घर हिँडेको हुँ ।’ भरतपुर, नारायणपुरमा एक मैदा बनाउने फ्याक्ट्रीमा सामान लोडिङको काम गर्थे उनी ।

८ कक्षासम्म मात्र अध्ययन गरेका सुरज उरावलाई फ्याक्ट्री र ठेकेदारको नामबारे अञ्जान छन् । दिनको १२० रुपैयाँ, काम भए नि नभए नि खानाको कटौती भएर बाँकी मात्र पाइने ज्याला जम्मा ६ हजार ५ सय ८० रुपैयाँ लिन बाँकी रहेको बताउने दासले घर रित्तै हात फर्कनुपर्दा ग्लानि महसुस भएको सुनाए ।
'घरमा श्रीमती र छोरा छन्, खान लाउन पर्यो । केही हुन्छ कि भनी आएको आज खाली हात फर्कनुपरेको छ । भएको एउटा मोबाइल पनि बेच्नुपर्यो,' उनले निराश हुँदै सुनाए ।
अर्का २० वर्षीय युवा अजय उराव । साइनोले सुरजका भाइ पर्ने । उनले पनि उस्तै दु:खेसो सुनाए । 'शहर हेर्दा सुन्दर देखिए पनि यहाँ बाँच्न भने गाह्रो रहेछ, आफूले मेहनत गरेर आर्जेको पैसा पनि पाइन्न । अब यो शहर म फर्केर पनि आउँदिनँ,' उनले शहरप्रतिको मोह र दिक्दारी एकैपटक सुनाए ।
त्यही समूहका अर्का युवक कर्मिक दासले पनि त्यही नैराश्यता दोहोर्याए, 'काम गरेको पैसा ठेकेदारले सबै दिएन, जम्मा ५ हजार रुपैयाँ मात्र दिए । बाटो खर्चमै आधा त सकिन्छ । परिवारलाई के खुवाउने ?’
अरु बेला प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्नेमा तर अहिले भने १ हजार २ सय रुपैयाँ तिरेर जान लागेको सबैले बताए । भाडादर अति नै महँगो भए पनि यहाँ बस्ने कुनै आधार नभएपछि जति भए पनि तिरेर जान लागेको बाध्यता उनीहरूले सुनाए । पैसा अग्रिममै बसले लिइसकेको तर हातमा कसैको टिकट भने थिएन । 'पैसा दिनुस्, बस आउँछ भने । तर, यतिका बेरसम्म बस आइपुगेको छैन,' त्यही समूहका एक युवकले शंका व्यक्त गरे ।
झपक्कै अँध्यारो भयो । बल्ल बस आयो ! ‘ल ल छिटो चढिहाल्नुस्,’ गाडीबाट झरेर एक युवा कराए । सबैले हतारहतार झोला उठाएर गाडी चढे ।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८ १८:११