देश कुनै एउटा सिमानाभित्रको भूगोल मात्र होइन । हुने भए, एउटा देश छोडेर अर्को देशमा पुग्ने मान्छे त्यही देशको भइहाल्नुपर्ने, नयाँ देशले उसलाई पुरानो देशले जसरी नै अँगाली हाल्नुपर्ने !
बरु देशको मायाले जानेहरूलाई जति पर पुग्यो, उति नजिक-नजिक ल्याउँछ ।
टाढा पुगेपछि देश सिङ्गो सिमानाभित्रको भूगोल रहँदैन । यो विभिन्न स्वरुपमा मान्छेमा रहन्छ । कहिले मनपर्ने खानेकुराको स्वाद भएर रहन्छ । कहिले आफूले मनपराउने ठाउँको तस्वीर भएर रहन्छ । कहिले आफूले सानैदेखि देखेको कुनै सपनाको हिस्सा भएर रहन्छ ।
देश बास्ना, स्वाद, दृश्य, महसुस, याद सबै भएर एउटा मान्छेको वरपर घुमिरहन्छ । भाषाको सानो टुक्रो भएर बोल्छ । आत्मीयताको सानो हिस्सा भएर मिल्छ । आफ्नो देशको मान्छेलाई परिचय नगरी चिन्छ । उसको बोलीमा देश भेट्छ ।
देशबाट टाढा पुगिसकेपछि उसलाई देशमा हुँदा कहिल्यै थाहा नभएको माया लाग्छ । आफ्नो भाषाको सङ्गीत, फिल्म, साहित्य, सबैले पहिला महसुस गरेभन्दा फरक तरिकाले छुन्छ ।
खाडी मुलुकमा काम गर्न जानुभएको एक जना काकालाई घरबाट बुबाले के पठाइदिऊँ भन्दा 'एउटा नेपाली पात्रो पठाइदिनू' भन्ने कहानी सुनेको थिएँ सानोमा । उनका लागि त्यो पात्रो र त्यसमा भएका चाडबाडका मितिहरू देश थिए ।
सिमाना कटेपछि देशको सिमाना संस्कृति, भाषा, मन, सपना, सम्झना भएर फैलिन्छ । सिमाना कटेपछि देशलाई सम्झिने मान्छे नै देश हुन्छ ।
यसपल्टको ओस्कारमा उत्कृष्ट फिल्मको मनोनयनमा परेको फिल्म 'मिनारी' ले त्यसरी नै विभिन्न स्वरुमा फैलिएको देशको कथा भन्छ । र, त्यस्ता चीजहरूमा सँगसँगै तैरिएका देश छोडेर देश बनिसकेकाहरूको कथा भन्छ । ठूलाे सपना देखेर अमेरिकामा पुगेको एक कोरियाली परिवार नयाँ गाउँमा बस्न गएर त्यहाँ उनीहरूले गरेको व्यावसायिक, सामाजिक, सांस्कृतिक र पारिवारिक संघर्षको कथामार्फत आप्रवासनपछि नयाँ देशमा पुरानो देश बोकेर हिँडिरहेका सबै मान्छेको कथा भन्छ । उनीहरूले बिर्सन नचाहेको पहिचानको कथा भन्छ ।
देश छोडेर देश बनेका मान्छेको कथा भन्छ ।
०००

फिल्मभर 'कोरिया' धेरै चीजमा भेटिन्छ ।
कोरियाबाट हजुरआमा सँगै बस्ने गरी ज्याकोब र मोनिकाकोमा आउँछिन् । उनी आएर आफूहरूसँग बस्न थालेको कुरा उनीहरूको सानो छोरा डेभिडलाई मन पर्दैन । ऊ एउटा दृश्यमा हजुरआमा कोरियाजस्तै गन्हाउनुहुन्छ भन्छ । उसकी दिदी एन जवाफ फर्काउँछिन्, 'तँ कोरिया गएकै छैनस्, कसरी थाहा भयो ?'
उसले हजुरआमालाई कोरिया गन्हाउनुहुन्छ भन्नु हजुरआमा कोरिया हुनु हो । र, ऊ कोरिया नगएको मान्छेलाई त्यो थाहा हुनु, उसले परिवारमा पटक-पटक कोरियाको बारेमा गफ सुन्नु हो । त्यहाँको बास्ना, सम्झना र अनुभूतिलाई उनीहरूमार्फत ग्रहण गर्नु हो ।
हजुरआमाले कोरियाबाट ल्याएका खानेकुराहरू निकालेर दिँदैगर्दा मोनिकाका आँखा भरिन्छन् । ती खानेकुरा उनका लागि कहिल्यै बिर्सन नसक्ने स्वाद थिए । उनी तिनको गहिरो गरी बास्ना लिँदै रुन्छिन् । उनका लागि त्यो खानेकुराको बास्ना नै त्यति बेलाका लागि देश बन्छ ।
हजुरआमाले एकपछि अर्काे गर्दै सामान निकाल्दै गर्दा उनको देश फर्किन्छ ।
विदेशमा बस्ने नेपालीहरूले घरमा बनाएको अचार, गुन्द्रुक र अन्य खानेकुराहरू मगाएको मैले देखेको/सुनेको छु । उनीहरूलाई पनि त्यो सामान आफ्नो अगाडि आइपुग्दा त्यस्तै हुँदो हो ।
ज्याकोब नयाँ फार्ममा आफूले कोरियन तरकारी र फलफूल फलाउन खोजेको कुरा धेरैपल्ट भनिरहन्छ । नजिकै कोरियनहरू बस्ने भएर फलाउन खोजेको भनेपछि त्यो उनीहरूका लागि नभनेर उसले आफ्नो लागि भनेको हो । ऊ खासमा आफूहरूले खाने खानाको जरामा फर्किन खोजेको हो ।

उसले फार्म बनाउने ठाउँको माटो देखाउँदै श्रीमती मोनिकालाई आफूले अमेरिकामा सबैभन्दा बढी उब्जाउ हुने माटो खोजेको त्यत्तिकै भनेको होइन । ऊ अमेरिकाको माटोमा पनि कोरिया नै खोजिरहेको छ ।
हजुरआमा अमेरिका आएर सानो नातिसँग एउटै कोठामा सुत्नुपरेपछि अमेरिकन बच्चाहरू त बेड सेयर गर्न मान्दैनन् अरे भन्छिन् । मोनिका आमालाई ऊ त कोरियन बच्चा हो भन्छिन् ।
फिल्मभर कोरिया देश छुट्टै गरी कुनै दृश्यमा आउँदैन । तर, त्यहाँ भएका सामान र पात्रहरूमा यसरी नै बारम्बार मिसिएर आइरहन्छ ।
०००
फिल्ममा पात्रको यात्रा, आन्तरिक संघर्ष तथा पात्रबीचको आपसी संघर्षलाई सटको छनोट र क्यामेराको कोणबाट व्यक्त गरिएको छ । ती सटले पात्रको कथासँगै त्यो कथाको थिम र महसुसलाई पनि दृश्यमा मिसिएर भन्दै जान्छन् ।
फिल्म सुरु हुँदा ज्याकोब ट्रक चलाएर अगाडि हिँडिरहेका छन् । मोनिका कार चलाएर आफ्ना छोरी र छोरासँग श्रीमान्लाई पछ्याइरहेकी छन् । गाडी कुदाउँदै गरेको ज्याकोबको आँखामा नयाँ ठाउँ आउँदाको उत्साह छ । श्रीमतीको आँखामा नयाँ ठाउँप्रति शङ्का छ । उनीहरू फरक-फरक उद्देश्यले त्यो ठाउँमा आएका हुन् र त्यसमा मोनिकाको मन्जुरी छैन भन्ने कुरा सजिलै भनिन्छ ।
उनीहरू नयाँ चक्का भएको ठूलाे घरको अगाडि ओर्लिन्छन् । ज्याकोब ट्रकको देब्रेतिर उभिन्छ, श्रीमती दाइनेतिर । उनीहरूको बीचमा दूरी छ । क्यामेराले पछाडिबाट उनीहरू दुवै जना र बीचमा घर पर्ने गरी खिच्छ । घरको ज्याकोबपट्टि झ्यालहरू छन् । मोनिकातिर छैनन् । यही एउटा स्थिर सटमार्फत निर्देशकले त्यो घरप्रतिको उनीहरूको मोह र त्यसमा उनीहरूको सहजतालाई भनिदिन्छिन् ।
आमा र बुबाको बीचमा राम्रो भइरहेको छैन भन्ने कुरा छोरा र छोरीले आमाको बेचैनी लुकाइरहेको अनुहारमा पटक-पटक हेरेको दृश्यले भनिदिन्छ ।
चक्का भएको घरले उनीहरूको अमेरिकी बसाइ अस्थिर छ भनिदिन्छ । घरभित्र छिर्नेबित्तिकै श्रीमतीले 'झन् झन् खराब हुँदै छ' भनेको वाक्यले उनीहरूको झन् झन् कमजोर हुँदै गएको अस्थिर अमेरिकी बसाइलाई बताइदिन्छ ।
सुरुवातदेखि नै मोनिका ज्याकोबलाई पछ्याइरहेकी छन् । उनी क्यामेराको फ्रेममा पनि ज्याकोबभन्दा पछाडि नै हुन्छिन् । विगतको कुरा आएर डिभोर्सको कुरा ननिस्किउन्जेल क्यामेरा उनलाई अगाडि ल्याउँदैन ।
०००

फिल्ममा धेरै बिम्बहरू छन् ।
ज्याकोब र मोनिका दुवै जना सानो छोरा डेबिडलाई पटक-पटक 'नदौड' भन्छन् । उसको मुटुमा स्वास्थ्य समस्या भएकाले नदौडिनू भनिएको भए पनि फिल्मले भन्न खोजेको अर्थ त्योभन्दा गहिरो छ । उनीहरू आफू पनि अमेरिकन सपना लिएर नयाँ ठाउँ दौडिँदादौडिँदा थाकिरहेका छन् । त्यो दौडले उनीहरूलाई कतै पुर्याएको छैन ।
छोराको ख्याल गर्दा बोलिने वाक्य उनीहरूकै आफ्नो दौडको प्रतिबिम्ब पनि हो । उनीहरू आफ्नो बच्चाबाट आफूले एकदमै माया गरेको कोरिया देश नउम्कियोस् भन्ने चाहन्छन् । ऊ आँखाभन्दा धेरै पर नपुगोस् भन्ने चाहन्छन् ।
पछि हजुरआमा आएपछि नाति धेरैजसो समय उनीसँगै हुन्छ । उनी नातिलाई आमाबुबाले दौडिएर नपुग्नु भनेको ठाउँभन्दा परसम्म लग्छिन् । खोलाको छेउमा पुर्याउँछिन् ।
आफूले ल्याएको मिनारी सागको बिउको कुरा गर्छिन् ।
उनी नातिलाई नदौड भन्दिनन् । उनलाई मुटुको समस्या भएको थाहा नभएको होइन । तर पनि उनी तिमी बलियो छौ भनिरहन्छिन् ।
फिल्मको अन्तिमतिर जब हजुरआमा उनीहरूलाई छोडेर जाँदै हुन्छिन्, डेभिड दौडिँदै गएर हजुरआमालाई रोक्छ । त्यस बेला उसलाई कसैले पनि नदौडिनू भन्दैन ।
किनकि, ऊ त्यस बेला आफ्नै देशतिर दौडिरहेको हुन्छ ।
०००
फिल्ममा रङको प्रयोग साङ्केतिक छ । परम्परागत कोरियन रङहरू विभिन्न स्वरुपमा फिल्मभर छरिन्छन् । कतै ती रङ अमेरिकन रङसँगको संघर्षमा पनि देखिन्छन् ।
परम्परागत कोरियन संस्कृतिमा नीलो रङले रचनात्मक, अमर र आशा भन्ने जनाउँछ । सेतोले सत्य, निर्दोष र मृत्यु जनाउँछ । रातोले घाम, उत्पादन, सिर्जना, प्यासन र लभ जनाउँछ भने कालोले अस्तित्व जनाउँछ । यी रङहरूको प्रयोग फिल्ममा हजुरआमा आउनुभन्दा पहिला र पछि पृथक् छन् ।
ज्याकोब र मोनिका ह्याचरीमा काम गर्छन् । उनीहरूको काम ह्याचरीबाट निस्किएका कुखुराका चल्लाहरूलाई भाले र पोथी छुट्याउनुपर्ने हो । पोथी कुखुरालाई सेतोमा र भाले कुखुरालाई नीलो बास्केटमा राखिन्छ ।
उनीहरूको काम गर्ने ठाउँमै गएको सानो छोरा डेभिडले बाबुलाई कालो धुवाँ आइरहेको चिम्नितिर देखाउँदै त्यो के हो भनेर सोध्छ । ज्याकोब भाले कुखुराले अण्डा उत्पादन गर्न नसक्ने भएकाले उनीहरूलाई जलाइने र आफूहरूले पनि केही गर्न सक्ने बन्नुपर्ने बताउँछ ।
खासमा ऊ आफैँलाई त्यो कामबाट सन्तुष्टि छैन । त्यो काममा मन छैन ।
उनीहरू घर फर्किँदा कारको सिसाबाट बाहिर देखिने आकाशमा नीलो र सेतो रङका धर्का बराबर देखिन्छन् । ऊ त्यो दृश्यलाई कुनै एक रङ मात्र देख्न चाहन्छ ।
ऊ खासमा रातो रङ मन पराउने मान्छे हो । आफ्नो फार्ममा काम गर्दा ऊ जहिल्यै रातो टोपी लगाउँछ । तर, काम गर्दा त्यसलाई लगाउँदैन । यस्तै, उसले फार्ममा काम गर्दा जहिल्यै पनि रातो क्याप लगाउँछ । उसले माटो ओसार्न प्रयोग गर्ने गाढा पनि रातै रङको छ । त्यति मात्र होइन, उसको कार पनि रातो नै छ । उसको ट्याक्टर पनि रातो नै छ ।
ऊ खासमा आफ्नो त्यही रातो रङ खोजिरहेको छ । अर्काको रङ छुट्याउने काम होइन, आफ्नो रङ भेट्ने काममा लागिरहेको छ ।

हजुरआमा आएपछि डेभिडलाई कोरियन तास उपहार दिन्छिन् । त्यो तासको रङ कालो र सेतो छ । वरपर रातो रङको बोर्डर छ ।
त्यो सिनपछि आउने सिनमा ज्याकोब आफ्नो फार्ममा कालो प्लास्टिक ओछ्याइरहेको देखिन्छ । हजुरआमाले डेभिडलाई ल्याइदिएको झोल औषधिको रङ पनि कालो नै छ ।
कालो रङ सुरक्षाको रङ हो ।
एउटा दृश्यमा फार्ममा पानी सुक्छ । त्यो दिन पानी निकाल्ने संघर्षमा ज्याकोब धेरै थाक्छ । आफ्नो लुगा आफैँ खोल्नै नसक्ने हुन्छ । श्रीमतीले लुगा खोलिदिन्छिन् । ऊ श्रीमतीलाई नुहाइदिन भन्छ । उनीहरू धेरैपछि त्यसरी नजिकिन्छन् । श्रीमतीले टाउकोबाट पानी खन्याइदिएपछि ऊ रुन्छ । पानी परेको मौकामा रुन्छ । उनीहरूबीचमा समस्या भए पनि त्यो सिनपछि आत्मीयता केही बढ्छ ।

त्यसपछि क्यामेराले उनले पानी उघाएको बाल्टीमा झरेको जगलाई खिच्छ । जग त्यहाँको पानीमा ढलपलढलपल गरिरहेको छ । त्यो जग र बाल्टीको रङ नीलो छ ।
नीलो अर्थात् आशाको रङ । सबै थोक ठीकै हुनेछ भन्ने आशाको रङ ।
०००
यो फिल्मले नयाँ पुस्ताबाट हराउन लागेको देशलाई फर्काउँछ । नयाँ पुस्ता अर्थात् नयाँ बिउ ।
उनीहरू आफ्ना बच्चालाई आफ्नो जरासँग जोडिराख्न चाहन्छन् । हजुरआमासँग डेभिड नजिक होस् भन्ने चाहन्छन् । यस्तै, हजुरआमा पनि नयाँ पुस्तासँग खेल्न रुचि राख्छिन् । त्यसैले पनि हजुरआमाले मिनारीको बिउ ल्याएको कुरा सबै उपहार झिकेको बेला पनि आफ्नो छोरीलाई भन्दिनन् ।
उनी मिनारीको कुरा नाति र नातिनी भएको बेला मात्र गर्छिन् । मिनारीको गीत नातिलाई सुनाउँछिन् । मिनारी जसरी नै सबै ठाउँमा हुर्किने र मिल्ने हुनुपर्छ भन्छिन् । यो जहाँ पनि फैलिन्छ । धनी, गरिब जसले पनि खान सक्छ, जेमा पनि मिसाउन सकिन्छ भन्छिन् । बिरामी भए दबाइ हुन्छ भन्ने सुनाउँछिन् ।
उनले गरेको मिनारी एउटा साग मात्र होइन । कोरियन पहिचान हो । कोरियन प्रकृति हो । उनी त्यो प्रकृति जहाँ पुगे पनि कसैले नभुलोस् भन्ने चाहन्छिन् ।
फिल्मले केवल देशको मात्र जरातिर फर्किन होइन, सम्बन्धको पनि जरातिर जानलाई उत्प्रेरित गर्छ । उनले टीभीमा आएको एउटा गीत सुन्दै उनीहरू दुई जनालाई तिमीहरू यो गीत मन पराउँथ्यौ भन्छिन् । अमेरिकामा गएर उनीहरू व्यस्त भएको प्रसङ्ग सम्झाउँदै भन्छिन् 'तिमीहरूले अमेरिका आएर सबै बिर्सियौ ।'
०००

फिल्मको एउटा दृश्यमा हजुरआमाले मिनारी रोपेको ठाउँमा नातिले सर्प देख्छ । ऊ त्यसलाई ढुङ्गा हान्न खोज्छ । हजुरआमा रोक्दै भन्छिन्, 'खतरा कुरा लुकेको भन्दा देखिएकै राम्रो । लुक्ने कुराहरू धेरै खतरा र डर लाग्ने हुन्छन् ।'
यहाँ उनले भनेको लुक्ने कुराले धेरै थोक भन्छ ।
फिल्ममा ज्याकोब कोरियन इगोका कारण पानी खन्ने ठाउँका बारेमा अमेरिकनले भनेको कुरा सुन्दैन । ऊ सुन्नुपर्ने मान्छेलाई सुन्दैन । उसको इगो उसले देख्न समय लाग्यो ।
श्रीमान् र श्रीमतीका सम्बन्धमा देखिने कुराभन्दा धेरै लुकेका कुरा छन् । ती अव्यक्त भएर लामो समय अल्झिन्छन् । उनीहरूमा लुकेको हीनताबोधले नयाँ ठाउँमा चाँडै घुलमिल हुन नसक्ने बनाउँछ ।
उनीहरू न पूर्ण रूपमा कोरियन देखिन सक्छन् । न अमेरिकन । उनीहरूको खास परिचय कतै लुकेको छ । र, त्यो कुरा धेरै खतरनाक छ ।
उनीहरूले देख्ने छोराको मुटुको रोग धेरै खतरनाक थिएन । बरु लुकेर बसेको उसको रोगलाई बढाइरहेको उनीहरूको झगडा खतरा थियो, जुन उनीहरूले देखिरहेका थिएनन् ।
उनीहरूका बीचमा माया पनि लुकिरहेको थियो । त्यो देखिएको भए त्यति खतरा हुने थिएन । फिल्मले आफूभित्र नदेखिने खतरालाई खोज्न पनि सुझाएको छ ।
शिलापत्रमा प्रकाशित सुरज सुवेदीका सबै लेख ः
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८ १२:५५