तातो फुटपाथ अनि खाली खुट्टा !
मध्य दिउँसोको टन्टलापुर घामलाई ‘भो’ पनि भन्न पाएका छैनन् रोशन चौधरीका खाली खुट्टाले ।
कलंकीको फुटपाथमा बिहीबार खाली खुट्टा लम्कँदै गरेका चौधरी यसरी हिँडिरहेका थिए मानौँ उनको गाडी छुट्नै लागेको छ ।
एकाबिहानै भक्तपुरबाट हिँडेका उनी हुन त गाडी पाइने आशाले नै लमकलमक तातो फुटपाथमा हिँडिरहेका हुन् । तर भक्तपुरबाट कलंकी आइपुग्दासमेत गाडीको नामोनिसाना देखिएको छैन । चौधरीले भने, ‘थानकोटसम्ममा त कसो नपाइएला !’
भक्तपुरबाट कलंकीसम्म आइपुग्दा खुट्टामा भएका जुत्ता सरेर हातमा पुगेका छन् । ‘बिहानदेखि हिँडेको । गाह्रो भयो हजुर त्यसैले’, उनले थपे, ‘के गर्नु जति गाह्रो भए पनि सहरमा खान पाइन्न । गाउँ गयो भने कमसेकम खान त पाइन्छ ।’
कन्स्ट्रकसनको काम गर्ने चौधरीलगायत १० जनाको टोली आफूसँग भएका लत्ताकपडालगायतका सामग्री बोकेर घर फर्किरहेका छन् । उनीहरूको घर कोहलपुर हो । कोभिड– १९ को दोस्रो लहरले उपत्यकालाई आक्रान्त बनाएयता लगू भएको निषेधाज्ञाका कारण काम खोसिएपछि उनीहरू यतिखेर हिँड्न बाध्य भएका हुन् ।
यसरी लकडाउन भएको हप्ता १० दिन कुरेर काम नपाएपछि चौधरी जस्ता मजदुरहरू पोकोपुन्तुरो बाँधेर हिँड्ने क्रम बढेको छ । जसको प्रमाण हुन् लावालस्करसहित उपत्यका छाडेर घर फर्कनेहरू ।
०००
गाडी छुट्छ भन्ने चिन्ताले होला बोल्ने फुर्सद पनि थिएन सप्तरीका रामेश्वर शाहलाई । शाहसहितको टोलीमा कसैले ब्लयाँकेट बोकेका छन् । कसैले बोरामा मालसामान र भाडाकुँडा ।
बाटोमा गुडिरहेका एम्बुलेन्सको गतिसँगै लय मिलाउन खोजेको यो टोली लकडाउनले काम खोसिएपछि बाध्य भएर घर हिँडेको हो ।
‘अब के गर्ने ? काम छैन । काम छ त त्यही खेती किसानी छ । अब काठमाडौं नफर्कने होला । फेरि काम हुन्छ त आउँछ । नत्र आउँदैन,’ घर जानु र सहर छाड्नुको कारण एकै सासमा भन्न खोज्दै थिए शाह ।
काठमाडौंमा डन्डी फर्माको काम गर्थे शाह । ‘धरहरामा डन्डी फर्मा लगाउने काम गरिरहेका थियौँ । तर लकडाउनले काम गयो हजुर । अब यहाँ बसेर केही काम छैन,’ शाहले भने ।
चिटचिट निस्किएको पसिना पुछ्दै शाहले भने, ‘कलंकीबाट गाडी चढ्ने हो । चिनेको गाडी आउँछ भनेको छ ।’
यति भनेर कमिलाको ताँतीझैँ ८ जनाको टोली फेरि रफ्तारमा हिँड्न लागे ।
दोस्रो चरणको लकडाउन सुरु हुने भएसँगै ज्याला मजदुरी गरी हातमुख जोडिरहेका मजदुरहरू बिलखबन्दमा परेका छन् । एकातिर पैसाको अभाव, अर्कोतिर स्वास्थ्य जोखिम । स्वास्थ्य र पैसाको अभावले पिल्सिएका मजदुरहरू दिनहुँ सहर छाडीरहेका छन् ।
यिनै मजदुरहरू यदाकदा राजनीतिक दलले गर्ने आन्दोलनको अग्रपंक्तिमा पनि प्रयोग हुने गर्छन् । रातारात आन्दोलन र आमसभाका लागि गाउँगाउँबाट गाडीका गाडी निमुखा किसान र मजदुर बटुलेर ल्याउने र प्रयोग गर्ने सरकारका लागि रोशन चौधरी र रामेश्वर शाहको टोली फगत सत्ता प्राप्त गर्ने भर्याङ हुन् । आफ्नो जत्था देखाउने भीडको एक अपरिचित अनुहार हुन् ।
होइन भने उनीहरूको पसिनाको सम्मानमा लकडाउन र स्वास्थ्यसंकट जस्तो कठिन घडीमा आन्दोलन र आमसभामा जस्तै यातायातको सुविधा हुन्थ्यो होला । खानपिनको लागि व्यवस्था हुन्थ्यो होला ।
हालसम्म नेपालभर दैनिक ज्यालादारी गर्ने मजदुरहरूको यकिन तथ्यांक नभएको नेपाल ट्रेड युनियन महासंघ जीफन्टका अध्यक्ष विनोद श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘हामी तथ्यांक संकलनमा लागिरहेका छौँ ।’
कोभिड १९ को पहिलो लहरको लकडाउनमा जस्तै विकराल स्थिति नआए पनि यसपटकको लकडाउनमा पनि मजदुरहरूको उस्तै नियती दोहोरिएको देखिन्छ । मजदुरलाई लिएर सरकारको कुनै ठोस योजना नभएको प्रस्टै देखिन्छ ।
विनोद भन्छन्, ‘हाल मजदुरहरू जहाँजहाँ छन्, त्यहीत्यहीँबाट आआफ्नो हकअधिकारका लागि लड्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
त्यस्तै कोरोनाका बहानामा काम गरिरहेको कुनै पनि ठाउँबाट मजदुरहरूलाई निकाल्न नपाइने मान्यता बोकेका विनोद पनि दैनिक ज्याला मजदुरी गर्नेहरूलाई गाह्रो भएको स्वीकार्छन् । ‘उनीहरूलाई भोकै नमरुन् भन्नका लागि राहतको प्याकेज दिनुपर्छ भनी हामीले भनिरहेका छौँ’, उनले भने ।
विनोदको भनाइमा हाल नेपालमा संगठितभन्दा पनि असंगठित क्षेत्रमा धेरै मजदुर छन् ।
‘तर यस्तो बेलामा मजदुरहरूले भने हिँड्ने भन्दा पनि कोभिडका लागि जहाँजहाँ छौँ त्यहीँ बसेर मजदुरका लागि आवाज उठाउने हो । राज्यलाई झकझकाउनेमा स्थानीय सरकारलाई पनि हामीले भनिरहेका छौँ । मजदुरहरू ट्रेड युनियनमा पनि आबद्ध हुनुपरो,’ विनोदले भने ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८ ०७:१४