२२ वैशाख अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गर्न पुगेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली आफ्नै नेता माधव नेपालसँग संवाद गर्न कोटेश्वर आएको भए के हुन्थ्यो ?
‘हो, यही प्रश्न गरेको हो हामीले महासचिव ईश्वर पोखरेललाई’ नेपालनिकट नेता गणेश पहाडीले शिलापत्रसँग भने ।
दिउँसो महासचिव पोखरेलसँग भेटेका पहाडीले पार्टीका शीर्ष नेताहरू संवादमा जोडिएर सहमति खोज्नुको विकल्प नरहेकाे ठान्छन् । महासचिव पोखरेलले हिजो नेपालनिकट नेता योगेश भट्टराईलाई भेटका लागि सिंहदरबार बोलाएका थिए, त्यो भेटमा पहाडीसमेत सहभागी थिए ।
राजनीतिक बजारमा नेपालनिकट नेता भट्टराई, गोकर्ण विष्ट र सोमप्रसाद पाण्डेसहितका केही नेताहरूले नेपाल समूहमा छुट्टै समूह बनाएको र ओलीसँग निकट हुन खोजेकाे चर्चाकै बेला महासचिव पोखरेलले भट्टराई र पहाडीसँग भेट्न खोजेका हुन् ।
केपी ओली, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरूबीच संवाद नहुने र तलका नेताहरूलाई मात्रै फकाउने कुराले निकास दिँदैन भन्नेमा पहाडी सहमत छन् । र, त्यही कुरा पोखरेललाई दोहोर्याएका छन्, जसले प्रस्ट पार्छ राजनीतिक वृत्तमा चर्चा गरिएजस्तो भट्टराई तत्काल ओलीको पक्षमा लाग्दैनन् ।
‘शीर्ष नेताहरूबीच सहमति नहुने हो भने परिस्थितिले अधिकतम खराब निर्णयमा पुर्याउँछ र त्यो निर्णय भनेको सामूहिक राजीनामा हो । फ्लोर क्रस गर्नुभन्दा राजीनामा नै राजनीति निर्णय हुन्छ,’ पहाडीले शिलापत्रसँग भने ।
माधव नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरूले सामूहिक राजीनामा दिनसक्ने आकलन बालुवाटारले पनि गरेको छ । त्यो अवस्थामा कम्तीमा २१ जना सांसदले राजीनामा दिन्छन् । त्यति हुनेबित्तिकै विपक्षी गठबन्धनको सरकार बन्न सक्छ । अर्थात्, १ सय २६ जना भए बहुमतको सरकार बन्न सक्छ, अहिले विपक्षी गठबन्धन त्यही प्रयासमा छ । यति हुँदा पनि २७ वैशाखमा विश्वासको मत लिनका लागि ओलीले अर्का नेता नेपालसँग संवाद गर्न रुचि देखाएका छैनन् ।
खासमा केले अड्काएको छ दुई नेताबीचको संवाद ? त्यसमा ओलीको प्रस्ट लाइन छ- २७ वैशाखमा विश्वासको मत पाए पनि नपाए पनि आफ्नो दुवै हातमा लड्डु हुन्छ । अर्थात्, विश्वासको प्राप्त गरे बहुमतको सरकार अर्को दुई वर्ष चल्छ । विश्वासको मत पाइएन भने पनि अल्पमतको सरकार बनाई संसद् विघटन गरेर निर्वाचनमा जान सकिन्छ ।
त्यसैले अहिले ओली नेपाल पक्षलाई मात्र होइन, सत्ता साझेदार बन्न तम्सिएको जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षसँग पनि संवादमा जोडिएका छैनन् । जसपाका ठाकुरनिकट एक नेताले भने, ‘अहिलेसम्म विश्वासको मत लिनका लागि बहुमत पुर्याउने गरी ओली हामीहरूसँग संवादमा छैनन्, ओलीलाई बहुमत चाहिएको रहेनछ ।’
२२ वैशाखको साँझ प्रधानमन्त्री ओलीले बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा पनि केही संकेत गरेका छन् ।
२७ वैशाखमा ओलीले चाहेका छन्, माधव नेपाल पक्षका सांसदलाई राजीनामा गराउने अनि विपक्षी गठबन्धनलाई बहुमत पनि पुर्याउन नदिने । अहिले यी दुई रणनीतिमा लागेका ओली यति गर्न सकिए ५ पुसकाे आफ्नो कदम सही ठहिरने निष्कर्षमा छन् । अनि, २७ वैशाखमा विश्वासको मत प्राप्त नहुनेबित्तिकै ठूलो दलको हैसितयमा अल्पमतको सरकार बनाउने र संसद् विघटन गराउने अभिप्राय पूरा गर्न सकिन्छ ।
त्यसैका लागि ओलीले एमालेको असन्तुष्ट पक्षसँग कुरा गर्न चाहेका छैनन् । अनि, जसपाको ठाकुर र महतो पक्षसँग पनि सघन संवादमा छैनन् ।
२३ वैशाख बिहान बालुवाटारमा बसेको स्थायी समिति बैठकमा पनि अध्यक्ष ओलीले २७ वैशाखमा लिने विश्वासको मतको विषयमा खास छलफल गरेनन् । बरु ६ जेठको राष्ट्रियसभा उपनिर्वाचनबारे ब्रिफिङ गरे ।
उपनिर्वाचनमा मतभारको विश्लेषणपछि मात्रै नेता रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय लिने ब्रिफिङ सुनाए । स्थायी समिति सदस्य सुवास नेम्वाङले शिलापत्रसँग भने ‘अध्यक्ष केपी ओलीले राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा ब्रिफिङ गर्नुभयो । २७ वैशाखमा विश्वासको मत लिनेबारेमा केही भन्नुभएन ।’
निर्वाचनको आवरणमा संसद् विघटन गर्ने ध्याउन्नमा लागेका छन् ओली । यही कुरा आफूहरूलाई स्वीकार्य नभएको नेता नेपालनिकट युवराज ज्ञवालीको भनाइ छ । ज्ञवालीले शिलापत्रसँग भने, ‘ओली निर्वाचनको आवरणमा संसद् र संविधान मास्न खोजिरहेका छन्, हामीले जे गर्दा संसद् र संविधान बचाउन सकिन्छ, त्यस्तै राजनीतिक निर्णय लिने भन्ने सहमति छ ।’
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८ १३:२६