कोरोनाको महामारीको समयमा भारतलगायत विदेशमा रहेका नेपाली समस्यामा छन् । ठूलो समस्या र बेखर्ची भएर बसेका नेपालीलाई उद्धार गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताउँछन् । विदेशमा रहेका कोरोना संक्रमित नेपालीको उपचारका लागि कूटनीतिक नियोगमार्फत पहल गरिरहेको ज्ञवालीको भनाइ छ ।
कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीका बारेमा सरकारको तयारी के छ ? उनीहरूलाई स्वदेश फर्काउने तयारी कस्तो छ ? यिनै विषयमा केन्द्रित रही शिलापत्रकर्मी रमेश भारतीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग गरेको कुराकानी :
कोरोनाका कारण भारतमा ठूलो संख्यामा नेपाली स्वदेश फर्कन नपाएर अलपत्र अवस्थामा बसेका छन् । सरकारले उद्धारका लागि के पहल गर्दै छ ?
सरकारले भारतमा रहेका नेपालीहरू कोरोनाका कारण समस्यामा परेको नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत जानकारी लिइरहेको छ । भारतबाट फर्किने नेपालीहरूका हकमा सीमानाका खुला नै छ । उनीहरू समस्यामा परेको विषयमा दूतावासले जानकारी लिइरहेको छ ।
समस्यामा परेका नेपालीलाई स्वदेश फर्किन सरकारले अवरोध गरेको छैन । भारतमा रहेका नेपाली स्वदेश फर्किरहेका छन् । उनीहरूलाई स्वदेश फर्किनका लागि दूतावासले यातायातको समेत सहजीकरण गर्दै आएको छ ।
भारतमा कोरोना नियन्त्रण गर्न लकडाउन गर्दा ठूलो संख्यामा नेपाली अलपत्र परे पनि सरकारले स्वदेश फर्काउन चासो नदिएको आरोप छ नि ?
भारतका मुख्य शहरमा कोरोना भाइरसको उच्च जोखिम र लकडाउन छ । यस्तो बेला यातायातको समस्या हुँदा यात्रा कठिनाइ हुन्छ ।
कोरोना संक्रमणमा भारत स्वयम् गुज्रिरहेको छ । भारतलाई कोरोना नियन्त्रण गर्न धौधौ परिरहेको छ । यस्तो बेला त्यहाँ रहेका केही नेपालीहरूसमेत समस्यामा परेका होलान् ।
भारतमा रहेको दूतावासले उनीहरूका समस्या सकेसम्म समाधान गरिरहेको छ । कोरोनाका कारण बिचल्लीमा परेका नेपालीलाई स्वदेश फर्काउन दूतावासले सहजीकरण गरेको छ । दूतावासले दिएको जानकारीअनुसार ४ हजार ५ सय नेपाली दैनिक नेपाल फर्किँदै छन् ।
भारतमा १५ लाखजति नेपाली होलान् । गत वर्ष कोरोना महामारीमा ५ लाखजति फर्किए । फेरि २ लाख जति नेपाली भारततिरै रोजगारीका लागि फर्किएको सूचना परराष्ट्र मन्त्रालयमा आएको थियो । अहिले सोही संख्यामा नेपाली फर्किँदै छन् ।
भारतलगायत देशमा कोरोनाका कारण अलपत्र परेका नेपालीहरूलाई उद्धारका लागि सरकारले कस्तो तयारी थालेको छ ?
ठूलो समस्यामा परेका नेपालीलाई सरकारले ल्याउनुपर्छ । रोजगारीका लागि गएका नेपालीहरू बेखर्ची भएर रोकिएको भए सरकारले उद्धार गरेर ल्याउनुपर्छ । कोरोनाका कारण भारतमा धेरै समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश ल्याउनुपर्छ । यो सरकारको दायित्व हो । भारतभन्दा बाहेकका देशमा कोरोनाका कारण समस्यामा परेका र रोजगारी गुमाएका कामदारलाई पनि तत्काल स्वदेश फर्काउने काम भइरहेको छ ।
विदेशमा समस्यामा परेका नेपाली नागरिक र कामदारको उद्धार गर्ने विषयमा सम्बन्धित मन्त्रालय, कूटनीतिक नियोग र सरकारले तयारी थालिसकेको अवस्था छ । फेरि अन्तर्राष्ट्रिय उडान एक साताका लागि मात्र बन्द भएको हो । त्यही भएर विगतमा जस्तो ठूलो समस्या हुँदैन ।
कोरोना महामारीमा विदेशमा समस्यामा परेका नेपालीका हकमा सरकारले अविभावकको भूमिका निर्वाह गर्न सकेन भन्ने आरोप छ नि ?
सरकारले वैदेशिक रोजगारी, अध्ययन र अन्य पेसाका लागि तेस्रो देशमा रहेका नेपालीका विषयमा गम्भीर भएर दूतावासमार्फत उनीहरूका समस्या समाधान गर्दै आएको छ । कोरोना महामारीमासमेत दूतावासका कर्मचारी नेपालीका समस्या समाधान गर्न जुटेका छन् ।
अब सरकार कसरी गम्भीर छैन भन्ने हो ? केही समस्या तत्काल समाधान नभएका होलान् । तर, काम त भइरहेको छ । सरकारले आफ्ना नागरिकप्रति जहिले पनि जवाफदेही बनेर काम गर्नुपर्छ ।
सरकारले गत वर्ष कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीलाई चार्टर उडानमार्फत स्वदेश फर्काएको छ । कोरोना महामारी बढे यो वर्ष पनि चार्टर उडानमार्फत स्वदेश ल्याउनुपर्ने अवस्था आउँछ ।
विदेशमा रहेका नेपालीहरू कोरोना महामारीबाट कति सुरक्षित छन् ? उनीहरूलाई कोरोनाविरुद्धको खोप सम्बन्धित देशले लगाए त ?
सरकारले कोरोनाका कारण विदेशमा समस्या परेका श्रमिक, विद्यार्थी र अन्य विभिन्न पेसा व्यवसाय गर्ने नेपालीलाई उद्धारका लागि सम्बन्धित देशसँग समन्वय गरिरहेको छ । प्राय: रोजगारी र अध्ययनका लागि विदेशमा रहेका धेरै नेपालीले कोरोनाविरुद्धको खोप लगाए ।
सम्बन्धित देशले विदेशी नागरिकलाई समेत कोरोनाविरुद्धको खोप लगाएको छ । यो महामारीमा जहाँ भए पनि सुरक्षित हुने हो ।
सम्बन्धित देशले लागू गरेको स्वास्थ्य मापदण्डसमेत पालन गर्नुपर्छ । कोरोनाका कारण समस्यामा परेर सम्बन्धित देशको नियोगमा सम्पर्क गर्न आग्रह गरिरहेका छौँ ।
यो पनि :
दिल्लीमा कोरोना संक्रमण भयावह : सडकमै ढल्छन् संक्रमित, न उपचार न उठाउने आफन्त
दिल्लीमा ३ हजार नेपाली संक्रमित, दूतावास भन्छ - ६० हजारलाई उद्धार गर्नुपर्छ
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८ ०९:२०