पीसीआर परीक्षण माग गर्दै गण्डकी प्रदेशसभाको मंगलबारको बैठक सत्तापक्ष एमालेले नै अवरुद्ध गर्यो । एमालेले सबै सांसद र कर्मचारीको कोरोना परीक्षण गरेर मात्र सदन संचालन गर्नुपर्ने बताएको छ ।
एमाले सांसद राजीव पहारीले सोमबारको बैठकमा कोरोना परीक्षण गराउन ध्यानाकर्षण गराए पनि बेवास्ता भएपछि आज अवरोध गरेको बताए ।
`यो सत्तापक्ष र प्रतिपक्षको कुरा होइन । यो गण्डकी प्रदेशसभामा आधाभन्दा बढी सांसद दीर्घरोगी हुनुहुन्छ । सभामुख स्वयं दीर्घरोगी हुनुहुन्छ,´ उनले संसद् भवन परिसरमा पत्रकारसँग भने, `उहाँ ठूलो रोगबाट बचेर आउनुभएको छ । यस्तो संवेदनशील विषयमा सदन जिम्मेवार हुनु पर्दैन ।´
सभामुखले गम्भीर विषयमा पनि बेवास्ता गरेकाले आफूहरूले बाध्य भएर संसद् अवरुद्ध गरेको सांसद पहारीले बताए । `हामी जनप्रतिनिधिले जनतालाई अर्ति मात्र दिने हो ? हामीले गर्नु पर्दैन ?´ उनले भने ।
कास्की प्रशासनले पनि निषेधाज्ञा जारी गरेको र संसद्मा पनि संक्रमण फैलन सक्ने भएकाले सदन चल्न नहुने उनले बताए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध संसदमा सोमबार पेस भएको अविश्वास प्रस्तावमाथि विशेष अधिवेशनको दोस्रो बैठकमा पनि छलफल गर्ने कार्यसूची थियो । तर, एमाले सांसदले कार्यव्यवस्था परामर्श समितिबाट सहमति जुटे पनि संसद् सुरु भएपछि बैठक अगाडि बढ्न नदिएका हुन् ।
२० मिनेटलाई स्थगित भएको बैठल प्रदेशसभाका सदस्यको कोरोना परीक्षण गर्ने गरी भोलिसम्मका लागि स्थगित भएको छ । गत २ वैशाखमा कांग्रेस, माओवादी र जसपाका २८ सांसदले विशेष अधिवेशन माग्दै समावेदन दिएका थिए । प्रदेश प्रमुखले डाकेको विशेष अधिवेशनको पहिलो दिन सोमबार अविश्वास प्रस्ताव संसद्मा टेबुल भएको छ ।
प्रस्तावमाथि मंगलबार पनि सांसदले धारणा राख्ने कार्यसूची थियो । त्यसपछि बुधबार मतदान गर्ने भनिए पनि अब केही दिन लम्बिने पक्का भएको छ ।
हालको समीकरण हेर्दा नयाँ सरकार बन्ने निश्चित छ । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा एमालेका २७ र एक स्वतन्त्र सांसद छन् । कांग्रेसका १५, माओवादीका १२ (सभामुखसहित), जनमोर्चाका ३ र जसपाका २ सांसद अविश्वास प्रस्तावकै पक्षमा छन् ।
यी पार्टीका सांसद संख्या ३१ पुग्ने देखिन्छ । सभामुखले भने मत दिन पाउँदैनन् । अविश्वास प्रस्ताव पारित भए कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नेछन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८ १५:३६