सिरहामा आगलागी हुँदा झण्डै ६० लाख बराबरको क्षति भएको छ । लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा-२ स्थित पर्सा टोलमा शुक्रबार साँझ करिब ५ बजे भएको आगलागीले ८ वटा घर जलेर खरानी बनेको हो ।
स्थानीय रवीन्द्र साहको घरबाट अचानक सल्केको आगोले एकै दाजुभाइका ८ घरपरिवारको धनमाल पूर्णरूपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । घरमा रहेका अन्नपात, कपडालत्ता, भाडाकुडा, गरगहना, नगदलगायतका सामान पूर्णरूपमा जलेर नष्ट भएको बताइएको छ ।
आगलागीबाट मानवीय क्षति भने भएन । आगलागीले सचिन्द्र साहको ६ लाख, वीरेन्द्र साहको ५० हजार नगदसहित जम्मा १० लाख, आनन्द साहको ३ लाख नगदसहित जम्मा १० लाख, लाले साहको ६ लाख, धीरेन्द्र साहको १ लाख ५० हजार नगदसहित जम्मा ५ लाख, लछुराम साहको ४ लाख, रवीन्द्र साहको ४ लाख तथा रामलोचन साहको राई स-मिल जल्नुका साथै नगद ४ लाखसहित जम्मा १५ लाख बराबरको गरी करिब ६० लाखको क्षति भएको पीडित रवीन्द्रले बताए ।
घरमा कोही नभएको बेला अचानक आगलागी भएको वडा नम्बर २ का वडाध्यक्ष धर्मेन्द्र राय दनुवारको भनाइ छ ।
आगो नियन्त्रणमा आइसकेपछि मात्रै पुग्यो बारुण यन्त्र
समयमै बारुण यन्त्र घटनास्थल नपुग्दा बढी क्षति भएको स्थानीयवासीको भनाइ छ । आगलागी भएको झण्डै एक घण्टापछि मात्रै लहान नगरपालिकाको बारुण यन्त्र घटनास्थल पुग्यो ।
बारुण यन्त्र घटनास्थल पुग्दासम्म आगो करिब-करिब नियन्त्रणमा आइसकेको थियो । 'बारुण यन्त्र पुग्दासम्म करिब आगो नियन्त्रणमा आइसकेको थियो,' रवीन्द्रले भने, 'त्यसपछि बारुण यन्त्रले पनि पानी हाल्यो, समयमै बारुण यन्त्र आएको भए यति क्षति हुने थिएन ।' लक्ष्मीपुर पत्तारी गाउँपालिकामा हालसम्म पनि बारुण यन्त्र छैन ।
यता, गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले भने आफू बाहिर रहेकाले घटनाबारे खासै जानकारी नभएको बताए ।
पीडित परिवार र प्रशासनको फरक-फरक दाबी
आगलागीबाट करिब ६० लाख बराबरको क्षति भएको पीडित परिवार बताउँछन् । तर, प्रशासनले १५-२० को क्षति भएको दाबी गर्छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको बताए । सिरहाका एसपी सुदीपराज भण्डारी भने १५ लाख ९० हजार बराबरको मात्रै क्षति भएको दाबी गर्छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८ १७:०१