चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा पारियो । कोभिड- १९ को महामारी बढिरहेको कारणले सबैको सुझाव पनि स्वास्थ्य क्षेत्रमा बजेट बढाउनु पर्ने थियो । स्वास्थ्य पूर्वाधार बढाउन माग गरिएको थियो ।
सरोकारवालाहरूको सुझाबअनुसार सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मका आधारभूत अस्पताल र काठमाडौं उपत्यका र सबै प्रदेशमा ५० शय्याका अस्पताल बनाउन बजेट विनियोजनन गरियो ।
१५ जेठ २०७७ मा डा. युवराज खतिवडाले पढेको बजेटको ३२ नम्बर बुँदामा भनिएको छ, ‘आगामी वर्ष काठमाडौं उपत्यकामा ३०० शय्याको सुविधा सम्पन्न सरुवारोग अस्पताल निर्माण, काठमाडौं उपत्यकाका र प्रदेश राजधानीका सरकारी अस्पतालमा थप २५० शय्याको आईसीयु बेड स्थापना र सबै देशका राजधानीमा ५० शय्याको सरुवारोग अस्पताल निर्माण गरिनेछ । पोखरा, कर्णाली, कोसी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालको स्तोरोन्ति गरिने छ ।’
यसका लागि सरकारले १२ अर्ब बजेट विनियोजन गर्दै अपुग भएमा रकम व्यवस्थापन गरिने प्रतिवद्धता पनि जनायो । आर्थिक वर्ष सकिन साढे दुई महिना बाँकी छ, अस्पताल निर्माण गर्नु त कता-कता अहिलेसम्म पूर्वतयारी पनि गरिएको छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार सात प्रदेशमध्ये अहिलेसम्म सुदूरपश्चिम प्रदेशले आसयपत्रको मात्रै सूचना निकालेको छ । अन्य प्रदेशमा भने पूर्वतयारीको काम पनि गरिएको छैन ।
‘सुदूरपश्चिम प्रदेशले भर्खर आशयपत्र निकालेको पाइएको छ । अन्य प्रदेशले भने काम अघि बढाउन पाएका छैनन्,’ स्वास्थ्य सचिव लक्ष्मण अर्यालले भने । सरकारी अस्पतालमा आईसीयू बेड बिस्तार गर्ने काम पनि बजेट भाषणमा मात्रै सीमित भएको छ ।
अहिले अधिकांश प्रदेशमा कोरोना संक्रमितको उपचार गर्न बेड पाउन समस्या भइसकेको छ ।
कुन प्रदेशमा कति संरचना ?
प्रदेश- १
- जनरल बेड - ४,३५४
- आईसीयू - ३८०
- भेन्टिलेटर - १७४
प्रदेश- २
- जनरल बेड - २,१३४
- आईसीयू - ६४
- भेन्टिलेटर - ३६
बागमती प्रदेश
- जनरल बेड - ५,३१४
- आईसीयू - ५५६
- भेन्टिलेटर - २५५
गण्डकी प्रदेश
- जनरल बेड - ३,०२३
- आईसीयू - २३२
- भेन्टिलेटर - ६८
लुम्बिनी प्रदेश
- जनरल बेड - १,७६७
- आईसीयू - ८३
- भेन्टिलेटर - २७
कर्णाली प्रदेश
- जनरल बेड - १,१२७
- आईसीयू - ११७
- भेन्टिलेटर - ३९
सुदूरपश्चिम प्रदेश
- जनरल बेड - १,१९८
- आईसीयू - ५४
- भेन्टिलेटर - ३५
कोरोना संक्रमितले अस्पताल भरिन थालेपछि व्यवस्थापन गर्न समस्या भएको छ । बिरामीहरू अस्पतालबाहिर पाल टाँगेर बस्न थालेका छन् ।
देश र स्थानीय तहमार्फत कार्यान्वयन गराउने पर्ने भए पनि अस्पताल निर्माणको कामअघि बढेको छैन । स्वास्थ्य मन्त्रालयले भने यही कारण बजेट खर्च हुन नसक्ने चिन्ता व्यक्त गरेको छ ।
मन्त्रालयले चिन्ता किन नगरोस्, केन्द्र सरकारले बालुवाटारबाट शिलान्यास गर्ने तर यथार्थमा पूर्वतयारीको काम नै हुनै नसकेपछि ।
प्रधानमन्त्री केपी ओलीले ३९६ आधारभूत अस्पताल बन्ने लागेका कारण मैले राजीनामा दिनुपर्ने भन्दै फुर्ति लाउँदै गर्दा अहिलेसम्म ३९६ मध्ये दुई सयभन्दा बढी स्थानीय तहले निर्माण प्रकिया आरम्भसमेत गर्न सकेका छैनन् ।
पूर्वअर्थमन्त्रीले सरकारले अस्पताल निर्माणको तयारीका कामलाई प्राथमिकतामा राख्न नसकेको बताउँछन् ।
'अवस्था जटिल छ, सरकारले पूर्वाधार तयारीका काम त गरेको छैन । जनतलाई स्वास्थ्य मापदण्ड पालन गर भन्छ । राम हनुमानका नाममा सरकार सभा सम्मेलन गरिरहेको छ, यस्तो सभा हेरपछि जनताले के सिक्छ' पूर्वअर्थमन्त्री वर्षमान पुनले भने ।
उनले कोरोना रोग नियन्त्रणका लागि सरकारले आवश्यक पूर्वतयारी गर्न नसकेको भन्दै पूर्वाधार विस्तारमा केन्द्रित हुन आग्रह गरे ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८ १६:१५