घटना १
लहान नगरपालिका-२३ गढिया चोकस्थित अनिता ज्वेलर्सका सञ्चालक प्रदीप विश्वकर्मामाथि शनिबार मध्यराति छ/सात जनाको हतियारधारी डाका समूहले आक्रमण गर्यो ।
प्रतिकार गर्न खोज्दा उनको हत्या गरियो । डाका समूहले लुटपाट गरी उनलाई शरीरमा धारिलो हतियार र छातीमा गोली हानेर मार्यो । उनी सोही वडाका वडाअध्यक्ष कन्हैया गुप्ताको घरमा डेरा गरी पसल गर्थे र आफ्नो परिवारसहित बस्थे । उनकी पत्नी अनिता विश्वकर्मा पनि डाका समूहको आक्रमणबाट घाइते भइन् । डाका समूहले विश्वकर्माको हत्या मात्रै गरेन, उनीसँग भएको सुनचाँदी र नगद पनि लुटेर लग्यो ।
घटना २
लहान नगरपालिका-२ मिलन चोकस्थित विन्देश्वर यादवको घरमा २४ चैतमा डाका समूहले लुटपाट गर्यो । उनको २ लाख ५० हजार नगद, पौने २ तोला सुन र ७० तोला चाँदी डाका समूहले लुटेर लग्यो । विन्देश्वर र उनकी पत्नी सवितालाई पनि कुटपिट गर्यो ।
घटना ३
८ चैतमा मिर्चैया नगरपालिका-७ का २४ वर्षीय शिवकुमार यादवको हत्या भयो । आपराधिक समूहले उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । हत्या आरोपमा सोही वडाका विष्णु यादव र ९ नम्बर वडाका इन्द्रदेव सिंह यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्णु मृतकका आफ्नै काकाका छोेरा हुन् भने इन्द्रदेव विष्णुका जेठान । पारिवारिक रिइसवी साँध्न हत्या गरेको उनीहरूले बयान दिएका छन् ।
घटना ४
गत सोमबार साँझ हतियारधारी लुटेराको समूहले लहान-७ स्थित सुनचाँदी व्यवसायी राजेश सारडाको घरमा डकैती गर्यो । लुटेराको समूहले राजेशका बाबु भगिरथ सारडा र राजेशका श्रीमतीको कन्चटमा पेस्तोल तेर्साएर सुनचाँदी र जीपको साँचो बलजफ्ती खोसेर जीपसमेत लुटेर लगे । यद्यपि, प्रहरी घटना भएको ३ घण्टापछि जीपसहित लुटिएको भनिएका सुनचाँदी कल्याणपुर- १२, बेल्हाबाट बरामद गर्यो । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।
घटना ५
१ चैतमा लहान नगरपालिका-८ स्थित मालपोत कार्यालयमा आपराधिक समूहले बम विस्फोट गरायो । विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) ले लियो । सो घटनामा एक कर्मचारीसहित ८ जना घाइते भएका थिए । एक जनाको उपचार अझै काठमाडौंमा भइरहेको छ । विस्फोटनमा संग्लनता रहेको आरोपमा प्रहरीले तीनलाई पक्राउ गरेको छ ।
यति मात्रै होइन, गत २० माघमा सिरहा नगरपालिका- १, रामजानकी चोकबाट अपहरणकारीले प्रदीप यादवको दुईवर्षे छोरा इशान्त भन्ने प्रियान्सुलाई अपहरण गरी भारत पुर्याइदिएका थिए । प्रहरीले ती बालकलाई पारिका सुरक्षाकर्मीसँग समन्वय गरी भारतको मधुवनी जिल्लाको खाजेडी भन्ने गाउँबाट उद्धार गर्यो ।
प्रेम भन्छन्- गुहार माग्दामाग्दै बुबाको हत्या भयो
सुनचाँदी व्यवसायी प्रदीपमाथि आक्रमण हुँदा उनका १५ वर्षीय छोरा प्रेम रुचाल घरमै थिए । आपराधिक समूह घरपछाडिबाट छिर्न थालेपछि बुबाले स्थानीयसँग गुहार मागेको उनले बताए ।
‘बुबाले एक-दुई जनालाई फोन पनि गर्नुभयो । उनीहरू ढोका फोडेर भित्र छिरेपछि बुबाआमालाई कुटपिट गर्न थालेपछि हामी खाटमुनि लुक्यौँ,’ उनले भने, ‘घटनापछि स्थानीयहरू घरबाहिर आएर होहल्ला गरेपछि डाका समूह धारिलो हतियार र गोली प्रहार गरेर भागे ।’
छातीमा गोली लागेर घाइते भएका विश्वकर्माको आइतबार सप्तऋषि अपस्पतालमा उपचारका क्रममा मुत्यु भएको थियो । मध्यराति होहल्ला भएपछि आफू ब्युँझिएको छिमेकी तेजनारायण ठाकुरले बताए । डकैती भइरहेको बुझेपछि आफूले मृतक विश्वकर्मा बस्ने घरको मालिक वडाअध्यक्ष गुप्तालाई फोन गरेको उनले बताए । गुप्ताले प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली ३५ मिनेटपछि घटनास्थल पुगेको थियो ।
‘समयमा प्रदीपको गुहार स्थानीयले सुनिदिएको भए ज्यान बच्ने थियो,’ उनले शिलापत्रसँग भने ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीपराज भण्डारीका अनुसार हत्यामा संलग्न भएको आशंकामा प्रहरीले लहान नगरपालिका-७ का रामकृष्ण चौधरी र लहान नगरपालिका- २३ का सूर्य सहनीलाई फलामको छिनोसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांकअनुसार यी मुख्य घटनाबाहेक पछिल्लो समय दर्जनभन्दा बढी मोटरसाइकल चोरी र स-साना चोरी भएका छन् ।
अन्य घटनामा पनि आरोपितहरू पक्राउ परेको उनले बताए । खुला सीमाबाट भित्रिने हतियार प्रहरीलाई चुनौतीपूर्ण बनेको छ । वारि अपराध गर्ने अनि पारि गएर लुक्ने गरेकाले अनुसन्धानमा पनि समस्या भोग्नुपरेको एक प्रहरी अधिकारीले बताए । पछिल्लो समय सिरहामा आपराधिक घटना मौलाइरहँदा प्रहरी शान्ति सुरक्षा कायम राख्न चुकेको मानवअधिकारकर्मी राजकुमार राउतले बताए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८ ११:५९