चैत महिनामा संकलन भएको राजस्वमध्ये चैत मसान्तको दिन मात्रै १५ प्रतिशतभन्दा बढी राजस्व उठेको छ ।
सरकारी आय-व्ययको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार चैत महिनामा सरकारले १ खर्ब ८ अर्ब रुपैयाँको राजस्व संकलन गरेकोमा चैत मसान्तको दिन मंगलबार मात्रै १७ अर्ब ३४ करोड १७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
चैत महिनाभर सरकारको औसत दैनिक राजस्व साढे ३ अर्ब रुपैयाँ उठे पनि मसान्तको दिन भने करिब ६ गुणा बढी राजस्व संकलन भएको छ ।
चैत महिनामा अन्तिम दिन आयकरबापतको रकम बढी उठ्ने गर्छ । यो महिनासम्म सरकारले अनुमानित करको ७० प्रतिशतसम्म रकम दाखिला गर्नुपर्ने हुन्छ । आन्तरिक राजस्व विभागले समयममै यस्तो रकम दाखिला गर्नका लागि समेत सार्वजनिक सूचना जारी गरेको थियो ।
आयकर ऐन २०५८ ले कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले पौस महिनाको अन्त्यसम्म ४० प्रतिशत र चैत महिनाको अन्त्यसम्म ७० प्रतिशत कर दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ । बाँकी रहेको ३० प्रतिशत भने असार मसान्तसम्म गरी असार मसान्तमा १०० प्रतिशत नै अनुमानित आयको कर बझाउनुपर्ने हुन्छ ।
यसअघि पौस मसान्तको एकै दिनमा सरकारले अहिलेसम्मकै सर्वाधिक ३३ अर्ब रुपैयाँ कर उठाएको थियो । त्यसपछि भने चैत मसान्तको दिन १७ अर्ब ३४ करोड रुपैयाँ रकम उठाएको छ । यो गत आर्थिक वर्षको चैत मसान्तमा उठेको राजस्व भन्दा २ अर्ब रुपैयाँ बढी हो । गत आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।
वर्षको सुरुवात भने १ करोड राजस्वबाट भएको छ । बुधबार सरकारी खातामा एक करोड १ लाख रुपैयाँ मात्रै राजस्व उठेको छ । सार्वजनिक बिदाका कारण सबै बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय बन्द भएकाले यस दिन राजस्व कम उठेको हो ।
नौ महिनामा ९३ अर्ब रुपैयाँ राजस्व बढयो
गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा सरकारको राजस्व ९३ अर्ब रुपैयाँले बढी उठेको छ । गत आर्थिक वर्षमा सरकारले नौ महिनामा पाँच खर्ब ९० अर्ब रुपैयाँ उठाएकोमा चालु वर्षको नौ महिनामा भने ६ खर्ब ८३ अर्ब रुपैयाँ उठाएको छ । यस हिसावले सरकारको राजस्व १५ प्रतिशतले बढेको छ ।
चालु वर्षका लागि राखिएको लक्ष्यको तुलनामा चैत मसान्तसम्ममा ६७.५९ प्रतिशत राजस्व उठेको छ । गत वर्ष भने लक्ष्यको तुलनामा ५३ प्रतिशत मात्रै राजस्व उठेको थियो । गत वर्ष चैतबाट लकडाउन सुरु गरिएको कारण राजस्वमा प्रभाव परेको थियो ।
खर्चमा भने बढ्न सकेन
१५ प्रतिशले राजस्व वृद्धि भएपनि नौ महिनाको अवधिमा सरकारको खर्चमा भने जम्मा २ प्रतिशतले मात्रै बढेको छ । त्यसमा पनि पुँजीगत र वित्तीय व्यवस्थापनअन्तर्गतको खर्च गत वर्षको भन्दा कम रहेको छ भने चालु खर्च मात्रै बढेको देखिएको छ ।
चालु वर्षको नौ महिनामा सरकारले ६ खर्ब ९४ अर्ब रुपैयाँ खर्च गरेको छ । गत वर्षको यहि अवधिमा ६ खर्ब ७५ अर्ब रुपैयाँको खर्च गरेको थियो ।
गत वर्ष नौ महिनामा चालु खर्च ४ खर्ब ९५ अर्ब भएकोमा चालु वर्षमा ५ खर्ब ३० अर्ब ८६ करोड भएको छ, पुँजीगत खर्च १ खर्ब ५ अर्ब भएकोमा चालु वर्षमा पनि १ खर्ब ५ अर्ब रुपैयाँ नै भएको छ भने वित्तीय यवस्थापनमा ७४ अर्ब ७८ करोड भएकोमा ५७ अर्ब ५८ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८ ११:४२