जर्साहेब !
कुममाथिका अजेय फुली
अचुक बन्दुक काँधमाथिको
अहा ! कति सुहाएको हजुरलाई !
०००
जर्साहेब !
जीवनको यो अपूर्व क्षणमा
प्रसन्नताको शिखरमा उभिएको छु म
आज ।
०००
जर्साहेब !
आविष्कार भयो यस दुःखमय धरामा
एक अनमोल सत्य
जो न थाहा थियो कार्ल मार्क्सलाई
न महात्मा गान्धीलाई
न मार्टिन लुथर किङलाई
न नेल्सन मन्डेलालाई ।
०००
जर्साहेब !
सतीको श्राप परेको यो भूमिमा
सदैव असुरक्षित थियो नागरिक अधिकार
जोखिमयुक्त थियो सदैव मान वअधिकार
अब, अब, ओ जर्साहेब, अब !
सुरक्षित भयो नागरिक अधिकार
हजुरका अनुरागमय फुलीहरूमा
जोखिममुक्त भयो मानव अधिकार
हजुरका बन्दुकको करुणामयी नालमा ।
०००
जर्साहेब !
विजयको ध्वजा उचालेर सविनय उद्घोष गर्छु
म
मेरो एकल कृति होइन यो आविष्कार
स्वनामधन्य वकिल र नामी पत्रकार
विख्यात मानव अधिकारकर्मी र चतुर राजनीतिकर्मी
सबैको गहन चिन्तन र अथाह चिन्ताको
सबैको अथाह मन्थन र गहन साधनाको
सफल फल हो यो अपूर्व आविष्कार ।
०००
जर्साहेब !
यस आदिम मुलुकमा दुर्भाग्यवश
बिगबिगी छ सर्वत्र पटमूर्खहरूको
यो आविष्कारमा प्रकाश छ
ती देख्दैनन्
यो आविष्कारमा ध्वनि छ
ती सुन्दैनन्
यो आविष्कारमा स्पन्दन छ
ती अनुभूत गर्दैनन् ।
०००
जर्साहेब !
प्रश्नका सहस्र तीर ताकिएका छन् मतिर
मूर्खहरूको उन्मादी भीडबाट
म मर्माहत भएको छु
र, अवाक् भएको छु म ।
०००
जर्साहेब !
शक्तिका केन्द्र पनि हजुरै
ज्ञानका मुहान पनि हजुरै
संवेदनाका पुञ्ज पनि हजुरै
वाक्पटुताका खानी पनि हजुरै ।
ओ जर्साहेब !
मूर्खहरूका आँखा खोल्न
सप्रसङ्ग व्याख्या गरिपाऊँ दीनदयालु जर्साहेब
कसरी सुरक्षित हुने हो नागरिक अधिकार
हजुरका करुणामयी फुलीहरूमा ?
कसरी जोखिममुक्त हुने हो मानव अधिकार
हजुरको अनुरागमय बन्दुकको नालमा ?
०००
परमादरणीय जर्साहेब !
म हुँ सदा बफादार सेवक हजुरको
जो हुकुम जो निगाह प्रभुको ।
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७ १९:११