अध्यापनक्षेत्रमा लागेको वर्षौं भए पनि सुलभ बुढाथोकीलाई आफूले पढाएको आफैँलाई चित्त बुझ्दैनथ्यो । पढाउन नसकेर पनि होइन । पढ्न तेज विद्यार्थीले त राम्रै गर्थे तर सबैको राम्रो हुन्थेन । सबै विद्यार्थीलाई एक–एक गरेर पढाउन सम्भव पनि कहाँ हुन्छ र !
उनी सूचना प्रविधिक्षेत्रमा समेत काम गरेको मान्छे भएकाले प्रविधि प्रयोग गरेर विद्यार्थीलाई पढाइयो भने ख्यालठट्टामै राम्रोसँग सिकाउन सकिन्छ भन्ने लाग्थ्यो ।
उनले नेपालभर पाँचवटा कलेजमा नेतृत्वदायी भूमिकामा रहेर काम गरे पनि प्रविधिकाे सहयाेगमा शिक्षा दिने सपना भने पूरा गर्न सकेका थिएनन् । यसमा उनले धेरैसँग छलफल पनि गरे ।
उनी र उनको टिमले क्याम्ब्रिजका तीन जना प्रोफेसरले डिजाइन गरेको ‘माई सेकेन्ड टिचर’लाई नेपालमै विकास गर्ने निर्णय गरे ।
अनि सुरु भयो ‘माई सेकेन्ड टिचर’
नेपालको शैक्षिकक्षेत्रमा परिवर्तन ल्याउन उनी लागेको २० वर्षपछि अर्थात् आगामी १ वैशाखमा पूरा हुँदै छ त्याे सपना । उनको ‘इनोभेट टेक’ नामक कम्पनीले नेपालमा पहिलो पटक ‘माई सेकेन्ड टिचर’ सार्वजनिक गर्दै छ ।
माई सेकेन्ड टिचरको मुख्य विशेषता भनेको अनुभवी शिक्षकले प्रविधिको सहायताले सहज ढंगले पढाउनु हो । ‘हाम्रा बच्चाले हिन्दी भाषा राम्रोसँग पढ्ने र लेख्ने गर्छन्, हिन्दी गीत गाउँछन् तर पढाइ किन सम्झदैनन् । त्यसको मुख्य कारण भनेको उनीहरूले पढाइमा मजा लिन सकिरहेका छैनन्’, उनले भने, ‘हामीले पढाइलाई नै रमाइलो बनाइदिएका छौँ ।’
यसमा विद्यार्थीसँगको रोचक संवादमा आधारित अन्तर्क्रियात्मक भिडियो सामग्रीहरू भएकाले पढ्दा पनि पढेकोजस्तै लाग्दैन ।
त्यस्तै, माई सेकेन्ड टिचरको मद्दतले नबुझेका कुरा शिक्षकसँग अनलाइन र व्यक्तिगत रूपमै सोध्न मिल्ने, अनलाइन ट्युटर सेवा, प्रत्येक विद्यार्थीको सही मूल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डायग्नोस्टिक रिपोर्ट, कुनै पनि समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपरलगायतका थुप्रै विशेषता रहेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीले एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य गणित, विज्ञान, अंग्रेजी र ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक विद्यार्थीको कुराकानीमा आधारित अन्तर्क्रियात्मक भिडियो सामग्री तयार पारेको छ ।
पछि अरु कक्षाको पनि सामग्री बनाउने तयारी भइरहेको बुढाथोकीले जानकारी दिए ।
नेपालमै नेपालीले बनाएको यो माध्यम अमेरिका, जापान, सिङ्गापुर, ओमान, इन्डोनेसिया, इजिप्ट, कोलम्बियालगायत १८ वटा देशका सयौँ क्याम्ब्रिज स्कुलका हजारौँ विद्यार्थी, शिक्षक तथा अभिभावकले प्रयोग गरिरहेका छन् ।
भिडियो सामग्री हेरेर पनि अन्योलमा परेका विदेशका विद्यार्थीले आफूले नजानेको कुरा च्याट वा भिडियोमार्फत सोध्छन् । बालुवाटारको अफिसमा बसेका शिक्षकहरूले त्यो जिज्ञासा मेटिदिन्छन् ।
‘हामीले यो सन् २०१९ देखि इन्डोनेसियाबाट सुरु गरेका हौँ । यो प्रोजेक्ट सुरुमा क्याम्ब्रिजका विद्यार्थीहरूका लागि बनाइएको थियो । त्यहाँ मान्यता दिएपछि मात्र नेपालमा ल्याएका हौँ’, उनले भने, ‘नेपालमा लकडाउन सुरु भएपछि यसको आवश्यकता देखेर हामीले दिनरात खटेर छ महिनामा नेपाली सामग्री तयार पर्यौँ ।’
यो प्रविधि प्रयोग गर्न महिनाको १ हजारभन्दा कम शुल्क निर्धारण गरिने बुढाथोकीले जानकारी दिए । हाल कम्पनीमा ५० जना शिक्षक/कर्मचारी छन् भने सन् २०२४ सम्ममा कम्तीमा १० हजार बनाउने कम्पनीको लक्ष्य रहेको उनले बताए ।
सन् २०२० मा एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० ई–लर्निङ प्लेटफर्ममा पर्न सफल माई सेकेन्ड टिचर 'अमेजन वेब सर्भिसेस'को ‘एड–स्टार्ट’ अवार्डसमेत जित्न सफल भएको छ ।
हेर्नुहोस् भिडियो:
तस्वीर : सुशील श्रेष्ठ/भिडियो : चन्द्र राई
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७ ०७:५९