व्यवसायीलाई ठगी गरेको आरोपमा राजेश हार्डवेयरको बालाजु डिपो प्रमुख कमलकुमार शर्मालाई व्यवसायीहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । कम परिमाणको सामान पठाएको अभियोगमा शुक्रबार व्यवसायीहरूले डिपो प्रमुख शर्मालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
डिपोबाट तीन ठाउँमा पठाएको फलामे डन्डी कम तौलको भेटिएपछि व्यापारीले डिपो प्रमुखलाई नियन्त्रणमा लिएका हुन् । डिपोबाट तीनवटा गाडीमा लोड गरी पठाएको फलामे डण्डीको एउटै मुठामा सात केजीसम्म कम तौल भेटिएको व्यवसायीले बताएका छन् ।
‘हामी (व्यवसायी) मिलेर सबै ठाउँमा पठाएको डण्डीको तौल परीक्षण गर्यौँ । एकै मुठामा सात केजीसम्म फरक देखिएको छ,’ व्यवसायी दिलीप लामाले भने, ‘कम तौलको सामान पठाएको प्रमाणित भएपछि हामीले बालाजु डिपो प्रमुखलाई प्रहरीको जिम्मा लगाएका छौँ ।'
कम तौलको फलामे डण्डी पठाएर राजेश हार्डवेयरले एउटै मुठामा एक हजार रुपैयाँसम्म ठगी गरेको व्यापारीको गुनासो छ । 'एक मुठो डण्डीमा ८० केजी रहेको भनेर बिल बनाइएको थियो तर तौल गर्दा उक्त मुठामा ७३ केजी मात्रै डण्डी रहेको भेटियो,' एक व्यवसायीले भने ।
राजेश हार्डवेयर देशकै सबैभन्दा ठूलो हार्डवेयर कम्पनी हो । यसको सञ्चालक प्रतिष्ठित व्यवसायी सुवास अग्रवाल हुन् ।
'यति ठूलो व्यावसायिक प्रतिष्ठानबाट यो हदसम्ममको अपराध भएको रहेछ, हामीले भर्खरै थाहा पायौँ,’ नेपाल ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष महोन कटुवालले भने ।
अर्का एक व्यवसायीका अनुसार राजेश हार्डवेयरको ठगी धन्दाको खुलासा भएपछि यो मुद्दालाई मिलाउन आफूहरूलाई दबाब दिइएको छ । व्यवसायीले भने यो विषयमा गम्भीर अनुसन्धान हुनुपर्ने बताएका छन् । देशैभर राजेश हार्डवेयरले पठाएको सामग्रीको तौल गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।
यसअघि कार्टेलिङ गर्ने, मूल्य बढाउनेलगायतका काममा पनि राजेश हार्डवेयरको प्रमुख भूमिका रहेको व्यवसायी गुनासो छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७ १८:२९