‘हिसिला यमी दक्षिण एसियाकै सर्वाधिक भ्रष्ट नेतृ हुन् ।’
फोर्ब्स म्यागजिनले विश्वका सर्वाधिक धनी व्यक्तिहरूको सूची निकालेजस्तो भ्रष्ट व्यक्तिहरूको सूची कसैले निकाल्दैन । तर, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसित जोडेर माथिको वाक्य बारम्बार चर्चामा आउने गर्छ । न्युयोर्क टाइम्समा प्रकाशित लेखमा नै यो विवरण प्रकाशित भएको दाबी गरिन्छ । वरिष्ठ पत्रकारहरूले समेत यसलाई उल्लेख गरी आफ्ना लेखहरू लेख्ने गरेका छन् ।
त्यसैले राजनीति र भ्रष्टाचारको विषय आउँदा हिसिला यमी र न्युयोर्क टाइम्समा छापिएको भनिएको यो रिपोर्ट सधैँजसो जोडिएर आउने गर्छ । तर, तथ्य त्यस्तो होइन । न्युयोर्क टाइम्समा ६ नोभेम्बर, २०१३ मा नेपालको चुनावबारे एउटा रिपोर्ट छापिएको र त्यसमा हिसिला यमीको प्रसङ्ग उल्लेख भएको सही हो । तर, उनले 'यदि तपाईंले अखबार पढ्नुभयो भने तपाईंले सोच्नुहुन्छ कि म नेपालमा सबभन्दा भ्रष्ट महिला हुँ' भनेकी थिइन् । समाचारमा हिसिलाले आफ्नो लुकाइएको सम्पत्तिबारेका समाचारहरू हल्ला मात्रै रहेको भन्दै खण्डन गरेकी छिन् । यसैलाई तोडमरोड गरेर न्युयोर्क टाइम्सले दक्षिण एसियाकै भ्रष्ट नेतृ लेखेको भन्दै हिसिलाको मानमर्दन गरियो ।
आफूलाई क्राइम टुडे नामको पत्रिकाले दक्षिण एसियाकै भ्रष्टाचारी महिला लेख्दै गाली बेइज्जती गरेको भन्दै हिसिलाले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको र सो मुद्दामा ‘त्यस्तो भ्रष्ट हुन् भन्ने आधार स्रोत उल्लेख नगरी ख्यातिमा धक्का पुर्याउने नियतले प्रकाशन गरेको पुष्टि भएको’ भन्दै गाली बेइज्जती गरेको ठहर गर्दै जरिवाना र क्षतिपूर्ति भराउने फैसला गरेको थियो २०७० सालमा । अदालतले यस्तो निर्णय गरे पनि त्यो गलत समाचार पत्याउनेको कमी छैन । उनले अहिलेसम्म स्पष्टीकरण दिँदै हिँड्नुपरिरहेको छ ।
कस्ता-कस्ता मिथ्या सूचना ?
मुख्य तीन प्रकारमध्ये हिसिला यमीसित जोडिएको यस्ता खालका मिथ्या सूचनालाई अङ्ग्रेजीमा ‘मालइन्फरमेसन’ भनिन्छ । यसमा मिथ्या सूचना फैलाउनेले नियतवश कुनै व्यक्ति, संस्था, समूह वा देशलाई हानि पुर्याउने उद्देश्य राखेको हुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि यस्तो ‘मालइन्फरमेसन’को सिकार भएका छन् । गत वर्ष जुलाईमा ग्लोबल वाच एनालाइसिस नामको एउटा वेबसाइटमा उनको स्विस बैंकमा खाता भएको र त्यसमा ५ दशमलव ५ मिलियन डलर मौज्दात रहेको दाबी गरिएको थियो । त्यसमा कुनै प्रमाण भने थिएन । दाबी प्रकाशित भएको केही समयपछि भने बैंकले पठाएको प्रेस रिलिजमा ‘यी नाम गरिएका कुनै पनि व्यक्तिको खाता नरहेको’ उल्लेख गरी समाचार अपडेट गरिएको थियो ।
तर, प्रधानमन्त्री ओली आफैँले पनि अरुविरुद्ध मालइन्फरमेसन फैलाएका उदाहरण छन् । उदाहरणका लागि हाल माधव नेपाल समूहमा रहेका नेता भीम रावलले ‘स्त्रीअङ्ग राखेका कारण ओलीको दिमाग बिग्रिएको’ भन्दै गरेको आलोचना । नेपाल फ्याक्ट चेकको तथ्यजाँचमा यो समाचार मिथ्या रहेको पुष्टि भएको थियो । भन्दै नभनेको कुरामा पनि आलोचना गर्न उनी उद्दत रहे ।
तातोपानी खाने, अम्बाको पातले कुल्ला गर्नेजस्ता थुप्रै दाबी पनि प्रधानमन्त्री ओलीले भाषणमा गरे । यस्ता मिथ्या सूचनालाई मिसइन्फरमेसन वा डिसइन्फरमेसनका रूपमा वर्गीकरण गरिन्छ । मिसइन्फरमेसनमा गलत विषयलाई फैलाउनेले सही हो भन्ठानेर अञ्जानवश फैलाइरहेको हुन्छ । डिसइन्फरमेसन त्योभन्दा अलि फरक हुन्छ । यसमा भने फैलाउनेलाई गलत हो भनेर थाहा हुन्छ । तर, नियतवश अरुलाई भ्रमित पार्ने उद्देश्यले त्यसलाई फैलाउँछ ।
किन आवश्यक छ तथ्य जाँच ?
यी तीनै प्रकारका मिथ्या सूचना सभ्य समाजका लागि घातक हुन्छन् । केही मिथ्या सूचना रमाइलोका लागि मात्र हुन सक्ला, तर यसले गम्भीर परिस्थिति निम्त्याएर मान्छेको ज्यानै जानेसम्मको घटना निम्त्याएको उदाहरण हेर्न धेरै पर जानै पर्दैन, नेपालमै छ ।
मिथ्या सूचना झुटको जगमा उभिएको हुन्छ । जगै बलियो नभएपछि त्यसले पार्ने असर घातकै हुन्छ । झुटो जानकारीका कारण सचेत नागरिक गलत निर्णयको फन्दामा पर्ने सम्भावना हुन्छ ।
निर्मला पन्तको झण्डै तीन वर्षअघि भएको बलात्कार र हत्या प्रकरणमा मिथ्या सूचनाको बाढी नै लाग्यो– सामाजिक सञ्जालमा अम्बाको रुख, बम दिदीबहिनी, उनीहरूको रङ्ग्याउँदै नरङ्ग्याइएको घर रङ्ग्याइएको, एसपीका छोरा र मेयरका भतिज, भैँसी ब्याएको बेला रुँघ्न बसेका छिमेकीहरूले लासलास भनेको सुनेको, ओपेरा होटलको हुँदै नभएको रुम नम्बरमा घटना भएको ठोकुवालगायतका थुप्रै मिथ्या सूचना फैलिए । धेरैले त्यसैलाई सही माने । मूलधारका मिडियासमेत त्यसैमा बहकिए । पहिलो पोस्टको #WhoKilledNirmala ३० अङ्कको सिरिजमा यस्ता मिथ्या सूचनाहरूबारे विस्तृत उल्लेख छ ।
यस्तै मिथ्या सूचनाहरूका कारण अविश्वासको वातावरण फैलियो, अनुसन्धानै ‘डिरेल’ भयो, वातावरण उत्तेजित भयो र आन्दोलनका क्रममा एक जनाको ज्यानै गयो भने एक जना अहिले पनि अशक्त अवस्थामा उपचार गराइरहेका छन् । मिथ्या सूचनाको जालो यसरी नफैलिएको भए अनुसन्धान ट्रयाकमा हुन्थ्यो । सर्वसाधारण आफैँले सूचना दिन्थे । त्यसका आधारमा क्लु पाइन्थ्यो र नेपालमा हुने अरु धेरै अपराधका घटना झैँ यो पनि टुङ्गिन सक्थ्यो । तर, मिथ्या सूचनाले भीडको मागअनुसार अनुसन्धान डोर्याउनुपर्ने स्थिति आइलाग्यो र आज तीन वर्ष पूरा हुन लाग्दासमेत हत्यारा को हो पत्तै लागेको छैन, दोषीलाई सजाय हुने त कुरै छाडौँ ।
धेरैले सामाजिक सञ्जाललाई यसको दोष दिने गरेका छन् । तर, के सामाजिक सञ्जालकै कारण मिथ्या सूचना फैलिने हो त ? होइन । सामाजिक सञ्जाल सूचना फैलाउने माध्यम मात्र हो । सही सूचना होस् कि गलत, त्यसले अर्थ राख्दैन । सामाजिक सञ्जाल नहुँदा पनि मिथ्या सूचना फैलिएर विषम परिस्थिति निम्तिएका उदाहरण छन् ।
२०५७ सालमा ऋतिक रोशन काण्ड यसको उदाहरण हो । त्यतिबेला ‘नेपाल र नेपालीलाई घृणा गर्छु’ भनेर स्टार टेलिभिजनमा अन्तर्वार्ता आयो रे भनेकै भरमा देशभर उत्तेजक प्रदर्शन भए, जसलाई नियन्त्रणमा लिन गोलीसमेत चल्यो र त्यस क्रममा केहीको ज्यानै गयो । केही समय पृथकतावादी आन्दोलन चलाएर हाल मूलधारमा आएका सीके राउतलाई समेत यही क्रममा भएको दुर्व्यवहारले मधेसीहरूमाथि भएको अन्यायविरुद्ध उभिन प्रेरित गरेको उनले आफ्नो आत्मकथामा लेखेका छन् ।
२००७ सालपछिको आन्दोलनमा खुकुरी दलको आतंकको हल्ला होस् वा २०४६ सालको आन्दोलनपछि धाराको पानीमा विष हालेको छ, खानु हुँदैन भन्ने हल्ला, त्यतिबेला सामाजिक सञ्जालबिना नै हल्ला यति धेरै फैलिएर जनमानसमा आतंक मच्चियो कि त्यसलाई सामना गर्न निकै गाह्रो परेको थियो ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका प्रेस सल्लाहकार किशोर नेपाल सम्झन्छन्- धाराको पानीमा विष भएको कुरा हल्ला मात्र भएको बताउन पत्रकार सम्मेल नै गर्नुपर्यो । त्यतिबेला अहिलेजस्तो सोसल मिडियाको कुरै छाडौँ, निजी मिडियासमेत धेरै नभएकाले सरकारी मिडियाबाट यसको प्रचार गर्न लगाएको उनी बताउँछन् ।
अहिले भने सामाजिक सञ्जालको उपलब्धतासँगै तथ्य जाँच नामको एउटा फरक विधाको अभ्यास विश्वमा हुने गरेको छ । सर्वसाधारणलाई मूर्ख बनाइने अप्रिल १ को भोलिपल्ट विश्वभरका तथ्य जाँचकीहरूले अन्तर्राष्ट्रिय तथ्य जाँच दिवस मनाउने गर्छन् । यो दिवसमा मिथ्या सूचनाको कुप्रभाव र यसबाट बच्ने तरिका र तथ्य जाँचको महत्त्वबारे प्रचार गर्ने गरिन्छ ।
हामीले पनि गत वर्षको अन्तर्राष्ट्रिय तथ्य जाँच दिवसको अवसर पारेर नेपाल फ्याक्ट चेक डट ओआरजी सुरु गरेका थियौँ । यसले नेपालमा भाइरल भएका विषय र मिडियामा आएका सामग्रीहरूको तथ्य जाँच गर्छ । हालसम्म ११५ वटा गरिएका तथ्य जाँचमा अधिकांश कोरोना भाइरससित सम्बन्धित छन् र थुप्रै सामाजिक सञ्जालमा फैलिएका हुन् ।
मिथ्या सूचना झुटको जगमा उभिएको हुन्छ । जगै बलियो नभएपछि त्यसले पार्ने असर घातकै हुन्छ । झुटो जानकारीका कारण सचेत नागरिक गलत निर्णयको फन्दामा पर्ने सम्भावना हुन्छ । ऋतिक रोशन प्रकरणमा झैँ यसले सार्वजनिक सुरक्षामा चुनौती हुन सक्छ, साम्प्रदायिक सहिष्णुता/सद्भाव बिग्रन सक्छ । पीडामा परेकाहरूको आक्रोश दीर्घकालीन रूपमा सीके राउत शैलीमा पोखिन सक्छ । सूचनाको वातावरण अन्योलमा पर्न सक्छ । कसलाई विश्वास गर्ने, कसलाई नगर्ने- अन्योलको वातावरण बन्न सक्छ ।
त्यसैले लोकतन्त्र बलियो बनाउन पनि मिथ्या सूचनाबाट जोगिनु र खबरदारी गर्नु आवश्यक हुन्छ । तथ्य जाँच त्यसैका लागि एक सहयोगी हो ।
-लेखक नेपालमा तथ्य जाँच गरिरहेको संस्था नेपालफ्याक्टचेकका सम्पादक हुन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७ १२:४२