बागलुङ र गुल्मीको सीमानामा पर्ने बल्देधुरीमा आइतबार होलीको रङ दल्ने विषयमा दुई समूहबीच भएको 'ग्याङ फाइट'मा मृत्यु भएका युवाको शव बुर्तिवाङ ल्याइएको छ । होलीको रंग दल्ने विषयमा भएको झडपमा परी मृत्यु भएका निसिखोला गाउँपालिका– ७, राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको शव बुर्तिवाङ ल्याइएको हो ।
उक्त घटनामा केही बेपत्ता भएकोसमेत आंशका गरिएको छ ।
भीरमा अड्किएको अवस्थामा दुई जनाको शव फेला परेको र पोष्टमार्टका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले शिलापत्रलाई जानाकारी दिए ।
‘घटनाको जानाकारी हुनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेको छ । राति भएका कारण केही असहज भएको थियो,' हवारीले भने, 'अहिले टोलीले घटनास्थलमा पुगेर स्थानियसँग सोधपुछ र हराएका भनिएकाहरूको यथार्थ जानाकारी लिने काम गरिरहेको छ ।’
बडिगाढ गाउँपालिका- १० का वडाध्यक्ष वीरेन्द्र कुमार बुढाले घटनास्थलमा प्रहरीसहितको टोली पुग्दै गरेको र बेपत्ता भनिएका व्यक्तिहरूको यथार्थ विवरण भने आइनसकेको जानकारी दिए । गुल्मी र बाग्लुङको सीमानामा पर्ने बडिगाड– १० बल्देधुरीमा गुल्मी, प्युठान र बाग्लुङका युवाहरू आइतबार होली खेल्न जम्मा भएका थिए ।
त्यसक्रममा रङ लगाउने विषयमा विवाद भएको र विवादपछि बागलुङकै निसीखोला गाउँपालिका– ७ र बडिगाड– १० का युवाहरूबीच झडप भएको स्थानीयले बताए ।
निसीखोला गाउँपालिका– ७ का अध्यक्ष तेजेन्द्रविक्रम कुँवरले गाउँबाट गएका केही युवा अहिले पनि सम्पर्कमा नआएको बताए । मृत्यु हुने प्रकाश बाग्लुङ नेपाली कांग्रेसका जिल्ला सदस्य हुन भने दमाई सक्रिय सदस्य हुन् ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७ ०८:३४