केही वर्षपहिले राष्ट्रिय विज्ञान दिवसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले एउटा कार्यक्रम आयोजना गरेको थियो । म पनि सहभागी थिएँ । कार्यक्रम निर्धारित समयमै सुरु नहुने देखेपछि म नास्टको पुस्तकालय छिरेँ । त्यहाँ मैले नास्टले प्रकाशित गरेको एउटा पुस्तिका भेटेँ । त्यो पल्टाएर हेर्दै जाँदा शंखको धुनबारे चर्चा गरिएको एउटा लेख भेटियो । त्यसमा लेखिएको थियो- शंख बजाउँदा भुत, प्रेत, पिशाच भगाउन सकिन्छ ।'
पुस्तकालयको कर्मचारीसित अनुरोध गरेर मैले त्याे पुस्तिका लिएँ । अनि कार्यक्रमस्थलतिर गएँ । कार्यक्रमको अन्त्यतिर नास्टका भिसीसँग प्रश्नाेत्तरकाे सेसन पनि रहेछ । साेही क्रममा उनलाई त्यो पुस्तिका देखाउँदै प्रश्न सोधेँ, 'नास्टले प्रकाशित गरेको यो पुस्तिकामा शंख फुकेर भूत, प्रेत, पिशाच भगाउन सकिने कुरा उल्लेख छ । मैले त अहिलेसम्म भूत, प्रेत देखेको छैन । भूत कस्तो हुन्छ ? शंख बजाउँदा कसरी भाग्छ, जान्न चाहन्छु ।'
प्रश्न सुनेर कार्यक्रमका सहभागीहरू गलल हाँसे । भिसीको जवाफ आयो, 'हाम्रा कतिपय प्रकाशन सामान्य लेख, रचना प्रकाशित गर्ने खालका पनि हुन्छन् । तपाईंले हेर्नुभएको पुस्तिका 'पिअर रिभ्यु' (लेखकाे सहकर्मी समीक्षा) वाला होइन । भुत, प्रेत त मैले पनि देखेको छैन, आगामी दिनमा यस्ता सामग्री छपाउनुअघि हामी ध्यान दिनेछाैँ ।'
याे प्रसंगमा ती लेखकले हिन्दुहरूकाे धार्मिक, सांस्कृतिक क्रियाकलापमा बजाइने शंखको धुनलाई वैज्ञानिक कारण देखाएर त्यसको औचित्य पुष्टि गर्न खाेजेका छन् । नास्टजस्ताे संस्थाकाे मूल गेटमा मन्दिर राखिएकाे प्रसंगलाई लिएर पनि कतिपयले आलाेचना गर्ने गरेका छन् । त्यसाे त, यहाँभित्र बेला-बेलामा होम गरिएको समाचारले पनि स्थान नपाएको हाेइन । पुस्तिकामा एउटा धर्म/संस्कृतिको व्याख्या गरेर लेख छापिन्छ भने नास्तिक मानिस र अन्य धर्ममा आस्था हुनेलाई त त्यो अरुचि, अझ आपत्तिकै विषय पनि त हुन सक्छ नि !
यस्ता थुप्रै प्रसंग छन्, जहाँ हाम्रा पौराणिक कथा, धार्मिक मान्यता अनि विश्वाससँग जाेडेर वैज्ञानिक दृष्टिकोणले सही छन् भन्ने अर्थमा व्याख्या हुने गरेको पाइन्छ । कतिपय विषय आधुनिक विज्ञानलाई अवमूल्यन गर्ने गरी हाम्रा पौराणिक कथा, दर्शनभित्र सबै कुरा लेखिएका छन् । तिनकै अध्ययन गरेर आधुनिक विज्ञान अगाडि बढिरहेको छ । त्यसलाई नयाँ आविष्कार मान्न जरुरी छैन भन्ने गरी व्याख्या हुने गरेका छन् ।
धार्मिक पौराणिक कथा, मान्यताहरूलाई विज्ञानको लेपन लगाएर पस्किने र आधुनिक विज्ञानका उपलब्धिहरूलाई हाम्रै पुराणहरूमा पहिल्यै उल्लेख भएका कुरा हुन् भन्नु झट्ट सुन्दा वैज्ञानिक कुराजस्तो लाग्छ । तर, वास्तवमा त्यो विज्ञान नभएर नक्कली विज्ञान अर्थात् छद्म विज्ञान (Pseudoscience) हो ।
विज्ञानले त कुनै पनि तर्क, परिकल्पना (Hypothesis) लाई पुष्टि गर्न आवश्यक तथ्य /तथ्यांक, प्रमाण र परीक्षण आवश्यक ठान्छ । कतिपय तर्क हामीलाई अकाट्य होजस्तै लाग्छ । त्यसमाथि शंका गर्न, परीक्षण गर्न आवश्यक ठानिँदैन । र, स्वीकार गरिन्छ । उदाहरणका लागि अरस्तुले इसापूर्व चौथो शताब्दीमा भनेका थिए, 'कुनै पनि वस्तु पृथ्वीतिर खस्ने प्रवृत्ति रहन्छ । गह्रौँ वस्तु छिटो खस्छ र हलुङ्गो वस्तु ढिलो खस्छ । गह्रौँ वस्तु धेरै बलले तानिन्छ भन्ने तर्क पत्याउनलायक थियो । यसलाई कसैले परीक्षण गर्न आवश्यक ठानेन र झण्डै २ हजार वर्ष विश्वास गरियो । जब ग्यालिलियोले सन् १५९० तिर झुकेको धरहरामा सिक्का र प्वाँखको परीक्षण गरेर हावाको अवरोध नहुँदा हलुङ्गो र गह्रौँ वस्तु सँगसँगै खस्छ भन्ने देखाए, त्यसपछि पुरानो मान्यता गलत ठहरियो ।
धार्मिक पौराणिक कथा, मान्यताहरूलाई विज्ञानको लेपन लगाएर पस्किने र आधुनिक विज्ञानका उपलब्धिहरूलाई हाम्रै पुराणहरूमा पहिल्यै उल्लेख भएका कुरा हुन् भन्नु झट्ट सुन्दा वैज्ञानिक कुराजस्तो लाग्छ । तर, वास्तवमा त्यो विज्ञान नभएर नक्कली विज्ञान अर्थात् छद्म विज्ञान (Pseudoscience) हो ।
गुरुत्वाकर्षण सिद्धान्तको विकासमा अरस्तु हुँदै थुप्रै गणितज्ञ, भाष्कराचार्यलगायत ग्यालिलियो र पछि न्युटनको योगदान देखिन्छ । न्युटनले गुरुत्वाकर्षणको नियमलाई निकै प्रस्टसँग गणितीय भाषामा प्रस्तुत गरेको र परीक्षण गर्न सकिने भएकाले त्यो आजसम्म पनि पढाइ हुन्छ ।
गुरुत्वाकर्षणको नियम पत्ता लगाएको मुख्य श्रेय न्युटनलाई नै जान्छ । भलै उनको सिद्धान्तका पनि सीमा छन्, त्यसलाई आइन्सटाइनले थप व्याख्या गरेका छन् । किन हो, अहिले हाम्रा प्रधानमन्त्रीले पटक-पटक गुरुत्वाकर्षणबारे चर्चा गरिरहेकाे सुन्छु- गुरुत्वाकर्षण त न्युटनभन्दा पहिल्यै भाष्कराचार्यले पत्ता लगाइसक्नुभएको थियो । हाम्रो भूखण्डका ऋषिमुनिहरू, गणितज्ञहरू विद्वान् थिए । हाम्रो पूर्वीय दर्शन अब्बल छ भन्ने भाषण हुन्छन् उहाँका ।
ठीकै छ, हाम्रो दर्शन अब्बल छ । तर, के आधुनिक विज्ञानमा निकै ठूलो योगदान पुर्याएका वैज्ञानिकहरूलाई अवमूल्यन गर्न जरुरी छ ? विज्ञानले त ज्ञानको विकास शृंखलाको परिष्कृत रूपलाई स्वीकार गर्छ । के हामी पुराना पौराणिक ग्रन्थहरूमा सबै थोक छ भनेर त्यतैतिर लाग्न र त्यसैको भर पर्न सक्छौँ ?

रुचि हुनेका लागि त्यो खोज, अनुसन्धानको विषय हुन सक्छ, तर आधुनिक विज्ञानसँग दाँजेर त्यसको नजरअन्दाज गर्ने र कतिपय धार्मिक सांस्कृतिक विषयहरूलाई आधुनिक विज्ञानको सहारा लिएर व्याख्या गर्ने, महत्त्व दर्शाउने प्रयत्न छद्म विज्ञान हो ।
पत्रकार जीवराम भण्डारीले सञ्चालन गर्ने एउटा टेलिभिजन कार्यक्रममा एक जना आध्यात्मिक विचार राख्ने महिलाले भनेका कुरा विज्ञानको सामान्य ज्ञान राख्ने जोकोहीका लागि हाँस्यास्पद लाग्छ । उनको दाबी छ- भागवत् गीतालगायतका ग्रन्थ अध्ययन गरेर नासाका वैज्ञानिकहरूले सफलता हासिल गरेका हुन् । उनले आफूले विज्ञानमा पढेको कुरा व्याख्या गर्दै यो ब्रह्माण्डको उत्पत्ति कसरी भयो भन्ने सवालमा भन्दै थिइन्- दिअर वाज अ बिग बल व्हीच वाज ब्याङ्ग' !
आफ्ना तर्कलाई पुष्टि गर्न नासाको कुरा निकाल्ने र वैज्ञानिक खोज अनुसन्धानलाई हाम्रा धार्मिक पौराणिक ग्रन्थहरूको प्रचार गर्न प्रयोग गर्नु कि त एउटा भ्रम हो, कि त त्यसको पछाडि कुनै नियत लुकेको छ । आमसर्वसाधारणमा भ्रम छर्ने गरी आउने यस्ता सामग्रीहरूबाट कतिपय मिडियाकर्मी आफैँ भ्रमित देखिन्छन ।
क्यानडा बस्दै आएका खाद्य वैज्ञानिक नारायण घिमिरेको लेखमा भनिएको थियो, 'यहाँनिर रमाइलो के छ भने विशेष प्रकृतिको ध्वनिको प्रयोग गरी आफ्नो खानाबाट विषाक्त जीवाणु माइक्रो वेब, लेजर प्रविधिले मार्दै ब्रेकफास्ट, लन्च र डिनर हसुर्ने हाम्रो विद्वत् वर्ग आफैँ भने वेदमा उल्लेख भएको ध्वनिले माइक्रोबियल रोगहरू निको पार्ने क्षमताको गहिरो अर्थ बुझ्न नसकी वेदका उक्त विचारधाराहरूको निन्दा गर्ने पङ्क्तिमा खडा भएको देख्न पाइन्छ ।'
यस्तो दाबी गर्ने लेखकले वेदका मन्त्र उच्चारण गरेर खानेकुरामा भएका सूक्ष्म जीवाणु मार्न सकिने हो भने कसरी उच्च्चारण गर्नुपर्ने हो, विधिसहित व्याख्या गरिदिएको भए हुने थियो । कसैले ल मन्त्र उच्चारण गरेर जीवाणु नष्ट गरिएको देखाउनोस् भन्यो भने परीक्षण गरेर देखाउन पनि सक्नुपर्छ । होइन भने यस्ता तर्कलाई त किन स्वीकार्ने ? यो आग्रह-पूर्वाग्रहको कुरा होइन, बरु जुन कुराको दाबी गरिएको छ, त्यसलाई पुष्टि गर्न आवश्यक न्यूनतम आधारहरू खोइ भन्ने प्रश्न हो ।

कोरोना महामारी सुरु भएपछि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कोरोना भगाउने मन्त्र भनेर संस्कृतको श्लोक फेसबुकमा हालेको पाइएकाे थियाे । दुनियाँभरि कोरोनाको उपचार छैन भनेर मानिसहरू चिन्तित भएको बेला एउटा संस्कृतको श्लोक पढेपछि कोरोना भगाउन सकिने कुरा कम हाँस्यास्पद थिएन ।
यो त बेसारपानी खाने हाँच्छ्यु, साच्छ्युँ गरेर कोरोना भगाइदिने भन्ने प्रधानमन्त्री केपी ओलीको भनाइमा ताल मिलाउन लेखिएको जस्तो देखिन्थ्यो । यस्ता तर्कमा सत्यता छ कि छैन, त्यसबारे हामी खाेजी नै गर्दैनाैँ । जसले दाबी गरेर भनेको छ, उसले कोरोना भगाएर नदेखाउँदासम्म वैज्ञानिक जगत्मा स्वीकारेर अवलम्बन गरिँदैन ।
विज्ञान प्रविधिका उपलब्धिसँग हाम्रा शास्त्रका कथालाई ल्याएर जोड्नेहरूको पनि कमी छैन । प्रधानमन्त्री ओलीले नै बेला-बेला वैज्ञानिकहरूलाई पछि पार्दै मिथकहरू जोडेर विज्ञानभन्दा पहिल्यै भएका गरिएको भन्दै दाबीहरू प्रस्तुत गर्ने गरेका छन् । 'अहिलेका जेट विमान त के हुन् र ! रामको पालामा (सात हजार वर्षपहिल्यै) पुष्पक विमान चढेर उनी लङ्का पुगेका थिए । विमान त उतिबेलै बनिसकेको थियो नि !' तर, यहाँ राइट दाजुभाइको योगदानको चर्चा गर्न रुचाइँदैन ।

ल ठीकै छ, पुष्पक विमान उतिबेलै बनेको थियो रे । त्यस्तो हाे भने त्यसको इञ्जिनियरिङ कस्तो थियो ? देखाउन सक्नुपर्ने हाे कि हाेइन ? अहिले पनि त्यसको नमुना तयार गर्न सक्नुपर्छ कि पर्दैन ? होइन भने त्यो कथामा भनिएको विमान थियो कि थिएन पत्याउन जरुरी हुन्छ र ? स्वस्थानीको कथामा भनिएको बोकाको टाउको भएको दक्ष प्रजापति र हात्तीको टाउको भएको गणेश उतिबेलाको शल्यचिकित्साको माध्यमबाट सम्भव भएको थियो भन्ने तर्क सुनिन्छ । यस्ताे प्रविधि त्यतिबेलै विकास भएको थियो भने त्यो प्रविधि कस्तो थियो ?
एक जना आध्यात्मिक विद्वान् हिन्दुहरूको घर-घरमा कुश राख्नुको वैज्ञानिक कारणबारे भन्दै थिए- हामीले पूजा सामग्रीको रूपमा प्रयोग गर्ने कुश घरको पालीमा सिउरेर राख्यो भने त्यसले घरमा चट्याङ पर्न दिँदैन ।
के कुश पालीमा सिउरेको भरमा चट्याङ रोक्न सकिएला ? त्यसो हो भने विभिन्न महँगा प्रविधि किन चाहियो ? उनले गहुँतको पनि व्याख्या गरेका थिए- गाईको गहुँतले क्यान्सरलगायतका थुप्रै रोग निको हुन्छन् । उनको कुरो सुन्दा त लाग्छ- क्यान्सर अस्पताल नै आवश्यक पर्दैन । गाई नै रोगी रहेछ भने त उल्टै मान्छेलाई नै रोग सर्ने जोखिम हुन्छ ।
वेदका मन्त्र उच्चारण गरेर खानेकुरामा भएका सूक्ष्म जीवाणु मार्न सकिने हो भने कसरी उच्च्चारण गर्नुपर्ने हो, विधिसहित व्याख्या गरिदिएको भए हुने थियो । कसैले ल मन्त्र उच्चारण गरेर जीवाणु नष्ट गरिएको देखाउनुस् भन्यो भने परीक्षण गरेर देखाउन पनि सक्नुपर्छ । होइन भने यस्ता तर्कलाई त किन स्वीकार्ने ?
गहुँतमा हाम्रो स्वास्थ्यलाई लाभ हुने थुप्रै तत्त्वहरू हुन सक्छन्, तर त्यो प्रमाणित भएपछि, हानिकारक जीवाणु हटाएपछि मात्र खानयोग्य हुन सक्छ । आयुर्वेदमा त्यो छ भनेकै भरमा, अझ विज्ञानको सहारा लिएर व्याख्या गरिएकै भरमा प्रयोग गर्नु उचित होला र ?
माथि चर्चा गरिएका केही प्रसंग वास्तविक विज्ञान नभएर छद्म विज्ञान हुन् । छद्म विज्ञान अहिले निकै चर्चामा छ । कतै न्युरोलोजीका डाक्टर आफैँ ईश्वर र धर्मका कुरा मिसाएर मेडिकल साइन्सको व्याख्यामा लागेका छन्, कतै मिडियाका नाम चलेका पत्रकारहरू आफैँ यस्ता सामग्रीहरूलाई बडो उपयोगी ठानेर महत्त्व दिइरहेका छन् । अनि कतै नामको अगाडि प्राध्यापक, डाक्टर झुण्ड्याउनेहरू नै यस्ता खिचडी पस्किइरहेका छन् ।
यो लेखको आशय कुनै धर्म संस्कृतिको विरोध गर्नु होइन । बरू कुनै पनि तर्क, परिकल्पना वा विचारलाई पुष्टि गर्न तथ्य, प्रमाण, परीक्षणमार्फत सक्नुपर्छ भन्ने हो । विद्वान् मानिएकाहरूले नै अपूर्ण, विवादास्पद, अमूर्त विचारहरू सार्वजनिक रूपमा प्रस्तुत गरिदिँदा त्यसले धेरैलाई भ्रमित पारिदिन्छ ।
छैन शंकरको नङ्गा
मगन्ते भेष निन्दित ।
कवि लेखनाथ पौड्यालले भनेजस्तो नै हुन्छ, आखिर ठूला बडा भनिएकाहरूको प्रभाव ।
विज्ञानका पनि थुप्रै सीमा छन् । कैयौँ रहस्यको जवाफ वैज्ञानिकहरूले फेला पार्न सकेका छैनन् । तर, यसको अर्थ विज्ञान फेल भयो, यो सृष्टि भगवान्ले रचेका हुन्, सारा चीज परमेश्वरले चलाउँछन् भन्ने निष्कर्ष आउँदैन । खोज अनुसन्धानहरू भइनै रहन्छन् । अर्कोतिर धार्मिक सांस्कृतिक मूल्य मान्यताले आफ्नो ठाउँमा छुट्टै महत्त्वसहित हजारौँ वर्षदेखि निरन्तरता पाइराखेको छ ।
विज्ञानको पक्षपाती भएर लेख्दैमा, बोल्दैमा धार्मिक सांस्कृतिक विषयलाई नकारेको भन्ने अर्थ पनि लाग्दैन । धर्म र विज्ञानलाई घोलेर होइन, प्रस्ट रूपमा छुट्याएर व्याख्या गर्नु नै उपयुक्त हुन्छ । इतिहासमा वैज्ञानिकहरू र धार्मिक व्यक्तिहरूबीचमा थुप्रै द्वन्द्व चलेका थिए । विज्ञानले नयाँ रहस्य उद्घाटन गर्दै परिवर्तित अवस्थालाई थप व्याख्या गर्दै आएको छ भने धार्मिक मान्यता अलि जड देखिन्छ ।
तर, विज्ञान प्रविधिको विकाससँगै सांस्कृतिक पाटोमा भने निकै परिवर्तन हुँदै आएको छ । धार्मिक ग्रन्थहरूमा थुप्रै वैज्ञानिक कुरा समेटिएका हुन सक्छन् तर त्यसलाई अहिलेको आधुनिक समाज र वैज्ञानिक जगत्ले स्वीकार्ने गरी ल्याउनुपर्छ भन्ने नै हाे । फगत विज्ञानको लेपन लगाएर गरिएका व्याख्या र आधुनिक विज्ञानलाई अवमूल्यन गर्दै आएका धारणाहरू विज्ञान नभएर छद्म विज्ञान हुन् ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०७७ ०८:२९