कोरोनाको जोखिम टरेकै थिएन हामीले लापरबाही गर्न थाल्यौँ । अहिले फेरि कोरोनाको संक्रमण बढेको छ । हामी कहाँ मात्र नभएर विश्वव्यापीरूपमा यसको प्रसार भइरहेको छ ।
छिमेकी देश भारतमा पछिल्ला दिनका बढेका तथ्यांकबाट भन्न सकिन्छ हामीमा यसको प्रभाव केही दिनमा नै देखिने छ । सीमानाका व्यवस्थित नभएको र आउने जाने भीडभाड भएका कारण जोखिम बढ्ने देखेको छु । यसको विस्तारबारे अझै केही भन्न सकिने अवस्था छैन ।
विश्व अध्ययन अनुसन्धान जारी रहे पनि हाम्रा केही अनुमान थिए तर ती अनुमानभन्दा भिन्न किसिमले यसको प्रभाव देखिँदैछ । हामीले लामो लकडाउन गर्यौँ तर त्यो लकडाउन मात्रैले नहुने रहेछ भन्ने विगतको अनुभव छ । छोटो समयका लागि अहिले पनि अवस्था हेरेर लकडाउन गर्न सकिन्छ । तर, मुख्य उपाय होइन । स्वास्थ्य मापदण्डसँगै हाम्रो व्यवस्थापन कस्तो हुन्छ यसमा यसमा भर पर्छ ।
यो भाइरसले हरेक देश र समयअनुसार स्वरूप परिवर्तन गर्दै बढिरहेको छ । कोरानाको नयाँ परिवर्तित स्वरुपले हाम्रो इम्युन सिस्टमलाई पनि छल्न सक्ने र जसजसले भ्याक्सिन प्रोड्युस गरेको एन्टीबडीलाई पनि विफल बनाउन सक्ने सम्भावना छ । अघिल्लो कोरोना भाइरसभन्दा बढी घातक र छिटो प्रसार हुने सम्भावना छ ।
अहिले लगाएको भ्याक्सिनले केही पनि काम गर्न नसक्ने अवस्था आउन सक्छ । त्यसैले भ्याक्सिन लगाएका, पहिले संक्रमित भएर निको भएकाहरूले स्वास्थ्य मापदण्ड पालना गर्नै पर्छ ।
हामीले संक्रमणलाई लापरवाही गर्ने अवस्था छैन । कोरोनाको जोखिम टरेकै थिएन । हामी पुरानै लयमा फर्कन थाल्यौं । धेरैलाई त कोरोना संक्रमण भएर पनि निको भयो । यसको अर्थ संक्रमित हुँदैमा ज्यानै जाने होइन ।
केही देशमा सुस्ताएको जस्तो देखिने अनि फेरि ह्वात्तै बढेको अनुभव छ । र ती देशमा कोरानाले ठूलो क्षती पनि पुर्याएको छ ।
शिलापत्र बहसमा प्रदीप वस्नेतसँग डा. शेरबहादुर पुन । भिडियो :
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७ २१:१७